coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रेम फाटेको बाटो अर्थात् जेब्रा क्रस

जीवनमा चुनौतीसँग जुध्न चाहने तर्कना शर्माले आफनो उपन्यास ‘जेब्राक्रसमा वैचारिक चुनौतीसँग जुध्ने प्रयास गरेकी छिन्। उनको लेखनशिल्प यस उपन्यासमा छताछुल्ल भएको छ। भाषाशैली सरल र सुमधुर छ।

स्याङ्जा, पोखरा र काठमाडौं उनको उपन्यासको पृष्ठभूमि हो। यसकै वरिपरि यसभित्रको कथा घुमेको छ। अनि पात्रहरुले यी तीन परिवेशमा आधारित भएर आफ्नो मनोदशालाई अभिव्यक्त गरेका छन्। हाम्रो नेपाली समाजमा समलिंगीहरुलाई गरिने व्यवहार र उनीहरुले भोगेको पीडालाई लेखकले चरितार्थ गरेकी छिन्। त्यसैले समाजको सीमान्तकृत वर्गप्रति तर्कना सचेत छिन् भन्दा अतिशयोक्ति नहोला। महिला विभेद र जातीय विभेदलाई मात्र पछ्याइरहेको अवस्थामा उपन्यास जेब्रा क्रसले उठान गरेको विषयवस्तु नवीनतम् सामाजिक विकृतिको शंखघोष हो।

लेखकको विचारमाजीवन कल्पना र आदर्शभन्दा धेरै पर छ। यथार्थ नै जीवनको वास्तविकता र सत्य हो। आफू बाल्यकालमा छँदा यस उपन्यासकी म पात्रले आफ्नो जीवनमा सपनाको राजकुमारको आगमनको परिकल्पना गरेकी छिन्। अनि त्यो सपना र वास्तविक जीवनमा तालमेल नहुँदा उनी तितो सत्यको सामना गर्न बाध्य हुन्छिन्। यही क्रममा उनी जीवनको बारेमा गम्भीर हुन्छिन् र भन्छिन् ‘जीवनको आदर्श सधैँ कहाँ रहिरहन्छ र? कुनै दिन आदर्श भत्काउनुपर्छ। जीवन सत्य हो। आदर्शको भित्तो च्यातेर जीवनको सतह छाम्नैपर्ने रहेछ।’    

आफूले बिहे गरेको व्यक्ति विराजलाई उनी आफ्नो सपनाको राजकुमार ठान्छिन् र उसको प्रेममा विलीन हुन्छिन्।जब विराज समलिंगी भएको थाहा पाउछिन्, तब उनको सपना भताभुंग हुन्छ। त्यसपछि म पात्रको संघर्षमय यात्राको सुरुवात हुन्छ। अब उनी जिन्दगीको खास कठोरतालाई अनुभूत गर्छिन्। विराज समलिंगी भएर पनि आफ्नी श्रीमतीमा पौरुषत्व हासिल गर्न खोज्छन्। जुन कूरा उपन्यासकी म पात्रलाई चित्त बुझदैन्। विराज र उनको सम्बन्धलाई जेब्रा क्रससँग जोड्दै आफ्नो पीडा यसरी ओकल्छिन्, ‘म त्यही दिन झलझली सम्झिन्छु। जुन दिन हामी लोग्नेस्वास्नी रहँदैनौ भन्न अदालत गएका थियौँ। हाम्रो जिन्दगीको जेब्राक्रस अदालतबाटै फाटिदियो।’ जीवनको संघर्षमय यात्रालाई जेब्रा क्रससँग तुलना गरिएको छ।

जहा अलिकति गल्ती हुँदा दुर्घटनाको सम्भावना रहन्छ। आफ्नो श्रीमान्को कुण्ठाग्रस्त मानसिकताका कारण म पात्र नीराले व्यहोरेको कठिनाइलाई यस कृतिमा चित्रमय शैलीमा चित्रण गरिएको छ। समाजमै जन्मिएर पनि मानिसले सामाजिक प्राणीको रूपमा स्वतन्त्रता र सम्मानसहित बाँच्न नपाएकाको मर्मलाई लेखकले गम्भीर रूपमा औँल्याएकी छिन्। उपन्यासको अन्त्यमा प्रेमर जेब्रा क्रसबीचको सम्बन्धलाई तर्कनाले प्रस्ट्याएकी छिन्, ‘जीवनलाई प्रेमबाट टाढा राख्नु कल्पना बाहिरको कुरा हो। प्रेमको न्यानोबाट जीवन कदापि टाढा रहन सक्दोरहेनछ। प्रेमको झोली भरिँदैन होला। जीवनले प्रेम नखोजेको भए जेब्राक्रस जन्मिदैनथ्यो होला। यो त्यही सानदार अनि कठिन प्रेमको पाखो हो।

समाजले हेला गरेका पात्रलाई आफ्नो किताबमा समेटेकाले उपन्यासमा मानवता अत्याधिक रूपमा छचल्किएको प्रतीत हुन्छ। महिलाले समलिंगी र तेस्रो लिंगी भन्दा पनिअपहेलित भएर बाच्नुपरेको कटु यथार्थप्रति लेखक कटाक्ष प्रहार गर्छिन्। कृतिले मानवीय संवेदनाको पक्षमा वकालत गरेको छ। समग्रमा जेब्राक्रस उपन्यास पठनयोग्य छ। यो कृतिलाई सांग्रिला बुक्सले बजारमा ल्याएको छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App