coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘साँझ सबैभन्दा पहिले पुस्तकालयमा बत्ती बाल्छु’

प्रकाश सायमी, लेखक तथा फिल्मकार

पुस्तक किनेरै पढ्नुपर्छ
मेरा गुरु फिल्म निर्देशक वासु भट्टाचार्यले मलाई एकपटक मुम्बईमै छँदा भनेका थिए, ‘अनावश्यक किताब धेरै नपढ, जीवनमा एउटै राम्रो किताब पढ, त्यसले तिमी बाँचेको जीवन बदल्ने होइन, तिम्रो जीवनमा इम्प्रोभाइजेसन गरोस्। त्यस्तो पुस्तक एउटै हुनसक्छ, इंग्मार बर्गम्यानको बायोग्राफी– द म्याजिक लालटेन।’ उनीसित त्यो पुस्तक थियो, तर दिएनन्। किनेर पढ्नुपर्छ भनेर सिकाए। मैले मुम्बई, कोलकत्ता, चेन्नई, दिल्ली जस्ता भारतका अधिकांश पुस्तक पसलमा त्यो किताब खोजेँ, पाइनँ। पछि फिल्म बनाउने क्रममा चलचित्र नायक राजेश हमालले धेरैपटक त्यो पुस्तकको एक पंक्तिको खुब चर्चा गरे। उनी भन्थे, ‘बूढापा आफैँमा एउटा रोग हो ! कस्तो लेखेको हो ?’ हमालसँग त्यो पुुस्तक थियो रे, हरायो भन्ने बुझेँ। उनैको प्रेरणाले फेरि पुस्तक खोजेँ, अञ्जलीजी (मेरी श्रीमती) युरोप घुम्न जाँदा ल्याइदिन भनेको थिएँ, तर जताततै ‘आउट अफ स्टक’ भन्ने थाहा भयो।

सन् २०१६ मा विश्वविद्यालय अनुदान आयोगका प्रमुख मेरा मित्र गीतकार सुवासचन्द्र ढुंगेल स्विडेन जाँदा त्यो पुस्तक ल्याइदिए। सुवासजीका अनुसार यो पुस्तक खोज्न उनलाई स्विडिस साथीभाइले नै सहयोग गरेका थिए। त्यतिबेला यो पुस्तक पुनः छापिँदै रहेछ। बर्गम्यान स्विडेनकै एक फिल्मकार हुन्। यो पुस्तक पढिसकेपछि मलाई मेरा गुरु भट्टाचार्यसित यसको विषयवस्तुबारे कुरा गर्न मन थियो, तर उहाँ बितेको २० वर्ष भइसकेको थियो।

घर, नख्खु जेल र पाँचतारे होटल
पुस्तकसित मेरो रुचि बढ्नुका तीन कारण छन्– मेरो घर, मैले पढेको ठाउँ नख्खु जेल र मैले काम गरेको ठाउँ। यी तीन ठाउँले मलाई पढ्नमा र पुस्तकसित निकट हुन सघायो। म पालिएको घरमा मैले नेपालभाषाका कवि लेखकको पुस्तक बाल्यकालमै छुन पाएँ, जसमा कवि सिद्धिदास महाजु, जगतसुन्दर मल्ल, भिक्षु अमृतानन्द, हृदयचन्द्रसिंह प्रधान, चित्तधर हृदय आदि थिए। मेरा पिताजीले मलाई जन्मदिनमा र केही मंगलमय पर्व आयो कि पुस्तक उपहार दिनुहुन्थ्यो।

एउटै पुस्तकको नाउँ लिनुपर्दा मलाई जर्मन लेखक हरमन बाहरको ‘अन द ट्राजिक’ले घनघोर स्पर्श ग-यो, त्यो पुस्तकको तुलना म ज्याँ पल् सात्र्रको ‘बिइङ एन्ड नथिङ्नेस’, अल्वेयर क्यामुको ‘ह्याप्पी डेथ’, रमण महर्षिको ‘द स्प्रिचुअल टिचिङ अफ रमण महर्षि’सँग गर्न मन पराउँछु।

एक विशेष परिस्थितिमा मेरो बाल्यकाल र प्रारम्भिक शिक्षा नख्खु जेलभित्र भयो, त्यहाँ मैले नेपाली भाषाका साहित्यिक, राजनीतिक पुस्तक पढ्ने मौका पाएँ।

केही समय मैले नेपालका पाँचतारे होटलमा काम गरेँ, जहाँ अंग्रेजी, फ्रान्सेली साहित्यसित निकट हुने मौका पाएँ र त्यहीँ काम गर्दैगर्दा अंग्रेजी पुस्तक पढ्ने र संकलन गर्ने बानी केही विदेशी साथीबाट अनुकरण गरेको हुँ।

केही मनपरेका पुस्तक
म एक पाठकका हैसियतले हरेक ‘जेनरा’का पुस्तक पढ्छु, तर कामविशेषले जर्नलदेखि थेसिस पेपरसम्म पढ्नुपर्ने हुन्छ। मलाई दर्शनका पुस्तक धेरै मनपर्छ।

मलाई मनपरेका पुस्तक धेरै छन्, सबै पुस्तकबाट जीवनका जटिलता र सरलतामा कसरी बाँच्ने भन्ने सिकेँ। साहित्यिक पुस्तक मेरा लागि ‘सेल्फहेल्प’ भयो। एउटै पुस्तकको नाउँ लिनुपर्दा मलाई जर्मन लेखक हरमन बाहरको ‘अन द ट्राजिक’ले घनघोर स्पर्श ग-यो, त्यो पुस्तकको तुलना म ज्याँ पल् सात्र्रको ‘बिइङ एन्ड नथिङ्नेस’, अल्वेयर क्यामुको ‘ह्याप्पी डेथ’, रमण महर्षिको ‘द स्प्रिचुअल टिचिङ अफ रमण महर्षि’सँग गर्न मन पराउँछु।

शरीरका सबै इन्द्रियले हिँड्दा, डुल्दा, सुत्दा काम गर्छन्। त्यसैले मस्तिष्क र हृदयलाई राम्रा–राम्रा कुराले पोषित गर्नुपर्छ, पुस्तक पढ्दा त्यो काम सजिलै हुन्छ। तपाईंले कसैलाई गाली गर्नुभयो भने कति ताकत बाहिर जान्छ, पुस्तक पढ्दा कति धेरै ताकत भित्र आउँछ, यो ‘पोजेटिभ गेनिङ’ हो। पुस्तक पढ्नु भनेको ‘डाउन लोड सिस्टम’ चैँ होइन।

प्रकाशक हेरेर पुस्तक किन्छु
पुस्तक छान्दा म सबभन्दा पहिल्यै प्रकाशकको नाम हेर्छु। राम्रो छपाई, राम्रो कागज अनि भाषामा देखिने प्रोफेसनालिजम् मेरा छनोटका आधार हुन्। विश्वप्रसिद्ध प्रकाशक ‘पेन्ग्युइन’, ‘पिकाडोर’, ‘फेबर एन्ड फेबर’, ‘भिन्टेज’का पुस्तक प्रायः म आँखा चिम्लेर किन्छु। त्यसबाहेक ‘द युनिभर्सिटी अफ सिकागो’ प्रेस, ‘द रिप्रिन्ट सोसाइटी अफ लन्डन’, ‘अक्सफोर्ड युनिभर्सिटी’ प्रेसका किताब पनि मैले संकलनमा राखेको छु।

पुस्तक छान्ने मेरो पहिलो आधार ‘टाइम म्यागेजिन’ र ‘द हेराल्ड ट्रिब्युन’मा आउने समीक्षा हुन्। त्यसबाहेक आजकाल म केही बुक क्लबका माध्यमबाट पनि पुस्तक छान्ने गर्छु।
विदेश जाँदा म एयरपोर्टमा प्रायः पहिले किताब किन्छु।
प्रायः मुम्बई गइरहनुपर्ने भएकाले त्यहाँ ‘-यान्डम हाउस’ र ‘द हङ्ग्री माइन्ड’बाट धेरै किताब किन्ने गर्छु। मुम्बईमा एकपटक १६ हजार रुपैयाँको किताब किन्दा घरमा अञ्जलीको भक्कु गाली खाएको छु।

काठमान्डुमा म एजुकेशनल बुक हाउस जमलबाट पुस्तक किन्छु। यो पुस्तक पसलसित मेरो ३०औँ वर्षको सम्बन्ध छ।

मैले जीवनमा पहिलो पुस्तक किनेको पाटनको हिसप बुक हाउसमा हो, जुन पुस्तक पसल अहिले छैन, यो पसल अहिलेको एकता बुक्सका रामचन्द्र तिमोथीको पहिलो पसल हो। काठमान्डुका पुस्तक पसलमा नपाएका किताब म विदेशमा रहेका साथीभाइमार्फत एमाजोनबाट मगाउँछु। यसमा मलाई सञ्चारकर्मी सुमन खरेल, लेखक प्रमोद अमात्य अनि मेरा भावक राजेन्द्र पन्तले खुब सघाउनुहुन्छ।

पछिल्लोपटक मैले अमेरिकाबाट मगाएर जाम्बियन लेखिका नामवली सर्पेलको उपन्यास ‘दी ओल्ड ड्रिफ्ट’ पढेँ। नपढेको भए ठूलो पछुतो हुन्थ्यो। युनिभर्सिटी अफ क्यालिफोर्नियामा साहित्य पढाउने सर्पेलको यो पहिलो कृति हो। होगार्थ प्रकाशनले निकालेको यो पुस्तक मेरो संकलनमा परेको यस प्रकाशनको पहिलो पुस्तक हो।

अहिले यस पुस्तकको तुलना ग्राबिएल गार्सिया माख्र्वेजको ‘द हन्ड्रेड इयर्स अफ सोलिच्युड’सित गरिँदै छ। यो पुस्तक पढेको दुई हप्तासम्म मैले अर्को किताब उठाउन सकिनँ।

पछिल्लो समयका प्रायः सबै नेपाली लेखकका पुस्तक पढेको छु। मलाई सुरेश प्राञ्जलीको तुइन मनप-यो, उनले समयलाई पिक्चराइज्ड गर्ने शैली विकास गरेका छन्। यो उनको खुबी हो।

पछिल्लो समय छापिएका पुस्तकमा गणेश रसिकको ‘छपक्कै मनमा बसेकाहरू’ नामक पुस्तक पढेँ। गीत, संगीत र यसको इतिहासमा ज्ञान भएका नेपालमा बिरलै व्यक्ति छन्। त्यसमध्ये रामशरण दर्नाल, सुबी शाह र गणेश रसिक प्रमुख हुन्। रसिकज्यूले यस किताबमा आफू गायक, संगीतकारभन्दा लेखक भएर उपस्थिति दिनुभएको छ। पुस्तकमा भाषा, साल, सम्वत् र नाममा सामान्य गल्ती छन्, त्यसलाई सच्याउन सकेको भए हुन्थ्यो।

यस किताबमा मैले धेरै सिक्ने र देख्ने कुरा पाएँ। लेखकले आफ्नो पाठक र समकालीनलाई कसरी इज्जत गर्नुपर्छ भन्ने पनि मनन गरेँ।

पुरस्कारको ‘ट्याग’वाला पुस्तक राख्दिनँ
पुरस्कारले उचालेका पुस्तक प्रायः म पढ्दै पढ्दिनँ। त्यसैले म कुनै पनि पुस्तक पुरस्कार पाउनुअघि किनेर पढ्छु, मनपरे राख्छु, मननपरे अरुतिर हुँइक्याइदिन्छु। पुरस्कारको ट्याग टाँसेको पुस्तक मेरो पुस्तक कक्षमा नहुनु मेरो परिचय हो। पहिलो नोबेल पुरस्कार पाउने लेखक सुल्ली प्रुधोमको किताब मेरो घरमा छैन, तर पहिलो नोबेल पुरस्कार नपाउने लेखक लिओ टोल्स्टोयको सबै किताब छन्। नोबेल पुरस्कार बहिष्कार गर्ने ज्याँ पल् सात्र्रका साराका सारा किताब छन्।

पुरस्कारबारे मेरो धारणा एउटै छ, पुरस्कार जहाँ छ, त्यहाँ माफियाकरण, सट्टाबाजी भइहाल्छ। लेखकभन्दा प्रकाशक हाबी हुन्छन्, पुरस्कारको लेनदेनमा। एक लेखकका हैसियतले म आजीवन पुरस्कार बहिष्कार गर्दै आएको छु। अहिलेसम्म कुनै पुरस्कार लिएको छैन र लिने पनि छैन।

मेरो घर नै पुस्तकालय
पहिले मेरो घरमा सानो पुस्तकालय थियो, अहिले मेरो घर नै पुस्तकालय जस्तो भइसक्यो, किताबको संख्या मसित छैन। मेरो घरको नाउँ नै साहित्यिक कृति ‘गोधूली संसार’को नाउँबाट राखिएको हो। अहिले घरको भान्सामा बाहेक हरेक कोठामा फरक–फरक पुस्तक पढ्नका निम्ति राखिएको छ। तपाईं अचम्म नमान्नुस्, शौचालयमा पनि मैले पढ्ने पुस्तक राखेको छु।

मसँग अर्थशास्त्र, युद्धकला, जीवनदर्शन, वनस्पतिशास्त्रदेखि खेलकुदसम्बन्धी सबै पुस्तक छन्। साहित्यको विद्यार्थी भएकाले साहित्यिक किताब पनि छन्, तर पेसाले सिनेकर्मी भएकाले सिनेमाका किताब धेरै छन्।

मेरो बाल्यकालमै मेरो घरमा सानो पुस्तकालय थियो, जहाँ मेरा मातृभाषा नेवारी र हिन्दीका मात्र पुस्तक पढ्न पाउँथे। पछि मैले नेपाली पुस्तक पढ्न आफैँ एउटा पुस्तकालय खोलेँ, प्रभावती पुस्तकालय। यी दुई पुस्तकालयबाहेक मलाई अरु पुस्तकालय जरुरी परेन भन्ने होइन। काठमान्डु र पाटनमा जहाँ–जहाँ नयाँ–नयाँ पुस्तकालय खुल्थे, त्यहाँ म सदस्य हुन पुगिहाल्थेँ। मैले आफ्नो रुचिको पुस्तक खोज्न नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय, नेपाल भारत पुस्तकालय, लगनखेलको बुद्धिविलास पुस्तकालय, नेपालभाषाका पुस्तकका निम्ति नेपालभाषा ‘ब्वने कुथि’, काठमान्डुको विप्लव पुस्तकालय, मुम्बईको महाराष्ट्र पुस्तकालयसम्म चहारेको छु।

मैले जीवनको सबैभन्दा ऊर्जाशील समय मुम्बईको नेसनल लाइब्रेरीमा बिताएँ, त्यहाँ जति पुस्तक पढेँ, समय बिताएँ, त्यति अन्त बिताइनँ।

मेरो मातृभाषामा पुस्तकालयलाई ‘सफू धुकू’, ‘ब्वने कुथि’ भन्छन्। यसको अर्थ गज्जब छ, किताबहरूको वर्कशप भनेर बुझे हुन्छ।

पुस्तकालय जहाँ जीवनको स्वरुप चलायमान हुन्छ, पुस्तकालयमा जस्तो जीवन पनि शान्त रूपमा भेटिन्छ। पुस्तकालयमा बस्न पाउनु, त्यहाँको शान्त जीवन वनको हरियालीसितको साक्षात्करणभन्दा कम होइन। मैले जीवनको धेरै समय पुस्तकालयमै बिताएको छु। मैले मेरो पुस्तक वर्षादी दिनहरूमा लेखेको छु, ‘म जीवनमा कहीँकतै भइनँ भने पुस्तकालयमै हुनेछु।’ अहिले पनि त्यहीँ छु।
म साँझ घर फर्किंदा सबैभन्दा पहिल्यै पुस्तकालयमा बत्ती बाल्छु, पूरा घर उज्यालो भएको महसुस हुन्छ।

कुनै पनि पुस्तक चर्चामा नआउँदैमा वा प्रकाशन नहुँदैमा मर्ने होइन। यसको उदाहरण शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज हो, यो किताब ३५ वर्षपछि नयाँ पुस्ताका भाइबहिनीको माग देखेर भावक अभियान नेपालले छापेको थियो, आज पनि यसको माग देवकोटाको मुनामदन र भूपीको घुम्ने मेचमाथि अन्धो मान्छे बराबर नै छ। कृतिले काललाई जित्न सक्ने भएर कालजयी भनिएको हो।

मलाई लाग्छ, दमनराज तुलाधरको ‘दमनराज तुलाधर’ भन्ने पुस्तक फेरि छापिनुपर्छ। यस्तो पुस्तकले हाम्रो लेख्ने, सोच्ने र भन्ने बानीमा परिवर्तन ल्याउँछ। त्यस्तै, लेखक हुनलाई चाहिने सबैभन्दा ठूलो ऊर्जा आफैँसित खोज्नुपर्छ भन्नेमा सचेत बनाउँछ। लेखकले आफ्नो पाठकलाई अन्डर इस्टिमेट गर्न हुन्न, अरु लेखकलाई होच्याउन, दबाउनका लागि नलेख्नु भन्ने पनि यस पुस्तकमा झल्किन्छ। पुस्तक लेखिँदै गरेको समय एउटा महत्वपूर्ण युग हो, त्यसैले लेखकले पुस्तक लेख्दै गर्दा तीन कुराको खुसामद नगरेको राम्रो– पाठकको, पुरस्कार दिने संस्था वा दाताको र समीक्षक वा समालोचकको।
(ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित)

प्रकाशित: ४ आश्विन २०७६ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App