सेवा प्रवाह केवल कार्यालयको कोठाभित्र सीमित हुँदैन भन्ने उदाहरण जिल्ला प्रशासन कार्यालय दैलेखले देखाएको छ । गम्भीर बिरामी भएर उपचाररत एक युवालाई प्रशासनले एम्बुलेन्समै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउँदै मानवीय सेवाको अनुभूति दिलाएको हो ।
नौमुले गाउँपालिका–२ घर भएका महेश थापामगर मेरुदण्डसम्बन्धी जटिल समस्याका कारण हाल प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छन् । उपचारका क्रममा आर्थिक सहयोग संकलन गर्न बैङ्क खाता खोल्नुपर्ने भएपछि नागरिकताको प्रतिलिपि अनिवार्य बनेको थियो । तर, शारीरिक अवस्था कमजोर भएका महेशलाई सामान्य प्रक्रिया पूरा गर्न समेत कठिन थियो । यही अवस्थालाई ध्यानमा राखेर महेशलाई एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेख ल्याइयो ।
कार्यालय पुगेपछि प्रशासनका कर्मचारीले आवश्यक प्रक्रिया पूरा गरेर स्वयं एम्बुलेन्समै पुगेका थिए । हस्ताक्षर गर्न समेत कठिनाइ भइरहेका बेला कर्मचारीहरूले सहज वातावरण बनाएर नागरिकताको प्रतिलिपि एम्वुलेन्समै हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले आर्थिक अवस्था कमजोर रहेका महेशलाई उपचार सहयोग जुटाउन बैङ्क खाता खोल्न आवश्यक परेकाले विशेष सहजीकरण गरिएको बताए ।
क्याप्सन ः जिल्ला प्रशासन कार्यालयका कर्मचारी एम्वुलेन्समै पुगेर नागरिकता दिदैं । तस्विर : नागरिक
प्रकाशित: ३० वैशाख २०८३ १६:५९ बुधबार





