८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

वढाङ्मी : छोरीचेलीलाई ६ दिन छुट्टी

खाल्सा क्षेत्रमा नाचिने वढाङ्मी नाच नाच्दै।तस्बिरः सिद्धराज राई/नागरिक

हा, हा, हा, हा, हा, हा, हा, हा...
अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,
हा है बग्दछ सलल।
दिसदिस (देशदेश)को माइती, चारथुम चेली,
बेल फोरी बियाँ,
भेटघाट इहाँ (यहाँ),
निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,
वढाङ्मी मेला,
पूर्णेझैँ झलल... 

यो वढाङ्मीको मौलिक गीत हो। धनकुटाको खाल्सा क्षेत्रमा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा यो गीत गाउँछन्। यो गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ। यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो। यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन्। गायकी सुन्दा उनीहरूलाई आँसुकवि भन्दा फरक पर्दैन। हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ।

के हो वढाङ्मी ?
राईहरूको भाषा र संस्कृतिमा गाउँपिच्छे केही फरकपन पाइन्छ। धनकुटाको खाल्सा क्षेत्र (छिन्ताङ, आखिसल्ला र खोकु गाविस)का राई जातिको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी नाच।

कात्तिक पूर्णिमापछिको पहिलो मंगलबार साविक छिन्ताङ गाविस–४ (हाल सहिदभूमि गाउँपालिका–३) स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुवात हुन्छ। यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन्। कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै कुखुरा, परेवा र बंगुरको बली दिइन्छ।

पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर नाचिन्छ। यसपालि गत सोमबार यो पर्व सकिएको छ।

बुढाहाङका ६ छोरी थिए। उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे। बुढाहाङले उनीहरूलाई ६ दिन छुट्टी दिए। छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुंगीको नक्कल गरी रमाए। उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे

वढाङ्मी गीतका गायक ६० वर्षीय खनप्रसाद राईले २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउँछन्। खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ। उनी भन्छन्, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिन–रात बितेको पत्तो हुँदैन।’

बिस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ। यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन्।

खनप्रसादका अनुसार, वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो। यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ।

यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ। यसलाई स्थानीयस्तरमा पापनी लहरे–नाच भनिन्छ। तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ। वढाङ्मीका बेला बुढाहाङ (एक राजा)को गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्यबेला रसरङको चर्चा।

कुलपूजालाई ‘माङ्ला’ भनिन्छ। स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो। अर्थात् उत्पादित बाली देवतालाई चढाउनु। आँखिसल्लाका ७६ वर्षीय गोविन्द राईका अनुसार, खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने गरेको छ। खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ। यी देवी र थानलाई स्थानीय राई र अन्य जातीले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन्।

कुलपूजा र नयाँ बाली
सहिदभूमि गाउँपालिका–३ का मनबहादुर राईका अनुसार, नयाँ बाली भित्रिएको खुसीयालीमा ६ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइ गरिन्छ। नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो। त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ।

नाचगान सुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ। नाचगान गर्दा कुनै झगडा र दुःखविराम नहोस् भनेर क्षमा पूजा गरिन्छ। जुनघरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो–कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा (आशिष माग्ने) गरिन्छ। नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्नका लागि पञ्चभलाद्मी राखेर आशिकभारा गरेपछि यो पर्व पूरा हुन्छ।

वढाङ्मी उत्पत्ति
वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ। जनश्रुति भन्छ– परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ ठाकुर भन्ने राजाको पालादेखि यो पर्व सुरु भएको हो। बुढाहाङ यति शक्तिशाली थिए कि उनले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे। उनलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए, यो थाहा पाएर उनी दिनलाई रात बनाएर अलप भए। त्यसैले उनी अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ।

बुढाहाङका ६ छोरी थिए। उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे। बुढाहाङले उमेर पुगेकाले छोरीहरूलाई मनोरञ्जनका लागि ६ दिन छुट्टी दिए (यही ६ दिनलाई अहिले पर्वको रूपमा मनाइन्छ)। छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुंगीको नक्कल गरी रमाए। उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे। बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बढापाकाको भनाइ छ। अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको छ।

उन्मुक्त छोरीचेली
यो पर्वमा ६ दिनको मेला, ६ दिनको बारण (बार्ने) भन्ने चलन छ। बुढाहाङले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए। त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ। वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ। कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन्।

यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ। यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ। गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ। त्यसैले चेलीहरू यो ६ दिन विशेष स्वतन्त्र हुन्छन्। आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न पाउँछन्।

अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ। तर, धनकुटाको खाल्सा क्षेत्रका राईजातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ। सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई भन्छन्, ‘देवी–देवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ।’

धामीझाँक्रीको मन्दुम
राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन्। यस क्षेत्रका धामी झाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ। सहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा (भक्तिपूजा) गरेको बताए। यहाँका एक दर्जन धामीझाँक्रीले ढोल–झ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ। किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवी–देवताले सिकाएको मानिन्छ।

प्रकाशित: ७ मंसिर २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App