२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सेना दिवसमा खोटाङमा ‘रन फर फन’ सम्पन्न

नेपाली सेनाको २६३ औं स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर खोटाङमा आयोजित ‘रन फर फन’ दौड प्रतियोगितामा पुरुषतर्फ खिमबहादुर ओली र महिलातर्फ दिर्पा बस्नेत प्रथम भएका छन्।

सदरमुकाम दिक्तेलस्थित नेपाली सेनाको रणभीम गण मुडे ब्यारेकद्वारा आयोजित ५ किलोमिटर दूरीको उक्त प्रतियोगितामा पुरुषतर्फ गणमै कार्यरत सैनिक खिमबहादुर ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका-४ बाक्सिलाकी दिर्पा बस्नेतले उपाधि जितेका हुन्।

प्रतियोगितामा पुरुषतर्फ गणमै कार्यरत सैनिकहरू लेखराज पुनमगर दोस्रो र सागर नेपाली तेस्रो भए भने केपिलासगढी-३ बाँस्पानीका सूर्यराज राईले सान्त्वना स्थान प्राप्त गरे।

त्यस्तै, महिलातर्फ रणभीम गणकी पुष्पा अवस्ती द्वितीय र अस्मिता महतो तृतीय भइन् भने दिक्तेल इङलिस बोर्डिङ स्कूलकी मन्दिरा थापाले सान्त्वना पुरस्कार हात पारिन्।

विजेताहरूलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

पुरस्कार वितरण समारोहमा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकी र सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र न्यौपानेले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ १५१ र महिलातर्फ ५४ गरी कुल २०५ जनाको सहभागिता रहेको थियो। सो अवसरमा निर्धारित समयभित्रै दूरी पार गर्ने सबैभन्दा कम उमेरकी सहभागी हिलसाईड एकेडेमी दिक्तेलकी छात्रा रोशिका दाहाललाई समेत विशेष सम्मान गरिएको थियो।

दिक्तेल बजारको रत्नपार्कस्थित किरात चोकबाट सुरु भएको दौड अल्छेढुङ्गा र भालुखोला हुँदै पुनः रत्नपार्क र मानव अधिकारचोक भएर माटिकोरे खेलमैदानमा पुगी समापन भएको थियो।

नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले रणभीम गणले अघिल्लो वर्षदेखि नै सेना दिवसको अवसरमा यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App