२४ श्रावण २०७७ शनिबार
अन्य

बालापनको दशैँ

जब मालश्री धुन बज्छ, तब मलाई दशैँ आएको अनुभव हुन्छ। बाल्यकालमा बिताएको दशैँको स्मरणलाई ताजा बनाइदिन्छ। मेरो मनमा भावुकताको सवार हुन्छ र अतीतमा हराउन पुग्छु। मालश्री धुन मेरो अतीतको आलाप बनेको छ।
संगीतको यत्रो शक्ति ! स्मृतिका पानाहरूलाई मालश्रीको झंकारले पल्टाउन खोजिरहेछ।

तेह्रथुम जिल्लाको साबिक आठराई गाविसको चुहानडाँडा जन्मिएर जीवनको २० वर्ष त्यहीँ बिताएँ। जहाँ थपलियाको बाक्लो बस्ती थियो। सानो छँदा चाडबाड आउनासाथ खुब मज्जा लाग्थ्यो। दशैँ त मनभरि उमंग लिएर आउँथ्यो। घर, आँगन सफा गर्न, लिपपोत गर्न म पनि सकी–नसकी अभिभावकलाई सघाउँथेँ। जमरा राख्ने घटस्थापनाको दिन मलाई आफ्नै मनमा खुसीका जमरा राखेजस्तो लाग्थ्यो, फूलपाती भित्र्याउँदा खुसीको फूलबारी नै पाएजस्तो महसुस हुन्थ्यो। साथीभाइ बटुलेर पिङ खेल्न जान्थेँ। चारैतिर सपनै सपना र खुसी नै खुसी देख्थेँ।

दशैँ आउनुअघि गाउ“का आमाहरू खुब खट्थे। त्यतिबेला मिल थिएन। ढिँकीमा धान, चिउरा कुट्नुपथ्र्यो। आमाहरूले दिउ“सो नभ्याएर राति टुकी बालेर त्यो काम गर्थे। बासको फुर्लुङमा तोरी हालेर कोलमा पेलेर तेल निकालिन्थ्यो।

तीज सकिएदेखि नै हामी केटाकेटीले औँलामा दशैँ आउने दिन गन्न थाल्थ्यौँ। मीठो खाने, राम्रो लगाउने, मामा घर जाने रहरले पनि दशैँ कहिले आउला जस्तो हुन्थ्यो।

दशमीको दिन आफ्नो मूलघरमा ठूलाबडासँग टीका र आशीर्वाद थापेपछि गाउँ डुल्ने कार्यक्रम सुरु हुन्थ्यो। वरिपरि अधिकांश दाजुभाइको घर थियो। २५–३० जना केटाकेटी भएर गाउँ डुल्थ्यौँ। म सानी भएकाले आशीर्वाद थाप्न अन्तिममा मात्र पालो आउँथ्यो, त्यो प्रतीक्षा कति व्यग्र हुन्थ्यो।

दशैँ गएपछि अर्को वर्ष कहिले आउला भन्दै प्रतीक्षारत रहन्थेँ। त्यतिबेला मामाघर जान मन लाग्थ्यो। हजुरआमा अनि मामा–माइजुको प्रेमले व्याकुल बनाउँथ्यो, त्यसमाथि दक्षिणाको लोभ ! बालपनको दशैँ एउटा बेग्लै ऊर्जा थियो, नाता–सम्बन्ध र प्रेमको कडी थियो। अहिले दशैँ कर्तव्य बनेको छ।

मालश्री धुन सुन्दा रुन बालपनको स्वछन्द संसार सम्झेर मन लाग्छ। आँखा सजल हुन्छन्। अझ ६ वर्षअघि वुबाको मृत्यु भएदेखि मलाई दशैँ निरस लाग्न थालेको छ। बुबाले काखमा राखेर पिङ खेलाएको, नयाँ लुगा किनिदिएको, टीका लगाइदिएको क्षण झलझली याद आउँछ। सोच्छु, आफ्नो प्रिय पात्र गुमाएपछि चाडको रौनकतामा फिक्कापन आउँदो रहेछ।

आफू सन्तानकी आमा भएपछि सम्झिँदैछु, आशीर्वाद दिनभन्दा लिनमै मज्जा आउँदोरहेछ। पहिले दशैँ मेरा लागि रहर थियो, अहिले कर्तव्य भएको छ। रहर र कर्तव्यमा आकाश–पातालको दूरी हुँदोरहेछ। पहिले म आफ्नो चाहनालाई सर्वेसर्वा ठान्थेँ। नयाँ लुगा, पिङ, मीठो–मीठो खानेकुरा– मेरो दशैँको क्यानभास बेग्लै थियो। म आफ्नै कोमल संसारमा डुबुल्की मार्थें। तर अहिले मैले दशैँ मनाउनभन्दा बढी अभिभावकको कर्तव्य निभाउन तल्लीन हुनुपर्छ। बुझदैछु अभिभावकत्वको महत्व। मेरा मान्यजनले मप्रति दर्शाएको सद्भावना, त्याग अनि समर्पण। मलाई आजकाल महसुस हुन्छ कि आफ्नो परम्परा जोगाउन आमाहरू अहोरात्र खटेका रहेछन्। कति सहनशील हो नारी, अरुको इच्छापूर्तिका लागि आफ्नो आकांक्षालाई तिलाञ्जली दिने। आफ्नो नारी पुस्ता, आमा पुस्ता अनि हजुरआमा पुस्ता सम्झिएपछि म नारीमा साक्षात् दुर्गा भवानीकै रुप देख्छु। शायद शक्ति र नारी एक–अर्काका पर्यायवाची शब्द हुन्।

त्यतिबेला म परिवारकी कान्छी छोरी थिए। आज कसैकी श्रीमती, वृद्ध सासु–ससुरा स्याहारिरहेकी बुहारी र पाँच वर्षीय छोराकी आमा पनि भएकी छु। अब मैले आफ्नोभन्दा अरुको खुसीमा बडादशैँको सार्थकता देख्न थालेकी छु। अब म अभिभावक बनिसकेकी छु। घर–व्यवहारको बागडोर आफ्नै हातमा छ। अरुकै खुसियालीमा म आफ्नो खुसियाली खोज्छु। मेरो घर–परिवारको आनन्दस“गै अब मेरो आनन्द जोडिएको छ। रहरै रहरमा नाचिरहेको बाल्यकालीन दशैँको अनुभूति अब गम्भीरतामा अनुवादित भइसकेको छ। म अब आफ्नै सन्तानको चाहनामा बितेको बालापनलाई सम्झना गरिरहेकी छु।

म एक हिन्दु नारी। जानी–जानी अथवा अन्जानमा आफ्नो संस्कारको पालन गर्न यसकै पछिपछि दगुरिरहेकी हुन्छु। मलाई आफ्नो स्वार्थभन्दा पनि पारिवारिक र सामाजिक स्वार्थको सरोकार छ। तर म न विद्रोही हो, न त पलायनवादी। समाजको मान–मर्यादालाई कायम राख्दै जिन्दगीलाई सिर्जनशील र गतिशील बनाउन चाहने मान्छे। त्यसैले म दशैँप्रति पनि पूर्वाग्रही छैन। समय र परिस्थितिले फेरेको भूमिकालाई पनि आत्मसात गरिरहेकी छु।

जिन्दगीमा जतिसुकै बाधा–अड्चन आइलागे पनि हाम्रो राष्ट्रियताको पहिचान दिलाउने महान् पर्व दशैँलाई धुमधामस“ग मनाउनुपर्छ भन्ने मलाई लाग्छ।

प्रकाशित: १८ आश्विन २०७६ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App