३० श्रावण २०७७ शुक्रबार
अन्य

विवाह सम्बन्ध र बुद्धका उपदेश

एउटा सार्वजनिक कार्यक्रममा बुद्धको शिक्षा र बौद्ध समाजको टिप्पणी गर्ने क्रममा एक सज्जनले ‘बुद्धले विवाह नगर्नु भनेको तर बौद्धहरू विवाह गर्छन्’ भन्ने आफ्नो गलत बुझाइ प्रस्तुत गरे। उनको भनाइ थियो– समाज सञ्चालनमा विवाह अनिवार्य भएकाले बुद्धको शिक्षा नै गलत र अव्यावहारिक छ, त्यसैले बौद्धहरूले त्यसलाई अवलम्बन गर्न नसकेका हुन्।

विवाहका सम्बन्धमा बुद्धले के भनेका छन् त ? यसको चर्चाले बुद्ध र बौद्ध धर्मलाई बुझ्न र बुझाउन धेरै सघाउ पुग्छ।

बौद्ध धर्मअनुसार विवाह धार्मिक कार्य होइन, यो नितान्त रूपमा व्यक्तिगत, पारिवारिक तथा सामाजिक कार्य हो। अर्को शब्दमा, यो सांसारिक जीवनको एउटा पाटो हो। बौद्धदर्शनले सांसारिक जीवनबाट विरक्त रहन जोड दिने जरुर हो, तर यसबाट पलायन हुनलाई होइन। ‘विरक्त’ र ‘पलायन’ हुनुमा तात्विक भिन्नता छ। जीवनलाई बुझेर एउटा निश्चित मार्ग अवलम्बन गरी त्यसमा दृढ हुनु सांसारिक जीवनबाट विरक्त हुनु हो। बौद्ध धर्मअनुसार यसरी विरक्त भएकाहरू गृहस्थ जीवन त्याग गरेर भिक्षु वा भिक्षुणी बन्ने हो। तर, भिक्षु वा भिक्षुणी बने पनि समाजबाट अलग हुँदैनन्, बरु समाजप्रति अझ बढी उत्तरदायित्वको भाव आन्तरिक रूपमा विकास गर्छन्। समाजप्रति करुणाले ओतप्रोत् हुन्छन् र मैत्री भावको विकासमा लाग्छन्। खानपान लगायत आवश्यक कुरामा समाजसँग निर्भर रहेका हुन्छन्। यसको विपरीत सांसारिक जीवनबाट पलायन हुनु भनेको आत्महत्या, जंगलमा एकान्तवास बस्नु वा सहर–बजारमै बसे पनि सबैसँग नकारात्मक सोच राखेर नितान्त एकल जीवन निर्वाह गरेको हुन्छ। ‘बहुजन हिताय बहुजत सुखाय’को मूलमन्त्र रहेको बौद्धदर्शनले कसैलाई पनि पलायनको पाठ सिकाउँदैन।

गृहस्थ जीवन त्याग गरेर प्रव्रजित जीवन अपनाउँदा धर्मको अभ्यास सहज हुन्छ। यसको तात्पर्य गृहस्थ जीवनमा रहेर धर्मको अभ्यास गर्नै नसकिने भन्ने होइन। धर्मको अभ्यास कसरी गर्ने भन्ने प्रश्न नितान्त रूपमा व्यक्तिगत निर्णय वा छनोट हो। यही भएर बुद्धले भिक्षुभिक्षुणीका लागि मात्रै नभएर गृहस्थका लागि पनि ध्यानमा राखेर उपदेश दिएका हुन्। बुद्धका उपदेश सुनेर र अभ्यास गरेर भिक्षु–भिक्षुणीकै स्तरमा धर्मलाभ गर्ने गृहस्थहरू पनि उत्तिकै रहेको दृष्टान्त बौद्ध साहित्यमा यत्रतत्र पाइन्छन्। बौद्ध समाजमा भिक्षु–भिक्षुणी तथा उपासक उपासिकलाई ‘चार परिषद्’ पनि भन्ने गरिन्छ। उपासक उपासिक अर्थात् गृहस्थहरू व्यापार व्यवसाय वा सेवा कार्यमा संलग्न रही धर्मको अभ्यास गरिरहेका हुन्छन्। गृहस्थ वा सांसारिक जीवनका लागि विवाह अनिवार्य होइन, यसले सहज बनाउन भने मद्दत गर्दछ।

बौद्ध समाजमा दैनिक जीवनमा अपनाइने पञ्चशीलमा एउटा व्यभिचार नगर्नु पनि हो। यो शील भिक्षु–भिक्षुणीका सन्दर्भमा कुनै पनि प्रकारले यौनसँग सम्बन्धित कुरामा नलाग्नु भन्ने हुन्छ भने गृहस्थका सवालमा विवाहित जीवनसाथी बाहेक अन्यसँग सम्बन्ध नबनाउन भनिएको हो।

विवाह के कस्तो हो वा कस्तो विधिबाट गर्नुपर्छ भन्नेमा गौतम बुद्धले कुनै नीति–नियम निर्दिष्ट गरेका छैनन्। बौद्धहरू आफ्नो संस्कार र संस्कृति वा सामाजिक प्रचलनअनुसार विवाह गर्छन्। कपिलवस्तुका शाक्यहरूमा त्यो बेला आफ्नै रक्तसम्बन्ध भएका नातागोताबीच विवाह गर्ने चलन थियो। भनिन्छ, यी शाक्य राजा ओक्काककै छोराछोरीहरू कपिलवस्तुमा आई आपसमा विवाह गरी वंश चलाएर कपिलवस्तु राज्य स्थापना गरेका हुन्। ज्येष्ठ सन्तान प्रिया नामकी छोरीको विवाह भने काशीका राजा रामसँग भएको र यो दाम्पत्यले कोलीय राज्यमा राज्य स्थापना गरेका थिए। त्यही बेलादेखि कपिलवस्तु र कोलियबीच वैवाहिक सम्बन्ध रहेको थियो। स्वयं गौतम बुद्धको विवाह मामाकी छोरी यशोधरासँग भएको थियो। एकै आमाको सन्तानबीच पनि विवाह हुने प्रचलन रहेको कुरा बुद्धकै दिदी नन्दा र भाइ नन्दबीच विवाह समारोह हुन लागेको तर बुद्धले भाइलाई भिक्षु बनाइदिएको प्रसंगबाट बुझ्न सकिन्छ। यहाँ विवाह पद्धतिका बारेमा बुद्धबाट केही टिप्पणी भएको पाइँदैन।

बुद्धकालीन समाजमा बहुविवाहको प्रचलन पाइन्छ। स्वयं बुद्धका बाबु शुद्धोदनले बहुविवाह गरेका थिए। बुद्धका उपासक रहेका तत्कालीन राजाहरूले पनि बहुविवाह गरेको पाइन्छ। एक विवाह वा बहुविवाहका सम्बन्धमा बुद्धले खासै टिप्पणी गरेको पाइँदैन, तर स्त्रीको चित्त नदुखाउन ‘सिगालोवादसूत्र’मा भनिएको छ। ‘गृहविनय’ नामबाट पनि चिनिएको उक्त सूत्रमा स्त्रीले पुरुष तथा पुरुषले स्त्रीको चित्त दुखाउन नहुने भनिएको छ। यसरी नै विभिन्न सूत्रमा सुखी दाम्पत्यका लागि सल्लाह दिएको पाइन्छ।

प्रायः भिक्षु–भिक्षुणी विवाह उत्सवहरूमा सहभागी हुँदैनन्। स्वयं बुद्ध पनि त्यस्ता उत्सवमा सहभागी भएको पाइँदैन। तर नवदाम्पत्यको मंगलकामना भने गर्छन्।

बौद्ध समाजमा दैनिक जीवनमा अपनाइने पञ्चशीलमा एउटा व्यभिचार नगर्नु पनि हो। यो शील भिक्षु–भिक्षुणीका सन्दर्भमा कुनै पनि प्रकारले यौनसँग सम्बन्धित कुरामा नलाग्नु भन्ने हुन्छ भने गृहस्थका सवालमा विवाहित जीवनसाथी बाहेक अन्यसँग सम्बन्ध नबनाउन भनिएको हो।

जसरी विवाहका बारेमा बुद्धले कुनै नीति–नियम निर्दिष्ट गरेका छैनन्, त्यसरी नै पारपाचुकेका सम्बन्धमा पनि कुनै उपदेश दिएको पाइँदैन। दाम्पत्य जीवनमा पारपाचुकेको अवस्था नराम्रो सम्बन्धका आउँछ। तर, बुद्धको शिक्षाअनुसार जीवन चर्या गर्दा यो अवस्थाको सिर्जना प्रायः हुँदैन। अरु ठुल्ठूला कुरा नगरे पनि पञ्चशीलको पालना मात्रै दृढ रूपमा गरे समाजमा त्यस्तो वातावरण धेरै मात्रामा न्यून हुन्छ। कतिपय अवस्थामा असमझदारीका कारण दाम्पत्य जीवनमा दरार आउँछ। कोशलराजा प्रसेनजितले आफ्नी एक रानीलाई माइती फर्काउन लागेको घटना पारपाचुकेसँग सम्बन्धित हो। यी राजालाई कपिलवस्तुको शाक्यकुलसँग वैवाहिक सम्बन्ध जोड्ने रहर भएको र त्यसका लागि कन्या माग्दा झुक्याएर शाक्यहरूले दासी नागमुण्डाकी छोरी वासभखत्तिया भिडाइदिएका थिए। पछि यो कुरा थाहा पाएर दाम्पत्य जीवनमा समस्या आएको थियो, तर स्वयं बुद्धले यसमा कन्याको केही दोष नभएको भनी सम्झाउने काम भएको थियो र दाम्पत्य जीवन पुनः सुखपूर्वक अगाडि बढेको थियो। दम्पतीबीचको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने सवालमा बुद्धले सिगालोवाद सूत्रमा राम्रोसँग उपदेश दिएका छन्। यसको अर्थ पारपाचुकै गर्नै हुँदैन, जस्तोसुकै अवस्थामा पनि वैवाहिक सम्बन्ध कायम राख्नुपर्छ भन्ने होइन।

अनमेल विवाहका बारेमा बुद्धले पराभवसूत्रमा केही भनेका छन्। के के गर्दा हानि–नोक्सानी (पराभव) हुन्छ भन्ने सन्दर्भमा बूढो मान्छेले तरुनीसँग विवाह गर्न नहुने पनि बताएको पाइन्छ। उक्त सूत्रअनुसार उमेरका कारण हुने अनमेल विवाहले समस्या निम्त्याउन सक्छ। जवानीकै सन्दर्भमा पनि इष्र्या, द्वेष तथा शंकाले अनावश्यक समस्याको सिर्जना गरेको हुन्छ र यसले अन्ततः नोक्सानी गर्दछ।

यो लेखको सुरुमा उल्लेख भएको विवाह गर्न नहुने कुरा सम्भवतः भिक्षु र भिक्षुणीका सन्दर्भमा हो। भिक्षु–भिक्षुणीले ब्रह्मचर्य जीवन निर्वाह गर्नुका साथै धर्मसाधनामा दृढ हुनुपर्छ। सबै भिक्षु–भिक्षुणी सांसारिक जीवनमा विरक्त भइसकेका हुन्छन् भन्न मिल्दैन। एक समय विरक्त भएकाहरू पनि पुनः आसक्त पनि हुन सक्छन्। विभिन्न कारण भिक्षु–भिक्षुणी बन्न आउन सक्छन्। यौनजन्य कुराले उनीहरूको साधनामा अवरोध पुग्न सक्छ।
भिक्षु–भिक्षुणीको जीवन मर्यादित बनाउन बुद्धले दिएका उपदेश विभिन्न प्रसंगसहित ‘विनयपिटक’मा संग्रहित छन्। यस अवस्थामा भिक्षु–भिक्षुणीले विवाह गर्नु हुँदैन भनेर प्रतिबन्ध नै लगाएका हुन्। विवाहित मान्छे प्रव्रजित भई भिक्षु–भिक्षुणी बन्न सक्छन्, तर प्रव्रजित भइसकेका भिक्षु–भिक्षुणीले विवाह गर्न पाइँदैन। विवाह गर्ने हो भने सो भिक्षुत्व छाड्नुपर्छ।

प्रकाशित: १४ मंसिर २०७६ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App