७ वैशाख २०८१ शुक्रबार
अन्य

मौसमी परिवर्तनमा आक्रामक इन्फ्लुएन्जा

फागुन २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा स्वास्थ्य परीक्षणका लागि काउन्टरमा टिकट काट्नेको लाइन लामै थियो । अस्पतालभित्रको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन पुगेका बिरामीको लाइन पनि कम थिएन ।

काठमाडौंको टेकुस्थित सो अस्पतालको क्निकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन केही सातादेखि अस्पतालमा रुघा खोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या जस्ता लक्षण लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको बताउँछन् । डा. पुनले भने, ‘मौसमी परिवर्तनसँगै इन्फ्लुएन्जाको लक्षण लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ ।’

एकातर्फ कोरोनाको भाइरस (कोभिड–२०१९) को संन्त्रास नेपालमा पनि कम छैन । सामान्य रुघाखोकी लागेको अवस्थामा समेत कोरोनाको शंका गरेर स्वास्थ्य परीक्षण गराउन बिरामी अस्पताल पुग्ने गरेको डा. पुन बताउँछन् । कोरोना भाइरसको मनोवैज्ञानिक भयलाई  ‘कोरोना फोबिया’ फोबियाका रुपमा चिनिन्छ । अर्काेतर्फ मौसमी इन्फ्लुएन्जाको कारण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुग्ने बिरामीको चाप बढेको हो ।

त्यसो त टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला पनि गर्मी मौसम सुरु भएसँगै अस्पतालमा इन्फ्लुएन्जाको लक्षण लिएर पुग्ने बिरामीको संख्या बढेको बताउँछन् । डा. बाँस्तोलाले भने, ‘अस्पतालमा दैनिक डेढ दर्जन हाराहारीमा रुघाखोकी, ज्वरोका लक्षण लिएर आउँछन् ।’

मौसमी परिवर्तनसँगै उत्कर्षमा
मौसमी परिवर्तन भएसँगै देखिने इन्फ्लुएन्जाको संक्रमण नेपालमा प्रत्येक वर्ष देखिने गरेको छ । सामान्यतः नेपालमा जाडो मौसम सकिनेबित्तिकै मार्च महिना र अगस्टमा इन्फ्लुएन्जा संक्रमणको जोखिम बढी देखिन्छ । डा. पुनले भने, ‘गर्मी मौसमको सुरुआत र मनसुनको मध्यतिर मौसमी इन्फ्लुएन्जाको संक्रमण बढी देखिन्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार मार्च र अगस्टमा इन्फ्लुुएन्जाको परीक्षण गराउनेको संख्या उच्च हुन्छ । त्यसमा पनि प्रयोगशालाको पाँच वर्षको तथ्यांक केलाउँदा माघ महिनाको अन्त्यदेखि वैशाख महिनासम्म इन्फ्लुएन्जाको परीक्षण गराउनेको संख्या उच्च बिन्दुमा पुगेको देखिन्छ । नेपालको सन्दर्भमा माघको अत्यदेखि गर्मी मौसम सुरु हुन्छ । असारदेखि भदौमा पनि इन्फ्लुएन्जाको संक्रमणको परीक्षण गराउनेको संख्या उच्च रहेको देखिन्छ । असारदेखि भदौसम्म मनसुन र वर्षाद हुने मौसम हो ।

त्यसो त कोरोना भाइरसमा ध्यान केन्द्रित भएका कारण इन्फ्लुएन्जामा कम ध्यान पुगेको सरकारी अधिकारी स्विकार्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको सतर्कताप्रति ध्यान केन्द्रत भएकाले मौसमी परिवर्तनसँगै देखिने इन्फ्लुएन्जाप्रति कम ध्यान पुगेको हुनसक्ने बताए । उनले इन्फ्लुएन्जाका बिरामी ह्वात्तै बढेको अवस्थामा इन्फ्लुएन्जाको उपचारका लागि औषधिको पनि अभाव हुनसक्ने बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा पनि कोरोनाको सतर्कताका कारण इन्फ्लुएन्जाको जनचेतनामा केही असर परेको स्विकार्छिन् । फागुनको अन्त्यमा इन्फ्लुएन्जा परिक्षणका लागि दैनिक ५०/६० जना विरामी प्रयोगशाला पुग्ने गरेको उनी बताउँछिन् । तर, प्रयोगशालामा इन्फ्लुन्जाको जाँचमा भने असर नपर्ने निर्देशक डा.झाले बताइन् ।

यस्तो छ जोखिम
प्रयोगशालाको २०१४ देखि २०१८ सम्मको पाँच वर्षको तथ्यांकअनुसार इन्फ्लुएन्जाको नमुना परीक्षण गरेका व्यक्तिमध्ये २३ देखि ३८ प्रतिशतमातमा इन्फ्लुएन्जाको संक्रमण देखिने गरेको छ । तथ्यांकअनुसार सन् २०१४ मा इन्फ्लुएन्जाको नमुना परीक्षण गरिएका व्यक्तिमध्ये ३९ प्रतिशतमा इन्फ्लुएन्जाको संक्रमण देखिएको थियो  भने ६१ प्रतिशतमा देखिएन । सन् २०१५ मा ३३ प्रतिशत व्यक्तिमा संक्रमण देखिएकोमा ६७ प्रतिशतमा संक्रमण देखिएन । त्यसैगरी २०१६ मा प्रयोगशालामा इन्फ्लुएन्जाको नमुना परीक्षण गराएका व्यक्तिमध्ये ३५ प्रतिशतमा संक्रमण देखिँदा ६५ प्रतिशतमा देखिएन । २०१७ मा ३१ प्रतिशतमा संक्रमण देखिएकोमा ६८ प्रतिशत व्यक्तिमा देखिएन । २०१८ मा २३ प्रतिशत व्यक्तिमा संक्रमण देखिएकोमा ७६ प्रतिशतमा संक्रमण देखिएन । २०१९ को तथ्यांक उपलब्ध नभए पनि २०२० को जनवरी महिनाको अन्त्यसम्ममा परीक्षण गराउनेमध्ये इन्फ्लुएन्जा संक्रमितको संख्या बढ्दै गएकोे देखिन्छ ।

‘ए’ बढी जोखिम
‘इन्फ्लुएन्जा’ एक किसिमको भाइरस हो । यसलाई छोटकरीमा ‘फ्लु’ भनिन्छ । इन्फ्लुएन्जा ‘ए’,‘बी’,‘सी’ र ‘डी’ गरी चार किसिमका हुन्छन् । जसमध्ये इन्फ्लुएन्जा ‘ए’,‘बी’,‘सी’ ले व्यक्तिमा संक्रमण गर्छन् । ‘ए’ र ‘बी’ इन्फ्लुएन्जा कडा किसिमका हुने भएकाले मौसमी परिवर्तनसँगै यस्ता इन्फ्लुएन्जाको जोखिम बढ्छ । इन्फ्लुएन्जा ‘बी’को तुलनामा ‘ए’ विश्वव्यापीरुपमा फैलिने जोखिम हुने डा. पुन बताउँछन् । डा. पुनका अनुसार ‘सी’ ले भने त्यति कडा रुप लिएको देखिँदैन । इन्फ्लुएन्जा ‘ए’ भाइरसको स्वरुपसमेत छिटो–छिटो परिवर्तन भैरहने हुनाले व्यक्तिमा यस्तो संक्रमण भएको अवस्थामा मृत्युको जोखिम बढी हुने चिकित्सक बताउँछन् ।

नेपालमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका ‘एच वान एन वान पीडिएम—०९’ र ‘एच थ्रि एन टु’ भाइरस, इन्फ्लुएन्जा देखिने गरेका छन् । ‘एच वान एन वान पिडिएम—०९’ लाई स्वाइन फ्लु र ‘एच थ्रि एन टु’ लाई हङकङ फ्लुका नामले चिनिने गरेको छ । सामान्यतः मौसमको परिवर्तनसँगै  ‘इन्फ्लुन्जा ए/पिडिएम ०९’को संक्रमणदेखिने गरेको डा. पुन बताउँछन् । चिकित्सकका अनुसार इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको ‘एचफाइफ एन वान’को जोखिमसमेत रहने गरेको छ । यो वर्डफ्लु हो । ‘एचफाइफ एन वान’ को संक्रमणका कारण नेपालमा गत वैशाखमा एकजना व्यक्तिको ज्यान गएको थियो ।  यो  मौसम  वर्डफ्लुको मौसम भने नभएको चिकित्सक बताउँछन् ।

ज्यानै जान सक्छ
चिकित्सकहरु रुघाखोकी तथा ज्वरो आएको खण्डमा स्वास्थ्य परीक्षण गर्न सुझाउँछन् । मौसमी फ्लुको संक्रमणले श्वासप्रश्वासमा समस्या निम्तनुका साथै निमोनिया भएर ज्यानै जानसक्नेतर्फ चिकित्सक सजग गराउँछन् । डा. पुनका अनुसार इन्फ्लुएन्जाका संक्रमितमध्ये करिब दुई प्रतिशत बिरामीको ज्यान जाने जोखिम हुन्छ । चिकित्सकका अनुसार इन्फ्लुएन्जाको संक्रमण भएको खण्डमा शरीरका अंगले काम गर्न नसकी व्यक्तिको मृत्यु हुन सक्छ ।

त्यसो त दीर्घ रोगी, कुनै रोगको औषधि सेवन गरिरहेका तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणको बढी जोखिम हुने भएकाले यस्ता व्यक्ति सजग हुन डा. बाँस्तोलाको सुझाव छ । डा. पुन ६० वर्ष नाघेका पाको उमेर समूहका व्यक्ति तथा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा मौसमी इन्फ्लुएन्जाले छिटो आक्रमण गर्ने जोखिम भएकाले विशेषगरी यस्ता व्यक्तिको चिकित्सकको परामर्शमा बेलैमा उपचार गर्नुपर्ने सुझाउँछन् ।

दम, श्वासप्रश्वासजस्ता छातिको रोगसँग सम्बन्धित व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमणको सम्भावना बढी हुने भएकाले यस्ता व्यक्ति सतर्क हुन आवश्यक छ ।

लक्षण देखिए ल्याब परीक्षण
मौसमी ‘इन्फ्लुएन्जा’(फ्लु) र कोरोना भाइरसको लक्षण करिब उस्तै हुने भएकाले लक्षणका आधारमा छुट्याउनसमेत कठिन भएको निर्देशक डा. पाण्डे बताउँछन् । तर स्वास्थ्य परीक्षण (ल्याब टेस्ट) पछि भने निक्र्योल गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले बताइन् ।

रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, छाति दुख्ने, पातलो दिसा हुनेजस्ता इन्फ्लुएन्जाका लक्षण देखिने डा. पुनले बताए । शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता इन्फ्लुएन्जाका लक्षण हुन् ।

डा. पुनका अनुसार सामान्यतः इन्फ्लुएन्जाको संक्रमण भएको अवस्थामा सुरुवाती लक्षणको रुपमा रुघा लागेपछि संक्रमण कडा बन्दै गएको अवस्थामा श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ । तर, कोरोनाभाइरसको संक्रमणमा सुरुआति लक्षणका रुपमै स्वासप्रश्वासमा समस्या आउने, उच्च ज्वरो आउने त्यसपछि रुघा–खोकी लाग्नसक्छ । सामान्य व्यक्तिलाई भने लक्षण छुट्याउन मुश्किल पर्छ ।

डा. झाले कोरोना भाइरसका कारण इन्फ्लुएन्जाको परीक्षणमा कुनै समस्या नपर्ने बताएकी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै (११) प्रकारका इन्फ्लुएन्जाको परीक्षण हुने प्रयोगशालाले बताएको छ। चिकित्सकको  सिफारिसमा इन्फ्लुएन्जाको लक्षण देखिएका व्यक्तिमा सो प्रयोगशालामा निःशुल्क परीक्षण गरिन्छ ।

लक्षणका आधारमा उपचार
मौसमी ‘इन्फ्लुएन्जा’(फ्लु) को संक्रमण भएको अवस्थामा विशेष औषधी नभए पनि लक्षणको आधारमा बिरामीको उपचार गरिन्छ । डा. पुनका अनुसार संक्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि प्रयोग गरिन्छ । यो ‘एन्टिभाइरल’ औषधि  भएकाले यसको प्रयोगले इन्फ्लुएन्जा भाइरसको संक्रमण बढ्न नदिने उनी बताउँछन् ।

चिकित्सकका अनुसार सामान्यतः व्यक्तिमा मौसमी इन्फ्लुएन्जाको संक्रमण भएको एकहप्तादेखि दस दिनमा आफैँ ठिक हुन्छ । दस दिनसम्म पनि रुघाखोकी तथा ज्वरो कम नभएको अवस्थामा इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलिएर व्यक्तिको ज्यानै जानसक्नेतर्फ चिकित्सक सजग गराउँछन् ।

इन्फ्लुएन्जाबाट बच्नका लागि धेरै भीडभाड भएको ठाउँमा जान नहुने निर्देशक डा. पाण्डेको सुझाव छ । पटक–पटक नाक तथा आँखामा हात पुर्‍याउन नहुने उनी बताउँछन् । मास्क लगाएर हिँडे केही हदसम्म भए पनि इन्फ्लुएन्जाको संक्रमणको जोखिमबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

त्यसैगरी संक्रमित पशु–पक्षीबाट इन्फ्लुएन्जाको संक्रमणको जोखिम बढी हुने भएकाले जनावर तथा पशुपक्षीलाई छोएपछि राम्रोसँग हात मुख धोएर मात्रै खानपान गर्नुपर्छ । त्यति मात्रै हैन हाँस, कुखुरा तथा बंगुरलगायत पशुपक्षीले हाछ्युँ गर्दा पनि टाढा रहन चिकित्सकको सुझाव छ ।

इन्फ्लुएन्जाबाट बच्नका लागि राम्रोसँग साबुन–पानीले हात धोएर खानापान गर्नुपर्ने चिकित्सकको सुझाव छ । मासु राम्रोसँग पकाएर खानुपर्ने हुन्छ । ज्वरो तथा रुघा, मर्की लागेको समयमा प्रशस्त मात्रामा झोलिलो तथा पोषिलो गेडागुडीको रस खान चिकित्सकको सुझाव छ । सरसफाइमा त ध्यान दिनै पर्‍यो  ।

त्यसो त मौसमी इन्फ्लुएन्जाबाट बच्नका लागि भ्याक्सिनको प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । भ्याक्सिनको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले वर्षमा एकपटक फ्लुविरुद्धको भ्याक्सिन लगाउन सकिने डा. पुनको सुझाव छ । चिकित्सकका अनुसार भ्याक्सिनको प्रयोगले करिब ६० प्रतिशत इन्फ्लुएन्जाको जोखिमबाट बच्न सकिन्छ । इन्फ्लुएन्जाको संक्रमणको लक्षण देखिएको अवस्थामा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने डा. पुनको सुझाव छ ।

 

प्रकाशित: २६ चैत्र २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App