१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

जीवनोपयोगी सिप सिक्ने अबसर

एलिसा घिमिरे, कक्षा ७
सैनिक आवासीय महाविद्यालय 
सल्लाघारी, भक्तपुर 

चीनबाट फैलेको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । आफुलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मान्छे आज आफ्नै व्यवहारले जोखिममा परेको छ । भाइरसबाट बच्न नेपाल सरकारले लकडाउन गरेकाले हामी पनि घरभित्रै बसेका छौं ।  

पहिलापहिला विद्यालयको बार्षिक परीक्षा सकिए पछिको बिदामा म आफ्नो गाउँ रामेछाप, मामाघर ओखलढुंगा गएर, ममीले पकाएका मिठामिठा खाना खाएर समय बिताउने गर्थें । लकडाउनले गर्दा यसपटक मेरा योजना परिवर्तन भएर काठमाडौमै बस्नु परेको छ । 

लकडाउन नहुँदा विद्यालयबाट घर फर्कदा ढिलो हुन्थ्यो र धेरै होमवर्क गर्नु पर्दा पढ्नु र लेख्नु बाहेक कहिलेकाहीँ त खेल्ने समय पनि समय पाइन्नथ्यो । परिवारका सबै सदस्य बसेर गफगाफ गर्न त परैको कुरा, खाना पनि सँगै खान पाइन्नथ्यो । अहिले भान्छामा समय बिताउन पाएकी छु । ममीलाई विभिन्न काममा सघाउन पाएकी छु । यतिवेला धेरै घरायसी र जीवनउपयोगी काम सिकिरहेकी छु । पहिले मलाई केही पनि काम गर्न आउन्नथ्यो । अचेल भने लुगा धुन, भाँडा माझ्न, घर सफा गर्न, रोटी, आलुभुटुवा, अम्लेट र चाउचाउ लगायत परिकार बनाउन सक्ने भएकी छु ।

अर्को कुरा, भाई र मेरो विद्यालय छुट्टाछुट्टै भएकाले शनिबार बाहेक संगै खेल्ने मौका पनि पाइन्थ्यो । अहिले मन लागुँन्जेल बल, लुँडो, चुंगी सहित रमाइलारमाइला खेल खेल्न पाएका छौं । त्यस्तै बाबा सधैं ब्यारेकमा व्यस्त, ममी सधै कलेजमा पढाउन र घरायसी काममा व्यस्त हुनेहुँदा धेरैजसो त राम्रोसँग कुराकानी गर्न समेत पाएका थिएनौं । अहिले त सँगै बस्न, कुराकानी गर्न पनि पाइएको छ । 

लकडाउनमा मैले समाचार सुन्ने र त्यसलाई ब्यबहारमा प्रयोग गर्ने गरेकी छु । समाचारबाट भाइरसको जोखिमबाट बच्न साबुनपानीले हात धुनुपर्छ, तातोपानी बेलाबेलामा पिउनु पर्छ, भिटामिन सीयुक्त कुरा खानुपर्छ, बाहिर हिँडडुल गर्नु हुँदैन, गर्नै परे माक्स र पञ्जाको प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकेकी छु । घरमा हुनुभएका हजुरबा र हजुरआमालाई पनि सिकाउन पाएकी छु । 

बन्दाबन्दीको समयमा केही फिल्म पनि हेरें । साहित्यका किताब पनि पढेँ । रमेश विकलको बालकथा गौतम बुद्ध र पानीको संस्कारका साथै सनतकुमार आचार्यको चुटकिला, एस भाटियाको क्लासिक टेल्स फर चिल्डे«न्स लगायत पुस्तक पढें । समय मिलाएर नेपाली, हिन्दी र अंग्रेजी भाषाका फिल्म पनि हेरिरहेकी छु । मैले हेरेका मध्ये पाहुना, द लिटिल भिजिट सर, नाइँ न भन्नुल, तारे जमिन पर, धनक र रोजन टु, दि स्टोलन प्रिन्सेस असाध्यै मन परेका फिल्म हुन् । 

लकडाउनमा सम्भव भएसम्म दिनहुुँ केही न केही जीवनोपयोगी सीप सिकेर समय सदुपयोग गर्ने प्रयासमा छु । ममीलाई भान्सामा आलु काटेर, लसुन छोडाएर, प्याज काटेर पनि सघाउने गरेकी छु । आफुले नजानेका कुरा ममी र दाई तथा दिदीबाट  सिक्ने, मोबाइलमा भ्वाइस टाइपिङबाट नेपाली र अंग्रेजी टाइप गर्न सिक्ने काम गरिरहेकी छु । तपाइँले पढिरहनु भएको यो निबन्ध पनि हाम्रो किबोर्डको भ्वाईस टु टेक्स्ट इन नेपाली फिचरबाटै गरेकी हुँ । 

यही लेख मार्फत सबै साथीहरूलाई पनि म मोबाइल फोन धेरै नखेलाउन र केही न केही सिकिराख्न आग्रह गर्दछु । मैले त लकडाउनलाई खुसीसाथ सदुपयोग गरेकी छु, तपाइँले कसरी विताउनु भएको छ ?

प्रकाशित: २७ चैत्र २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App