४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

नेपाली तारा टप १४ बाट बाहिरिदा रोएँ

‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’जस्ता लोकप्रिय गीतमा आवाज भरेकी गायिका टीका प्रसाईंसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

गायन क्षेत्रमा कसरी आउनुभयो ?
मेरो घरपरिवार सांगीतिक माहोलमा रमाइरहेको परिवार हो । मेरो हजुरबुबा घरमै सिलोक हालिरहनु हुन्थ्यो । आमा पनि त्यस्तै मीठो गीत गाउनुहुन्थ्यो । उहाँहरुका गायनमा भिज्दै म हुर्किएँ । सानैदेखि मैले भाकाहरु टिप्न थालेँ । घरमा सबैले यसले त राम्रो गीत गाई, फेरि गाइदे गाइदे भन्नु हुन्थ्यो । बिस्तारै स्कुल लेभलमा पनि गीत गाएँ । विभिन्न कार्यक्रमा भाग लिँदै आजसम्म आएँ ।

कस्ता खाल्का गीत सुन्नुहुन्थ्यो ?
मैले सबै खाल्का गीतहरु सुनेँ ।

पहिलो पटक स्टुडियो पस्दाको अनुभव  ?
मैले २०५८ मा नै झापाको एउटा स्टुडियोमा गीत रेकर्डिङ गरेँ । अरुकै गीतमा मलाई गाउन लगाइएको थियो । पहिलो पटक स्टुडियोमा छिर्दा त के–के नै भयो जस्तो लागेको थियो । खुसीले पनि गद्गद् थिएँ । घरमा पनि गीत गाइरहेको मान्छे । कस्तो सुनिदोरहेछ भनेर कहिले धाराको पाइपमा गाउँथेँ, कहिले गिलासमा मुख हालेर गीत गाउथेँ । अहिले सम्झँदा बडो रमाइलो लाग्छ ।

तपाईं गायिका नभएको भए ?
झापामा एसएलसी सकेपछि बुबाआमाले पढ्नका लागि इन्डिया लैजानुभयो । छोरी पढेर नर्स बनोस् भन्ने थियो । मैले राम्रो गाएको देखेर कहिलेकाहीँ जे बने पनि बनोस् है भन्न थाल्नुभयो । मैले आइए पूरा गरेर नेपाल आएँ । चाहना गायिका बन्ने नै थियो । त्यसैले होला, म मेरो लक्ष्यमा पुग्न सफल भएँ ।

पहिलो पटक गीत गाउँदाको पारिश्रमिक कति थियो ?
मैले गीत गाएर चार हजार पाएकी थिएँ । त्योभन्दा अगाडि कोरस गाउँदा तीन सय रुपैयाँ पाएकी थिएँ ।

जीवनमा त्यस्तो समय छ, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
हरेक मान्छे बालापनमै फर्कन मनगर्छ । मलाई पनि बालापन नै फेरि जिउन पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो बेला साथीभाइ धेरै हुन्थे । एक प्रकारको रमाइलोपन थियो । बालापनमा थोरै बोल्थेँ र लजालु स्वभावको थिएँ । मलाई त्यस्तै बन्न मन छ ।

तपाईंलाई जीवनमा अरु के गर्न मन लाग्छ ?
मलाई आर्ट र फोटोग्राफी गर्न मन लाग्छ । अनि अझै गायनमा व्यस्त रहन मन छ ।

तपाईंलाई कुन कुराले चित्त दुख्छ ?
गर्दै नगरेको गल्तीलाई तैँले गल्ती गरेकै हो भनेर दोष लगायो भने चित्त दुख्छ । नभएको र गर्दैनगरेको गल्तीमा  सजाय पाउँदा ज्यादै चित्त दुख्छ ।

तपाईं सुतिरहेको कोठामा अचानक भुत आयो भने के गर्नुहुन्छ ?
सायद भूत आयो भने त्यो नजाउञ्जेल आँखा चिम्लेर सुत्छु होला । त्यो पनि  सासै नफेरिकन । भूत भन्नेबित्तिक्कै डर लागिहाल्छ अनि के गर्नु त ? गुटुमुटु भएर सुत्यो, अनि त आनन्द !  

तपाईंलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो भने सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ?
सबैभन्दा पहिला त घुस खाने र काम नगर्ने ठेकेदारलाई कामबाट निकालिदिन्थेँ । जोसजाँगर भएका व्यक्तिलाई नियुक्ति गर्थेँ । वनपाखामा खाली जग्गाजमिन छ । त्यो ठाउँमा हराभरा बनाएर पर्यटक तान्ने पर्यटकीय स्थल बनाउँथे, जसका लागि विदेश जान लागेका युवालाई यही रोजगार दिन्थे । जसका कारण नेपालमा बेरोगजगारी कम हुन्थ्यो । कोही अर्काको देशमा पसिना बगाउनु पर्दैन थियो होला । एक दिनमा योबाहेक त अरु के नै भ्याइन्छ होला होला र ? उज्यालो हुँदा पद खुस्किने रहेछ !

तपाईंलाई भाषण गर्न आग्रह गरियो भने के विषयमा बोल्नु हुन्थ्यो ?
सायद भ्रष्टाचारकै बारेमा कुरा गर्थे होला । दिमागमा यही भन्ने छैन ।

तपाईंलाई कुन कुराले खुसी बनाउँछ ?
मलाई सबैभन्दा पहिला एकअर्कामा मेलमिलाप भएको खबर सुन्दा खुसी लाग्छ किनभने त्यहाँ एक सद्भाव देखिन्छ । अर्को, दुःखमा परेकालाई कसैले यति सहयोग गर्‍यो या सहयोग गरेको देखेँ भने मन त्यसै खुसी भएर आउँछ ।

के देख्दा दुःख लाग्छ ?
कहिलेकाहीँ बाटोमा बिरामी छटपटाइरहेको अवस्थामा एकदमै दुःख लाग्छ किनभने चाँडै अस्पताल पुर्‍याउन सकिन्छ कि सकिँदैन । अनि कोही–कोही एकआपसमा छुट्टिएर गयो भने पनि दुःख लाग्छ । देशको अवस्थाले पनि एकदमै दुःख लाग्छ । नेपालीहरु विदेशमा पाएको दुःख र तिनको बिजोग देख्दा पनि मन भक्कानिएर आउँछ ।

फेसनमा कतिको ध्यान दिनुपर्छ ?
म आवश्यकताअनुसार फेसनमा ध्यान दिन्छु । म धेरैजसो कार्यक्रममा नै व्यस्त रहेको हुन्छु । परिचित अनुहार भएपछि हल्का फेसनमा पनि ध्यान त दिनै पर्‍यो । तर उत्ताउलो पारामा भने फेसन गर्दिनँ । आफूलाई सुहाउँदो मात्रै ।

प्रेम प्रस्ताव कतिको आउँथ्यो  ?
उमेरमा सबैलाई प्रेम प्रस्ताव त आइहाल्छ नि ! मलाई पनि धेरै नै आएको थियो । म अलिक झ्वाँक्की स्वाभावको भएर होला हत्तपत्त कसैले आँटै गर्दैन थिए । मलाई प्रेम प्रस्ताव राखेका ,३/४ जनालाई रुवाउँदै पठाइदिएकी छु । उनीहरुले मलाई प्रेम प्रस्ताव राखेका थिए तर अस्वीकार गरिदिएपछि ग्वाँग्वाँ रोइदिए । पछि जोसँग गहिरो प्रेम बस्यो, उसैसँग बिहे गरेँ ।

तपाईंको गोप्य कुरा के होला, जुन अहिलेसम्म दर्शकलाई थाहा छैन ?
सायद मैले राम्रो आर्ट गर्छु भन्ने कुरा दर्शकलाई थाहा छैन । अनि मलाई राम्रोसँग क्यरिकेचर गर्न पनि जान्दछु ।

आफूले गर्न चाहेको तर गर्न नसकेकोे अधुरो काम के हो ?
त्यस्तो अधुरो काम त केही छैन तर मलाई गीतार बजाउन र स्कुटर चलाउन जान्दिनँ । सिक्न बाँकी अधुरो काम यही हो । स्कुटर किनेर ल्याएको दुई वर्ष भइसक्यो तर चलाएकै छैन ।  

आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?
म सबैसँग छिटो घुलमिल हुन सक्दिनँ ।

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मन र इच्छाशक्ति नै हो । कसैको ढिपीले मलाई हुँदैन । काम गर्नको लागि भित्रैबाट जाँगर चलेर आएको हुनुपर्छ ।

आफ्नो आफैँलाई मनपर्ने बानी ?
म हत्तपत्त कसैसँग रिसाउँदिन ।

सबैभन्दा धेरै रोएको क्षण ?
नेपाली तारा पहिलोमा टप १४ मा पुगेर आउट भएँ । यो क्षण मैले हारेको भनेर भक्कानिदै धेरै बेरसम्म रोएकी थिएँ । टप टेनमा पुग्न लागेको बेला फालिँदा नमज्जा लाग्दोरहेछ ।

प्रकाशित: १० पुस २०७६ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App