६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

समाज सुधारक होइनन् गौतम बुद्ध

धर्मदर्शन वा धार्मिक अगुवाले मालिक र सेवकबीच हुने वर्ग संघर्षको समाधानमा ध्यान दिएको पाइँदैन। गौतम बुद्धले पनि यसतर्फ चासो दिएका छैनन्।  मालिक र सेवकबीच कस्तो सम्बन्ध हुनुपर्छ,  के कस्ता कार्यबाट  दुवैलाई फाइदा हुन्छ ? यस्ता पक्ष समेटेर गौतम बुद्धले उपदेश दिएका छन्। गौतम बुद्ध (इपू ५६३–४८३) को प्रशंसकबाट उनलाई ‘समाज सुधारक’ र ‘क्रान्तिकारी व्यक्तित्व’ को विशेषण भिराइन्छ, तर  उनीहरू बुद्ध भनी पहिचान दिने ‘धर्मदर्शन’सँग  विमति राख्दै हिँड्छन्। बुद्धका सम्बन्धमा आफूअनुकूल अर्थ लगाउने र आत्मरतिमा रमाउने प्रवृत्तिबाट कसैको भलो हुँदैन। बुद्धको शिक्षा (धर्मदर्शन)का सम्बन्धमा उदासीन वा नकारात्मक हुने प्रवृत्तिलाई नियाल्दा ठूलै गडबडी रहेको संकेत मिल्छ।

‘समाज सुधार’ र ‘क्रान्तिकारी’ शब्दले दिने प्रचलित अर्थसँग बुद्धको खासै सरोकार छैन। धर्मदर्शनको क्षेत्रमा बुद्धलाई ‘क्रान्तिकारी’ भन्न सकिने थुप्रै आधार छन्, तर ती आधारसँग बुद्ध प्रशंसकले कुनै सरोकार राख्दैनन्। यसर्थ, उनीहरू गलत बुझाइ वा भ्रममा छन् भन्ने प्रस्ट हुन्छ। सिगाल नामका कुलपुत्रलाई दिइएका उपदेश रहेको सूत्रलाई ‘सिगालोवाद सूत्र’ भनिएको छ। घरगृहस्थी चलाउने विषय समेटएका ती उपदेशको महत्वलाई ध्यान दिएर यसलाई ‘गृहविनय’ भन्ने गरेको पाइन्छ। यसमा मालिक र सेवकबीचको सम्बन्धलाई पनि दर्साइएको छ।  युवायुवतीलाई गराउनुपर्ने काम वृद्धवृद्धालाई गराउनुहुँदैन। यसरी नै वृद्धवृद्धालार्ई गराउनुपर्ने काम युवायुवतीलाई गराउनुहुँदैन। पुरुषलाई गराउने काम महिलालाई गराउनुहुँदैन। यसरी नै महिलालाई गराउनुपर्ने काम पुरुषलाई गराउनुहुँदैन। काम गराउँदा ठूलो र सानो उमेरमा पनि ध्यान दिनुपर्छ ।

मालिकले कामको जिम्मेवारी दिँदा यस्ता पक्षमा ध्यान दिनुपर्छ, काम मात्रै गराउने तर प्रोत्साहनका लागि केही नगर्ने प्रवृत्ति त्याग्नुपर्छ। पारिश्रमिक नदिइए पनि समय समयमा दासलाई केही खर्च दिइनुपर्छ। पारिश्रमिक दिनुपर्ने सेवकलाई पनि समयमै उचित पारिश्रमिक दिनुपर्छ। यसो गर्नाले सेवकका आँखामा मालिकको इज्जत हुन्छ, अन्तरहृदयदेखि नै ऊ मालिकको प्रशंसक हुन्छ। सेवक बिरामी पर्दा स्वास्थ्य उपचारको व्यवस्था गर्नु मालिकको कर्तव्य हो। त्यस्तै,  आफूले खाने मिठो–मसिनो खाना बेलाबेलामा सेवकलाई दिनुपर्छ। आफू विदेशबाट आउँदा सेवकका लागि उपहार ल्याइदिनुपर्छ। उसलाई काममा मात्रै लगाइराख्नुहुँदैन, आराम गर्न पनि दिनुपर्छ। समय समयमा बिदा दिएर सेवकलाई आफूखुसी यताउता जान स्वतन्त्रता प्रदान गर्नुपर्छ।

मालिक र सेवकबीच दोहोरो सम्बन्ध हुन्छ। मालिकप्रति सेवकको कर्तव्य निर्दिष्ट गरिएको पाइन्छ। बिहान मालिकभन्दा पहिल्यै उठ्ने र  बेलुका मालिक सुतेपछि मात्रै सुत्नुपर्छ। यसविपरीत कार्य गरिँदा सेवक कर्तव्यबाट च्यू्त भएको मानिन्छ। मालिकले नदिएसम्म सेवकले केही लिनुहुँदैन। दिइएको काम निपूर्णतापूर्वक सम्पन्न गर्ने खुबी विकास गर्नुपर्छ र मालिकको प्रशंसक हुनुपर्छ। बुद्ध उपदेश दिँदा  मालिक र सेवक भनी भेदभाव गर्दैनथे। उनी कामकै चटारोका कारण सेवक उपदेश सुन्न असमर्थ हुने कुरा जान्दथे। बुद्ध तथा भिक्षुलाई आमन्त्रण गरिएमा कुनै घरमा धर्मदेशना हुन्थ्यो, मालिक तथा सब परिवार उपस्थित हुन्थे। सेवक अर्को कोठा वा कुनै कुनामा बसेर धर्मदेशना सुन्थे। यो कुरा बुझेका बुद्धले  सेवकले पनि बुझ्ने गरी उपदेश दिन्थे। कतिपय अवस्थामा सेवकले नै उपदेश बढी बुझ्ने र धर्मलाभ गरेका अनेकौं प्रसंग पाइन्छन्।

बुद्धले राजनीतिक क्षेत्र वा व्यवस्थामा कुनै प्रकारले हस्तक्षेप गर्ने वा परिवर्तनकारी काम गरेनन्। राजनीतिक विषयमा उनी प्रायः निरपेक्ष रहन्थे।
 

त्यस्तै, अनाथपिण्डककी सेविका पूर्णिका  र एक जलशुद्धिक ब्राह्मणबीचको संवाद स्मरणीय छ। पूर्णिकाले जान्ने–बुझ्ने भनिएका ब्राह्मणको चेत खुलाइदिएकी थिइन्। यही कुरा ब्राह्मणले अरूलाई सुनाउँदै हिँड्दा मालिक अनाथपिण्डक खुसी भई दासीलाई मुक्त गरिदिएका थिए। त्यस्तै, महारानीकी एक सेविका  बजारबाट फूल किनेर ल्याउँदा सधैं पैसा लुकाउँथिन्। उनले  एक दिन बाटोमै बुद्धको वचन सुन्ने अवसर पाइन्। यसपछि उनले पैसा लुकाउने बानी त्यागेर दिइएको सबै पैसाको  फूल किनेर ल्याउन थालिन्।  यो कुरा थाहा पाएर महारानीले सेविकालाई बुद्धकहाँ उपदेश सुन्न जान र आफूलाई सुनाउने जिम्मा दिएको घटना पनि उदाहरणीय छ। बुद्ध  गणतान्त्रिक व्यवस्था रुचाउँथे। उनी  शाक्य गणराज्य कपिलवस्तुमा हुर्केका थिए। गणतान्त्रिक राजनीति अभ्यास कपिलवस्तुमा थियो। उनले लोकतन्त्रलाई नजिकबाट हेर्न पाएका थिए।

उनी बज्जी गणराज्यको प्रशंसा गर्थे। यसैको प्रभाव स्वरूप उनले आफ्नो संगठनको संरचना संघात्मक बनाएको पाइन्छ। त्यही बेला अन्यत्र राजतन्त्र थियो। मगध, कोशललगायत  राजतन्त्रात्मक देश  बुद्धबाट प्रभावित थिए। तत्कालीन समाज सामन्ती व्यवस्थामा आधारित थियो। बुद्धले राजनीतिक क्षेत्र वा व्यवस्थामा कुनै पनि प्रकारले हस्तक्षेप गर्ने वा परिवर्तनकारी काम गरेनन्। राजनीतिक विषयमा उनी प्रायः निरपेक्ष रहन्थे। यो निरपेक्षताको कारण बुद्धको बाध्यता वा बेसरोकारको कुरा भनेर बुझ्दा कतिपयले आपत्ति जनाउने सक्छन्, तर अर्को जवाफ देखिन्न। कर्मसिद्धान्तअनुसार मानिसलगायत सम्पूर्ण प्राणीले कर्मभोग गर्नुपर्छ,  दुःखको कारण स्वयं हो भन्ने मान्यता बौद्धदर्शनमा पाइन्छ। बुद्ध वा बौद्धले मान्ने चार सत्यमध्ये  पहिलो दुःख हो। दुःख सत्यलाई नमान्दासम्म बौद्ध धर्मदर्शनमा प्रवेश गर्न सकिन्न। बिनाकारण वा कुनै बेग्लै सत्ताको इच्छानुसार दुःखको उत्पत्ति हुँदैन।

दुःखको कारण पनि छ, यो दोस्रो सत्य हो। दुःखको निरोध गर्न सक्ने कुरा तेस्रो सत्य हो। अष्टांगिक मार्ग अवलम्बन गर्नाले दुःखको अन्त्य हुन सक्छ, यो चौथो सत्य हो। चार आर्यसत्यलाई बुझाउनु र सबै जीवलाई दुःखबाट उद्धार गर्नु नै बुद्ध वा बौद्ध शिक्षाको उद्देश्य हो। बुद्धले तत्कालीन कुलीन वर्गको स्वार्थमा धक्का लाग्ने गरी काम गर्न ठूलै जोखिम मोल्नुपथ्र्याे। राज्य व्यवस्थाविरुद्ध जानु र तत्कालीन सामाजिक मूल्य–मान्यताप्रति प्रश्न उठाउन्जेल तत्कालीन समाज स्वयं बुद्धप्रति नकारात्मक हुने तथा असहयोगी हुने सम्भावना  उत्तिकै थियो। तर, बहुजनको हित र सुखका लागि धर्म फैलाउनु पनि थियो। यस अवस्थामा उनले मध्यम मार्ग अपनाएका हुन्। त्यस्तै, मालिक र सेवकबीचको सम्बन्धबारे  ‘सिगालोवादसूत्र’मा दिइएको उपदेशमा पनि मध्यम मार्गी दृष्टिकोण नै देखिन्छ। तत्कालीन समाजमा दास प्रथा थियो। दासत्वबाट मुक्त हुन  भागेर भिक्षु हुन आउनेलाई भिक्षु बनाइन्नथ्यो,  तिनीहरूका लागि संघ प्रवेशमा निषेध गरिएको थियो। ऋण लागेका सर्वसाधारणलाई पनि यस्तै निषेध थियो।

सैन्य सेवामा रहेकाहरू पनि भिक्षु बन्न पाउँदैनथे। तर, कर्तव्यबाट मुक्ति पाइसकेकालाई भिक्षु बनाउन कुनै आपत्ति थिएन। तत्कालीन समाजमा वर्ण तथा जातिमा आधारित विभेद व्याप्त थियो। बुद्धले यसको विरोध मात्रै गरेर बसेको भए सम्भवतः द्वन्द्व निम्तिन्थ्यो। जातिवादको अनौचित्य पुष्टि गरेकै घटनालाई लिएर बुद्धलाई समाज सुधारक भनिएको बुझ्न सकिन्छ, तर बुद्धको उद्देश्य समाज सुधार गर्नु नभएर धर्मका कुरा सुनाउनु थियो। बनी–बनाउ समाजलाई सुधार गरेर त्यसमा भएको जडतालाई मजबुत बनाउने काम गौतम बुद्धबाट भएको थिएन। समाजको गतिमाथि प्रहार गर्नु थियो र कुलपुत्र तथा कुलपुत्रीहरूलाई समाजको संरचनाबाट बाहिर ल्याएर प्रव्रज्या दिई भिक्षु बनाउनु हो। यसकारण, कतिपय व्यक्ति बुद्धका विरोधी भए। बुद्धको मुख्य उद्देश्य धर्म भएको र धर्म स्थापनाका लागि समाजसँग एक प्रकारको निश्चित दूरी राखेर काम गरेको मात्रै थियो, जसलाई उपायकौशल्य भन्न सकिन्छ। यस अवस्थामा समाज सुधारक वा क्रान्तिकारी भन्नुको औचित्य छैन।

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App