जारी टी-२० पुरुष विश्वकपमा सह-आयोजक श्रीलंका सुपर-८ को चरणबाटै बाहिरिएपछि अहिले टोलीको चौतर्फी आलोचना भइरहेको छ।
आफ्नै मैदानमा न्यूजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंकाले यसवर्षको विश्वकप यात्रा समाप्त गरेको छ।
श्रीलंकाका कप्तान दासुन शनाकाले आफ्ना खेलाडीहरूमाथि निरन्तर आलोचना भएपछि उनीहरूको मानसिक स्वास्थ्यमा असर पुर्याएको बताएका छन्।
'हामी क्रिकेटरको रूपमा जतिसुकै सकारात्मक रहन खोजे पनि, बाहिर नकारात्मकता हुन्छ', कप्तान शनाकाले हारपछि पत्रकारहरूसँग भने 'हामी खेल्नेछौं र जानेछौं, तर भविष्यमा आउने खेलाडीहरूका लागि सरकारले मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ।'
बुधबार रातिको हारसँगै श्रीलंका सुपर-८ बाट बाहिरिने पहिलो टोली बनेको हो। श्रीलंकाले सन् २०१४ मा भारतलाई पराजित गर्दै टी-२० विश्वकपको उपाधि जितेको थियो।
प्रकाशित: १४ फाल्गुन २०८२ १४:३२ बिहीबार





