२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विवाहको फेसन

यतिबेला बिहेको सिजन सुरु भइसकेको छ । राजधानीका सबैजसो बुटिकहरूमा धमाधम बेहुला–बेहुलीका लुगा सिउने चटारोमा देखिन्छन् । पसलहरूमा ग्राहकको भिडभाड पनि उत्तिकै छ । फेसनका जानकारहरू हिजोआज विवाहका पोशाकमा धेरै परिवर्तन आइसकेको छ ।

शैलजा अधिकारी
प्रबन्ध निर्देशक
आइसी कलेज अफ आर्टस एन्ड फेसन

आइसी कलेज अफ आर्टस एन्ड फेसनकी प्रबन्ध निर्देशक शैलजा अधिकारी हिजोआज पहिरनको बान्की मात्र होइन, रङहरुमा पनि उत्तिकै विविधता आएको महसुस गरिरहेकी छन् । ‘पहिला–पहिला बिहे भनेपछि रातो रङको बाहुल्य रहन्थ्यो, जताततै रातैरातो मात्र हुन्थ्यो,’ शैलजा भन्छिन्, ‘हिजोआज विवाहका भिन्नभिन्न अवसरमा अवसर अनुसारका लुगा र रङ छान्ने गरेको देखिन्छ ।’

उनको अनुभवमा पहेँलो, गुलाबी, कलेजी लगायतका रातो भन्दा फरक रङ र कम चम्किला लुगा रोज्ने चलन बढ्न थालेको छ । साडी चोलोको पुरानो चलनमा पनि उत्तिकै परिवर्तन आउन थालेको छ । त्यसको साटो लेहेंगा तथा विभिन्न डिजाइनका कुर्ताहरूको चलन बढेको लाइक्रा द फेसन बुटिककी सविना महर्जन बताउँछिन् ।

पुल्चोक—३ बुटिकका प्रमुख आस्तिक शेरचनका अनुसार विवाहको बेला साडी चोलो भन्दा पनि हिजोआज लेहेंगाकै माग बढेको छ । ‘पहिला बिहेका लागि रातो पहिरनको नै साडी खोज्ने चलन थियो,’ शेरचन भन्छन्, ‘अहिले पहेंलो, हरियो, गुलाबी लगायतका कलरहरु खोजिन्छ । डिजाइन पनि अलिक अलग्गै खालको माग हुने गरेको छ ।’
आस्तिक पहिरनको डिजाइनमा पनि परिवर्तन आएको बताउँछन् । ‘पहिला पहिला हामी आफैँ डिजाइन गथ्र्यौं, हिजोआज भने ग्राहकहरू आफैँ पनि डिजाइन लिएर आउँछन् र मागअनुसारको डिजाइन बनाइदिनु पर्‍यो भन्छन् ।’

शैलजाका अनुसार, अचेल नेपालीहरुको बिहे पनि भारतीय शैलीमा हुन थालेको र विवाहमा केही दिन लगाउने प्रचलन बढेको बताउँछिन् । ‘हाम्रो परम्परागत बिहे १/२ दिनमा नै सकिन्थ्यो,’ उनले भनिन्, ‘हिजोआज त विवाहमा मेहन्दी सेलिब्रेसन, प्रिम्यारिज, विवाह र विवाह पछिका विशेष कार्यक्रम मनाइन थालिएको छ ।’

फोटो सेसन पनि विवाहकै पाटो बन्न पुगेको शैलजा बताउँछिन् । विवाहको अवसरअनुसार फरक–फरक रङका लुगा, त्यसै अनुसारका गहना र श्रृंगारको चलन बढेको उनको बुझाइ छ । ‘मेहन्दी कार्यक्रममा दुलहीले हरियो, पहेंलो, गुलाबी, मेहन्दीको रङसँग मेल खाने लुगा लगाइरहेको देखिन्छ,’ उनी भन्छिन्, ‘विशेष गरेर लेहेंगा र कुर्ता–सुरुवाल यस्तो अवसरमा बढी देखिन थालेको छ ।’

शैलजा भन्छिन्, ‘बिहेको दिनमा भने रातो सँगसँगै गुलाबी, कलेजी, रानी कलरका लुगा देखिन्छ ।’ रमाइलो त के छ भने एक पटक गरिने बिहे भन्दै भरिसक्य यसलाई भव्य र कलरफुल बनाउन कुनै कसर छाडिएको छैन । र, यो नयाँ ट्रेन्ड बन्दै जान थालेको छ । ‘पहिला रातो पहिरन मात्र लगाउने चलन थियो,’ उनी भन्छिन्, ‘अहिले रातो भन्दा पनि अन्य रङका पहिरन बढी प्रयोग हुन थालेको छ । रातो हुँदै नभएको त हैन तर कम हुन थालेको छ ।’ सविनाको अनुभवमा पनि पहिलाको तुलनामा विवाह अलिक लामो हुन थालेको छ र बिहेमा दुुलाहा–दुलहीले लगाउने पहिरन र रङमा पनि परिवर्तन देखिन थालेको छ ।

विवाहको अवसरअनुसार बेहुलाहरु पारम्परिक पहिरन दौरा–सुुरुवाल, शेरवानी, सुटमा सजिन चाहन्छन् भने बेहुलीको रोजाइमा साडी र लेहेंगा तथा कुर्ताहरू पर्ने गरेका छन् । बेहुलीका लेहेंगाहरू ३०/३५ हजार रुपैयाँदेखि ५० हजार माथिका हुने गरेको सबिनाको कथन छ ।

‘बनारसी साडीलाई दुलही साडीसमेत भनिन्थ्यो र दुलहीहरु त्यही लगाउँथे,’ सविना भन्छिन्, ‘अहिले त बनारसे साडीभन्दा डिजाइनर साडी नै रुचाउन थालिएको छ । बिस्तारै बनारसी साडीहरु छोडेर बुटिकमा गएर नेट, जर्जेटका कम इम्ब्रोइडरी गरेका साडीको चलन बढेको छ । 

   

फोटो सेसन
विवाहपछि जोडीहरुले सँगै बसेर फोटो खिचाउने चलन बढ्दो क्रममा छ । फोटो सेसन गर्दा लामो तिलहरीको चलन पनि बढ्न थालेको छ । फोटो सेसन गर्दा दुलहीले लामो एक पिस लगाउने चलन बढेको छ भने दुलाहा भने सुटमा सजिन चाहन्छन् ।

भेलभेटका लेहेंगा, भेलभेटकै सल र भेलभेटकै थैली तयार गर्न तल्निन सविना यस्ता पहिरन पहिला नै चलिसकेर हराएको तर पुनः चल्तीमा आउन थालेको बताउँछिन् । केटाका विवाह पहिरनमा पनि बद्लाव आएको छ । ‘फर्मल प्यान्टमा सादा ढाका कोट, सिल्कका कोट पनि लगाउने गरेका छन्,’ सविना भन्छिन्, ‘लङ कोट, टु बटमवाला कोट पनि चलेको छ ।’

यस्तो विशेष अवसरमा नयाँ शैलीका पहिरन चलेका भए पनि दुलाहा–दुलही दुवैले आफ्नो शारीरिक बनावटअनुसारका पहिरन छनोट गर्नुपर्ने उनको सुझाव छ । ‘मोटो शरीर भएकालाई फर्मल प्यान्ट राम्रो देखिन्छ भने दुब्लालाई चुुज प्यान्ट,’ उनी भन्छिन्, ‘सादा, ढाकाका दौरा–सुरुवाल र जडीहरू राखेर दौरा–सुरुवाल लगाउने र कतिपय अवस्थामा रंगीचंगी कोट लगाउने चलन बढेको सविना बताउँछिन् ।

रिसेप्सन पहिरन
अहिले बिहेका विभिन्न चरणहरु हुने गरेका छन् । रिसेप्सन पहिरन भनेको विवाहपछि गरिने भोजका बेला लगाइने पहिरन हो । विवाहका लागि आफन्तलाई मात्रै बोलाइन्छ भने रिसेप्सन पार्टीमा आफन्तबाहेक अन्य पाहुनालाई समेत डाक्ने गरिन्छ । यस्तो पार्टीमा लगाइने पहिरन दुलाहा–दुलहीका लागि बेग्लै डिजाइन गर्ने गरिन्छ ।

बिहेपछि हुने रिसेप्सन पार्टीमा बेहुलाले शेरवानी तथा एंगलवाला पाइजामा लगाउने गरेको देखिन्छ । रिसेप्सन पार्टीमा धेरैजसो दुुलहीले साडीलाई त्यत्ति महत्व दिएको पाइँदैन । यस्तो बेला दुलहीले लेहेंगा लगाउने गरेका छन् ।

प्रकाशित: २८ मंसिर २०७६ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App