१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका छन्।  

भोलि (बिहीबार) बिहान ९ बजेलाई बोलाइएको बैठकमा भोटेकोशी बाढी, बाढीले पुर्‍याएको क्षति, खोजी, उद्वार, राहत र पुनस्थापनाका विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।  

बैठक  रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यसअघि सभापति लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेका थिए।  

लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

उनले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्। अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि उनले अनुरोध गरेका छन्।

गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने भन्दै लामिछानेले संवेदनशील अवस्थामा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका हुन्।

रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा सदस्यलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन पनि उनले आह्वान गरेका छन्।

लामिछानेले विपद्को यस घडीमा नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोगलाई सबैको साझा प्राथमिकता बनाउनुपर्ने बताएका छन्। उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ २०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App