जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले गत पुस २७ गते औपचारिक रूपमा एकता घोषणा गरेका थिए। त्यसपछि फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि दुवै पार्टी संयुक्त रूपमा सहभागी भएका थिए।
एकतासम्बन्धी कागजात निर्वाचन आयोगमा बुझाउँदा केही नेताको नाम दुवै पार्टीमा देखिएको भन्दै आयोगले स्पष्टिकरण तथा थप कागजात माग गरेको थियो। आवश्यक सबै प्रक्रिया पूरा गरी कागजात बुझाएपछि आयोगबाट आधिकारिक मान्यताको पत्र प्राप्त भएको पार्टीका नेता शैलेन्द्र साहले जानकारी दिए।
यसअघि भएको एकता प्रक्रियामा जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी भएका थिए। तर निर्वाचन आयोगले दिएको अन्तिम मान्यतामा ती दुई दल समावेश भएका छैनन्।
पार्टीका नेता सुरेन्द्र झा का अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल ले यसअघि नै पार्टी एकताबाट अलग भएको घोषणा गरिसकेका थिए। त्यस्तै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अझै कायम रहेकाले तत्काल एकता प्रक्रियामा समावेश गर्न नसकिएको उनले बताए।
उनका अनुसार एउटै व्यक्ति दुई वटा दलमा रहन नसक्ने कानुनी व्यवस्थाका कारण जनता प्रगतिशील पार्टीलाई हालको एकतामा समावेश नगराइएको हो। त्रिपाठीले आफ्नो पुरानो पार्टी खारेज गरेपछि उनलाई जसपा नेपालमा समावेश गराइने तयारी रहेको उनले बताए।
नेता साहका अनुसार निर्वाचन आयोगले जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको जानकारी संघीय संसद् सचिवालय तथा प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको छ। यससँगै प्रदेश तहमा पनि पार्टी एकीकरण प्रक्रियाले पूर्णता पाउने अपेक्षा गरिएको छ।
एकता प्रक्रिया टुङ्गिएसँगै जसपा नेपालको कार्यान्वयन समिति ५४ सदस्यीय बनेको छ। समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने अन्य सदस्यहरू कार्यसमितिमा समावेश छन्।
प्रकाशित: ३० वैशाख २०८३ १७:१० बुधबार





