मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् । आयु छउँञ्जेल त्यसरी बीचैमा ज्यान गुमाउनु पर्ने ठूला कारण पनि हुँदैनन् । कमजोर आत्मबल तथा समस्यालाई हेर्ने नजरिया बदल्न नसकेको ठान्छन् मनोचिकित्सकहरू ।
पछिल्लो समय आत्महत्याको समाचारले सञ्चार माध्यममा सनसनी छाएसँगै मानोविद्हरू चिन्तित बनेका छन् ।
उनीहरू अनुसार कतिपय आत्महत्याका कारण एक मात्रै हुँदैनन् । व्यक्क्ति पिच्छे फरक हुन्छन् । कतिपयको रहस्य पत्ता लाग्दैनन्, यसैकारण पछिल्लो समय मनोविज्ञान अध्ययन अपूर्ण जस्तै देखिन्छ । तर, सबै अनुसन्धानमा आधारित भने होइनन् । कतिपय अनुसन्धानबाट पूर्णता पाएका कारण मनोरोग लागेका मानिसमा उपचार गर्न सहयोगी भएका छन् ।
त्यसैको अर्को पाटो, मर्ने कसैलाई रहर हुँदैन, कहर पनि हुँदैन तर जो कसैले त्यस्तो निर्णय लिन हजार पटक पक्कै सोच्दछ, आफ्नो प्राण त्याग नहुञ्जेल धरै छैन । यस कुरामा मनोचिकित्सक सहमत छन् । तर, मानिसले मुक्तिका लागि अन्तिम अस्त्र प्रयोग किन गर्छन, उनीहरूसँग उत्तर छैनन् । ग्राण्डी इन्टरनेसनल अस्पतालका मनोचिकित्सक डा. रिसव कोइराला भन्छन्, ‘विदेशमा गरेको कैयौं अनुसन्धानका आधारमा भन्ने हो, दिमागी सन्तुलन गुमाएपछि उनीहरूले आफूलाई मृत्युको मुखमा धकेल्छन् ।’ पटक–पटकको प्रयासपछि सफल हुन्छन्, कतिपय प्रयास सफल हुँदैनन् । कतिपय त्यस्ता मानिसको जीवन सफल भएका उदाहरण पनि छन् । यदि उनीहरूको जीवन सफल भएन भने आत्महत्याको पुनः प्रयास ‘सम्भावना उच्च’ हुनेछ, डा. कोइराला भन्छन् ।
मिडियाबाजी
पछिल्लो समय आत्महत्याको प्रसंगले अत्यधिक चर्चा पायो । यसअघि पनि चलचित्रकर्मीको आत्महत्याले खुबै चर्चा पाए । तर, आत्महत्याको बहुचर्चा हुन राम्रो मानिँदैन । यस्ता किसिमका चर्चाले समाजमा नकारात्मक धारणा विकास हुने मनोविद्हरूको भनाइ छ । आत्महत्याको प्रमुख शीर्षक बन्दा, त्यसलाई फलोअफ स्टोरी गर्दा त्यसले झनै प्रभाव पार्ने विज्ञहरू बताउँछन् । विदेशमा गरेको अनुसन्धानले पनि त्यसै भन्छन् । अनुसन्धानको नतिजाको आधारमा डा. कोइराला भन्छन्, ‘आत्महत्याका समाचारले सहयोगी भूमिका खेलेको पाइएको छ । त्योसँगै सामाजिक सञ्जालको फैलावटको रफ्तार गतिलै हुन्छ ।
उदाहरणका लागि सामाजिक सञ्जालमा मृत शरिर देखेका, दुर्घटनाका तस्बिर, भिडियो र तर्साउने खालका आवाजले मानिसलाई मनोचिकित्सकसम्म धाउन बाध्य पारेको डा. कोइराला सुनाउँछन् । भन्छन्, ‘डिजिटल रुपमा जथाभावी आत्महत्याको कुरा आउँदा कमजोर मनस्थिति बोकेका मानिसमा पीडा थपिँदै गएको छ ।’ यसले समाजमा बेथिति पक्कै ल्याउने देखिन्छ ।
समाज विकासमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमा शंका गर्ने ठाउँ छैन, तर सनसनी फैलाउने नाउमा सेलिब्रेटीको आत्महत्याबारे फलोअप स्टोरी दिनु सामान्य मानिसको दिमागमा आत्महत्याको कुरा पसाउनुसरह ठानिन्छ । नेपालमा मात्र होइन विदेशमा पनि यस्तै खाले घटना घटेका छन् । आत्महत्या गर्ने तरिकासहितको रिपोर्टिङले आत्महत्यालाई प्रोत्साहन गरेको अनुसन्धानात्मक लेखोट प्रकाशन भएका छन् ।
बाल मस्तिष्क र कमजोर आत्मबल भएका मानिसमा यस्ता घटनाले झनै प्रभाव पार्छ ।
दुई हप्तासम्म देशभरका सञ्चार माध्यमले आत्महत्याको समाचार हाइलाइट गर्दा उसको परिवारमा कस्तो असर परे भन्ने मानवीय संवेदनशीलता अपनाउन नसकेको डा. कोइराला बताउँछन् । भन्छन्, ‘पत्रपत्रिकाले आत्महत्याको समाचार प्रमुख पेजमा स्थान दिनु हुँदैनथ्यो ।’ त्यसो भए समाचार नबनाउने त ? अन्तिममा सानो संक्षिप्त समाचार राख्न सकिन्छ भन्छन् मनोचिकित्सक डा. रिसव कोइराला ।
अनुसन्धानका कुरा
तथ्यगत सन्दर्भ वैज्ञानिक अनुसन्धानको सन् २००३ मै भनिसकेको छ । वयन स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ता एस स्ट्याकले ‘जर्नल अफ इपिडिमियोलजी एण्ड कम्युनिकेसन हेल्थ’मा आत्महत्या रिपोर्टिङका प्रभावको अनुसन्धानात्मक लेख प्रकाशन गरेका थिए । त्यस आधारमा चर्चित व्यक्तित्वको आत्महत्या प्रभावले १४.३ प्रतिशत बढ्ने उल्लेख छ । त्यसैगरी पत्रपत्रिका भन्दा ८२ प्रतिशत बढी टेलिभिजनमा रिपोर्टिङ प्रभाव पार्ने उल्लेख छ । डा. रिसव कोइरालाका अनुसार ‘इमिटेटिभ सुसाइड’को केसमा पचासभन्दा धेरै अनुसन्धान भएका छन् । नक्कल वा देखासिकी गरेर गर्ने आत्महत्या यसमा पर्दछन् । विभिन्न अनुसन्धानको नतिजामा थप अनुसन्धान ‘मेटा एनालिसिस’ गरिएका छन् । त्यस आधारमा मिडियाले आत्महत्या बढाउने भनिएकोे छ,’ डा रिसव भन्छन् ।
सन् २०१६ जुनमा आस्ले के हेगमानको टोलीले नेपालमा गरिएको अनुसन्धानात्मक वैज्ञानिक लेखअनुसार जबसम्म आत्महत्याको रिपोर्टिङ सही ढंगबाट हुँदैन, पूर्ण तथ्यांक राखिँदैन, तबसम्म राष्ट्रिय तहमा आत्महत्या निरुत्साही योजनाले पूर्णता पाउन सक्दैन भनेका छन् । आस्लेले कम आय भएका मुलुकमा आत्महत्याको बढ्दो रुपमा पाइएको उल्लेख गरेका छन् । ओस्लोका अनुसार, १५ देखि ४५ वर्ष उमेर समूहको नेपाली महिलामा एक लाखमा २८ जनाले आत्महत्या गरेको उल्लेख छ । यद्यपि महिलामा समस्या देख्दा पनि स्वास्थ्य मन्त्रालयले आत्महत्याको तथ्यांक व्यवस्थित रुपमा संकलन गरेका छैनन् ।
त्यस्तै, सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले आत्महत्या गर्ने देशमा नेपाल सातौं नम्बरमा पर्ने उल्लेख गरेको थियो । विश्व स्वास्थ्य संगठनअनुसार विश्वमा वार्षिक ८ लाख मानिसले आत्महत्या गर्ने गरेको छ । एउटा आत्महत्या हुन कम्तीमा २० पटक प्रयास गर्छन् । प्रत्येक ४० सेकेण्डमा एउटा मानिस आत्महत्या गर्ने गरेका छन् । विश्वका १९ देखि ४५ वर्ष उमेर समूहका मानिस आत्महत्या गर्नेमा दोस्रोमा पर्दछ । त्यसमा ७९ प्रतिशत कम तथा कम आय भएका देश छन् ।
कसरी प्राण त्याग्छन् ?
व्यक्ति स्वयंलाई प्राण आहूति दिने आँट आउँछ कसरी भन्ने प्रश्नमा अधिकांश मनोविद्ले उस्तै जवाफ दिन्छन् । उनीहरू भन्छन्, ‘जीवन जिउने भनेको सुख र प्रगतिका लागि भनेर बुझिन्छ ।’ यदि हामीले दुःखै दुःखै मात्र देख्यौं भने, बाच्छन् कोही ? डा. रिसव कोइराला प्रतिप्रश्न गर्छन । भन्छन्, कोही पनि मानिस दुःखै दुःखमा बाँच्ने चाहना पाल्दैनन् । दार्शनिक मात्रले दुःखको कारण बुझेका हुन्छन् । त्यसकारण सर्वसाधरण मानिसलाई दुःख र परिश्रम भित्र आनन्द अनुभूत गर्ने ज्ञान हामीले दिन सक्नु पर्दछ । त्यो दिन सकेनौं भने निराशाले आशालाई जित्छ ।
आत्मग्लानी र हीनभावना विकास गर्नु मानिसको दुर्भाग्य हो ।
जीवनप्रतिको नकारात्मक सोचाइ पैदा गर्नु मनोरोगको सिकार हुने पहिलो खुड्किलो हो । तथापि उच्च खुसी व्यक्त गर्नु पनि मनोरोगको लक्षण हो । जसरी सन्तुलित आहारविहार नमिल्दा शरीरमा अनेक खालका रासायनिक प्रतिक्रिया र फेरबदल हुन सक्छन्, त्यसरी दिमागमा नकारात्मक सोचाइलाई लामो समय विकास हुँदै जाँदा अप्रिय घटना घट्दछ । त्यो स्वाभाविक देखिन्छ । मनोचिकित्सक रिसव कोइरालाका अनुसार आत्महत्या गर्ने विभिन्न कारण हुन्छन् ।
एउटा मात्र कारणले आत्महत्या गर्छन् भनेर बुझ्नु गलत ठान्छन्, डा. कोइराला । भन्छन्, ‘ठूला घटना, सामाजिक प्रभाव, बाहिरी घटना, आर्थिक र शरीरसँग सम्बन्धित हुन्छन् । कतिपयमा वंशाणुगत जटिलता हुन्छन् । ‘इम्पल्सिभ इलनेस (आवेगमा आउने मानसिक रोग) मा देखिन्छ ।’ ‘कसैले धोका दियो अनि यसो गर्यो भन्छन् । तर, त्यो भन्न मिल्दैन । समाजप्रति वितृष्णाले उसलाई उक्साहट गराएको हुनसक्छ भन्छन्,’ डा. कोइराला । उनी भन्छन्, ठूलो भुइँचालोको बेला आत्महत्या गर्नेको संख्या बढेको थियो ।’
डब्लुएचओले मानसिक समस्या र आत्महत्याको सम्बन्ध देखाएका छन् । अधिकांश आत्महत्या आवेगमा गरेको उल्लेख गरेका छन् । एक्लोपना, भेदभाव, सम्बन्ध विच्छेद, आर्थिक समस्या, शारीरिक पीडा तथा रोग, हिंसा, दुरुपयोग र द्वन्द्वलगायतले हुन्छन् । मादक तथा लागू पदार्थ सेवन नकारात्मक असर पनि हुन्छन् ।
बुझाइमा समस्या
शिक्षामा सिकाइ र बुझाइको अन्तरले समस्या बढ्ने हुन्छ । आत्मसमीक्षा गर्न नसक्दा, जीवन जिउने कलामा असमानता, प्रतिस्पर्धात्मक शिक्षण विधिलगायतले मनोबल घट्न सक्छ र बुझाइमा समस्या हुन्छ । अर्को भनेको नेपाली समाजमा आत्महत्याबारे सोच्ने तरिकामा परिवर्तन ल्याउन जरुरी भैसकेको डा. रिसव कोइराला बताउँछन् । परिवारका कुनै सदस्यले आत्महत्या गर्यो भने त्यो परिवारलाई लाञ्छना लाग्दछ । त्यो परिवार बिचरा हुन्छन् । आत्महत्या गरेपछि गरिने पोस्टमार्टम गर्ने प्रक्रियामा नेपालीहरू जान चाहँदैन । जसले आत्महत्याको अनुसन्धान कमी भएका छन् ।
नेपालमा सजिलै यही कारणले आत्महत्या कारण थाहा पाउन मुस्किल छ । विकसित मुलुकले मृतकको मेडिकल फलोअपको रिपोटिङ राम्रो हुन्छ । हेल्थ रेकर्ड हेर्न सकिन्छ । तर, नेपालमा कतिजना डिप्रेसन भएका मानिसले आत्महत्या गर्यो भन्न सकिँदैन, जसले जटिलता निम्त्याएको छ ।
अनुसन्धानमा जोड
मनोचिकित्सक रिसव कोइरालाका अनुसार १० वर्षअघि प्रजनन् क्षमताका ४५ देखि ६८ उमेरसमूहका तथ्यांकमा अनुसन्धान गरिए । त्यस अध्ययनले मुख्य समस्या आत्महत्या देखायो । विश्व स्वास्थ्य संगठनले सरकारी स्वास्थ्य निकायसँगको सहकार्यमा अनुसन्धान गरेको थियो । त्यसपछि सरकारले अनुसन्धानका लागि छुट्टै कदम चालेको छैन, भन्छन् डा. कोइराला ।
विश्व स्वास्थ्य संगठनकै तथ्यांकमा आधारित वल्ड पपुलेसन रिभ्युका अनुसार आत्महत्या गर्नेको सूचीमा नेपाल ८१ स्थानमा पर्दछ । छिमेकी मुलुकहरू चीन र भारत क्रमशः ६९ र २१ औं पर्दछ । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने पहिलो देश लिथोनिया र दोस्रोमा रसिया पर्दछ ।
नेपाली समाज
हत्या वा आत्महत्या जघन्य मान्छन् । अकालमा ज्यान गुमाएकाले मोक्ष पाउन नसक्ने जनविश्वास छ । त्यसआधारमा समाजमा आत्महत्याजस्ता शब्द लिन हुँदैन भन्ने मान्यता छन् । कारणः बालमस्तिष्कमा त्यस्ताको नकारात्मक प्रभाव रहिरहने मान्यता छन् । बालबालिकालाई मृत्यु शरीर हेर्नबाट पनि टाढै राखिन्थ्यो । त्यो गरेको त्यसबेलाको समाज मृत्युेदेखि डराएर थिएन । किनभने त्यस्ता घटनाले कमजोर मानिसको मनोविज्ञानमा असर पर्दछ भन्ने बुझेका थिए । सूचना त्यही किसिमले संवेदजशीलता अपनाई सुनाइन्थ्यो, देखाइन्थ्यो । अहिले त्यस्तो छैन । छताछुल्ल छन् । एकोहोरो दुई हप्तासम्म नकारात्मक सन्देशले मानिसको मानसपटलमा कुरा खेल्ने कतिपय समाजशास्त्रीको बुझाइ छ ।
आत्महत्याको सम्भावना ?
मनोविद्का अनुसार मानसिक समस्या भएका ७० देखि ९० प्रतिशतले आत्महत्या प्रयास गर्छन् । त्यसमा कहिले अधिक उत्साह हुने र कहिले अधिक निरास हुने खालका मानिस पर्दछन् । तीबाहेक मानसिक सन्तुलन गुमाउँदा भ्रम पैदा हुने ‘साइकोसिस्म’ पनि पर्दछ । कतिपयमा व्यक्तिगत आचरणमा समस्या देखिन्छ । उदासिनताको रोग लागेको छ भने, शरीरमा शक्ति नभएको, दुःखी लाग्ने, खल्लो लाग्ने, ताकत नहुने, थकित हुने, जीवनप्रति नैराश्यता हुने, हरेश खाने, बाँच्नुको अर्थ नदेख्ने खालका समस्या देखिन्छ । सबैकुरा राम्रा हुँदा पनि यी भौतिक वस्तुप्रति उनको आकर्षण हुँदैन । सानो कुरालाई ठूला बनाउने खालका गतिविधि गर्छन् । त्यो खालका ‘डिप्रेसन’ छन् भन्ने बुझ्नु पर्दछ ।
उच्च खालमा ‘मेनिया’ छ भने ठीक विपरीत खालका समस्या हुन्छन् । शरीरमा बढी शक्ति भएको महसुस हुन्छ । जे पनि गर्न सक्छु जस्तो हुने, मनोरञ्जनमा रुचि हुने, जसका कारणले कतिपय युवा कुलतमा फस्छन् । डिप्रेसनमा यौन इच्छा रुचि कम भएको पाइन्छ भने उमंगमा यौनइच्छा बढी हुन्छ ।
शैक्षिक जागरण
आत्महत्याका विषयमा शैक्षिक जागरण गर्नुपर्दछ । भौतिक सुख र प्रगति बुझाउनुपर्ने देखिन्छ । मानसिक स्वास्थ्यबारे सर्वसाधारणलाई जानकारी दिँदै आएका जगनट माइण्डसेटका मानसिक स्वास्थ्य परामर्शकर्ता जगन्नाथ लामिछाने भन्छन्, ‘अभिभावकप्रति असन्तोष, सामाजिक सञ्जाल, शैक्षिक प्रगतिको चाप, इन्टरनेट सञ्जालमा लामो समय एक्लै रमाउँदा किशारकिशोरीहरू द्विविधामा छन् ।’ उनी भर्चुअल सञ्चार, गेम, अश्लील कुराहरूले किशोरहरू एक्लिएको बताउँछन् ।
उनका अनुसार, विश्वमा सन् १९९५ यता आत्महत्या झण्डै दोब्बर छन् । भारतमा विशालु पदार्थ जथाभावी किन्न पाउँदा त्यहाँका किसानमा आत्महत्या बढेको अनुसन्धानले देखायो । त्यसपछि भारतीय सरकारले जथाभावी विषादी किन्ने व्यवस्थामा परिवर्तन गरे । सामाजिक सञ्जाल तथा मिडियामा जथाभावी आत्महत्याको कुरा दुरुत्साही गर्नु पर्दछ ।
आत्महत्या निरुत्साहन
विज्ञहरू भन्छन्, आत्महत्या निरुत्साहन गर्न सकिन्छ । त्यसका शैक्षिक सामग्री र मिडियाको भूमिका हुन्छ । आम मानिसको धारणा परिवर्तन ल्याउने गतिविधि गर्नु पर्दछ । आत्महत्यापछि समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिन सकिन्छ । मृत्युसँगै परिवारका अन्य सदस्यमा पर्ने मानसिक आघात र त्यसले निम्त्याउने परिस्थितिबारे खुलस्त कुरा गर्नु पर्दछ ।
समाजप्रति हरेक मानिसको जिम्मेवारी बोध गराउन सकिन्छ । परिवारका कुनै एक सदस्यको लगानी र त्यसले दिने प्रतिफलको भूमिकामाथि प्रकाश पार्ने खालका शिक्षण पद्धतिको विकास गर्नु पर्दछ । नकारात्मक विचार दुरुत्साहन र मानवीय क्षति कम गर्न राज्यले निःशुल्क परामर्श सेवाको विस्तार गर्नु पर्दछ । निःशुल्क परामर्श केन्द्रको हटलाइन नम्बरहरू सबै जनताको पहुँचमा पुर्याउनुपर्ने देखिन्छ ।
नागरिकले सामाजिक सञ्जालमा आत्महत्या गर्ने जानकारी गराए भने त्यसलाई तत्काल निरुत्साहन गर्ने प्रविधि आत्मसात गर्नु पर्दछ । कुनै एक व्यक्तिमा राज्य, परिवार र समाजको लगानी परिसकेको हुन्छ । प्रतिफल लिने बेलामा समाप्त हुनु भनेको राज्यलाई ठूलो घाटाको रुपमा लिन सकिन्छ । त्यसकारण आत्महत्या निरुत्साहित गर्न सामाजिक संघसंस्था, शिक्षण संस्था, सञ्चार माध्यम, प्रहरी प्रशासन, समाजशास्त्री, मनोपरामर्शमा काम गर्ने संघसंस्था र सरकारको भूमिका महत्वपूर्ण देखिन्छ ।
मिडियाको भूमिका
– आत्महत्यालाई प्रोत्साहन हुने समाचार प्रकाशन सकभर नगर्ने ।
– सामान्यीकरण पनि नगर्ने । दोहोर्याएर समाचार नबनाउने ।
– समस्याका कारणले आत्महत्या गर्यो नभन्ने
– फन्टपेजमा नछाप्ने, ठूला हेडलाइन नबनाउने ।
– आत्महत्या गर्दा प्रयोग भएकोे तरिकाबारे विवरण नदिने । फोटो तथा भिडियो सम्प्रेषण नगर्ने ।
– स्थान नभन्ने, कहाँ के गर्यो र समापन कहाँ गर्यो नभन्ने ।
– चर्चित व्यक्तित्व ‘सेलिब्रेटीको केस’मा धेरै कुरा विचार गरेर मात्र समाचार बनाउने ।
– सानो, छोटो, दायाँबायाँ कुना वा अन्तिममा सानो शीर्षकमा समाचार छान्ने ।
प्रकाशित: २८ मंसिर २०७६ ०९:२५ शनिबार