८ वैशाख २०८१ शनिबार
अन्य

कहर होइन क्यान्सर

यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् । यस पटक मैले आफ्नै घरको कथा प्रस्तुत गरेको छु । सायद यो मेरो घरको कथा मात्र होइन, घरघरको कथा हो । किनभने मलाई जे भयो, त्यो भोलि यो समाजको सदस्य भएको नाताले तपाईंलाई पनि घट्न सक्छ ।

दसैँ सकिएर तिहारको चटारो शुरु भइसकेको थियो । यसबीचमा तिहारमा दाजुभाइलाई निम्तो दिन थालिसकेकी थिएँ । मैले मेरो दादालाई फोन गर्दा उहाँलाई सञ्चो नभएको खबर पाएँ । उहाँलाई स्वास्थ्यलाभको कामना र तिहारको निम्तोपछि म केही व्यक्तिगत, केही व्यवसायिक त केही सामाजिक काममा व्यस्त भइहालेँ । केही दिनपछि नै दाइलाई पेटको क्यान्सर भएछ भनी खबर आयो ।

जिन्दगीमा कतिपय कुरा यस्ता हुन्छन्, जुन आफूलाई नपरी त्यसको चोटको पीर मान्छेले बुझ्दैन । दादालाई पेटको क्यान्सर भएको थाहा पाउनेबित्तिकै म हुर्रिएर उहाँलाई हेर्न अस्पताल गएँ । शुरुमा पाँच दिनसम्म पेट राम्रोसँग सफा भएन भन्ने उहाँको गुनासो थियो । डाक्टरले पनि पेट सफा गर्ने औषधि दियो । तर जब उहाँले औषधि खान थाल्नुभयो, मुखबाट कालो पदार्थ निस्कन थाल्यो । मुखबाट कालो पदार्थ आउनु भनेको रगत हो भन्ने निक्र्योल भइसकेपछि उहाँलाई हतारहतार अस्पताल पुर्‍याइयो । डाक्टरले पेटको बायोप्सी गर्ने भए । बायोप्सीको रिपोर्ट आएपछि उहाँलाई पेटको क्यान्सर भएको पक्का भयो ।

यसपछि त मानौँ घरमा सन्नाटा नै छायो तर डाक्टरहरुले सही समयमा उपचारमा ल्याइएकाले नआत्तिन सुझाव दिए । यसपछि दाजुको सघन उपचार शुरु भयो । यतिबेला उहाँलाई रेडिएसन उपचार दिइँदैछ ।

पहिला निकै कम सुनिने क्यान्सर रोग हिजोआज घरघरको समस्याका रुपमा देखिन थालेको छ । पहिले त क्यान्सरलाई धनीहरुको रोग भनिन्थ्यो । अहिले त गरिबगुरुवाको झुपडीमा समेत स्थान बनाउन थालेको छ । समग्रमा क्यान्सर राष्ट्रिय रोगको पहिचान बनाउनेतर्फ अग्रसर भइरहेको छ ।
हामी र हाम्रो समाजको खानपिन र जीवनशैली ठीक ठाउँमा छैन र यही कारण हाम्रो जिउ क्यान्सरको घर बन्न पुगेको छ । त्यसमाथि जीवनमा गाह्रोसाह्रो नपरी अस्पताल नजाने, नियमित चेकजाँच नगर्नेजस्ता हाम्रै गैरजिम्मेवारीले पनि हामीलाई रोगले नमज्जाले गाँज्न थालेको छ ।

बेलाबेलामा डाक्टरी चेकजाँच नगर्ने अधिकांश नेपाली परिवारको बानीजस्तै मेरो दादा पनि पेट दुख्दा अस्पताल जानु भएन । हल्काफुल्का घरकै औषधि र ग्यास्ट्रिक होला भनेर टारिरहनु भएको थियो । आखिरमा हेलचेक्र्याइँले उहाँलाई क्यान्सर भइसकेको रहेछ । र, जुन रोगको नाम सुन्नेबित्तिकै मलाई डर लाग्थ्यो, हाम्रो परिवारमा कसैलाई त्यस्तो रोग लागेको सुन्नु नपरोस् भन्ने सोच्थेँ, त्यही विपत्ति परिवारमा आइपर्‍यो । त्यो पनि चौथो तथा अन्तिम चरणको क्यान्सर !

ठीक यही बेला उद्योग वाणिज्य महासंघमा क्यान्सर सचेतनासम्बन्धी एउटा कार्यक्रम आयोजना भयो । यो कार्यक्रम सम्पन्न गर्न मैले पनि सक्रियतापूर्वक काम गरेकी थिएँ । त्यहाँ डा. सुदीव श्रेष्ठ, डा. राजेन्द्र बराल, डा. आरपी विचले विशेषज्ञ सुझाव र जानकारी दिएर श्रोताहरुलाई लगाउनु गुन लगाउनु भयो ।

घरैमा क्यान्सर रोग पल्कियो भन्ने थाहा भएपछि मैले त्यो दिनभरि सबै सेसन सुनेँ । कसरी रोकथाम गर्ने ? क्यान्सर हुनबाट कसरी बच्ने ? खानपिन कसरी मिलाउने ? क्यान्सर भएको कसरी थाहा पाउने ? भइसकेपछि औषधि कसरी गर्ने ? सबैसबै सुनेँ ।

त्यसमाथि क्यान्सर सर्भाइभर मनीषा कोइरालाको कुरा त झनै प्रेरणाप्रद थियो । आत्मबल, सकारात्मक सोच, नित्य व्यायाम, अग्र्यानिक खानपिन र जीवनप्रतिको आशाले कसरी उनले क्यान्सरलाई जितिछाडिन् भन्ने अनुभव मेरालागि ठूलो आडभरोसा बन्न पुग्यो ।

जब मानिस मृत्युको मुखमा पुगेर फर्कन्छ, त्यसले मानिसको जीवनलाई हेर्ने दृष्टिकोण नै फरक पारिदिन्छ । जेले जीवन सक्न लागेको थियो, त्यसै उद्देश्यमा लाग्ने उद्देश्य पनि दिँदोरहेछ भन्ने कुरा मैले मनीषाको जीवन हेर्दा पाउँछु । उनले अहिले क्यान्सर पीडित र तिनका परिवारलाई कसरी धैर्यधारण गर्ने, रोग लागिसकेपछि कसरी अगाडि बढ्ने ? हरेक क्षण र हरेक पल कसरी बाँच्ने ? यी सबै उनले अन्य क्यान्सर रोगीहरुलाई सुनाउन थालेकी छन् । उनको अनुभूतिले धेरै क्यान्सररोगीहरुले जीवनमा नयाँ उद्देश्य फेला पारेका छन् । जीवन यत्तिमै सकियो भनेर निराश भएकाहरु आशापूर्ण बनेका छन् ।

त्यस्तै नेपालकै प्रख्यात मोडल डली गुरुङले पनि आफूलाई क्यान्सर भएपछि जीवनलाई कसरी व्यवस्थापन गरिन् भन्ने अनुभव सुनाइन्, त्यसले पनि मलाई एक किसिमको ढाढस दियो । जुन रोगलाई मैले आतंकित बनाउने एउटा राक्षसजस्तो सोचेकी थिएँ, यो सेसनले मलाई ऊसँग नडराउन र जुझ्न ठूलो हौसला र प्रेरणा दियो ।

जति जति काम लाग्ने कुराहरु सुन्थेँ, म मेरो दाइलाई सम्झन्थेँ । उहाँलाई कसरी बचाउने, भदाहरुसँग कसरी कुरा गर्ने अनि भाउजूलाई कसरी जानकारी दिने भन्ने प्रश्नका सारा उत्तर मैले त्यहीँ फेला पारेँ ।
दिनभरिका यी कुराले मलाई पनि सम्हाल्यो । यसपछि म सिधै अस्पताल गएँ । ममा पनि आत्मविश्वास पलाएको थियो । दादालाई मैले आफूले सिकेको कुरा सुनाएँ ।

जीवन लम्ब्याउने एउटै मात्र उद्देश्य सकारात्मक जीवन रहेछ । मैले मनीषालाई हेर्दा त्यही जानेँ । यही कुरा मैले दादालाई दोहोर्‍याएँ । मलाई दादा पूर्ण रुपमा निको भएर मनीषाजस्तै बलियो आत्मविश्वास बोकेर अस्पतालबाट फर्किएको हेर्न मन छ ।

प्रकाशित: १० पुस २०७६ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App