coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सबैभन्दा लामो हनिमून

अनामनगरस्थित, फोटोग्राफर श्रीधर पौडेलको स्टुडियो पुग्दा अपराह्नको साढे तीन बज्नै लागेको थियो । फोटो खिच्न नायक तथा व्यवसायी संजोग कोइराला चिटिक्क परेको कपडामा सजिइसकेका थिए भने उनकी पत्नी वर्षा राउत हेयर मेकअपमा व्यस्त थिइन् ।

फोटोका लागि संजोगले जब कालो रंगयुक्त जिन्स पाइन्ट लगाएर वर्षाका अघिल्तिर झुल्किए, वर्षालाई त्यो मन परेन । उनले कालो जिन्सको बदला  नीलो लगाउन आग्रह गरिन् । तर वरपरकाले त त्यो आग्रह होइन, धम्की नै सुने ! ‘खुरुक्क नीलो जिन्स लगाऊ त !’ वर्षाको भनाइ थियो । सञ्जोग पनि चाइँचुइँ नगरेरै आदेश शीरोधार्य गरिहाले । नीलो जिन्समा सञ्जोग ट्रेन्डी र आकर्षक देखिए, वर्षाको मुहारमा मुस्कान फुल्यो ।

पछिल्लो छिमलकी अभिनेत्री वर्षा राउत र नायक तथा व्यवसायी सञ्जोग कोइरालाको गत वर्ष विवाह भए पनि अनेकन् कारणले रोकिएको हनिमून निकै पछि शुरु भएयता जारी नै छ । दुवैका साथीभाइले जिस्क्याउँदै भन्छन्, ‘तिमीहरु त संसारकै सबैभन्दा लामो हनिमून मनाउने जोडीका रुपमा कीर्तिमान बनाउँछौ कि क्या हो !’

मेकअपमा रहँदै गर्दा आफ्नो निद्रा नपुगेको गुनासो वर्षाले गरिरहेकी थिइन् । राति सुत्नुअघि अल्लु अर्जुनको साउथ इन्डियन फिल्म हेर्न थालेकाले निद्रा नपुगेको सुनाउँदै थिए । यत्तिकैमा सञ्जोगलाई भनिन्, ‘तिमीले गर्दा त हो नि, मेरो निद्रा नपुगेको !’

वरपरका मानिसको हाँसो सुनेर उनले हतारहतार थपिहालिन्, ‘फिल्म हेर्न थालेर निद्रा पूरा गर्न नपाएको !’
संजोगले थपे, ‘मैले फिल्म हेरे पनि अर्कोपट्टि फर्केर सुतेको भए भैहाल्थ्यो ! अरु बेलामा त त्यसै गथ्र्यो नि !’
वर्षाले लाडिएको स्वरमा जवाफ फर्काइन्, ‘अनि अल्लु अर्जुनको फिल्म ’थ्यो नि त !’ यो जोडीसँग केही घण्टा बिताउँदा यस्तै गनगन, जिस्काहट, पाट्टपुट्टको हात हालाहाल र चल्ने बानीले केटाकेटीपना नै देखियो । तर यिनको व्यवहारमा नजानुस्, यो जोडीले आफ्नो अभिनय रहर पनि पूरा गरिरहेको छ र व्यवसायमा पनि जमिरहेको छ ।

वैवाहिक वार्षिकोत्सव
अघिल्लो बर्ष प्रणय दिवसको अवसर पारेर विवाह बन्धनमा बाँधिएको यो जोडी, बिहेलगत्तै हनिमुन जान पाएको थिएन । संजोगको व्यवसायको काम र वर्षाको ‘जात्रैजात्रा’ फिल्मको सुटिङले सँगै समय बिताउन नपाएको यो जोडी यस बेला भने मधुमासमा व्यस्त छ । बिहेको एक वर्ष पूरा भइसक्दा पनि आफ्नो हनिमुन अझै जारी रहेको संजोग बताउँछन् । अझै उनीहरुलाई फिल्मवृत्तका मानिसहरुले विश्वकै सबैभन्दा लामो हनिमुन मनाउने जोडीसमेत भन्ने गरेको संजोगले सुनाए ।

करिब सात वर्षे प्रेम सम्बन्धलाई पूर्णता दिँदै बिहे गरेको यो जोडीलाई नागरिक परिवारले बिहेअघि र पछिमा के फरक हुँदोरहेछ भनेर सोध्यो । ठट्यौली पारामा संजोगले भने, ‘बिहेअघि भेटका बेलामा मात्रै गन्गन् गर्न पाउँथिन्, अहिले दिनरात पाएकी छन् ।’ यसपछि उनी मज्जाले हाँसे । उनको ठट्टाका कारण वातावरण रङ्मङियो ।
जवाफमा वर्षाले संजोग पनि दोष लाउन र गन्गन् गर्न त कम नभएको  पनि बताउन भ्याइन् ।

वर्षाले गरेका हरेक गन्गनलाई रमाइलो ‘दुःख’का रुपमा लिन्छन्, संजोग । अझ भनौँ, वर्षाले गर्ने हरेक गन्गन सञ्जोगलाई निकै मनपर्छ । उनले भने, ‘मान्छेको सबैभन्दा अनौठो र रमाइलो नेचर भनेकै हरेक कुरालाई तैँले गर्दा यस्तो भा’को भन्ने हो ।’ उनले वर्षातर्फ हेर्दै भने, ‘तिम्ले गर्दा खान नपाएको, तिम्ले धेरै खान दिएर मोटाएको आदि कुरा सुन्दा मलाई त रमाइलो लाग्छ ।’

जवाफमा वर्षाले आँखा तर्दै भनिन्, ‘तिम्लाई यस्तै दुःख दिनलाई त हो नि बिहे गरेर बूढा बनाएको !’
बिहे गरे पनि उनीहरुको प्रेमीप्रेमिकाको जस्तो बानी भने हराएको छैन । हँस्यौलो पारामा संजोगले भने, ‘हामी त अहिले पनि ब्वाइफ्रेन्ड, गःलफ्रेन्डजस्तै छौँ । फरक यत्ति हो कि, पहिले एक्लै खाटमा सुत्न पाइन्थ्यो, अहिले थोरै ठाउँ मात्रै बाँकी रहन्छ !’

यति भनेपछि उनी फेरि हाँसे र वातावरणलाई अझ रमाइलो बनाए ।

वर्षा पनि के कम ! ओछ्यानमा धेरै ठाउँ ओगटेको आरोप मन परेनछ, तुरुन्तै जवाफ फर्काइन्, ‘अनि अलि ठूलो खाट किन्नुपथ्र्यो नि त ! कल्ले सानो किन्न लगाएको ’थ्यो र !’ संजोगलाई बिहे पछिको परिवर्तन खासै नलागे पनि वर्षालाई भने माइती र घरमा केही फरक लागेको रहेछ । उनले भनिन्, ‘पहिले माइतीमा छँदा जतिबेर सुत्दा पनि हुन्थ्यो, उठे पनि कोठाबाट निस्कनु पर्थेन तर बिहेपछि चाँडै उठ्नपर्छ ।’

एउटी सामान्य नेपाली बुहारीले जस्तै बिहान उठेर भाँडाबर्तन र बढारकुँडार भने गर्नुनपर्ने उनले सुनाइन् । भनिन्, ‘बुहारी भएपछि एकपल्ट उठेर घरपरिवारका सबैलाई गुड मर्निङ त भन्न परिहाल्यो नि !’ उनलाई मन नपर्ने अर्को कुरा पनि रहेछ ! आफन्तको पार्टी तथा हुलमुल हुने ठाउँमा जान । बिहे नहुँदा त जान मन नलागेको ठाउँमा जान्न भन्न पाइन्थ्यो तर अहिले त बोलाएको ठाउँमा मन नलागे पनि जानैपर्ने !

यसैलाई संजोगले थप प्रस्ट पार्दै भने, ‘हामी समाजमा बसेपछि सामाजिक बन्नुपर्छ । परिवारका सदस्यहरुको मन राख्नुपर्छ, उनीहरुलाई साथ पनि दिनुपर्छ । उनीहरुले भनेको ठाउँमा, बोलाएको कार्यक्रममा सहभागी भएन भने त हामी सोसल हुनै सक्दैनौं नि !’

वर्षाले बिहे पछिका यति धेरै फरकपना वर्णन गरिसकेपछि भने संजोगलाई सोधियो, तपाईंको जीवनमा पनि त फरक आयो होला नि ? उनले जवाफमा थपे, ‘हामी केटाहरुलाई पनि बिहे गरेपछि चाँडै घर आउनुपर्ने रहेछ । साथीहरुसँग बढी समय बिताउन नपाइने रहेछ नि ! समयमै घर जान मन अलि हतारिने भएकाले साथीभाइले बेलाबखत जोइजिङ्ग्रेको पगरी गुथाइदिन्छन् ।’ जोइटिङ्ग्रे शब्द सुनेपछि वर्षाको ओठमा मुस्कान देखियो ।

धेरै घुम्ने जोडी
यो जोडीलाई फुर्सतको समयमा देश–विदेशका विभिन्न ठाउँमा डुल्न निकै मनपर्छ । त्यहाँका कला, संस्कृति र प्राकृतिक छटाहरुको आनन्द लिन मन पर्छ । धेरैभन्दा धेरै ठाउँ जान सकियोस् भनेर यो जोडीले एउटै ठाउँ कहिल्यै पनि दोहोर्‍याएको छैन रे ! ‘एकोहोरो नै सकिएको छैन !’ सञ्जोग भन्छन्, ‘त्यसैले दोहोर्‍याउने कुरा त अहिले टाढै छ ।’ आफू पुगेका हरेक ठाउँ अनौठा र सुन्दर लाग्छन् यो जोडीलाई । अझै वर्षाले सरप्राइज भनेर माल्दिभ्स् पुर्‍याएको घटना त संजोग कहिल्यै भुल्दैनन् !

नेपालको पनि धेरै अविस्मरणीय ठाउँहरु घुमेको छ यो जोडीले । निकै याद आउने ठाउँ भनेको अन्नपूर्ण बेस क्याम्प रहेको वर्षा बताउँछिन् । किन अन्नपुर्ण बेस क्याम्प नै बढी अविष्मरणीय लाग्छ त ? वर्षा भन्छिन्, ‘त्यहाँबाट फर्कँदा मलाई लेक लागेको थियो । अहिल्यै मरिएलाजस्तो लागेर अविष्मरणीय बन्न पुग्यो ।’

सञ्जोगले यो घटनालाई विस्तारमा बताए । भने, ‘हामी बिहान हेलिकप्टर चढेर अन्नपूर्ण बेस क्याम्प गएका थियौँ । हिमालको काखमा केही घण्टा बिताउँदा स्वर्गको अनुभूति भएको थियो । बेलुकी फर्कने बेलामा भने वर्षालाई टाउको दुख्ने, रिँगटा लाग्ने भएर आयो ।’

भविष्यमा उनीहरु हप्तौंहप्ता लगाएर हिँड्दै यस्ता अद्भूत ठाउँमा जाने योजना रहेको पनि बनाउँछन् । यतिबेला भने व्यस्तताका कारण मन भए पनि ट्रेकिङका लागि समय छुट्याउन नसकेको उनीहरुको भनाइ छ । सञ्जोगले वातावरणलाई रमाइलो बनाउन गीत गाउन थाले, ‘चालीस कटेसी रमाउँला..!’

भगवान् भरोसामा बच्चा
बिहे नहुञ्जेल, बिहे कहिले ? सोधेर हैरान पार्नेहरु अहिले बच्चा कहिले भनेर वाक्क बनाउँछन् यो जोडीलाई । त्यसैले वर्षाले यसका लागि रेडिमेड उत्तर बनाएर ठिक्क पारेकी छन्, ‘यो कुरा हामीले भगवान्लाई छाडिदिएका छौँ ।’
तुरुन्तै सञ्जोगले कुरा मिलाउँदै भने, ‘अहिले नै बच्चाको योजना बनिसकेको छैन । यसका लागि अझै तीन या चार वर्ष लाग्छ होला । पहिले आफ्नो करियरलाई त व्यवस्थापन गरौँ अनि बच्चाका कुरा सोचौँला !’

यही कुरामा सहमति जनाउँदै वर्षाले थपिन्, ‘अहिले घरबाट पनि प्रेसर छैन र कतैबाट हामीलाई यस्ता कुरा आइहाले पनि हामी ‘क्यापेबल’ नहुञ्जेलसम्म नजन्माउने भन्छौँ । उनले बच्चा जन्माएपछि आफैँले हुर्काउनुपर्ने कुरालाई जोड दिँदै ठट्टा गर्न पनि भ्याइन्, ‘जन्माएपछि त १०ं कक्षासम्म पढाउन सक्नुप¥यो नि !’

बिहेपछि फिल्मकर्मीको हेराइ
अन्य नायिकाहरु बिहेपछि यो क्षेत्रबाटै हराउँछन् । कति घरपरिवारका कारण फिल्म क्षेत्र छाड्न बाध्य हुन्छन् । कतिपय निर्माता–निर्देशक नै यस्ता अभिनेत्रीबाट टाढिन्छन् । किनभने बिहे अगाडि र बिहे भएपछि निर्माता निर्देशकले नायिकालाई हेर्ने नजर नै फरक हुनेगर्छ ।

यस मानेमा भने वर्षा भने आफूलाई भाग्यमानी ठान्छिन् । धेरैले करियर सुरु हुन लागेको मात्रै थियो, किन बिहे गरिहालेकी होली भनेर कुरा गरे पनि आफूलाई केही फरक नपरेको उनको भनाइ छ । भनिन्, ‘मलाई त बिहेअघि सबैले बच्चाजस्तो मानेर हेप्थे, बिहेपछि त म्याच्योर तरिकाले व्यवहार गर्छन् ।’ त्यति मात्रै होइन, बिहेअघि उही प्रेमी संजोगसँग हिँड्दा हेर्ने नजर र अहिले बिहेपछि उही श्रीमान् संजोगसँग हिँड्दाको नजरमा समेत आकाश जमिनको फरक आएको उनको अनुभव छ ।

यसै कुरालाई जोड दिँदै सञ्जोगले भने, ‘समय परिवर्तन हुँदै गएको छ । पहिलेजस्तो अर्काको बारेमा चियोचर्चो गरेर बस्ने फुर्सत कसैलाई छैन । त्यसैले बिहेअघि आफूले जीवन बिताउने मानिस कस्तो खालको हो भनेर कम्तीमा २४ घण्टा त बिताउनैपर्छ ।’

यही कारण उनलाई आजभोलिको लिभ इन टुगेदरवाला कन्सेप्ट मनपर्छ । यसैमा वर्षाले थपिन्, ‘बिहेपछि यो मान्छे त यस्तो रहेछ, मलाई त थाहै थिएन भन्नुभन्दा बरु राम्रोसँग बिहेअघि नै चिनजान गर्नु राम्रो हो ।’

समयअनुसार कल्चर पनि परिवर्तन हुँदै जाने भन्दै सञ्जोगले भने, ‘पछि हाम्रो बच्चाको पालामा झनै के के परिवर्तन होला ! त्यसलाई स्वीकार्न सकिएन भने त राम्रो अभिभावक नै बन्न सकिँदैन !’ ‘बच्चालाई दबाब दिने कुराबाट जतिसक्दो टाढा राख्नुपर्छ, चाहे त्यो अरुको होस् या आफ्नै किन नहोस् !’ सञ्जोगले भने, ‘उनीहरुको हरेक डिसिजनलाई स्वीकार गर्न सक्नुपर्छ ।’

परिवारको संस्कारी छोरा
सञ्जोग तराईमा जन्मिए । चार सन्तान र दुई बाबुआमाको यो आधा दर्जन सदस्यमध्ये परिवारमा उनी सबैभन्दा कान्छा सदस्य हुन् । जेठी दिदी र जेठो दाइ चिकित्सक छन्, कान्छी दिदी फेसन डिजाइनर छिन् र उनी धेरै ठाउँमा हात हालेर सफल व्यवसायी बनेका छन् । अभिनय उनको शोख हो ।

राजविराजमा जन्मिए पनि उनी काठमाडौंमा हुर्किए । सानैदेखि बाबुआमाले छोराछोरीको पढाइलाई जोड दिँदै होस्टलमा राखेर पढाए । उनले हाँस्दै भने, ‘हामी छोराछोरीमध्ये सबैभन्दा कम होस्टेल बस्ने पनि मै हुँ !’
आमाबुबाले सानैदेखि सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु भन्ने संस्कार सिकाएकाले होला आफूलाई सबै किसिमको मौसम उस्तै लाग्ने सञ्जोगले बताए । ‘अहिले जति सफलता हात पार्न सकिएको छ, उहाँहरुकै संस्कारको फल हो,’ सञ्जोगले भने ।

अहिले वर्षालाई घरमा भित्र्याएपछि त व्यवसायमा चार चाँद लागेको भन्दै वर्षातर्फ पुलुक्क हेर्दै भने, ‘भविष्य राम्रोसँग बित्ने संकेत छ ।’ भारतमा पाँच वर्ष लगाएर चार्टर्ड एकाउन्टेन्ट पढे । नेपालमा आएर केही फिल्मसँगै अहिले फर्निसिङको व्यवसाय चलाइरहेका छन् । साथसाथै, रेस्टुराँमा पनि लगानी गर्न भ्याएका छन्, सञ्जोगले ।

सधैँ अगाडि
वर्षाको परिवार भने एकदमै कडा ! अनुशासित जीवन र पढाइमा बढी ध्यान दिनुपर्ने जोड हुन्थ्यो । सानो बेलामा परिवारका सदस्यले पढाइमा धेरै जोड दिएकाले पनि होला, त्यही कुरामा उनले ध्यान दिन सकिनन् । वर्षाले भनिन्, ‘पढाइ र खाली पढाइ भनेकाले मलार्य त पढ्नै मन नपर्ने !’

ज्यादै अनुशासित बस्नुपर्ने भएकाले प्रश्न सोध्न र केही विचार राख्न पनि डर लाग्ने गरेको उनको भनाइ छ । यतिबेला बल्ल आफूले ‘कूल’ बुबाआमा देख्न पाएको भन्दै उनले ठट्टा गरिन् ।

यस्तो कडा परिवारमा हुँदाहुँदै पनि उनी कला क्षेत्रमा प्रवेश गरिन् अनि आफैँले  मन पराएको केटोसँग धुमधाम बिहे पनि गरिन् । कसरी सम्भव भयो त ? उनले भनिन्, ‘बाबुआमाको आँखा छलेर म्युजिक भिडियो गर्थें नि त !’
एकपल्ट भने उनले बुबालाई आफूले पर्फमेन्स गर्ने कार्यक्रममा सँगै लिएर गइन् । त्यहाँ आफूले गर्ने कामहरु राम्रोसँग देखाइन् र बाबुको सपोर्ट हात पारिन् । सपोर्ट भए पनि बेलुकी ५ बजेसम्म घर पुगिसक्नुपथ्र्यो । ५ बजे घर पुग्ने नियम भने उनलाई बिहे अघिसम्मै कार्यान्वयन गर्नुपर्ने बाध्यता थियो ।

यसरी फिल्म क्षेत्रमा पाइला मात्रै सारिनन् उनले, बाबुआमाले बिहेका लागि केटा खोज्नुअगाडि नै सञ्जोगलाई चिनापर्ची गराइदिइन् । ‘जति नै कडा परिवार भए पनि म उनीहरुभन्दा एक स्टेप फर्वार्ड थिएँ नि त !’ उनले हाँस्दै भनिन् ।

भेटघाट र प्रेम
फिल्ममा चासो भएकी वर्षा र त्यस्तै विचारका सञ्जोगको भेट पनि संयोगले नै भएको थियो । कक्षा १२ को परीक्षा सकेर फेसबुक चलाउन सुरु गरेकी वर्षाको भेट ‘सरी ल’ फिल्मको अडिसनको बेला भएको थियो । सञ्जोग पनि सोही फिल्मको अडिसनका लागि त्यहाँ पुगेका थिए र वर्षा पनि !

मण्डला नाटक घरमा फिल्मको अडिसन चलिरहेको थियो । सञ्जोगले राम्रैसँग अडिसन दिएका थिए र बाहिर यत्तिकै बसिरहेका थिए । वर्षा बोलिरहनुपर्ने स्वभावकी, उनी बोलिहालिन्, ‘कस्तो राम्रो अभिनय आउँदो रै’छ तपाईंलाई त ! म त एकदमै नर्भस छु ।’

स्वाद लिँदै संजोगले सुनाए, ‘मैले पनि हिरो पारामा केही हुँदैन, आत्तिनु पर्दैन भनेर फूर्ति मारेंँ ।’
दुवै जना त्यो फिल्मका लागि छनोट भए । पछि वर्षाले नै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन् तर सञ्जोगले चार–पाँच दिनसम्म वास्ता गरेनन् । फिल्मका निर्देशक ऋषि लामिछानेले वर्षाले त फ्रेन्ड रिक्वेस्ट पठाएको छ रे किन साथी नबनाएको भनेर सोधेपछि मात्र दुवै जना साथी बने ।

भविष्यको योजना
अहिले यी दुईले आ–आफ्नो नाम मिलाएर, सांसा युट्युब च्यानल खोलेका छन् । छोटो समयमै लगभग एक लाख सब्स्क्राइबरसमेत पुगिसकेको छ । उनीहरुको यो च्यानलमा एउटै भिडियोको लाखौं पटक हेरिन्छ । बिहेपछि आफ्नो मेमोरीका रुपमा च्यानल खोलेका उनीहरु यसलाई अझै अगाडि बढाउने योजनामा छन् । यसबारे संजोगले भने, ‘क्यामेर पनि छ, खिचौं न त भनेर खिचेका भिडियोहरु भविष्यका लागि पनि डेटाको रुपमा काम गर्नेछन् । त्यति मात्रै होइन, पछि यसैमार्फत वेब सिरिज बनाउन सजिलो होला भनेर सञ्चालनमा ल्याएका हौँ ।’

अहिलैदेखि आफ्नो ब्रान्ड बनाउन सुरु गर्नुपर्ने बताउँदै उनले भने, ‘अन्त कतै काम पाइएन भने पनि पछि यही बेचेर जीवन बाँच्न सकिन्छ नि !’

सँगै काम गर्दाको क्षण
यी दुईले मनोरञ्जन उद्योगमा व्यावसायिक तरिकाले विरलै काम गरेका छन् । बाहिरबाट हेर्दा जोडीलाई काम गर्न सजिलो लागे पनि व्यावसायिक रुपमा काम गर्न गाह्रो हुने वर्षाले सुनाइन् । यो कुरा फोटोसुटमा पनि देखिइरहेको थियो । यसअघि एउटा म्युजिक भिडियो सुटिङलाई सम्झँदै दुवै एकअर्काको मुख हेरेर निकैबेर हाँसे । यत्तिकैमा फोटोग्राफरले वर्षाको अगाडि सञ्जोग कमजोर देखिएको गुनासो गर्नेबित्तिकै वर्षाले सञ्जोगलाई जोगाइहालिन् ! भनिन्, ‘फोटोसूट गर्दा मेरा बूढालाई त एट्टिच्युड देखाउन पनि आउँदैन भन्या !’

प्रकाशित: २२ चैत्र २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App