३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्य

पिँजडाको सुगा

स्कुल–कालमा कण्ठस्थै जस्तो थियो–
बालक बबुरो द्विज सुक नामा
हुँ म परेको छु पिँजरामा
मकन हरे शिव र शान्ति चैन
सपनाबीच पनि रत्तिभर छैन...
भाका हाली–हाली सहपाठीहरूसँग वाचन गरिएका यी पंक्ति आजको समयसम्म आइपुग्दा करिब–करिब बिर्सिसकिएको छ। ‘पिँजडाको सुगा’माथि लयात्मक यो कविता बाल्यकालमा कति दोहो-याइयो होला, त्यसको कुनै हिसाब छैन। आज हल्का झ–झल्को मात्रै शेष छन् ती दिनको।

झ्याप्प सेता दाह्री, कुनै ऋषिझैँ देखिने उनको आकर्षक व्यक्तित्व ! सम्भवतः बाल्यकालमा, यस्तो रूप भएका व्यक्तिले नै ‘पिँजडाको सुगा’ लेखेका होलान् भन्ने हामीलाई के थाहा ? हुन पनि, हामीलाई थाहा हुनु र नहुनुसँग त्यो कविता र कविता लेख्नेबीचको के सम्बन्ध, हाम्रो केटाकेटी दिमागको लागि ? हामीलाई त त्यतिखेर त्यो कविता गाउनुमा नै रमाइलो थियो। कालान्तरमा, जब साहित्यको वास्तविक रसले मोहित पार्दै लग्यो अनि पो त्यो पंक्तिकारको व्यक्तित्वप्रति पनि चाख बढ्दै गयो। अन्ततः थाहा भयो, ‘पिँजडाको सुगा’का रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको त्यो दाह्रीवाला अनुहार।

कति पीडादायक छ पिँजराको सुगाको वेदना !
फलपफूल खाई नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पा-यो पिँजडाभित्र
कर्म हुन्छ हरे विचित्र...
निरंकुश राणाकालको त्यो बेला लेखिएका यी पंक्तिहरूको विश्लेषण पछिल्लो समयमा आएर अलिक फरक किसिमले पनि गरियो। भनियो– राणाहरूद्वारा प्रजामाथि भइरहेको थिचोमिचो, अन्याय, अत्याचारको प्रतीकात्मक रूप थियो यो कविता। उनले कविताका माध्यमबाट राणाशासनप्रति भयंकर विद्रोह गरेका हुन्।

राणाको निरंकुश व्यवस्थालाई ‘पिँजडा’ र प्रजाको दयनीय अवस्थालाई ‘सुगा’को रूपमा उनले गरेको संकेतलाई केही हदसम्म स्वाभाविक मान्नुपर्छ।

यस विषयमा बहस नभएको होइन, साथै यसमा विवाद पनि कायम नै छ। ‘साधारण मान्छेले पढ्न–लेख्नमा प्रतिबन्ध लागेको त्यस्तो अवस्थामा कुन हिम्मत गरेर लेखे होलान् लेखनाथले चाहिँ त्यस्तो प्रतीकात्मक कविता ? उनीसँग कुन त्यस्तो शक्ति थियो जो उनी अक्षरका माध्यमले राणाहरूको विरोध गर्न सकुन् ?’

उनीमाथि आरोप लगाउनेहरूको मत छ– उनी त राणाशासकहरूसँग धेरै नजिक पो थिए। यस हिसाबले भन्ने हो भने लेखनाथले राणाशासनप्रति विद्रोह गरेको भन्नु उनको लेखनीमाथि अनावश्यक अतिरञ्जना गरिनु हो।

यो बहसबीच, ‘लेखनाथका कवितामा नैतिक पक्ष’ शीर्षकमा विद्यावारिधि (पिएचडी) गरेका साहित्यकार डा. बमबहादुर थापा जिताली भन्छन्– एउटा सम्मानित कविको रचनामाथि व्यर्थैको विवाद झिक्नु एक किसिमको अनैतिक कर्म हो। उनले के लेखे ? किन लेखे ? जवाफ उनको गैरहाजिरीमा खोज्नु व्यर्थ छ। अनुमान लगाउने मात्रै हो, यस्ता विषयमा निश्चिततापूर्वक बोल्न मिल्दैन।’

उनी थप्छन्– हो, उनी पक्कै पनि दरबारका नजिक थिए। आफ्नो जीवनयापनका लागि कमल दीक्षितका पिताजीमार्फत् उनले राणा–परिवारका बालबच्चालाई पढाउने काम पाएका थिए। तर थिए उनी कवि–हृदयका मानिस, संवेदनशील ! राणाहरूको तानाशाही र प्रजाको पीडाप्रति उनी पक्कै पनि बेखबर थिएनन्। यस दृष्टिकोणले हेर्दा राणाको निरंकुश व्यवस्थालाई ‘पिँजडा’ र प्रजाको दयनीय अवस्थालाई ‘सुगा’को रूपमा उनले गरेको संकेतलाई केही हदसम्म स्वाभाविक मान्नुपर्छ। तथापि म यसै हो भनेर भन्न सक्दिनँ, यस्तो नहुन पनि सक्छ। सामान्य रूपमा पिँजडाको सुगाकै ‘शब्दचित्र’ मात्रै पनि हुन सक्छ त्यो कविता।’

पछिल्लो चरणमा आएर कविशिरोमणिको त्यही ‘पिँजडाको सुगा’को मूल अंश नयाँ पुस्ताका गायकद्वारा संगीतबद्ध पनि भएर गाइयो पनि। भ्युजियल भएर टेलिभिजनको पर्दामा पनि देखियो। अझ पछि आएर, सम्पूर्ण ‘पिँजडाको सुगा’ काव्यमाथि संगीतकार नातिकाजीद्वारा संगीतबद्ध भएर धेरै वर्षअघि नै फत्तेमान, तारादेवी, योेगेश वैद्य, मीरा राणाको आवाजमा रेकर्ड गरिएको थियो। तथापि सञ्चारमाध्यममा त्यसको प्रसारण भएको दुखिँदैन। तथापि, धेरै समयपछि आएर नातिकाजी स्मृति समाजले त्यसलाई सिडीमा उपलब्ध गरायो, हाल युट्युबमा समेत त्यो उपलब्ध छ। यस अर्थमा, लेखनीको अलावा सांगीतिक दृष्टिकोणले पनि अहिले अझ महत्वपूर्ण बनेको छ पिँजडाको सुगा।

पुराना स्मृति, पुराना विषय सबैलाई प्रिय हुन्छ। यस दृष्टिकोणले हेर्दा, साहित्यनुरागीका लागि पहिलेका वा दिवंगत लेखकहरूले लेखेका विषयमा चासो रहनु स्वाभाविक हो। त्यसमाथि, तिनै लेखकहरू जो समाजमा स्थापित र लोकप्रिय छन् भने त तिनका लेखनीमाथि उत्सुकता हुनु झन् स्वाभाविक छ। यस हिसाबले, कविशिरोमणिजस्ता साहित्यिक महारथी र तिनका सिर्जनाहरू पछिल्लो पिँढीका लागि मूल्यवान् नहुने भन्ने प्रश्नै छैन। कुनै घरमा मनोरञ्जनका लागि झुन्ड्याइएको पिँजडा र त्यसभित्र बन्धित सुगाकाबारे केवल कवितात्मक शब्दचित्रको रूपमा होस् वा तत्कालीन राणातन्त्रका बारे सांकेतिक (प्रतीकात्मक) रूपमा होस्; शिरोमणिले जुन दृष्टिले लेखेका भए पनि सर्वथा मनपराइएको उनको ‘पिँजडाको सुगा’ आजका दिनमा पढ्दा या सुन्दा पनि उत्तिकै मीठो लाग्छ।

प्रकाशित: १४ भाद्र २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App