१७ आश्विन २०७९ सोमबार
अन्य

गण्डकी पुत्र

कवि गण्डिकी पुत्र।

बाहिर झमझम पानी परिरहेको थियो। काठमाडौंको शान्तिनगरस्थित खाजाघरमा थियौं हामी। पल्लो टेबुलमा आँखा जुध्छन् कवि गण्डिकी पुत्रका। उतापट्टि बसेका मनुवा मनकारी रहेछन्। तिनै उदार मनका रमेश बस्नेत अभिवादनसँगै प्रश्न गर्न आतुर भैदिन्छन्, ‘झोराहाटमा त्यति ठूलो काम गर्नु भो। हामी पनि सानोतिनो सहयोग गर्छौं। हामी मोरङ समाजका तर्फबाट ५१ हजार दिन्छौं कतै समाजको नाम पनि उल्लेख गरिदिनु होला है !’

कुराकानी लम्बिदै जान्छ। सुनिरहन्छु। नेपाल छाडेर अमेरिका भासिएका गण्डकी पुत्रका बारेमा मनमा जिज्ञासा पैदा हुन थाल्छ। के गरे यिनले त्यस्तो काम ? बिस्तारै थाहा हुन्छ ‘गाउँमा कविता’ कार्यक्रमका परिकल्पनाकार रहेछन् उनी। मोरङको झोराहाटमा बत्तीसौं श्रृखलासम्म चलेको कार्यक्रम गएको फागुनदेखि स्थगित छ। 

उनी एक कुशल कवि र साहित्यिक अभियन्ता हुन्। २०३६ सालमा विद्यालयको मुखपत्रमा ‘मलाई रुन मन लाग्छ’ शीर्षक कविता छापिएपछि सृजनाको फूलबारीमा मुस्कुराउन थालेका उनले दुईटा कविता संग्रह छापिसकेका छन्। जीवनमा पहिलाे पटक १५ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार पाएका गण्डकीले त्यसै वर्ष एकाएक निर्णय गरे, ‘बाँचुञ्जेल कुनै किसिमका सम्मान वा पुरस्कार लिने छैन।’

किन त्यस्तो निर्णय ?, पुलुक्क अनुहारमा हेरेर प्रश्न तेस्र्याएँ। ‘सम्मान र पुरस्कारका नाममा केही विकृति पनि देखेँ। त्यसैले’, सहज जवाफ फर्काए उनले।

छोरीज्वाइँलाई बोलाउन लगाएर तीन वर्षअघि अमेरिका पुगेका उनी बेलाबेलामा आइरहन्छन् नेपाल। कवि मन न हो खाइखेलेको ठाउँ चटक्क बिर्सन सक्दैन। मनले डो-याइरहन्छ झोराहाट। उसो त हिजोका दिनको एउटा चित्र झुल्किरहेकै हुन्छ मनमा। जतिखेर ०६२/०६३ को आन्दोलन चलिरहेको थियो, केटाकेटी आपसमा भनिरहेका हुन्थे, ‘ऊ गण्डकी आयो।’

‘गाउँमा कविता’ कार्यक्रमलाई आउँदो दसैंदेखि नयाँ स्वादमा पस्कने जर्मको गर्दै छन् गण्डकी पुत्र। त्यस्तै झोराहाटमै सांस्कृतिक संग्रहालय बनाउने सपना पनि बुन्दै छन् उनी।

जनआन्दोलनका बेला रगत तताउने चार पंक्तिका मुक्तक सुनाउँथे उनी। अनि तात्थ्यो सडक। उनले आफ्नो साइकलमा बोकेका छन् कैयौं नेतालाई। केही त राज्यको उच्च स्थानमा पनि विराजमान छन्। तर तिनको ढोकामा केही माग्न जाँदैनन् उनी। स्वाभिमानी जो छन्। 

खासै भेटघाट हुँदैन ठूलाबडाहरूसँग। ‘खेम नेपाली सभासद् मात्र नभएर राम्रा साहित्यकार पनि हुन्’, उनी प्रष्टीकरण दिन्छन्, ‘मिल्ने साथी पनि भएकाले उनीसँग भेट्न मन लाग्छ, अरूसँग त त्यस्तै हो।’ 

उनी राजनीतिको खेलमा पछाडि परे। अब सक्रिय राजनीति गर्दिन भन्छन्।  ‘राजनीतिमा पछाडि धकेल्ने जति डरलाग्दो खेल छ। साहित्यमा त्यति छैन। राजनीतिमा जति पीडित थिएँ साहित्यमा त्यति छैन। अब दलका कुनै पदमा बसेर काम गर्दिनँ। कसैले मागेमा सल्लाह दिन्छु।’

साहित्यमा चुर्लुम्मै डुबेका छन् उनी। जसरी बगेकी छन् गण्डकी उसै गरी अनवरत साहित्यमा बग्न चाहन्छन् यी कवि। 

विराटनगरसँग जोडिएको झोराहाटलाई साहित्यिक तीर्थस्थलका रूपमा चिनाउन उनले ‘गाउँमा कविता कार्यक्रम’को अवधारणा ल्याए। ‘अरू ठाउँमा कविता सुनाउन जाँदा साथीहरू भन्थे, तिम्रो गाउँमा जानु पर्छ अब। तर आफ्नो गाउँ बत्तीमुनिको अँध्यारो थियो’, उनी भन्छन्, ‘त्यसैले झोराहाटमा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।’

एक दिन झोराहाटमा नाटकघर बन्यो। उद्घाटन कार्यक्रममा झोराहाट पुगेका थिए अभि सुवेदी, हरिहर शर्मा, कुमार नगरकोटी र सुनिल पोख्रेलहरू। गण्डकीलाई त्यहाँ बोलाइएको थिएन। मर्निङ वाकमा हिँडिरहेका गण्डकीलाई देखेर बोलाएछन् अभि सरले। उनीहरूको आशय थियो गण्डकीले यहाँ केही काम गरिदिए हुन्थ्यो। ‘सर म यहाँ गाउँमा कविता कार्यक्रम चलाउँछु तर तपाईले पनि हस्तक्षेप गर्न पाउनु हुन्न’, गण्डकीले प्रस्ताव राखिहाले छन्।

नाटकघरका अध्यक्ष भरत गुरागाई पनि त्यहीँ थिए। कसैको हस्तक्षेप हुने छैन भन्नेमा सबै एक मत भए। त्यो समय थियो २०७२ वैसाख ११ गते। त्यही कार्यक्रममा कवि सीमा आभासले बोलाइन गण्डकीलाई कविता वाचन गर्न। त्यतिबेलै उनले घोषणा गरे ‘गाउँमा कविता’ कार्यक्रमको। पहिलो चरणमा कविता वाचन गर्ने कविका नाम पनि उच्चारण गरिदिए–सीमा आभाष, ज्योति जंगल, शुभलक्ष्मी लम्साल र खगिन्द्रा खुसी। अनि कार्यक्रम संचालनका लागि उनको रोजाइमा परे रमेशचन्द्र अधिकारी।

आठौं श्रृखला चल्दासम्म गण्डकी पुत्र नेपालमै थिए। कार्यक्रम सफल तुल्याउन लागिपर्नेहरुमा थिए टंक न्यौपाने, बद्री भिकारी, मुनाराम शेर्मा, सुन्दर कुरुप, मिश्र वैजयन्ती, रामबाबु दाहाल, विवश पोख्रेल, भीम खतिवडा, मधु पोख्रेल लगायत। पछि अमेरिका जान लाग्दा संरक्षकका रूपमा बसिदिन उनले आग्रह गरेछन् खेम नेपाली, भरत गुरागाई र प्रयाग न्यौपानेलाई। पछिल्ला दिनमा अधिकारीले नभ्याएपछि कार्यक्रम संचालन गरे न्यौपाने र उमेश लुइँटेलले। ३२ औं श्रृंखलासम्म चलेको कार्यक्रम फागुनदेखि रोकियो। चिन्तित बने गण्डकी।

यही बीचमा उनी नेपाल फर्किए। दाताहरू खोज्दै हात थाप्दै गर्न थाले। कृष्णप्रसाद खतिवडाले पिता गोपीकृष्ण र आमा मनिकर्णिकाको नाममा ४ कठ्ठा जग्गा दान गरे। प्रदेश सरकारका सामाजिक मन्त्री जीवन घिमिरेले उपलब्ध गराए ६० लाख रुपैयाँ। यसबाट बन्यो दुई तले ‘गोपीकृष्ण मणिकर्णिका सामुदायिक केन्द्र’। दोश्रो तलाको नाम जुराए महाकवि देवकोटा प्रेक्षालय।

यतिबेला भवन झोराहाट साहित्य महोत्सव र अक्षयकोषका लागि ५० लाख रुपैयाँ जम्मा गर्ने अभियानमा काठमाडौंमा दौडधुप गर्दै छन् उनी। साथमा छन् खेम नेपाली, प्रयाग न्यौपाने र टीका भट्टराई। कोषको ब्याजबाट आउने रकमले गाउँमा कविता कार्यक्रम संचालनदेखि साहित्यिक पुरष्कार बाँड्नेसम्मको सोच हुर्कंदै छ। 

यतिमै चित्त बुझाउने मान्छे हाइनन् उनी। थारु, मुसहर र झाँगरको बस्ती छ झोराहाटमा। तिनले बजाउने बाजा लोप हुन थालिसके। ती बाजा र तिनका पहिरन संरक्षण गर्न संग्रहालय बनाउने योजना उनको दिमागमा ओथारा बस्दैछ।

‘सांस्कृतिक रूपले झोराहाटलाई जुरुक्कै उचाल्न सकिन्छं’, नाटकघर समेत सञ्चालन गर्ने गरी संग्रहालय र हल बनाउने उनको लक्ष्य छ। 

उनी सम्झिन्छन् सानोमा थारु साथीसँग फुटबल खेल्दा एउटाले हिर्काएको बल लागेर लडेको घटना। त्यतिखेर दुई जनाले उठाउँदै भनेका थिए, ‘एकेट पहाडिया हाम्रा साथमे खेले होला एक्रा क्या युवा करछ्या अर्थात् यत्रो थारुको बीचमा जम्मा एउटा पहाडे केटो हामी बीच खेल्दै छ त्यसलाई पनि लडाइदिइस्।’

तीन दिन सम्झँदा उनका आँखा रसाउँछन्। कति मिठो आत्मीयता र प्रेम ! मैले त्यति बेलै सोधेको थिएँ, ‘अहिले त जातीयताका चर्का नारा उठिरहेका छन् यसलाई कसरी लिनु हुन्छ ?’ उनले सजिलै भनिदिए, ‘यो हुन्डरी हो। धेरै दिन टिक्दैन। चेतना नभएको ठाउँमा त्यो कुरा त हुन्छ नै। समाज चेतनाले भरिपूर्ण जब होला त्यो दिन कहाँ जात रहला।’ 

आडमै बसेका खेम नेपाली सहमत हुन सकेनन् उनका भनाइमा। ‘म द्वन्द्ववादमा विश्वास गर्छु भन्ने मान्छे, चेतनशील, पढेलेखेका कम्युनिष्ट भन्नेहरू नै जातीय अहंकार बोकिरहेका छन्’, नेपालीले दुखेसो पोखे। बहस चलिरहेकै थियो। गण्डकी उत्तर दिइरहेका थिए, ‘चर्का नारा लगाउनेहरू राजनीति गरिरहेका छन्। यहाँ स्वार्थमा जोडिएको छ हरेक कुरा। त्यो समयले बढारेर लैजाने छ।’
गण्डकीले कल्पना गरेको त्यो दिन चाडै आवोस्।

प्रकाशित: ७ भाद्र २०७६ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App