१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

फ्याफूल्जी फिकुरी

तामाङ शब्द ‘फिक्युबा’को नेपालीमा अर्थ हुन्छ–धनीडाँडा । पहिलापहिला फिकुरीलाई फिक्युबा भनिन्थ्यो । समयक्रममा अपभ्रंस हुँदै जाँदा ‘फिकुरी’ भन्न थालियो । ईश्वरको आशिर्वाद पाएको फिकुरी प्राकृतिक सौन्दर्यको मुहान हो । जैविक विविधताको भण्डार पनि । पूर्खाले ठिकै नाम दिएछन्–धनीडाँडा भनेर !    

फिकुरी (३,५६८ मिटर)बाट दूधजस्ता हिमालको दन्तै लहर देखिन्छ । लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण र तिब्बती हिमसृङखला आँखैमा टाँसिन आइपुग्छन् । आकाश उघ्रिएका बेला डाँडाबाट काठमाडौं उपत्यका, गोसाईंकुण्ड र त्रिशुली बजार छयाङ्गै देखिन्छ । 

डाँडामा बसेर घन्टौंसम्म हिमालसँग लुकामारी खेलिरहुँ झैं लाग्छ । सिरसिरे बतासमा फनफनी नाचुँनाचुँ झैं लाग्छ । सूर्योदय र सूर्यास्तका बेलामा त आकाशमा उडिरहेका चराको पृष्ठभूमिमा सिन्दुरे हिमालको दृश्य ! अहँ शब्दमा वर्णन गर्नै सकिन्न । 

बौद्ध मन्त्र लेखिएका झण्डाहरू (लुङ्दार र धज्र्यू)ले डाँडा रंगीन देखिन्छ । धार्मिक हिसाबले समेत फिकुरीको ठूलो महत्व छ । हिन्दू र बौद्धमार्गीको साझा तिर्थ हो फिकुरी । डाँडामा भगवान बुद्ध र महादेव बसेका छन् । त्यहाँ बौद्ध माने र महादेव मन्दिर छन् । डाँडामा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ । मेलामा लामा, झाँक्री र तिर्थालुको भिड हुन्छ । ढ्याँग्रो ठोक्दै झाँक्रीहरू भगवानको अर्चना गर्छन् ।  

डाँडामा बास बस्ने सुविधा छैन । होटल वा धर्मशाला छैनन् । पानी पनि छैन, आधा घन्टा तल पानीको मुहान छ । मेलाका बखत पसलेहरूले पाल टाँग्छन् । त्यही पाल मुन्तिर ओत लाग्नु पर्छ । तल पानीको मुहान भएको ठाउँ धुवाँछापमा भेडी गोठ छन् । कतिपय तिर्थालु गोठमा बस्छन् । 

फिकुरीको काखमा नुवाकोट जिल्लाका ताजी, गोकर्ण, भाल्चे लगायत गाउँ छन् भने रसुवा जिल्लाको ठूलो गाउँ । ठूलो गाउँमा गुरुङ र तामाङको बसोबास छ । अन्यत्र  तामाङ, ब्राम्हण लगायत जातजातिको बस्ती छ ।

किश्पाङ गाउँपालिका–२, नुवाकोटमा अवस्थित फिकुरीडाँडामा विदेशीहरूले बेलाबेलामा पदयात्रा गर्दै आएका छन् । यो पदमार्गलाई भर्खरै स्थानीयले ‘फिकुरी इको टे«क’का रुपमा ब्राण्डिङ गरेका छन् । विदेशीलाई मात्र होइन, स्वदेशीका लागि समेत फिकुरी आकर्षक गन्तव्य बन्न सक्छ । त्यसैले स्थानीय गाउँपालिकाले यसको प्रवद्र्धन र विकासमा अगुवाई गर्नै पर्छ । 

अन्यत्रका र यहाँका तामाङको भाषा र रहनसहनमा भिन्नता छ । जस्तो कि काभ्रे, सिन्धुपाल्चोकका तामाङ नमस्तेलाई ‘फ्याफुल्ला’ भन्छन् । यताका तामाङ ‘फ्याफूल्जी’ भन्छन् । 

यहाँको प्रकृति, संस्कृति र जीवनशैली अध्ययन गर्न बेलाबेलामा विदेशी पदयात्री आउँछन् । उनीहरू फिकुरीमा टेन्ट गाडेर बस्छन् । गाउँतिर झाँक्री विद्याको अध्ययन गर्छन् । ग्रामीण जीवनशैलीमा रमाउँछन् । 

पछिल्लो समय स्थानीय तन्नेरी ऊर्जा तामाङले फिकुरीतिर पर्यटक डुलाउन थालेका छन् । उनले एलायन्स एडभेन्चर प्रालि मार्फत यस क्षेत्रको प्रवद्र्धन गर्दै आएका हुन् । त्यसो त फिकुरी प्रवद्र्धन गर्ने उनी पहिलो व्यक्ति होइनन् । धेरै अगाडिदेखि न्यूर्योकस्थित कर्नेल युनिभर्सिटिका डा. डेविट र डा. क्याथ लगायतले फिकुरीमा पर्यटक घुमाउँथे । ऊर्जाले पनि उनीहरूसँगै दुई वर्ष काम गर्ने अबसर पाए । 

उनी मलेसियन नागरिक अपाउँ मुज्जाफारलाई आफ्नो गडफादर मान्छन् । नेपाल, भुटान र तिब्बतमा पर्यटक घुमाउँदै आएका ऊर्जा पछिल्लो समय जन्मथलोको प्रवद्र्धनमा क्रियाशील छन् । उनको गाउँ नुवाकोट जिल्लाको किश्पाङ गाउँपालिका–५ मानेगाउँमा तामाङ, गुरुङ र दलितका १२ घर छन् । ३६ वर्ष अघि त्यही गाउँमा जन्मेर हुर्केका उनी संघर्षका पहाड छिचोल्दै सफलताको बाटोमा आइपुगको छन् । भरियाबाट पदयात्रा पर्यटनमा होमिएका उनी आज आफ्नै कम्पनी हाँक्छन् । उनले आफ्नो भूधरातल बिर्सेका छैनन् ।  

ऊर्जाले फिकुरीडाँडा प्रवद्र्धनको आफ्नो सपना पर्यटनविज्ञ दिपक महतलाई सुनाए । महतले उनलाई धाप मारिहाले । अनि बन्यो फ्याम ट्रिपको योजना । लगत्तै फागुन ११ देखि १५ गतेसम्म ‘रसुवा–नुवाकोट पर्यटन समाज’ले व्यवसायीलाई फिकुरीडाँडामा परिचयात्मक भ्रमण (फ्याम ट्रिप) गरायो । भ्रमणमा विशेषतः नुवाकोट र रसुवा घर भई काठमाडौंमा सक्रिय पर्यटन व्यवसायीका साथमा केही पत्रकार सहभागी थिए ।  

भ्रमणको चाँजो मिलाउन पर्यटनकर्मी तन्नेरीहरू दिनेश तामाङ, ऊर्जा तामाङ र गगनराज न्यौपानेको सक्रियता प्रशंसनिय थियो । यस भ्रमणले फिकुरीको प्रचारमा बल पुगेको छ । समाजले ६ रात ७ दिनको पदयात्रा प्याकेज बनाउँदैछ । 

पदमार्गमा पर्ने डाँडापाखा, गाउँवस्ती, ऐतिहासिक सम्पदा, जनजीवन, संस्कृति र पूर्वाधारको यथेष्ट जानकारी सहित यस पदमार्गको मार्केटिङ आबश्यक छ । महतका अनुसार चाँडै यस पदमार्गको नक्सा, युट्युव भिडियो, ब्रोसर लगायत प्रर्वद्धनात्मक सामाग्री उत्पादन गरिनेछ । 

‘काठमाडौंबाट यति नजिक यति आकर्षक गन्तव्यमा विदेशी मात्र होइन, स्वदेशी पनि रमाउन सक्छन्’,  नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य समेत रहेका महत भन्छन्, ‘स्थानीय गाउँपालिका, प्रदेश सरकार, पर्यटन बोर्ड र व्यवसायीबीचको सहकार्यमा यसलाई चाँडै चम्काउँछौं ।’   

फ्याम ट्रिपसँगै फिकुरीको चर्चा चुलिँदा स्थानीयमा उत्साहको दियो बलेको छ । उनीहरू फिकुरी पर्यटन गन्तव्यका रुपमा स्थापित हुनेमा ढुक्क छन् । ऊर्जा त आउँदो सिजनमा बस्ती मास्तिर फिकुरी डाँडातिर फिक्सड् टेन्ट राख्ने तयारीमा छन् । त्यसो भएपछि पदयात्रीलाई सजिलो हुनेछ । 

‘फिकुरी अब विश्वभर चर्चित बन्नेछ’, काठमाडौंको ठमेल छेउमा रहेको आफ्नै कार्यालयमा ऊर्जाले चियाको कप उचाल्दै भने, ‘अब हाम्रो कम्पनीले मात्र होइन, अरुले पनि फिकुरीडाँडामा पर्यटक उकाल्नेछन् । यसबाट सिँगो पर्यटन क्षेत्रलाई लाभ पुग्नेछ ।’

फिकुरीडाँडालाई अन्य पदमार्गहरू रुबी भ्याली, तामाङ हेरिटेज ट्रेल र सिङ्ला पासको गेट वेका रुपमा समेत प्रवद्र्धन गर्न सकिन्छ । 

अन्त्यमा एउटा अनुरोध, विदेशी त आउलान् नै सबैभन्दा पहिला हाम्रा गाउँघर डुल्ने हक हामी नेपालीकै हो । दिगो पर्यटनको आधारस्तम्भ भनेका आन्तरिक पर्यटक नै हुन् । त्यसैले आउनुहोस् फिकुरीडाँडामा नेपाली पदयात्रीलाई स्वागत गरौं !  

कसरी पुग्ने: काठमाडौं–टोखा–त्रिशुली–५४ किमि । त्रिशुली–मानेगाउँ ७ किमि । जम्मा ६१ किमि बस यात्रामा ५ घन्टा । पहिलो बास मानेगाउँमा । दोस्रो बास भाल्चेमा, मानेगाउँबाट ६ घन्टा पदयात्रामा भाल्चे । भाल्चेबाट ८ घन्टा उकालोमा फिकुरीडाँडा, तेस्रो बास फिकुरीमा । मानेगाउँ र भाल्चेमा होमस्टे सुविधा छ । भाल्चेमाथि बस्ती छैन ।  

सामुदायिक लज 
दिपक महत
नेपाल पर्यटन बोर्ड, कार्यकारी समिति सदस्य  


मानेगाउँ भन्दा माथि डाँडाको बीचमा र फिकुरीडाँडाको थाप्लोमा गरी दुई ठाउँमा सामुदायिक लज आबश्यक छ । यसमा नुवाकोटको किश्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकासहित प्रदेश सरकारले लगानी गर्नु पर्छ । साथै पदमार्ग सुधार, साइनेजको व्यवस्था र राम्रो मार्केटिङ गर्न सके फिकुरी टे«क चाँडै स्थापित बन्नेछ । 

हामी घुमाउँछौं 
ऊर्जा तामाङ
प्रमुख, एलायन्स एडभेन्चर प्रालि 


हामी विदेशीलाई त घुमाउँछौं नै, बेलाबेलामा नेपाली पदयात्रीलाई पनि घुमाइरहेका छौं । छोटो, मिठो र सस्तो गन्तव्यका रुपमा आन्तरिक पदयात्रीलाई फिकुरीमा लोभ्याउन सकिन्छ । त्यसका लागि कम्तिमा ६ जनाको समूह हुनु पर्छ । काठमाडौंबाट फिकुरी पुगेर पाँचौ दिन काठमाडौं आउन भ्याइन्छ ।  
सम्पर्क: ९८५११५५७०२ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App