१६ चैत्र २०८० शुक्रबार
अन्य

नगरा बज्दा संस्कृति बोल्छ

लामो समयदेखि थन्किएको मल्कालीन नगराको पुनस्र्थापना गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तीन सय २९ वर्ष लामो इतिहास बोकेको दुई नगरा ताहा सत्तल (तबा सत्तल)लाई पुनस्र्थापना गरिएको हो। नगरा पुनस्र्थापना कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनील प्रजापतिले यसको सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी दिए। उनले नगराबारे नयाँ पुस्तालाई थाहा दिन मर्मत गरेर यसलाई पुनस्र्थापना गरिएको बताए। नगराको संरक्षण गरेर नियमित बजाउन उचित व्यवस्था गर्ने उनको भनाइ थियो।

नगरपालिका उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाउनु खुसीको विषय भएको बताइन्। उनले नगराको उचित उपयोगको आवश्यकतामा जोड दिइन्। गत मंगलबार र नेपाल भ्रमणको पहिलो दिन बुधबार विशेष कार्यक्रममा ६ फिट परिधि भएका करिब चार फिट अग्ला नगरा बजाइएको थियो। यो मल्लकालीन नगरा हो। लिच्छविकालदेखि नै नगरा बजाउने प्रचलन रहेको संस्कृतिविद्को भनाइ छ। त्यस बेला सरकारी कार्यक्रम र युद्धको घोषणामा ठूलो आवाज निकाल्ने नगरा बजाइन्थ्यो।

भक्तपुरले तीन सय २९ वर्ष पुरानो नगरा बजाउँदै नेपाल भ्रमण वर्ष– २०२० को स्वागत गरेको छ। मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्राको क्रममा नगरा बजाइएको हो।

भक्तपुरले तीन सय २९ वर्ष पुरानो नगरा बजाउँदै नेपाल भ्रमण वर्ष– २०२० को स्वागत गरेको छ। मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्राको क्रममा नगरा बजाइएको हो। त्यसैगरी, नेपाल भ्रमण वर्षको पहिलो दिन पनि नगरा बजाइएको थियो। नगराको धुनसँगै प्रस्तुत गरिएका नृत्यले सिंगो भक्तपुर नाचेजस्तै आभास हुन्थ्यो।

राजा जितामित्र मल्लले तलेजु भवानीका लागि चढाइएको यो नगरालाई २०१८ सालसम्म नियमित रूपमा बिहान–बेलुका बज्ने गरेको संस्कृतिविद् ओम धौभडेल सुनाउँछन्। उनका अनुसार नगरा बजाउनेलाई दिइने पारिश्रमिकका लागि एक रोपनी चार आना जमिन छुट्ट्याइएको थियो। गुठीले ४३ हजार पाँच सयमा सो जमिन बेचिदिएपछि नगरा संकटमा परेको उनले बताए।

‘४३ हजार पाँच सय बैंकमा राखेर त्यसको ब्याजबाट नगरा बजाउने भनियो,’ उनले भने, ‘बिहान–बेलुका बजाउन सो रकम पर्याप्त नभएकाले नगरा बजाउन छाडियो।’ विशेष अवसरमा बज्दै आएको नगरा २०४५ को भूकम्पपछि भने थन्किएको थियो। तामाको पातामा जनावरको छाला बेरेर बनाइएको यो नगरा शुभकार्यमा घन्कँदै आएको हरेराम थिमीले सुनाए।

नेपाल भ्रमण वर्षको अघिल्लो साँझ पुण्यराम थिमी र हरेराम थिमीले नगरा बजाउँदा खुसी मिल्ने गरेको सुनाए। ‘लामो समयपछि नगरा बजाउन पाएका छौँ,’ हरेरामले भने, ‘यो बजाउँदा र यसबाट निस्कने आवाजले नगरवासीसँगै हामी पनि खुसी छौँ।’

परम्परागत बाजाका जानकार जर्मन नागरिक ग्रेट वायनगरले यो नगराबारे नगरपालिकालाई जानकारी दिँदै नगरा बजाउने लौरो आफूसँग भएको बताएका थिए। यसपछि नगरपालिकाले नगराको संरक्षणमा थप चासो देखाएको थियो।
दरबार क्षेत्रमा बिहीबार आयोजित एक कार्यक्रमबीच ताहा सत्तल (तबा सत्तल) को पहिलो तलाको पश्चिमी भागमा सुरक्षित रूपमा नगरा पुनस्र्थापना गरिएको छ।

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे प्रस्ट पार्दै भक्तपुरको मूर्त–अमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेलेको बताए। दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले आन्तरिक र बाह्य पर्यटकका लागि नगराको विषयमा जानकारी दिनु आवश्यक भएको बताइन्।

प्रकाशित: १९ पुस २०७६ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App