३० असार २०७७ मंगलबार
अन्य

जब पदक जित्दा रुन मन लाग्यो...

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा आयषा शाक्यले तेक्वान्दोतर्फ दुई स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् । उनीहरुको यो भावुक क्षणसँगै सारा मुलुक गौरवान्वित भइरहेको थियो ।

यो दिनको पर्खाइ आयषा र दीपकलाई मात्र होइन, दुवैको परिवारलाई थियो र यो प्रतीक्षाको कथा निकै लामो छ । छोटकरीमा म सुनाउँछु । गत वैशाखदेखि आफ्नो एक दुधे र सात वर्षे सन्तानलाई आयषा र दीपकले छोडेका थिए । त्यस किसिमको पीडा यी दुई आमाबाउ आयषा र दीपकले भोगेका थिए । कयौं पटक प्रशिक्षणका क्रममा बच्चाप्रतिको सम्झनाका कारण आयषा भक्कानिन्थिन् । उनीलाई ढाडस दिने काम दीपकले गर्थे ।

आखिर उनी आमा त थिइन् ! आफूलाई चित्त बुझाए पनि उनको ममताले भने सन्तान नै खोजिरहन्थो । त्यसैले होला, सन्तानलाई खुवाउनुपर्ने दुध उनी फाल्न बाध्य हुन्थिन् । उता उनको सन्तानलाई भने आमाको दुध आवश्यकता पथ्र्यो । दीपक भन्छन्, ‘कहिलेकाहीँ छोरो रुँदा हजुरआमाको दुध खुवाएर फकाउनु पथ्र्यो तर हजुरआमाको दुध कहाँ आउथ्यो र ? उनलाई फकाउने दोस्रो बाटो पनि थिएन ।’

सन्तानको पीडा त छँदैथियो तर समाजले पनि दीपक र आयषालाई पीडा दिइरहन्थे । उनीहरूमाथि अनेक किसिमका प्रहार भइरहन्थे । केही व्यक्तिले आयषा दीपक बिष्टको कोटामा परेका हुन् भन्थे । आयषा लायक छैनन्, उनको सट्टामा अन्य नयाँ खेलाडीलाई खेलाएको भए हुन्थ्यो भन्ने आलोचना पनि सुन्नुपथ्र्यो । आयषाका विरुद्ध त एक जनाले सामाजिक सञ्जालमा स्वर्ण जितिन् भने आफूले कानै काट्ने भनेर लेखे । यस्ता टिप्पणीले उनलाई आहत बनाउँथे र घण्टौँ एकान्तमा रुन्थिन् । त्यो बेला विदेशमा प्रशिक्षण लिइरहेकी थिइन् । तर यस्ता टिप्पणीले उनलाई आफ्नो काममा प्रतिबद्ध हुन सिकाउँथ्यो ।

आलोचना गर्नेहरुले गरे पनि आयषाले राष्ट्रका लागि पदक दिलाउन पहिल्यै कम मिहिनेत भने गरेकी थिइनन् । उनी स्वर्ण विजेता दीपक विष्टकी पत्नी भनेर चिनिइरहनु आवश्यक थिएन । आफैं सफल खेलाडीका रूपमा परिचित थिइन् ।

‘उनले राष्ट्रका लागि एसियाड, साग र कयौं अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिइसकेकी थिइन्, उनीसँग मेरो नाम जोड्न आवश्यक थिएन,’ दीपक स्पष्टीकरणको भाकामा भन्छन् तर बोल्नेको मुख थुन्न कसले पो सक्छ र ? मात्र आयषाको पदकले त हो !

आयषामाथि आक्रमणहरु भइरहँदा यता दीपकले भने आफ्नो विगत सम्झिरहेका थिए । बाङ्लादेशको राजधानी ढाकामा सम्पन्न सागमा उनलाई बूढो भएको, खेल्न नसक्ने, दीपकमाथि लगानी गर्नु बेकार भएको टिप्पणी गरेका थिए । तिनै प्रहारले उनलाई यति आहत बनायो कि त्यसको बदला उनले चार वटा स्वर्ण देशको नाममा जम्मा गरे ।
‘बाधा पन्छाएर सफलता पाउनु नै मानिसको चिनारी हो,’ दीपकले आयषालाई सम्झाउँथे ।

मिहिनेत र संघर्षले यस पटकको दक्षिण एसियाली खेलकुदमा उनले दुई स्वर्ण जितिन् । पछिल्ला तीन÷चार वर्षमा दीपक र आयषाको चर्चा कमै हुन थालेको थियो । दीपकले सक्रिय खेल जीवनबाट संन्यास लिइसकेका थिए भने सन् २०१६ मा १२ औं साग खेलेपछि आयषा पनि खेलबाट टाढिएकी थिइन् । आयषा दोस्रो सन्तान जन्मेपछि खेलबाट लगभग बिदा हुने तर्खरमा थिइन् ।

परिवार र दीपक स्वयंलाई पनि आयषाले दुई सन्तानलाई समय दिऊन् भन्ने नलागेको होइन । आयषालाई पनि सन्तान छोडेर सधैँ खेलकै पछि लागिरहन केही अप्ठेरो भइरहेको थियो । आखिर आमाको माया त हो ! उनी दुई छोरा आदिष र आधारलाई हुर्काउन करिब तीन वर्ष तेक्वान्दो खेलबाट ओझेलमा पनि परिन् । घरको कामबाट बाँकी रहेको समयमा आयषाले छोरा र अन्यलाई पनि तेक्वान्दो सिकाउन थालेकी थिइन् । समय मिल्दा आफू पनि अभ्यास गर्थिन् । तर पनि आयषालाई भित्रैदेखि अभैm चित्त बुझिरहेको थिएन । एसियाड र सागकी स्वर्ण विजेता आयषा कहाँ लामो समयसम्म बाहिर रहन सक्थिन र ?

एक समय देशकी होनहार खेलाडी आयषालाई आमा बनेपछि मैले केही गर्न सकिनँ भन्ने लागिरह्यो । यसैबीच उनले भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्म हेरेपछि त औडाहा हुन थाल्यो । मेरीले पनि त आमा बनेपछि विश्व च्याम्पियन भएर देखाएकी थिइन् ! यसपछि आयषालाई पुनः खेलमा फर्किन हुटहुटी जाग्यो ।
उनको भावना दीपकले बुझे । ‘गर्न सक्छौ भने खेल,’ दीपकले मैदान खाली गरिदिए । आयषा भन्छिन्, ‘मैले त्यस्तो किसिमको साथ नपाएको भए खेल्न हरेक समय कठिन हुन्थ्यो । दीपकसँगै आमाबुबा (सासुससुरा) ले पनि तिमी जाऊ र खेल भन्नुभयो । सायद त्यो नै मेरो लागि सबैभन्दा ठूलो शक्ति थियो । त्यसैले मैले शतप्रतिशत तयारी गर्ने अवसर पाएँ ।’

घर परिवारको स्वीकृति पाएसँगै २२ महिने कान्छो छोरो र ७ वर्षे जेठो छोरालाई आयषाले मामाघरमा छोडिन् । दीपक भन्छन्, ‘मामा घरको बाटो लाग्नेबित्तिकै कान्छो छोरो आमाबुबाले अब छाड्ने भए भनेर होला, निकै रोयो । त्यो समय निकै दुःख लागेको थियो तर हामीसँग अर्को उपाय पनि थिएन ।’

खेलाडी जीवनबाट रिटायर्ट हुने समयमा दीपक र आयषाले फरक भूमिकाबाट देशका लागि योगदान दिने वाचा गरिसकेका थिए । यी दुवै बाबुआमा सन्तानबाट करिब आठ महिना टाढिए । त्यसको प्रतिफल पनि यो जोडीले गत मंसिर १६ गते पाए । प्रतिफलस्वरुप सागमा आयषाले दुई स्वर्ण जित्दै आफूलाई प्रमाणित गरिछाडिन् ।

‘बच्चा भइसकेपछि महिला कमजोर हुन्छन्, उनीहरूले केही गर्न सक्दैनन् भन्ने जुन मानसिकता छ, त्यसलाई हामीले तोड्न सक्यौँ,’ आयषाले भनिन्, ‘यो नै हाम्रालागि ठूलो पुरस्कार हो । हरेकले जीवनमा संघर्ष गुर्नपर्ने हुन्छ तर फरक यत्ति हो कि कसैले संघर्षमा साथ पाउँछन्, कसैले पाउँदैनन् । म भाग्यमानी थिएँ, मैले परिवारबाट साथ पाएँ ।’
दक्षिण एसियाली खेलकुदमा दोस्रो स्वर्ण जितेपछि आयषा निकै भावुक भइन् । त्यो क्षणमा उनी दीपकसँग निकैबेर अँगालिँदै रोइन् । सायद दुई सन्तानलाई छोड्नु पर्दाको पीडा यो जोडीले सम्झिएका थिए । त्यो दिन उनको खेल हेर्न दुई छोरा पनि आएका थिए । आमाको खेल हेर्न ६ वर्षे छोरा आदिष र २ वर्षका आधार पनि दर्शकहरूको भीडमा सम्मिलित थिए । खेल जितपछि दुवै छोरालाई काखमा लिएर आयुषाले खुसी साटिन् ।

यी दुई स्वर्ण देशका लागि भए पनि आयषाले आफ्ना दुई छोराप्रति समर्पित गरिन् । त्यो समय सम्झँदै आयषा र दीपक भन्छन्, ‘हामी संसारकै सुखी परिवार हौँ । हामी दुवैलाई हरेक समय परिवारले साथ दिइरहनु भएको छ । आमाबुबाहरूको साथ नपाएको भए, हामी अभैm पनि खेलमा लागिरहन कहाँ सक्थौं र ? उहाँहरूको साहारा बन्नुपर्ने समयमा अभैm हाम्रो सहारा बनिरहनु भएको छ ।’

दीपकको कीर्तिमानी यात्रा
दीपक विष्ट नेपालको सुदूरपश्चिमबाट आएका थिए । घरको जेठो छोरो, जिम्मेवारी हुने नै भयो । परिवारको उद्देश्य उनलाई इन्जिनियर बनाउने थियो तर उनी भने खेलकुद भनेपछि हुरुक्क हुन्थे । भलिबल त उनको सपना/विपना दुवै अवस्थामा हुन्थ्यो ।

हाल नेपाली महिला भलिबलका प्रमुख प्रशिक्षक जगदीश भट्ट उनीसँगै खेलेका थिए । वि.सं. २०५१ सालमा जगदीश कञ्चनपुरबाट र दीपक कैलालीबाट डोटीमा क्षेत्रीय खेलकुद खेलेका थिए । दीपक निकै उत्कृष्ट स्पाइकर थिए, उनी निकै मिहिनेत गर्थे । उनको टिम पनि निकै राम्रो थियो । तर, त्यो खेलमा हारपछि दीपक धेरै रोए र उनको मन बदलियो ।

सामूहिक खेलमा एक जनाको गल्तीका कारण समूह नै समस्यामा पथ्र्यो । एक पटक भलिबलमा सोही कुराको अनुभव गरेपछि उनलाई भलिबलको सट्टा आफ्नै निर्णयमा भरपर्ने खेलतर्फ आकर्षित भए । यही बेला उनी तेक्वान्दोतर्फ आकर्षित भए । उनको खेलप्रतिको लगावका कारण चाँडै नै तेक्वान्दोमा नयाँ ठाउँ बनाइहाले । उनले राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुदमा पदक बटुल्न थालेपछि उनी राष्ट्रिय खेलकुद नायकका रुपमा उदाए ।
आइएससी पढ्दै गर्दा दीपक उनका काका गोविन्दसँग बस्थे । गोविन्दको स्कुलमा केही समय दीपकले पढाए पनि । यसैबीच काका गोविन्दका साथीले धनगढीमा तेक्वान्दो खेलाउने गरेको चाल पाएर त्यहीँ सिक्न गए । १९ वर्षे उमेरमा दीपकले तेक्वान्दो खेल्न थाले ।

उनलाई तेक्वान्दो र करातेबीचको फरक थाहा थिएन । उनले करातेको पोशाक लगाएर तेक्वान्दो सिक्न जाँदा उनका प्रशिक्षकले एक झापड हाने । यहीँ उनले थाहा पाए, अज्ञानता मानिसको सबैभन्दा ठूलो शत्रु हो । उनलाई यही अज्ञनता हटाउनु थियो । हटाउने एक मात्र उपाय, काठमाडौँमा थप प्रशिक्षण थियो ।

यसका लागि उनी काठमाडौँस्थित मीनभवन कलेजमा भर्ती भए । काठमाडौँमा पढ्न त उनलाई छूट थियो तर खेलकुदमा ‘बरालिने’ छूट थिएन । त्यसैले जसै परिवारले रंगशालामा ‘बरालिएको’ थाहा पाए, पैसा नपठाइदिने धम्की पनि पाए । यसपछि उनले लुकिछिपी खेल्न थाले ।

शंखमुलको एउटा कोठा भाडामा लिएर दीपकले पढाइसँगै खेललाई पनि तीव्रता दिए । उनी भन्छन्, ‘खेल्ने मात्र हो, आवश्यक डाइट पुग्दनथ्यो । कहिलेकाहीँ नराम्रो लाग्थ्यो । हाम्रो डाइट भनेको कहिलेकाँही सेल रोटी र तरकारी मात्र हुन्थ्यो । त्यो पनि सधैँ खान घरबाट दिएको पैसाले सम्भव थिएन ।’

त्यसैबीचको संघर्षबाट पनि दीपकले खेलमा भने सफलता पाइरहे । नेपालका सफल एवम् कीर्तिमानी खेलाडीसमेत भए । आठौंदेखि ११ औं सागसम्म स्वर्ण जिते । वैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रो सागसम्म जितेको स्वर्ण पदकलाई पछि पारेर दीपकले राष्ट्रिय चर्चा बटुले । दीपकले एसियाडमा दुई कांस्य जित्न सफल भएपछि त उनी राष्ट्रिय हिरो नै भए ।

शालिन आयषाको सफलता
यता आयषा पाटनको स्थायी बासिन्दा थिइन् । उनी पनि खेलकुद भनेपछि हुरुक्क हुन्थिन् । स्कुले जीवनमा उनी तेक्वान्दोसँगै जिम्न्यास्टिक पनि खेल्थिन् । तेक्वान्दोमा उनको लगाव कस्तो कडा थियो भने त्यसका लागि उनी जुन हदसम्म पनि जोखिम मोल्थिन् ।

आयषाका बुबाको साथी तेक्वान्दोका प्रशिक्षक थिए । उनका बुवाले नै आयषालाई तेक्वान्दो खेलतर्पm लगाएका थिए । उनले पाटन तेक्वान्दो डोजाङबाट आफ्नो खेलयात्रा शुभारम्भ गरिन् । खेलमा बुवाको साथ पाएपछि आयषाले पनि निकै मिहिनत गरिन् ।

बुबाको भरोसालाई लक्ष्य बनाउँदै सफलतासमेत प्राप्त गरिन् । छोटो समयमै राष्ट्रिय टोलीमा परेपछि रंगशालाको यात्रा तय गरिन् । थाइल्यान्डमा सम्पन्न एसियन च्याम्यिनसिप २००६ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेकेकी आयषाले श्रीलंकाको दशौं सागमा रजत जितिन् ।

आयषाले कतारको दोहामा सम्पन्न एसियाडमा समेत कांस्य हात पारिन् । ढाकाको ११ औं सागमा आयषाले पनि स्वर्ण जितिन् । विवाहपछिको १२ औं सागमा भने आयषा रजत पदकमै सीमित भइन् । यसपटक भने फरक विधा पुम्सेबाट खेलेकी आयषाले दुई स्वर्ण जित्दै आफूलाई पनि पुनः प्रमाणित गरिन् ।

दुई स्टार खेलाडीको गुपचुप प्रेम
आयषाको लगाव र जोखिम देखेर दीपक क्रमशः उनीप्रति आकर्षित हुन थाले । कयौँ प्रतियोगितामा सँगै भाग लिने, सँगै प्रशिक्षण लिनेजस्ता कार्यले दुवैको हिमचिम बढ्यो । खेलकुद प्रतियोगिता र प्रशिक्षणका क्रममा विदेश यात्राका क्रममा दुवैको आत्मियता अझ बढेर जान थाल्यो ।

सन् २००५/०६ ताका दीपक सिनियर र स्थापित खेलाडी थिए भने आयषा नवप्रवेशी थिइन् । त्यतिबेला दीपकले सागमा दुई स्वर्ण जितिसकेका थिए भने आयषा भने दशौं सागको बन्द प्रशिक्षणमा थिइन् । त्यसैले यी दुई दिनहुँ रंगशाला धाउँथे । आयषा पनि राष्ट्रिय टोलीमा अवसर पाउन थालेपछि दैनिक रंगशाला पुग्थिन् । एकै ठाउँबाट रंगशालासम्मको यात्रा तय गर्थे । खेल एउटै, खेल्ने ठाउँ एउटै ।

बिस्तारै भेटघाट बाक्लियो । रंगशाला उनीहरूको लागि प्यारो बन्दै गयो । एकअर्काप्रति आकर्षित हुँदै गए । तर, दुवैले प्रेम प्रस्ताव भने राखेका थिएनन् । ‘हामी अधिकांश समय खेलकै बारेमा विश्लेषण गथ्र्यौं,’ दीपक सम्झँन्छन्, ‘सायद त्यो नै ठीक थियो । त्यसैले त सफलता हात पार्‍यौं !’

यो जोडीको प्रेम सम्बन्ध करिब ६ वर्षसम्म जारी रह्यो र पनि सहकर्मीले समेत चाल पाएनन् । सायद उनीहरू फरक परिवेश र संस्कृतिबाट भएकाले पनि होला, कसैले अनुमान लगाउन पनि सकेनन् । दुवै जनाले पनि खेलमा असर पर्ने डरले अन्यलाई सुइँकोसमेत दिएनन् ।

बंगलादेशको ढाकामा सम्पन्न दशौं सागमा आयषासँगै दीपकले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए । यो समय दुवै जोडीका लागि निकै खुसीको समय थियो । दीपकले बंगलादेशमै साग गेम्समा चार स्वर्ण जित्ने कीर्तिमान कायम गरेका थिए । आयषाले पनि पहिलो स्वर्ण जितेकी थिइन् । यो क्षण दुवैका लागि जीवनकै सबैभन्दा खुसीको समय थियो । त्यो समय दुवैले लुकेर खुसी साटासाट गरेका थिए ।

‘हाम्रो त्यो समयम निकै यादगार छ, गुरुहरूले थाहा पाउनु हुन्छ भनेर हामीले लुकेरै खुसी साट्यौं,’ दुवैले एक स्वरमा भने, ‘हामी त्यो समय कहिले बिर्सदैनौं ।’ त्यतिबेलासम्म पनि दुवैले प्रेम प्रस्ताव व्यक्त गरेका थिएनन् । दीपकको मनले भने आयषालाई रोजिसकेको थियो तर उनले आयषालाई मनको कुरा खुलेर बताउन सकेका थिएनन् । पछि आयषा आफैंले दीपकलाई ‘हिन्ट’ दिइन् ।

यसपछि त दुवैको डेटिङ थलो नै रंगशाला बन्न पुग्यो । घरबाट सँगै रंगशाला आउने, प्रशिक्षण गर्ने र फर्कंदा सँगै जान थाले । साइकलमा आउने र साइकलमै जाने ! दुवैको एउटै खेल, एउटै मन भएपछि बिहेको कुरा उठ्न थाल्यो । दीपकलाई आफ्नो घरमा मनाउन त्यति गाह्रो भएन । सुरुमा केही नाकनिक नभएको भने होइन । तर छोराको चाहका अगाडि बाबुआमाको केही चलेन । आयषाको पाटनस्थित घर जाँदा दीपकले आयषाका बाबुआमाबाट राम्रै सम्मान पाउँथे ।

पछि दुवैको प्रेम सम्बन्ध रहेको चाल पाएपछि भने निको मानेनन् । यो थाहा पाएर उनी आयषाको घर जान छाडे । यता, दीपकको उमेर बढ्दै जाँदा उनमाथि विवाहको दबाब बढ्दै जान थाल्यो । पछि आयषाले नै बिहेको प्रस्ताव राखिन् र अचानक बूढानीकण्ठमा बिहे गर्नुपर्‍यो । त्यतिञ्जेल यी दुवै यति सेलिब्रिटी भइसकेका थिए कि बिहे नै राष्ट्रिय समाचार बन्न पुग्यो । उनीहरुको बिहेको समाचार ब्रेकिङ न्युज आयषाको माइती पक्षले टिभीमा हेर्नुपर्‍यो ।
नेपालको सुदूरपश्चिमबाट आएका दीपक र काठमाडौँकी रैथाने आयषाबीच धार्मिक, जातीय र सांस्कृतिक फरक थियो । आयषाका अभिभावकले यही फरकपनाका कारण छोरीले दुःख नपाओस् भन्ने सोचेका थिए । तर दुवैको सहमति भएपछि कसको के लाग्छ ? जसै दीपक र आयषाको जेठो सन्तान जन्मिए, त्यसपछि भने यो जोडीलाई सहज हुन थाल्यो । कुनै जरुरी प्रशिक्षणमा बाहिर जानुपर्दा माइतीको भरथेग हुन थाल्यो । यसरी एउटा अनमेल विवाह आदर्श परिवारमा परिणत भयो ।

अन्तरजातीय बिहेले उनीहरूलाई पनि सास्ती दियो । दीपकलाई आफ्नोभन्दा आयषाको परिवारलाई मनाउन बढी समय लाग्यो । ‘सुरुमा उहाँहरू रिसाउनुभयो तर आमाबाबुको मन त हो, चाँडै उहाँहरूको मन पग्लियो,’ दीपक भन्छन्, ‘परिवारले हाम्रो सम्बन्धलाई चाँडै स्वीकार्दा सजिलो पनि भयो । अहिले उहाँहरुको साथमा थप सफलता पाएका छौं । त्यसैले संसारकै भाग्यमानी सन्तान हौं जस्तो लाग्छ ।’

छोरा पनि तेक्वान्दोमै
जोडीको प्रेम सम्बन्ध विवाहमा परिणत भएको करिब एक दशक बितिसकेको छ । खेलप्रति यो जोडी कति समर्पित छ भने जेठा छोरा आदिष पनि तेक्वान्दो खेल्दैछन् । आदिषले केही पदक पनि जितेका छन् । छोराले चाहुञ्जेल खेलमा लगाउने दीपकको चाहना छ । बाबुआमाको साथ पायो भने अझ उसले राम्रो गर्छ भन्ने दीपकको बुझाइ छ ।

विवाहपछि पनि उस्तै लगाव
कतिपय सेलिब्रेटी विवाहपछि गुमनाम हुने गर्छन् तर जोडीका लागि भने परिस्थिति फरक बन्यो । दुवै जना पुरानै अवस्थाबाट देशको सेवा समर्पित छन् । समाजका महिलाका लागि विवाहपछिका दिनहरू कष्टकर प्रायः हुने गर्छ । केही गर्नुपरे परिवार र पतिको सहयोग चाहिने गर्छ तर आयषाका लागि बिहे ‘वरदान’ बन्यो । आयषाले पनि दीपकको साथ पाइन् । त्यसैले अभैm सफल खेलाडी बनिरहिन् । यता, दीपकले भने आयषाको भरोसा पाएपछि सफल खेलाडीसँगै सफल प्रशिक्षक छाप पाए । दुवै जनाले परिवार, खेल र व्यवसायलाई पनि राम्रोसँग अगाडि बढाइरहेका छन् ।

दीपकले ६ वर्ष अगाडिदेखि खेल सामग्रीका ठूलो कम्प्लेक्स ‘स्पोर्टस युनिभर्स’ सुरु गरेका छन् । व्यवसायमा पनि राम्रोसँगै अगाडि बढिरहेको दीपकको भनाइ छ । साथै, यो जोडीले एकअर्काको सारथि बन्ने सके हरेक क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने पनि प्रमाणित गरेका छन् ।

प्रकाशित: २२ पुस २०७६ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App