शनिबार सबेरै शहरमा साइकलका शौखिनको बाक्लै उपस्थिति देखिन्छ । केही दशकअघि कार्यालय समयमा देखिने साइकलको हुल भने आजकल मोटर साइकल तथा अन्य सवारी साधनले विस्थापित गरी सक्यो । पहिले अधिकांश कामकाजका लागि प्रयोग हुन्थ्यो भने हालका दिनमा केही साइकल प्रेमीहरूका लागि साइकल मनोरञ्जनको माध्यम र व्यायामको साधन बन्दै गएको छ । स्वास्थ्यप्रति सजग समुदायको साइकल मोह बढ्दो छ ।
छोटा तथा सहज रुटमा अभ्यस्त भएपश्चात् अलि चुनौतीपूर्ण ठाउँ तथा रुटमा जाने इच्छा जाग्नु स्वाभाविकै हो । पाटन दरबार क्षेत्रलाई आधार मानेर केही लामा तथा मध्यम दूरीका रुटमा रोमाञ्चक यात्रा गर्न सकिन्छ । ई.पू. २५० वर्ष अघि सम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भ, १७ औं शताब्दीमा शिखर शैलीमा निर्मित कृष्ण मन्दिर, विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर ललितपुरको उत्तरतर्फ पर्छ । जिल्लाको कुल क्षेत्रफल करिब ३९२।८४ वर्ग किमि छ । पूर्व र दक्षिणतर्फ भने महाभारत पर्वतको २८३१ मि अग्लो फूलचोकीदेखि ४५७ मिटरसम्मको चूरे पहाडसम्मै फैलिएको करिब ८० प्रतिशत पहाडी भूभाग छ ।
ललितपुरको दक्षिणतर्फ मकवानपुरको सीमा जोडिएको छ भने पूर्वतर्फ काभ्रे पलाञ्चोक । भौगोलिक विविधताका साथै धार्मिक, सांस्कृतिक तथा जैविक विविधताले धनी यस जिल्ला र सिमानाका जिल्लाका गाउँ सडक सञ्जालले जोडिएका छन् । साइक्लिङ, हाइकिङ, मोटर बाइकिङ या अफरोड जीप ड्राइभिङ आ–आफ्नो रुचिअनुसार गर्न सकिन्छ ।
यी क्षेत्रमा साइक्लिङ गर्दाको अनुभव निकै रोमाञ्चक हुन सक्छ । यात्राको ट्राउट माछा, अर्गानिक सागपात, तरकारी, दुग्ध पदार्थका परिकार पनि चाख्न पाइन्छ । यहाँका प्रमुख धार्मिक स्थलको प्रचार गर्न सके पर्यटन फस्टाउन सक्छ । सम्बन्धित स्थानीय निकायले पर्यटनतर्फ चासो दिने हो भने साहसिक साइकल यात्रा, पर्या–पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भिœयाएर आर्थिक र सामाजिक हैसियत बढाउन सकिन्छ ।
१.फुल्चोकी
दधिकोट र गुण्डुको साँध हुँदै तर्खगाल (१४०० मिटर) बाट लाँकुरी भञ्ज्याङ (२,००० मिटर) पुगिन्छ । यहाँ सम्म आइपुग्दा शहरी भीडभाड, कोलाहल प्रदूषणबाट निक्कै टाढा भइसक्छ । चराचुरुङ्गीका बिहानी गीतमा पाउदानको ताल मिलाउँदै दधिकोट, तर्खगालबाट लाँकुरी भञ्ज्याङ पुग्दा करिब ८ किमि तय हुन्छ ।
लाँकुरी भञ्ज्याङबाट पश्चिमतर्फ ओह्रालो लागे लामाटार, लुभु हुँदै ग्वार्खु पुगिन्छ । बायाँतर्फ ओह्रालो लागे मानेदोभान, कुशादेवी हुँदै पनौती । दक्षिणतर्फ उकालो लाग्दा चाँपाखर्क पुगिन्छ । यहाँको प्रकृति, भूगोल, जैविक विविधतामा संसार बिर्सिएर साइकलको पाउदान मार्नुको आनन्द अनुपम छ । चाँपा खर्क पुगेपछि यहाँको सुन्दरतामा जो कोही हराउँछ । डाँडाको सानो भञ्ज्याङ । ठूलो घुम्तीको तल्लोपट्टि फराकिलो चौर माथिपट्टि गोलाकारको पोखरी । यात्रालाई निरन्तरता दिँदै लठ्ठाभञ्ज्याङतर्फ पुगिन्छ । लाँकुरी भञ्ज्याङबाट यहाँसम्म आइपुग्दा करिब ५ किमि तय हुन्छ । लठ्ठाभञ्ज्याङबाट पूर्वलागे माने दोभान, पश्चिर्म लागे गोदावरी पुगिन्छ ।
लठ्ठाभञ्ज्याङ हुँदै फुल्चोकी जाँदा दक्षिणतर्फ उकालो लाग्नु पर्छ । अगाडि बढ्दै जाँदा बाटो साँघुरिँदै जान्छ । उकालोमा ठाउँ–ठाउँमा सिंढी छ । खस्रु र निगालोघारीबीचबाट सुनसान जंगलको बाटोको यात्रा निक्कै चाखलाग्दो छ । बाक्लो निगालो घारी भएको ठाउँमा वन्यजन्तु हुन सक्ने सम्भावना हुन्छ । जंगलमा अनगिन्ती बाटो भेटिन्छ । सही बाटो पहिल्याउन बाटो देख्ने व्यक्तिसँग हिँड्नु पर्छ वा बाटोको नक्सा यकिन गर्न जानेको हुनुपर्छ । घाँस दाउराका लागि हिँड्ने बाटो प्रशस्त छन् । हचुवामा हिँड्दा हराउने सम्भावना बढी हुन्छ । मूलबाटोमा आई पुगेपछि दुईवटा विकल्प छन् । मूल सडक हुँदै करिब पाँच किमि पूर्व उकालो लागे फुलचोकी टावर, मूल सडक सात किमि पश्चिम ओह्रालो लागे गोदावरी पुगिन्छ ।
जतिजति उकालो चढ्दै गयो उत्तरतर्फका हिमशृंखला हेर्दै निक्कै रोमाञ्चित बनाउँछ । केही क्षणमै उपत्यकालाई घेर्ने महाभारत पहाडको सबै भन्दाअग्लो २७०० मिटरको उचाइमा अवस्थित फुल्चोकीभन्दा अलिकति अग्लिएर मनोरम हिमशृंखला हेर्दै आफैँमा हराउन सकिन्छ ।
२.फुल्चोकी कुशादेवी काठमाडौं
फुल्चोकीबाट कुशादेवीतर्फ ओह्रालो झर्न सकिन्छ तर बाटो भने साइकलका लागि त्यति सहज छैन । मानव निर्मित सिंढीको बाटो जंगलबाट ओह्रालो झर्नुपर्छ । कुनै ठाउँमा बाहेक अधिकांश ठाउँमा साइकल चढ्न मिल्ने ठाउँ भेटिँदैन । अगाडिपछाडि सस्पेन्सन भएको माउण्टेन बाइक र अनुभवी कुसल साइकल पारखीले भने चढ्न सक्छन् । सिंढी सक्किएको केही बेरमै नयाँ गाउँ, २२०० मिटर उचाइको गुर्धुम डाँडा पुगिन्छ ।
२,७०० मिटर उचाइमा अवस्थित फुल्चोकी कुशादेवी लगातार १४ किमि ओह्रालो बाटो हुँदै पर्खाल चौर निस्कन सकिन्छ । पर्खाल चौरबाट दोभान खोला हुँदै मुरली खोलाको किनारबाट रानीकोट उकालो लाग्न सकिन्छ । रानीकोटबाट साँझपख उपत्यकाको झिलीमिली दृश्य देखिन्छ । यसरी फुल्चोकीबाट सूर्य विनायक चोकसम्म आइपुग्दा करिब २५ किमि दूरी तय हुन्छ ।
३. लाँकुरी भञ्ज्याङ पनौती
मंगलबजारबाट इमाडोल सानागाउँ लुभु हुँदै लामाटार ढुङ्गिन बसपार्क पुग्न करिब १० किमिको दूरी तय गर्नुपर्छ । लाँकुरी भञ्ज्याङको फेदीबाट चुनौतीपूर्ण उकालो छ । करिब ५ किमि बाटो पार गरेर लाँकुरी भञ्ज्याङ पुगिन्छ । यो बाटो भएर लाँकुरी भञ्ज्याङ हुँदै पैदल र विभिन्न साधनमा विविध उद्देश्यले आउने जानेको लर्कन भेटिन्छ । विगतमा धान, चामल, अन्नपात बोकेर गाउँशहर ओहोरदोहोर गर्ने बाटो भएर होला । उकालोको थकान, प्यास र शरीरमा के केही ऊर्जा भर्न लाँकुरी भञ्ज्याङका चिया पसलमा रोकिन सकिन्छ ।
यहाँको प्राकृतिक सुन्दरता निक्कै अनुपम छ । भञ्ज्याङबाट पश्चिमतर्फ काठमाडांै उपत्यका र पूर्व क्षितिजमा नमोः बुद्ध देखिन्छ । दुई डाँडाका खाेंचका नागबेली घुम्ती काटेर माने दोभान, पर्खाल चौर हुँदै पनौती पुगिन्छ । मंगलबजार, लाँकुरी भञ्ज्याङ, माने दोभान हुँदै पनौतीसम्म पुग्दा करिब ३० किमि दूरी तय हुन्छ । बाटोको दायाँबायाँ सिजनअनुसार खेतीबाली यहाँको सौन्दर्यताको थप आकर्षण हो । यो खण्डको साइकल यात्रा असाध्यै रोचक, रोमाञ्चक छ । सुन्दरतामा रमाउँदै एकै छिनमा पनौती पुगेको पत्तै हुँदैन । रोशीखोला र पुण्यमतीको दोभानमा अवस्थित पनौतीको पुरानो शहर रमाइलो छ । काष्ठ कलाले भरिएको सुन्दर ईन्द्रेश्वर महादेव मन्दिर, उन्मत्त भैरव, ब्रह्मायणी, कृष्ण नारायण मन्दिर तथा कलात्मक पाटि तथा सत्तलहरु यहाँको आकर्षण हुन् ।
४. पनौतीबाट खोपासी बल्थली
पनौती पुगेपछि शरीरमा ऊर्जा छ भने खोपासी हुदै बल्थली जान सकिन्छ । पनौतीबाट खोपासी करिब ३.५ किमि टाढा छ । खोपासीमा मुलुककै तेस्रो जेठो २.४ मेघावाट क्षमताको जलविद्युत गृह छ । २०१७ सालमा निर्माण सुरु भई २२ सालबाट सञ्चालन भएको । खोपासी पनौतीपछिको ठूलो बजार पनि हो । बल्थली लागेपछि गाउँका स–साना पसल मात्र भेटिन्छ । सामान्य चिया चमेना मात्र पाइन्छ । त्यसो त बल्थलीमा आरामदायी तथा स्तरीय रिसोर्टहरु सञ्चालनमा छन् ।
खोपासीबाट अलि अगाडी गएपछि झोलुङ्गे पुल आउछ । साइकलयात्रीका लागि बल्थली जान झोलुङ्गे पुल तरेर जानु छोटो र रोमाञ्चक हुन सक्छ । बल्थली जान दायाँतर्फको बाटो लागेर पुनः रोशीको पुल तरेर उकालो लागेपछि बल्थली गाउँ पुगिन्छ ।
बगरै बगरको बाटो भएर साइकल चलाउँदै रोशीको तेस्रो झोलुङ्गे पुल पुगिन्छ । पुलपारीबाट अलि अप्ठेरो गोरेटो बाटो छ । बल्थलीबाट सुन्थानसम्म आइपुग्दा ७ किमि दूरी तय हुन्छ । हिउँदमा यो भेगको सुन्तला बगैंचाले जो कोही लोभिन्छ । वास्तवमा यहाँको ताजा सुन्तला खान मंसिरको आधातिरबाट लायक हुन्छ । ताजा सुन्तला खाने महोत्सव नै राखे यो ठाउँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्छ । सुन्तला फल्ने मौसममा सुन्तलाकै जुस, जेलीलगायत अन्य विविध पेय बनाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । सुन्थानबाट पनौती ३ किमि, पनौतीबाट बनेपा करिब ६ किमि, बनेपाबाट नाला हुँदै च्यामासिं १२ किमि दूरी पार गरेर भक्तपुर आउन सकिन्छ ।
५. पनौती दाप्चा
पनौतीबाट पूर्वतर्फ उकालो लागे सुन्थान हुँदै नमोःबुद्ध तर्फ पुगिन्छ । मंगलबजारबाट नमोःबुद्ध सम्म आइपुग्दा करिब ४० किमि दूरी तय हुन्छ । यहाँबाट नजिकको दूरीमा छ पुरानो दाप्चाबजार । पाको इँटाले बनेका अग्ला घर । काठका बुट्टेदार झ्याल, ढोका, झिंगटिले छाएको छानो । खाँटि नेपाली बास्तु झल्कने संरचना । वास्तवमा निक्कै सुन्दर छ दाप्चाबजार । पूर्वी पहाड र तराईबाट राजधानी प्रवेश गर्ने मूल नाकाको पहिले पहिले रौनक नै छुट्टै थियो ।
सडक यातायातको विकास नहुँदा अधिकांश मान्छे हिँडेरै निर्वाह गर्थे । रातभर मानिसहरु ओहोरदोहोर गर्ने बजार अहिले निक्कै सुनसान छ । सुनसान बजारका अधिकांश ढोका बन्द छन् । बजार आसपासमा देवी, गणेश, भिमसेन मन्दिर आदि मठ मन्दिर, पाटि पौवा घुम्न लायक छन् । भूकम्पले क्षतिग्रस्त सम्पदा हाल भने निर्माणाधीन छन् ।
मौसम खुलेको समयमा यहाँबाट सगरमाथा, नुम्बुर, दोर्जेलाक्पा, गौरी शंकर, लाङटाङ, गणेश, अन्नपूर्ण आदि हिमाल देख्न सकिन्छ ।
प्रकाशित: ४ फाल्गुन २०७६ ०६:४८ आइतबार