१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

पं. अमृतनाथसँग पहिलो साक्षात्कार

रामभरोस कापडी भ्रमर
म महोत्तरी जिल्लाको बनौली ग्राम निवासी भागवत मर्मज्ञ, प्रखर विद्वान् पं. अमृतनाथ मिश्र (विसं १९७७–२०७२)सँग भेट्ने सौभाग्य पाएको छैन। तर, मेरो यस लेखको शीर्षकबाट पाठकमा भ्रम पर्न सक्छ– भेट भएको छैन भने यो साक्षात्कार कसरी ?

जब उहाँका सुपुत्रहरू भगवान् मिश्रजी र गोपालजीले मैले सम्पादन–प्रकाशन गर्दै आएको ‘आँजुर’ मैथिली पत्रिकाको कुनै एक अंकलाई पंं. मिश्रका कृतित्व–व्यक्तित्व बनाउन अनुरोध गर्नुभयो र उहाँहरूले उहाँका कृतित्व–व्यक्तित्वबारे मलाई उपलब्ध गराउनुभएका सामग्रीलाई अध्ययन गरेँ, साँच्चिकै अर्थमा मेरो उहाँसँग पहिलो साक्षात्कार भएको थियो।
मेरो पहिलो अनुभूति थियो– मैले निरन्तर महाकवि विद्यापतिको नेपाल प्रवासको आधिकारिक प्रवास भूमि राजबनौलीको बारेमा लेख्दै आएको छु, जहाँ महाकवि विद्यापतिको प्रमाणित हस्त लिखित श्रीमद्भागवत पुराणको प्रति उपलब्ध भएको थियो, त्यहीँका भागवत मर्मज्ञ, उत्कृष्ट विद्वत् वक्ताका रूपमा आफ्नो जीवनभरि आफ्नो भाषा, साहित्यको सेवा गर्दैै समाजलाई अमृतज्ञान बाँड्ने महान् व्यक्तित्व पं. अमृतनाथ मिश्र हुनुहुँदो रहेछ।

मैले निरन्तर लेखिरहेको महाकवि विद्यापतिको नेपाल प्रवासको आधिकारिक प्रवास भूमि राजबनौलीका भागवत मर्मज्ञ, उत्कृष्ट विद्वत् वक्ताका रूपमा आफ्नो जीवनभरि आफ्नो भाषा, साहित्यको सेवा गर्दैै समाजलाई अमृतज्ञान बाँड्ने महान् व्यक्तित्व पं. अमृतनाथ मिश्र हुनुहुँदो रहेछ।

मेरो लागि अत्यन्त प्रशन्नताको विषय हुन पुग्यो र म आफ्नो आँजुरको वर्षः २६, अंकः १४, क्रमांक–७२ चैत–वैशाख २०७३ अंकलाई पं. अमृतनाथ मिश्र स्मृति विशेषको रूपमा प्रकाशन गरेँ। मैले जुन विश्वास र श्रद्धाभावले यो अंक उहाँलाई समर्पित गर्दै प्रकाशन गरेँ– त्यतिबेला नै मलाई उहाँका जनपक्षीय व्यक्तित्व, उदार हृदय र पाण्डित्यपूर्ण अभिभावकत्वको ज्ञान भएको थियो। श्रीमद्भागवत्को अमृत प्रवाहलाई आम जनसमुदायबीच पु¥याउने आफ्नो महान् अभियानमा उहाँ जीवन पर्यन्त सफलतापूर्वक लाग्नुभएको थियो। विशेषांकको आफ्नो विशेष आलेखमा मैले लेखेको थिएँ– मनको ज्ञानलाई, संस्कारलाई र आफ्नो वैदिक परम्परालाई आफूभित्र निरन्तर प्रवाहवान राख्न सक्ने क्षमता विकसित गर्नु वास्तवमा अमरत्वको प्राप्ति हुन्छ र त्यो बनौली (महोत्तरी) निवासी पं. अमृतनाथ मिश्र जीवनभरि श्रीमद्भागवत पुराणबाट अमृतज्ञान निकालेर जिज्ञासु मानिसहरूबीच बाँड्दै यस्तै काम गर्नुभयो। उहाँसँगको यो मेरो पहिलो साक्षात्कार, पहिलो अनुभूति थियो।

आज उहाँका सुपुत्रद्वय भगवान् मिश्र र दिनेशचन्द्र गोपालहरूबाट जुन श्रद्धा र सद्भावले आफ्ना परमपूज्य बुबाको कृतित्व–व्यक्तित्वलाई स्थापित गर्न अनेकौँ कृति, समीक्षा, समालोचना र फुटकर कृतिहरूको माध्यमबाट जेजति प्रयास गर्नुभयो, त्यसले मेरो प्रथम अनुभूतिलाई पुष्टि गरेको छ। मेरोअगाडि पं. अमृत मन्थन, अमृत भाव प्रवाह, अमृत विचार कृतिहरूसँगै पं. मिश्र अंकित डाक टिकट, जो उहाँको उच्च व्यक्तित्वको साक्षी हो, राखिएका छन्।

प्रत्यक्षतः भेट नभए पनि, उनका यिनै कृतित्व–व्यक्तित्वमा मैले एउटा सशक्त विद्वान्को उपस्थितिलाई सधैँ महसुस गरेको छु। मिथिला विद्वान्हरूको उर्वरक भूमि रहेको छ। आवश्यकता छ, त्यस्ता विद्वान्, मनिषीहरू बारेमा जनसामान्यलाई जानकारी गराउने परिस्थितिको निर्माण गर्न। असल सन्तानहरू त्यस्तै उत्कृष्ट काम गरेर आफ्नो प्रातः स्मरणीय बुवाको बारेमा जानकारी पस्कने जुन गहकिलो काम गर्नुभएको छ, त्यो अत्यन्त प्रशंसनीय र स्तुत्य छ।

हामीबीच अब संस्कृत भाषा जान्नेहरूको कमी हुँदै गइरहेको छ। त्यसकारण हामी आफ्नो गौरवशाली अतीतबाट टाढा हुँदै, महŒवपूर्ण जानकारी र तथ्यबाट वञ्चित हुँदै गइरहेका छौँ। संस्कृतलाई देव भाषाका रूपमा त्यसै मान्यता दिइएको होइन। आज जब पं. मिश्रजस्ता संस्कृत मर्मज्ञहरू हामीबीच हुनुहुन्न, हामीलाई ती ग्रन्थको अमरवाणीहरू झन् पिरोल्छ, कसले यसको सहज अर्थलाई हामीबीच पस्कनेछन्। हामी ती अमृत वचनहरू कसरी श्रवण गर्न भ्याउनेछौँ।

म नेपाल प्रज्ञा–प्रतिष्ठानमा संस्कृत विभाग प्रमुखका रूपमा काम गर्दा राष्ट्रिय अभिलेखालयमा राखिएका लगभग एक हजार दुई सय पाण्डुलिपि मैथिली–भाषा साहित्यसँग सम्बन्धित रहेको जानकारी प्राप्त गरेपछि त्यसलाई क्रमशः संक्षिप्त परिचयसहित विवरणिका तयार गरी प्रकाशन गराउने निर्णय गरेँ। तर, त्यसका लागि चाहिन्थ्यो संस्कृत, मिथिलाक्षर र नेवारी लिपिका ज्ञाताहरू। नेवारी लिपिको समस्या थिएन। संस्कृत र मिथिलाक्षर जान्ने विद्वान्को आवश्यकता पूर्ति गर्न गाह्रो भयो। भारततिर दुई विद्वान्लाई आग्रह गरियो। पेसागत कारण उहाँहरू समय निकाल्न सक्नुभएन। अन्ततः त्यसबापत पुरातŒव विभागबाट छुट्याइएको केही रकम अन्यत्र प्रयोग भयो।

यसले पनि हाम्रो गौरवशाली अतीतबारे जानकारी गराउन प्राचीन परम्पराअनुसार संस्कृत ग्रन्थहरूको भाष्य पनि संस्कृतमा लेखेर संरक्षित राखिनाले आम पाठकबीच पुग्न सकेका छैनन्। यस्तो अवस्थामा पं. अमृतनाथ मिश्रजस्ता विद्वान्, उदारमना व्यक्तित्वको अभाव हामीलाई खटकिँदो हो, नत्रभने हामी अझ व्यापक रूपमा आफ्ना प्राचीन सम्पदाहरूको संरक्षित, व्यवस्थित गर्न सक्थ्यौँ होला।

आज पं. मिश्रका सन्तानहरू बृहत् समाजको प्रतिनिधि पात्रका रूपमा हामीबीच त्यस्ता उपयोगी रचना र प्रवचनका उद्घोषक प्रकाण्ड विद्वान्, श्रीमद्भागवत मर्मज्ञ मिश्रजीका अमृत वचनहरू हामीबीच ल्याउने जमर्को गर्नुभएको छ। त्यस्तै अन्य जाँगरिला व्यक्तित्व र समर्पित व्यक्तित्वहरूको आवश्यकता छ, जसले त्यस्ता ग्रन्थहरूलाई सहज, सरल भाषामा रूपान्तरण गराएर समाजमा ल्याउन सकून्, जसले समाजमा आफ्ना धर्म, संस्कृतिप्रतिको रुझानलाई अझ सशक्त रूपमा प्रतिष्ठापित गर्न मद्दत पु-याउन सकोस्।

उहाँको नाममा सञ्चालित ‘अमृत सम्मान’ नामक पुरस्कार ग्रहण गर्ने सौभाग्य मलाई पनि प्राप्त भएको छ। मिथिला, मैथिलीको सेवामा अहोरात्र खटिरहेका साहित्यानुरागीलाई श्रीमद्भगवतमर्मज्ञ पण्डित अमृतनाथ चिन्तन प्र्रतिष्ठानले खोजी–खोजी सम्मान गर्नेछन् र यो संस्था चिरस्थायी रहोस् भन्ने कामना गर्दछु।

पं. मिश्रजीको जन्म शताब्दीको अवसरमा अमृतनाथ शताब्दी स्मृति ग्रन्थ प्रकाशन समितिले ल्याउन लागेको अमृतनाथ स्मृतिग्रन्थको प्रकाशन पं. मिश्रजीको कीर्ति परम्पराको थप नयाँ आयामको रूपमा स्थापित हुनेमा म विश्वस्त छु। अन्तमा आँजुर पत्रिकाको पं. मिश्रको स्मृति विशेषांकमा प्रकाशित विद्यावाचस्पति पं. श्री शशिनाथ झाद्वारा लिखित अमृतनाथ–स्तवनम् पद्य रचनाका यी श्लोकबाट आफ्नो विचार मन्थन यहीँ समाप्त गर्न चाहन्छु–
अलंकृत ः शास्त्रगुणाप्तमरत्नै ः भास्वत्प्रभो भागवते नदीष्णः
मिश्रोऽतिविज्ञोऽमृतनाथ नामा तस्मै अकाराय नमोमृताय।।१।।                  
 

प्रकाशित: २८ मंसिर २०७६ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App