३१ श्रावण २०७७ शनिबार
अन्य

पुरानो सामाजिक संरचना भत्किँदै छ

मिरा मिश्र
अहिले हामी संक्रमणकालीन अवस्थामा छौँ । वर्षाैंदेखि बनेको सामाजिक संरचना बदलिँदै छ । नयाँ सामाजिक संरचना, नयाँ विचारधाराहरु आउने क्रममा छन् । लैंगिक रुपमा पनि हामीले त्यसरी नै हेर्नुपर्छ । पुराना सामाजिक संरचना अब धेरै टिक्दैनन् । महिला भन्ने बित्तिकै घरबारको मात्र जिम्मा अनि पुरुष भन्ने बित्तिकै घर बाहिरको मात्र जिम्मा लिने हो भनेर बुझिने पुरानो संरचना बिस्तारै भत्किँदै छ ।

हाम्रै देशमा पनि हरेक
क्षेत्रमा महिलाको सहभागिता सराहनीय छ । यद्यपि एकाध समय बाहेक महिला नेतृत्वमा पुग्न पाएको भने देखिँदैन । जति पुगेका थिए उनीहरुले पदीय जिम्मेवारी सफलताको साथ सम्पन्न गरेको उदाहरण हाम्रो सामु छ । पब्लिक फिगरमा अझै पनि उनीहरुको कामलाई प्रशंसा गरिन्छ । यति हुँदाहुँदै पनि किन महिला नेतृत्वलाई विश्वास गरिन्न त ? यसका केही आयम यो लेखमाफर्त प्रस्तुत गरौं।

संरचनाले नै सार्वजनिक व्यत्तित्व बनाइएका पुरुष
हाम्रो समाजको संरचना दुई प्रकारको रहेको छ । घर भित्र र बाहिरको । घरभित्रको खाना बनाउने, बुढाबुढीको हेरविचार गर्ने, बच्चाबच्चीको हुर्काइबढाइ गर्नेलगायतको काम महिलाको जिम्मामा छ ।

बाहिरको संरचनाको जिम्मेवारी पुरुषलाई  छ । यही संरचनाको कारण पुरुष सार्वजनिक व्यत्तित्व भएको हो । धाराकुलो बनाउने, वडाको काम गर्ने, झैझगडा पर्‍यो भने मिलाउने, नयाँ केही काम गर्नुपर्‍यो भने  पुरुषहरुको मात्र राय सल्लाह सुझाव लिइन्छ । पुरुषको सार्वजनिक व्यत्तित्वलाई समाजले, परिवारले र राष्ट्रले नै आत्मसाथ गरेको पाइन्छ ।

तसर्थ, परिवार, समाज र राष्ट्र नै पुरुषलाई सार्वजनिक व्यत्तित्व बनाउन लागि परेको हुन्छ । स्वाभाविक रुपमा पुरुषलाई आफू पब्लिक भएको महसुस हुन्छ । राजनीति गर्नु पनि सार्वजनिक हुनुको पाटो हो । पुरुषलाई बाहिरको काममा फिट गराउँदै लैजाने महिलालाई घरभित्रको काममा फिट गराउँदै लैजाने व्यवस्था संरचनाले तय गरेको छ ।
हिजो आज पनि छोरीलाई पढाउने मात्रै हैन खाना पकाउन सिकाउने, अति नरम भएर बोल्नुपर्ने, बिहान अबेरसम्म सुत्न नहुने जुन छोरा मान्छेलाई सिकाइन्न । यो नियम सिकाउनुको एउटै कारण बिस्तारै अरुको घरमा जान तयारी गर्दै लगेको हो । छोरीलाई इण्डीपेण्डेन्ट बनाउने भन्दा पनि अरुको घर गरेर खान सिकाउने परिपाटी आजसम्म पनि छ ।

सन् १९९० पछि देखिएको परिवर्तन
सन् १९९० पछि महिलाहरु सार्वजनिक हुने क्रम बढेर गएको छ । स्कुल, कलेज, अफिसहरुका सबै क्षेत्रमा सहभागिता बढेर गएको देखिन्छ । सुरुवात राजनीतिबाट भएको हो । स्थानीय सरकारमा महिला एकजना अनिवार्य गरिएको थियो । जसले गर्दा महिलाहरु शासन गर्ने ठाउँमा पुग्न सहज पारेको हो ।

सुरक्षाको क्षेत्रमा महिला थिएनन् । टेक्निकलमा भने थिए । डिफेन्समा थिएनन्  । अहिले जवानदेखि ठूलै पदसम्म पुग्दै छन् । धेरै कुराहरु खुल्दै गएको छ । पक्रिया सुरु भएको हो । १९९६ पछि माओवादीको सशस्त्र विद्रोह सुरु भयो । हिंसालाई कदापि समर्थन गर्न सकिन्न तर सत्य के हो भने बन्दुक बोकेर हिँडेका महिला देखेर वर्षौंदेखि महिला कमजोर हुन्छन् भन्ने मूल्यमान्यतामा परिवर्तन भने आएको हो ।

वैदेशिक रोजगार र युद्धले गर्दा पुरुषहरु घरबाहिर हुने भए । महिलाले जोत्ने, खन्ने, मलामी जानेसम्मका काम गर्न पर्‍यो जसले गर्दा महिला कमजोर हुन्छन् भन्ने मानसिकता भत्काइदियो । सन् १९९० पछि महिला सार्वजनिक व्यत्तित्वमा भएर आउने क्रम बढेको त छ तर पुरुषलाई जस्तो सहज अवस्था महिलालाई भने छैन ।

महिलाको योग्यता पनि धराप
समाज परिवर्तन गर्न राजनीतिले ठूलो भूमिका खेलेको हुन्छ । दोस्रो जनआन्दोलनपछि व्यवस्था गरिएको आरक्षण प्रणालीले धेरै राम्रो काम गरेको छ । उपस्थिति सबैको देखिएको छ । तर निर्णायक तहमा पुरुषकै हालीमुहाली छ । हरेक क्षेत्रको निर्णायक तहमा पुरुषै विराजमान छन् ।

क्षमता भइकन पनि महिला माथिल्लो ओहोदामा पुग्न सकिरहेका छैनन् । फिनल्याण्ड, नर्वेलगायतका केही देशमा बाहेक अरु देशको वास्तविकता यस्तै हो । नेतृत्वमा किन भएनन् भन्ने कुराहरु नेतृत्वको संघर्षको अवस्था हो । किन भन्नेमा नजाऊँ, कस्तो भयो भने नेतृत्वमा पुग्न सकिन्छ ? नेतृत्वमा पुग्न लागेकालाई खुट्टा तान्न किन आवश्यक पर्‍यो होला ?

सभामुख बन्नका लागि सशक्त दाबी गरेकी पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेकै  कुरा गर्दा उहाँ प्राज्ञिक र क्षमता भएको मान्छे हो र पार्टीभित्र पनि योगदान गरेको मान्छे । उहाँलाई सभामुख बन्न नदिनुको कारण एक नेतृत्वले आफ्नो गुटतिरको मान्छे खोज्यो अर्काे ज्ञान क्षमतामा जान्ने भए पनि महिलाको नेतृत्व के स्विकार्ने भन्ने दिमागमा रहेको ढोंग निकाल्न सकेनन् । कहिलेकाहीँ निडरपन हक्की स्वभाव र प्राज्ञिकता पनि बाधक बन्छ ।

जुझारुपन नै आजको आवश्यकता
हिजोआजका केटीहरुमा जुझारुपन र स्वतन्त्र विचारधारा बढी देखिन्छ । पहिले पहिले छोरीलाई स्कुल पठाइन्थ्यो । छोरी मान्छेलाई स्कुल देखे पनि आफू जाने हो भन्ने लाग्दैनथ्यो । जसै एक दुईजना छोरीको पनि उपस्थिति स्कुलमा देखिन थाल्यो अनि छोरीलाई लाग्न थाल्यो म पनि स्कुल जान पाउनुपर्छ । स्कुलमा केटाकेटी बराबरी देखिन थाले अनि स्कुल नजाने केटीहरुले घरमा गएर मलाई किन स्कुल नपठाएको भनेर प्रश्न सोध्न थाल्छन् । हो यसरी नै हो विचारधाराको विकास हुने ।

त्यस्तै आज हामीले निर्णायक तहमा महिला नदेखेको कारण शासनको बागडोरमा महिलाको उपस्थिति नभएको महसुस भएको हो । यो क्रम सधैँ रहँदैन । अहिलेको पुस्ता धेरैभन्दा धेरै स्वतन्त्र अनि आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । मलाई के लाग्छ भने तत्कालै निर्णायक तहमा पुग्ने वातावरण त छैन तर भविष्य सुन्दर छ । त्यसकारण प्राप्त सुविधालाई उपयोग गर्दै आफूमा क्षमता विस्तार गर्न आवश्यक छ ।
कुराकानीमा आधारित

प्रकाशित: ३० फाल्गुन २०७६ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App