७ आश्विन २०७७ बुधबार
अन्य

पाँचपोखरी घुम्दा

देवेन्द्र बस्न्यात
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्ष मनाउन छानिएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी एक हो । समुद्र सतहबाट करिब ४,१५० मी. को उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य अपार मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो पाँचपोखरी ।

पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको  पाँचपोखरी थाङ्गपालगाउँपालिका वडा नं. ३ मा पर्छ । साविकको थाङ्गपालधाप, थाङ्गपालकोट गुन्सा, भोताङ्ग, बाँस खर्क, बरुवा, भोटे नामलाङ्ग, लागर्चे गाउँविकास समिति मिलाएर पाँचपोखरी  थाङ्गपालगाउँपालिका भएको हो । पूर्वमा जुगल, पश्चिममा हेलम्बु गाउँपालिका र उत्तरमा लाङटाङ राष्ट्रिय निकुञ्ज पर्छ ।

काठमाडौंको उत्तर पूर्वी सिमानामा जोडिएको सिन्धुपाल्चोक जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले  भरीपूर्ण छ ‘पाँचपोखरी’ हिन्दु तथा बौद्ध धर्मावलम्बिहरुको धार्मिक तथा सांस्कृकित संगमस्थल पनि हो । प्रदेश नं. ३ को सबैभन्दा ठूलो यो जिल्लामा तामाङ्ग जातिको बाहुल्यता छ । पाँचपोखरी थाङ्गपालगाउँपालिका सिन्धुपाल्चोक जिल्लाको निक्कै सुन्दर पर्यटकीय गन्तव्य हो । इन्द्रावती नदीको उद्गम स्थल पाँचपोखरी विश्वकै अग्लो स्थानमा रहेको सिमसार क्षेत्रमध्येमा गनिन्छ ।

समुद्र सतहबाट करिब ७५० मिटर उचाइमा अवस्थित भूभाग देखि ७,००० मीसम्मका अग्ला हिमाल यस जिल्लामा छन् । भौगोलिक, जैविक विविधता तथा प्राकृतिक सुन्दरताले भरिएको सिन्धुपाल्चोकमा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरु धेरै छन् ।

हरेक वर्ष हिन्दू धर्मावलम्बिहरु जनै पूर्णिमाको अवसरमा स्नान गर्न तथा मेला भर्न पाँचपोखरी आउँछन् । साथै यही तिथिमा तामाङ समुदायले ‘गोन्ह्य’ पर्व मनाउँछन् । ‘गोन्ह्य’ पर्वको अवसरमा आसपासका गाउँहरुबाट पाँचपोखरीमा मेला भर्न आउनेहरुको भीड लाग्छ । मेलामा विभिन्न समुदायका तिर्थालु भक्तजनहरु नाच गान तथा सांस्कृतिक कार्यक्रम गरेर आनन्द लिन्छन् । यस अवसरमा तामाङ समुदायका मानिसले प्रस्तुत गर्ने बोम्बो, डम्फु, झाँक्री नाचलगायतका सांस्कृतिक कार्यक्रमले पाँचपोखरी यात्रालाई अझ रोचक बनाउँछ । यस समयमा यात्रा गर्दा पदयात्रीहरुले हरिया डाँडा पाखा, विभिन्न जातका रंगीबिरङ्गि फूल हेरेर रमाउन सक्छन् । पदयात्रामा विभिन्न थरिका चराका चिरबिर चिरबिर गीत सुनेर आनन्द लिन पाइन्छ । पाँचपोखरीको शान्त वातावरणमा साना हाँसका बथानले कुण्डमा डुबुल्क्कि मारेको हेर्न पाउनुको मज्जा बेग्लै छ ।

जनै पूर्णिमा बाहेक अन्य समयमा पनि यहाँको भ्रमण गर्न सकिन्छ । वर्षाद सकिएर हिमाल खुल्ने मौसममा यहाँको सौन्दर्यले संसार बिर्साउँछ । मेला लाग्ने समयमा तालकिनारमा बास बस्नका लागि अस्थायी टहराहरु र खानाको व्यवस्था हुन्छ । अन्य समयमा भने खाना र बसोबासका लागि आफैँले व्यवस्थापन गर्नु बेस । पाँच दिनको समयावधिमा पाँचपोखरी यात्रा तय गर्न सकिन्छ ।

पहिलो दिन काठमाडौंबाट भोताङ्ग छिम्तासम्म बस, जीप वा मोटर साइकलमा पुग्न सकिन्छ । साइकलमा आरामदायी यात्रा गर्न चाहनेहरुका लागि भने भोताङ्गसम्म एक दिन आधाको यात्रा गर्दा सजिलो हुन्छ । छिम्ताबाट भने साइक्लिङ गर्ने उपयुक्त बाटो छैन ।

जोरपाटीबाट साँखु, जहिरसिंह पौवा, नाङ्गले भारे, बाहुने पाटी हुँदै मेलम्ची पुग्दा करिब ४५ किमी दूरी तय हुन्छ । मेलम्चीबाट छिम्तासम्मको दूरी करिब २५ किमी छ । छिम्ता समुद्र सतहबाट करिब १८२० मीको उचाइमा छ । यहाँ खाना र बसोबासका लागि थुप्रै होटल लजहरु पाइन्छ । छिम्ताबाट उकालो लागेपछि बस्ती पातलो हुँदै जान्छ । छिम्ताबाट करिब ७ किमीको पैदलयात्रा पछि टुप्पी डाँडा पुगिन्छ । टुप्पी डाँडाको उचाइ समुद्र सतहबाट करिब २७७५ मी. छ । वरिपरि लेकाली पैदावारले ढाकिएको टुप्पी डाँडामा एक छिन आराम गर्दा राम्रो ।

टुप्पी डाँडाबाट करिब ६ किमी दूरी तय गरेपछि करिब ३,४०० मिटर उचाइमा अवस्थित ताप खर्क पुगिन्छ । ताप खर्कमा विश्राम गर्ने ठाउँ छ । यहाँबाट मात्र दुई किमीको दूरीमा ३६५० मिटरमा अवस्थित नोस्याम पाटी पुगिन्छ । नोस्याम पाटीसम्मको हिँडाइपश्चात् शरीरलाई यहाँको प्रकृति तथा वातावरणअनुसार अनुकूल बनाउन यतै बास बस्नु राम्रो हुन्छ । हिँडाइको पहिलो दिन यहाँ बास बसे लेकलाग्न बाट बच्ने सहज उपाय हुन सक्छ । यहाँको प्राकृतिक सौन्दर्य निक्कै मनमोहक छ । 

हिँडाइको दोस्रो दिन नोस्याम पाटीबाट पाँचपोखरीको दूरी करिब ७ किमी छ । राम्ररी हिँड्न सक्नेहरु करिब अढाई घण्टामा पुग्न सक्छन् । उकालोमा हतारिएर हिँड्दा लेक लाग्न सक्छ । सुस्तरी हिँड्नु राम्रो । नोस्याम पाटीबाट लौरीबिनासम्मको बाटो अलि ठाडो उकालो छ । लौरीबिना पछि फराकिलो चौर आउँछ । देख्दै निक्कै मनमोहक । चौर कटेर अलि पर बाटोमा एउटा माने छ । त्यहाँबाट पोखरीको एक भाग देखिन्छ । हिँड्दै गर्दा हिमालको काखमा एकपछि अर्को पोखरीको मनमोहक दृश्यले आनन्दबोध हुन्छ । पोखरीको पश्चिमतर्फको सानो डाँडापारि मन्दिर छ । मन्दिरको अघिल्तिर भक्तजनहरु स्नान गर्ने कुण्ड छ । मन्दिरको दक्षिण पश्चिमतर्फबाट करिब ४५ मिनेटको हिँडाइपछि झरना पुगिन्छ ।

पाँचपोखरीको मुल कुण्ड अरु कुण्डभन्दा ठूलो छ । मूल कुण्डको बाटो हुँदै कुण्डको उत्तर पूर्वतर्फको ४२०० मिटरभन्दा अग्ला डाँडा चढ्न सकिन्छ । यहाँबाट पाँचपोखरीको दृश्य निक्कै चित्ताकर्षक देखिन्छ । साथै आकाश खुलेको बखत उत्तर पूर्वमा गौरी शङ्कर, जुगल, दोर्जे, लाक्पा हिमश्रृंखला हात लम्काउँदा पनि भेटिन्छ कि जसरी हेर्न पाइन्छ । पाँचपोखरीलगायत वरिपरिको दृश्यमा रमाउन रात यतै बिताए बेस । छिटो हिँड्ने पैदलयात्री आठ घण्टामा छिम्ता फर्कन सक्छन् ।

किंबदन्ती
२३३७ वर्ष अगाडि बुम्बा रुवावाइवा शिकार खेल्ने क्रममा पाँचपोखरी पुगे । उनी प्रख्यात शिकारी थिए । पाँचपोखरी पुग्दा एउटा दृश्यले उनलाई अचम्मित बनायो । हिउँ पर्ने त्यति अग्लो ठाउँमा धमाधम धानखेती गरिरहेको । यस्तो हिउँ पर्ने ठाउँमा धानखेती गर्ने को होला भनेर शिकारी अगाडि बढे । बुम्बा रुवावाइवा धान रोप्ने पुरुषको नजिक पुगे । धान रोप्ने पुरुष त महादेव पो रहेछन् । बुम्बा रुवावाइवालाई देखेपछि भगवान् महादेव देव गणसहित अलप भए छन् । यस्तो दृश्य देखेर बुम्बा रुवावाइवा अचम्म परे ।

भगवान् महादेव देवगणसहित अलप भएको ठाउँ मन्दिर स्थापना गर्नुपर्छ भन्ने अठोट गरे ।  अलप भएको स्थानमा मन्दिर स्थापना गरे । आफ्नो शिकारी कुकुरको घाँटीमा झुण्ड््याएको घण्ट मन्दिरमा चढाएर फर्किए ।
तीर्थालु भक्तजनहरु अहिले पनि धानको बाला भेटिने विश्वास गर्दछन् । धानको बाला भेटिए धनधान्य भइन्छ भन्ने जन विश्वास छ ।

किंम्बदन्तीअनुसार पाँचपोखरीमा एक जोडी हाँस छ । हाँसको जोडी देख्ने भक्तजन भाग्यमानी ठहरिन्छन् ।  हरेक वर्ष भाद्र शुक्लपक्ष पुत्रदा एकदशीदेखि जनै पूर्णीमा (रक्षाबन्धन) सम्म पाँचपोखरी स्नान गर्न टाढा टाढादेखि श्रद्धालु भक्तजनहरु आउँछन् । जनै पूर्णिमा (रक्षाबन्धन) को अघिल्लो दिन निक्कै खचाखच भीड हुन्छ ।

पर्यटक तान्न म्याराथन
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचपोखरी थाङ्पालगाउँपालिकाले साहसिक खेल हाफ म्याराथनको आयोजना ग¥यो । पाँचपोखरीमा मेला लाग्ने जनै पूर्णिमाको अवसरमा आयोजना गरिएको तेस्रो पाँचपोखरी हाफ म्याराथन श्रावण ३० गते सम्पन्न भयो । साहसिक खेलकुद कार्यक्रम आयोजना गर्नुको उद्देश्य पाँचपोखरीको धार्मिक, सांस्कृतिक महŒवको प्रचार तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनु हो । म्याराथनमा महिला तथा पुरुष गरी कुल १५७ धावकधावीका सहभागी थिए । कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग मिल्ने आयोजकको अपेक्षा छ ।

सहभागी धावकधाविकाहरुले ४१०० मिटर उचाइबाट दौड सुरु गरेर करिब १६०० मिटरको उचाइमा रहेको रैथाने पोखरीमा टुंग्याए । पाँचपोखरीदेखि रैथाने पोखरीसम्मको दूरी करिब  २९ किमी छ । पुरुषतर्फ सुमन कुलुङ्ग, दुर्गा बुढा मगर, खगेन्द्र खत्री, प्रकाश कठायत, गणेश सिंह ठकुरी क्रमशः प्रथमदेखि पाँचौं स्थान हासिल गरे । महिलातर्फ भने मञ्जु रावत, राममाया बुढा, नितु तामाङ्ग, प्रिया तामाङ्ग क्रमशः प्रथमदेखि पाँचौं स्थान हासिल गरिन् ।
प्रतिस्पर्धाबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने धावक, धाविकालाई पुरस्कारको व्यवस्था गरिएको थियो । प्रमुख अतिथि प्रदेश पर्यटनमन्त्री अरुण नेपालले विजेताहरुलाई नगद पुरस्कार क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मेडल प्रदान गरे । सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेले भने थप १५ हजार, १० हजार, ५ हजार छुट्टै पुरस्कार पाए ।

कसरी पुग्ने
गोकर्णेश्वर नगरपालिकाको जोरपाटी, नारायणटारबाट छिम्तासम्म जाने बस पाइन्छ । बसमा यात्रा गरेर भोताङ्ग छिम्ता पुग्न सकिन्छ । छिम्तासम्मको बस भाडा प्रतिव्यक्ति दुई सय पचास रुपैयाँ मात्र लाग्छ । दसजना यात्रु वाहक जीप रिजर्भ गरेर पनि छिम्तासम्म जान सकिन्छ । जिप रिजर्भ भाडा चौध हजार रुपैयाँ लाग्छ ।
खाना तथा बसोबासका लागि खानासहित बास बसेको आठ सय रुपैयाँ लाग्छ । सादा खाना प्रतिछाक तीन सय रुपैयाँमा पाइन्छ भने कालो चिया प्रतिकप पच्चीस रुपैयाँ पर्छ ।

अन्तमा
यात्राको क्रममा तीर्थयात्रीको निक्कै लामो लस्कर देखियो । सबैले आफ्नो साथमा विभिन्न किसिमका बजारीया खानेकुरा तथा अन्य लिएर गए । पाँचपोखरी मात्र होइन देशै भरिका पर्यटकीय गन्तव्यको हालत उस्तै छ । पर्यटक सुन्दरता हेर्न आउने कुरामा दुई मत नहोला । प्लास्टिकजन्य फोहोरले निकट भविष्यमा विकराल अवस्था निम्ताउँछ । अझ ठाउँ ठाउँमा त प्लास्टिक पनि बालिएको भेटियो । अक्सिजनको मात्रा कम हुने लेकाली वातावरणमा प्लास्टिक बाल्दा निस्कने विषाक्त धुवाँले स्थानीयलगायत सबैलाई प्रतिकूल असर गर्छ । पद यात्रीहरुले आफूले लगेको फोहोर आफैँले ल्याउने व्यवस्था गरे फोहोर न्यूनीकरणमा अलिकति सहयोग पुग्छ । त्यसैगरी स्थानीय निकायले पनि उचित व्यवस्थापनको व्यवस्थाबारे समयमै ध्यान दिनु बेश ।

प्रकाशित: ४ माघ २०७६ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App