पाल्पामा प्रख्यात भगवतीको मन्दिर छ। कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो। युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि उनले मन्दिर बनाए।
मन्दिरको गर्भगृहमा अष्टधातुले बनेको अठारबाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी दुर्गा पञ्चायनको रूप दिइएको थियो। पाल्पामा वर्षभरि विभिन्न देवीदेवताका रथयात्रा गरिन्छ। तर श्री ७ रणउजीरेश्वरी भगवतीको खटयात्रा फरक छ जुन ‘पाल्पाको भगवती जात्रा’ का नामले प्रसिद्ध छ। यस जात्राको धार्मिक महिमा आफ्नै ठाँउमा छ। साथै कम्पनी सरकारलाई परास्त गरी विजयश्री हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ। हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ।
बराहमिहिरले बृहत्संहितामा देवीको मन्दिरमा पूजाआजा गर्न मातृमण्डलको ज्ञान भएको पुजारी हुनु पर्नेे विधिविधानअनुसार ललितपुर महानगरे जयश्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणि गुभाजुलाई पूजारीका रूपमा ल्याइएको थियो। भगवतीको नित्य पूजा गुरु मण्डल विधिअनुसार हुने गर्छ भने रथयात्रा (वर्षबन्धन पूजा, कारण पूजा), कालरात्रि अष्टमी र चैते दशैमा त्रिसमाधि तान्त्रिक विधिद्धारा हुने गर्छ। आज पनि चन्द्रमणिका सन्तानबाट पूजा हुँदै आएको छ।
भगवती मन्दिर र मन्दिर परिसरले साविकको तानसेन नगरपालिका– ८ मा ४ रोपनी ५ आना जग्गा चर्चेको छ। मन्दिर परिसर भित्र पश्चिम दक्षिणतिरको केही जग्गा भगवती प्राविका नाममा छ भने विद्यालयसँग जोडिएको केही जग्गा बद्रीनरसिंहद्वारा निर्माण गरिएको बद्रेश्वर महादेव मन्दिरका नाममा छ। अघि भगवती मन्दिर परिसरभित्र पर्ने ७ रोपनी ८ आना जग्गा हाल विद्युत् प्राधिकरणको नाममा छ।
भगवतीको नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा र जात्रा संचालनका लागि विभिन्न गुठीको व्यवस्था छ। भगवतीको नित्य–नैमित्तिक पूजा, वर्षबन्धन पूजा (कारक पूजा) आदि खर्च व्यवस्थाका लागि भक्तपुरमा पनि ३६ रोपनी खेत सुनागुठी छ भने पाल्पाको साविकका चिदीपानी, मदनपोखरा, तेल्घा, अर्गली, कोलडाँडा गाविस र तानसेन नगरपालिका क्षेत्रमा गरी १६३२ रोपनी ३ दाम जग्गा श्री ७ रणउजीरेश्वरी भगवती गुठी छ।
राष्ट्रियता भनेको पछिल्लो महत्वपूर्ण आयाम हो। राष्ट्रियताभन्दा ठूलो जनताको अरु केही हुँदैन। राष्ट्रियतामा पहिचान खामिएको हुन्छ। जब नेपालीको अस्मितामाथि खेलवाड हुन थाल्छ तब मन चसक्क दुख्छ। अनि गम्भीरताका साथ राष्ट्रियताको कुरा उठ्छ। विभिन्न कोणबाट राष्ट्रियताको व्याख्या पनि हु्रन्छ। यस विषयमा बहस चल्नु पनि पर्छ। रणउजीरेश्वरी भगवतीको जुन धार्मिक महिमा छ, उनको शक्तिलाई भक्तहरूले आत्मसात् गरेका छन् त्यो भावनालाई कतैबाट चिसिक्क पार्नु हुँदैन। परम्परादेखि चलिआएको पाल्पा भगवती जात्रामा राष्ट्रियता खामिएको छ। त्यो गौरवमय इतिहास र राष्ट्रियतालाई अब क्यापिटलाइज गर्ने बेला भएको छ। साथै यसमा खामिएको मजबुन नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बेला भैसक्यो।
कम्पनी सरकारलाई परास्त गरी कायम गरिएको राष्ट्रियता, वीरता, धीरता र रणकौशलको इतिहास पनि भगवतीको रथयात्रासँग गाँसिएको छ।
दुई शताब्दीअघि, बलिया राष्ट्रले कमजोर राष्ट्रलाई मिच्ने जुन प्रवृति थियो आज पनि उस्तै छ। राष्ट्रलाई जोगाउन राष्ट्रिय भावना बोकेका मनहरू नभएका होइनन्। अब शतरंजका खेलाडीझैं सजक र सतर्क हुनु पर्ने बेला आएको छ। कर्णेल उजीरसिंह थापाको दलमुखी आँट, काजी वीरभञ्जन पाण्डेको सुझबुझ अनि सरदार सूर्य थापा, अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमादार भिमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानिया एवं जुठे बस्नेत लगायत पाँच सय नेपालीको रगत पसिनाले सिँचिएको गौरवमय इतिहास बोकेको श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको छ।
बिरालोको चिल्ला पञ्जाभित्र लुकेको तिखा नङ्ग्रा भए जस्तै बाहिरियाको दखल तीव्र भइरहेको बेला वीरता, धीरता, रणकौशल र रणआतंक प्रदर्शित गर्दै पहाडको कुनाकन्दरामा पनि राष्ट्रियता र वीरता बोकेका यस्तो शक्ति रहेछ भन्ने जुन सन्देश नेपालीले दिएका थिए, त्यसको गोडमेल गर्नु पर्दछ। राष्ट्रियताको जगेर्ना गर्ने श्रृंखलाको एउटा कडी आङ्ग्लोे–नेपाल वारमा विजयश्री समर सौन्दर्य हो। नेपालको विजयश्री पनि एउटा सुनौलो दस्तावेज हो।
कम्पनीले सन् १८५८ मा भारतीय साम्राज्यलाई एउटा मूल्यवान् उपहारका रुपमा ‘हर मैजेस्टी’ लाई बुझाउने निर्णय ग-यो। भारतमा ईष्ट इण्डिया कम्पनी शासनको अन्त्य र ब्रिटिस ताज शासनको स्थापना भयो। यसरी हेपाहा प्रवृत्तिले गर्दा व्यापारिक संस्थाबाट सम्पूर्ण भारतमा आधिपत्य कायम गरेको ‘इष्ट इण्डिया कम्पनी’ भूतकालको महाविस्मरण–सागरमा विलीन हुन पुग्यो। तर वीरता, धीरता, रणकौशल, राष्ट्रियता र राष्ट्रिय गौरवको गाथासँगै नेपाल, ‘नेपाल’ नै रहेकोे छ। राष्ट्रियताको कुरामा आकृष्ट हुनुमा आफ्नै ठाउँ छ। गन्तव्यमा पुग्नु मात्र लक्ष्य होइन्, किनभने राष्ट्रियताको आकर्षणले तान्नु, राष्ट्रियताका लागि तत्परता देखाउनु, त्यसका लागि तड्पिनु नै वास्तविक सुख हो।
अब रोमान्टिक नेसनालिजम् होइन,पोलिटिकल नेसनालिजम्को जगेर्ना गर्नु पर्छ।
प्रकाशित: ७ भाद्र २०७६ ०२:३२ शनिबार