बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको बिहीबार सात स्वर्ण जितेको छ।
नयाँबजारस्थित खुशिबुँमा भएको प्रतियोगिताको पहिलो दिन ११ स्वर्णको टुङ्गो लाग्दा पामले सात स्वर्ण जितेको हो। पामले पुरुषमा चार र महिलामा तीन स्पर्धामा स्वर्ण हात पा¥यो। एपिएफले दुई तथा बाँके र रुसले समान एक स्वर्ण हात पारे। नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली र ५५ केजीमुनि दीपेश गुरुङले पामलाई स्वर्ण दिलाए।
फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स विक, अस्विनले एमएमएसीका दियान तामाङ, बविनले बालविकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोशी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे।
पुरुषकै ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले भुटानका निमा तेन्जिन तथा ६६ केजीमुनि एपिएफका विशेष विकले दाङका सुन्दर रानामगरलाई फाइनलमा हराउँदै शीर्ष स्थान प्राप्त गरे। पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली र ५२ केजीमुनि विनिता नेपालीले स्वर्ण जिते।
कृष्णाले फ्रान्सकी ली प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनिताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई पाखा लगाए। महिला ३६ केजीमुनि बाँकेकी खिमा रोका पहिलो भइन्। खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई पन्छाइन्। महिला ६३ केजीमुनि फाइनलमा एपिएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई हराउँदै पहिलो भइन्।
प्रतियोगिताको नेकोसका इन्चार्ज जेएन थपलियाले उद्घाटन गरेका थिए। प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका दुई सय ८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए। पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन्। प्रतियोगिताको अन्तिम दिन शुक्रबार १२ स्पर्धाको फाइनल हुनेछ।
लक्की र सुष्मालाई स्वर्ण
लक्की चौधरी र सुष्मा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्। नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा लक्कीले प्रशान्त चौधरीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। क्षितिज ठगुन्ना तेस्रो भए। महिला ५२ केजीमुनि फाइनलमा सुष्माले विपना पुनलाई पराजित गरिन्। भवानी श्रेष्ठ तेस्रो भइन्। आआफ्नो स्पर्धामा पहिलो भएका लक्की र सुष्मा जापानमा आगामी नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि छनोट भएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित: ५ वैशाख २०८२ ०७:४१ शुक्रबार





