२८ असार २०७७ आइतबार
अन्य

‘हिन्दूका गुरु, मुसलमानका सन्त’

आर मानन्धर

आजभन्दा ५५० वर्षअघि भारत वर्षमा हिन्दू र मुस्लिम बीच चर्को द्वन्द्व चलिरहेको अवस्थामा सिख धर्मका संस्थापक गुरु नानकको जन्म हुन्छ। तर अनौठो कुरा के छ भने दुवै धर्मावलम्बीहरू उनलाई उत्तिकै आदर गर्थे, सँगै बसी उनका उपदेश मुग्ध भई सुन्थे। त्यसैले एउटा कहावत नै प्रचलित भयो, ‘गुरु नानक फकिरहरूका राजा हुन्। उनी हिन्दूका लागि गुरु र मुसलमानका लागि पीर (सन्त) हुन्।’

त्यति मात्रै होइन, उनी जहाँ गए, त्यहाँका मानिस उनको उपदेशबाट प्रभावित नभई रहन सकेनन्। उनी तिब्बत र लद्दाखका बौद्ध समुदायका बीच पनि बसेका थिए। तिब्बतमा उनी नानक लामा र गुरु गोम्पका महाराज नामबाट लोकप्रिय भए।

उनी नेपाल पनि आएका थिए र नेपालका विभिन्न भागमा बसेका थिए। अहिलेको शोधबाट उनले पश्चिम तराईबाट नेपाल प्रवेश गरी पूर्वतिर जनकपुर र बराह क्षेत्रको यात्रा गरेको प्रमाणित भएको छ। त्यहाँबाट उनी काठमाडौं आएका थिए र बालाजु (हालको नानक मठ) लगायत अन्य स्थानमा बसेका थिए। त्यसपछि उनी थ्याङ्बोचेसम्म पुगेका थिए, जहाँका बौद्धहरूले उनको उपदेश सुनेपछि उनलाई ‘रिम्पोछे’ मानेका थिए। उनको उपदेशबाट त्यसबेला राजाहरूसम्म पनि प्रभावित भएको कुरा काठमाडौंका राजा जयजगत मल्लले बालाजूस्थित नानक मठका लागि १६०० रोपनी जग्गा प्रदान गरेकोबाट पनि स्पष्ट हुन्छ। यसपालि उनको ५५०औँ जन्मजयन्तीको अवसर पारेर नेपाल राष्ट्र बैंकबाट उनको स्मृतिमा चाँदीका सिक्का पनि निकालेका छन्।

विभिन्न प्रमाण अनुसार गुरु नानकको जन्म वैशाख पूर्णिमा भएको देखिन्छ, तर परम्पराअनुसार उनको जन्मदिन कार्तिक पूर्णिमाका दिन मनाइँदै आइएको छ। विश्वभरका सिख यो दिन आफ्ना गुरुको जन्मदिनको रूपमा धुमधामसाथ मनाउँछन्।

विभिन्न प्रमाण अनुसार गुरु नानकको जन्म वैशाख पूर्णिमा भएको देखिन्छ, तर परम्पराअनुसार उनको जन्मदिन कार्तिक पूर्णिमाका दिन मनाइँदै आइएको छ। विश्वभरका सिख यो दिन आफ्ना गुरुको जन्मदिनको रूपमा धुमधामसाथ मनाउँछन्।

नानक आमा तृप्ता देवी र बुबा कल्याणचन्द दास वेदीका दोस्रो सन्तानका रूपमा जन्मेका थिए। उनी तालबन्दी गाउँमा जन्मेका थिए, जुन स्थान हाल पाकिस्तानको पन्जाब प्रदेशमा पर्छ। सो स्थानलाई उनकै कदर स्वरूप नानकाना साबिह नामाकरण गरिएको छ।

सानैबाट अध्यात्मतिर उनको झुकाब थियो, साथै विद्रोही स्वभाव पनि थियो। सात वर्षको उमेरमा उनलाई शिक्षकले एक (१) अंक सिकाउँदा उनले एक मात्र ईश्वर (परमसत्य) रहेको व्याख्यान दिए। पछि गएर सिखधर्मको मूलमन्त्र नै ‘एक ॐकार सत्नाम’ भयो। नौ वर्षको उमेरमा जब ब्राह्मणले उनलाई जनै लगाइदिन आए, उनले ब्राह्मणलाई सोधे, ‘पवित्रता धागोमा अडिएको हुन्छ कि कर्ममा ?’ उनले जनै स्वीकार गरेनन्।

उनी ३६ वर्षको हुँदा नुहाउनका लागि काली बेन नदीमा पसेका थिए, नदीबाट ननिस्केपछि मानिसहरू चिन्तित भए। मानिसहरूले सोचे कि उनलाई नदीले बगायो होला। हिन्दू, मुस्लिम सबै मिलेर उनको खोजी गरे, किनभने त्यसबेलासम्म उनमा विशेष आध्यात्मिक गुण रहेकोमा हिन्दू र मुस्लिम दुवै विश्वस्त भइसकेका थिए र उनी दुवै समुदायबीच प्रिय पनि थिए। तर जति खोजी गर्दा पनि नदीमा हराएका उनी भेटिएनन्। तीन दिनपछि पूर्णिमाको दिन उनी एकाएक नदीबाट निस्के। तर त्यसबेलासम्म उनी अर्कै मान्छे भइसकेका थिए।

उनका साथीहरूले उनलाई घेरेर अनेक प्रश्न सोधे। तर, उनलाई लाग्यो, ‘यस्ता मान्छेहरूसँग कुरा गरेर केही फाइदा छैन।’ त्यसैले उनले उनीहरूतर्फ केही ध्यान दिएनन्। अनि मानिसले भन्न थाले, ‘नानक राम्रो मान्छे थियो, अब यो कि त बहुलाए छ, कि यसलाई बोक्सी चढेछ।’
नानकले भने, ‘मलाई प्रभुको नशा चढेको छ, त्यसैले म बहुलाएको छु।’

फेरि मानिसहरूले सोधे, ‘हामीलाई थाहा भएसम्म दुइटा मार्ग छन्– हिन्दू र मुस्लिम। भन तिमी कुन मार्गमा जाँदै छौ ?’
उनले उद्घोष गरे, ‘हिन्दू भन्ने पनि छैन, मुस्लिम भन्ने पनि छैन।’

मानिसहरू उनलाई धार्मिक समन्वयकर्ता पनि भन्छन्। उनको मानवप्रतिको विभेदरहित व्यवहार र प्रेमपूर्ण उपदेशका कारण अवश्य पनि धार्मिक सहिष्णुता फैलिन गएको थियो। तर उनी धार्मिक समन्वयकर्ता वा समाज सुधारकभन्दा पनि मुख्यतःआध्यात्मिक मुक्तिका पथ प्रदर्शक थिए।

सत्यको प्रत्यक्ष दर्शन भएपछि समाज सुधारको काम सहायक रूपमा आफैँ हुँदो रहेछ। उनी त्यसबेलाका सन्त कवि कबीर दास, रैदास आदि जस्तै जातीय र अन्य विभेदका विरुद्ध सशक्त रूपमा उभेका थिए। महिला समानतामा सिख धर्म जति अग्रगामी छ, अरू कुनै धर्म छैनन्। पश्चिममा नारीवाद त धेरैपछि मात्रै आएको हो, तर गुरु नानक र सिखधर्मले पाँच सय वर्षअघि नै सांसारिक र धार्मिक दुवै पक्षमा पूर्ण नारी समानताको वकालत गर्ने र व्यवहारमा लागू गर्ने साहस गरिसकेको थियो। सिखधर्मको मूलग्रन्थ ‘गुरु ग्रन्थ साहिब’मा भनिएको छ, ‘संसारमा ठूलाभन्दा ठूला महापुरुष पनि महिलाकै गर्भबाट आउँछन् भने महिलालाई कसरी कमसल भन्न मिल्छ ?’

उनकै प्रेरणाले उनी पछिका सिख गुरुहरूले पनि सती प्रथा, दहेज प्रथा, पर्दा प्रथा, बहुविवाह र बालविवाहको विरुद्ध निरन्तर प्रहार गरिरहे। त्यसैले पनि भारतमा अन्य समुदायका महिलाको तुलनामा सिख महिला शिक्षा र व्यवसायमा धेरै अगाडि छन्। हेर्दा पनि सिख महिला बढी आत्मविश्वासी र हिम्मतिला देखिन्छन् भने यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन।

गुरु नानक धर्मको नाममा गरिने कर्मकाण्डको पनि उत्तिकै विरोधी थिए। तीर्थाटन, गंगास्नान, मूर्तिपूजा आदि सबै किसिमका खोक्रो धार्मिक अनुष्ठानको उनले घोर विरोध गरे। उनको ईश्वर वा परम सत्य निरञ्जन, निराकार छ। त्यसैले उनको दर्शन एकेश्वरवादी मुस्लिम र निर्गुण ब्रह्मवादी हिन्दू दुवैलाई स्वीकार्य भयो।

गुरु नानक आध्यात्मिक हुँदै पनि उनले कहिल्यै संन्यासी जीवनको समर्थन गरेनन्। परिवारमै बसेर सत्यप्राप्त गर्न सक्ने कुरामा उनले जोड दिए। त्यसैले उनी पनि विवाहित थिए र उनका दुई छोरा थिए। तर, उनको दर्शनको विपरीत उनको ठूलो छोरा श्रीचन्दले संन्यासी जीवन अँगाले र उदासी मतको स्थापना गरे। उदासीका आश्रमहरू नेपालमा पनि छरिएका छन्। उनको दोस्रो छोरा लक्ष्मीचन्द सांसारिक मात्र भए। गुरु नानकले सुझाएको जीवन–पथ व्यावहारिकता र आध्यात्मिकताको सन्तुलित बाटो हो। त्यसैले गुरु नानकले आफ्ना दुवै छोरालाई आफ्नो उत्तराधिकार प्रदान गरेनन्। गुरु नानकपछि गुरु अंगद उनका उत्तराधिकारी भए।

गुरु नानक उच्चकोटिका कवि पनि थिए। उनको रचनामा सूफी कविताको सुवास पाइन्छ। सिखधर्मको ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ उनको कविताबाट यसरी सुरु हुन्छ–
लाख सोचे पनि ‘त्यो’ (परमसत्य) सोचमा अटाउँदैन।
नबोली बस्दैमा मात्र पनि अन्तर मौन भेटिँदैन।
संसार सारा पाए पनि भोकोको भोक (तृष्णा) मेटिँदैन।
चलाखीका लाखौँ चाल मर्ने बेला एउटै काम लाग्दैन।

आध्यात्मिक झुकाब भएका हरेक व्यक्तिले गुरु नानकको जीवनी र गुरु ग्रन्थ साबिह एकपटक पढ्नैपर्छ।
(लेखक दर्शनशास्त्रका अध्येता हुन्।)

प्रकाशित: २३ कार्तिक २०७६ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App