६ कार्तिक २०७७ बिहीबार
अन्य

बनारस हुँदै लखनऊ

नेपाली समाजमा एउटा भनाइ छ, ‘न्याय हराए गोरखा जानु, विद्या हराए काशी जानु ।’ बनारसमा काशी विश्वनाथ मन्दिर र संस्कृत विश्वविद्यालय छ । त्यसैले काशी ज्ञानको भण्डार हो । तिर्थालुहरू धर्म कमाउन र पाप पखाल्न काशी यात्रा गर्छन् ।

बीचमा गंगा नदी, छेउछाउमा घाटहरू । २४ सै घण्टा शव जलाइरहेको दृश्य । साँझको आरती, गंगामा डुंगा सयर, गल्लीमा विश्वनाथ मन्दिर, भीडभाडयुक्त बजार आदि भारतको उत्तरप्रदेश राज्यअन्तर्गत वाराणसीको विशेषता ।  

सानैदेखि बनारसबारे सुन्दै आएको हुँ । हाम्रो परिवारका सदस्य संस्कृत पढ्न कि बनारस जान्थे कि त हरिद्वार । यसपाला नेपाल फाउन्डेसनले नेपाली र भारतीय धार्मिक पर्यटनलाई जोड्न नेपाली पत्रकारलाई बनारस घुमायो । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनु पनि हाम्रो भ्रमणको उद्देश्य थियो ।  

विश्वनाथ दर्शनपछि बनारसमा किनमेल गर्‍यौं । साथीहरूले श्रीमती र प्रेमिकाका लागि सारी, कुर्ती लगायत कपडा किने । मैले भने उपहार दिनुपर्ने कोही नभएकाले आफ्नै लागि मात्र एक जोर कुर्ती किनें ।

बनारस जान लागेको सुनेपछि पिताजीले गंगाको जल लिएर आउन भन्नुभयो । अनि हाम्रा विद्धान फुपाजुले जानकारी गराउनु भयो, ‘बनारसलाई विश्वनाथ त्रिशूलमा बसेका थलका रूपमा लिइन्छ । दशासमिर घाटमा स्नान गरेर भोलेशंकरमा जल चढाउने गरिन्छ ।’ त्यहाँको गगांमा डुबुल्की मारे पाप पखालिन्छ भन्ने पनि सुनियो । हाम्रो भ्रमण दलका एक सदस्यले ३ वर्षअघि सबै पाप पखालेको र पुनः पाप पखाल्न जान लागेको सुनाएपछि सबै  हाँस्यौं ।  

जुन १४ मा हाम्रो यात्रा सुरु भयो । साँझ ५ बजेको बुद्ध एयरको जहाजबाट हामी वाराणसी प्रस्थान गर्‍यौं । एक घण्टामा बनारस अवतरण गर्‍यौं । काठमाडौंको २८ डिग्री तापक्रमबाट एकैसाथ ४३ डिग्रीमा पुग्यौं । हाम्रो समूहमा नेपाल फाउन्डेशनका अध्यक्ष विकाशकुमार ठाकुर र हामी ६ जना पत्रकार थियौं ।  

हामी विमानस्थलबाट बनारस बजार पुग्यौं । त्यहाँबाट १५ मिनेट हिँडेर मुख्य घाट दशाश्वमेध पुग्यौं जहाँ आरती भइरहेको थियो । हामीले डुंगामा चढेर गंगामा सयर गर्‍यौं । एक घण्टा इन्जिनबाट चल्ने डुंगा चढेर दक्षिणबाट उत्तरसम्म रहेका सम्पूर्ण घाट अवलोकन गर्‍यौं । भर्खरै ‘मनिकर्णिकाः द क्वीन अफ झाँसी’ फिल्म हेरेकाले यसको नाम आउँदा मेरो ध्यान खिच्यो । तर, फिल्मको कहानीसँग यो घाटको सम्बन्ध देखिएन् । शिव र पार्वतीको सवारीका क्रममा पार्वतीको मणि खसेको र निरन्तर खोज्दा पनि नभेटिएपछि पार्वतीले मेरो मणि नभेटिएसम्म शव जलाउन नरोक्नु भन्ने श्राप दिएको र मणिकै नामबाट घाट नामाकरण गरिएको डुंगा चालकले सुनाए । यसैकारण २४ सै घण्टा शव जलाइँदो रहेछ ।

२४ सै घण्टा विद्युत, गंगाको नियमित सफाइ, फराकिलो सडक, काशी विश्वनाथ मन्दिरको स्तरोन्नति लगायतका काम प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका रहेछन् ।  

साँझ होटलको टुंगो लगाएर घुम्न निस्कियौं । साँघुरा सडक, निरन्तर बजिरहने सवारीको हर्न, खनखन पसिना बगाउने गर्मी, तिर्थालुको चहलपहल हेरेर फर्कियौं । रातभर जाग्राम थियो बनारस, हाम्रो ठमेलजस्तै ।

बिहान सबेरै उठेर पुनः दशाश्वमेध घाटमा पुग्यौं । दोस्रो दिनको योजना थियोः गंगा स्नान गर्ने, काशी विश्वनाथ दर्शन गर्ने अनि लखनउ जाने । हाम्रो भ्रमणको दोस्रो उद्देश्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने । उद्देश्य पूरा गर्न हामी युपीको राजधानी लखनउ जानुपथ्र्यो ।

गंगामा स्नान गरेर हामी काशी विश्वनाथ दर्शनका लागि प्रस्थान गर्‍यौं । साँघुरा  गल्ली, प्रहरीको पहरा, शिवरात्रीमा पशुपतिको जस्तै दर्शनार्थीको लाइन । गल्ली र प्रहरीको सुरक्षा घेरा पार गर्दै हाम्रो टोली प्रवेशद्वारमा पुग्यो । हाम्रो टोली नेता ठाकुरजीले स्थानीय एजेन्टमार्फत् प्रवेशद्वारमा उभिएका प्रहरीलाई केही रकम दिएर प्रवेशको व्यवस्था मिलाए । एजेन्टलाई ७ सय भारु लिए । उनले दुईदुई जना गरी हामीलाई प्रवेश गराएर भित्रको लाइनमा पुर्‍याए । भित्रको लाइनबाट हामी १० मिनेटमा मन्दिरको मुख्य भागमा पुग्यौं । हामीले लाइनमै फलफूल र दक्षिणा चढाएर बाहिरियौं । मन्दिर दर्शनपछि बजारमा किनमेल गर्‍यौं । साथीहरूले श्रीमती र प्रेमिकाका लागि बनारसी सारी, कुर्ती लगायत कपडा किने । आफूले भने उपहार दिनु पर्ने कोही नभएकाले आफ्नै लागि एक जोर कुर्ती किनें ।

दिउँसो लखनउ प्रस्थान गर्‍यौं । केन्द्रीय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने राज्यका प्रमुख तथा प्रधानमन्त्री मोदी निकटका मुख्यमन्त्री योगीसँग भेट हुने कुराले हामी उत्साहित थियौं । करिब ५ घण्टा स्थलमार्गको यात्रापछि हामी नवाबहरूको सहर लखनउ पुग्यौं । लखनउमा मुस्लिम राजा नवाब शासनको इतिहास र मुस्लिम समुदायको बाहुल्य छ ।

लखनउ पुग्दा रात परिसके पनि चारैतिर झिलिमिली थियो । व्यवस्थित सहर, फराकिला सडक, सडकको बीचमा साइकल तथा पैदलयात्रीको लेन, लहरै रुख, वारिपारि एकैनास भवनहरू, ठाउँठाउँमा फ्लाई ओभर, छिनछिनमा गुडिरहने रेलको दृश्यले मोहित बनायो । केही समयअघिसम्म विकासमा पछाडि परेको राज्य भनिने लखनउले तीव्र गतिमा फड्को मारेको देख्दा हाम्रो नेपालले पनि चाँडै आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्ने महसुस गरायो ।

अर्काे दिन विहानै हामी बलिउड फिल्ममा देख्दै आएको भुलभुलैया पुग्यौं, जुन पर्यटकको आकर्षणको केन्द्र रहेछ । लखनउका नवाब वजीर आसफुद्दौलाले सन् १७८० मा निर्माण गरेको भुलभलैया साँच्चै भुलाउने खालको रहेछ !

भुलभुलैयामा एकछिन भुलेर हामीले उत्तर प्रदेशको प्रगतिशील समाजवादी पार्टी (लोहिया) का युवा नेता दिपक मिश्रलाई उनकै निवासमा भेट्यौं । पुस्तकै पुस्तकले भरिएको निवासकै कार्यालयमा परिचय गर्दै उनले विपी कोइरालाले भारतको स्वतन्त्रता आन्दोलनमा योगदान दिएको चर्चा गरे । आफ्नो पार्टीका संस्थापक स्वर्गीय राममनोहर लोहियासँग पनि विपीले संगत गरेको सुनाए । उनको कोठामा नेपालको झण्डा पनि थियो ।

उत्तर प्रदेशको संसद (विधानसभा)को अवलोकनको प्रबन्ध पनि उनैले मिलाए । विधानसभाभित्र वरिष्ठ पत्रकारसँग भेटघाट, संसदका कर्मचारीसँगको भेटघाट तथा फोटो सेसनमै दिन वित्यो । साँझपख मिश्रले केही टेलिभिजन र पत्रिकाका कार्यालय अवलोकन गराए । यसक्रममा हामी अमरउजाला दैनिकको लखनउ कार्यालय पुग्यौं । यसको वितरण, न्युज उत्पादनको शैली, नेपाल भारत सम्बन्धमा प्रभाव पार्ने समाचारबारे सम्पादक र समाचार सम्पादकसँग छलफल पनि भयो । दुवैले सूचना आदानप्रदानमा जोड दिँदै दुई देशबीचको असमझदारी हटाउनु पर्नेमा जोड दिए ।  

त्यसअगाडि मिश्रकै समन्वयमा हामीले उत्तर प्रदेश (युपी) प्रेस क्लबका पदाधिकारीलाई भेटेर नेपाल–भारत सम्बन्ध र सञ्चारकर्मीको भूमिकाका विषयमा छलफल गरेका थियौं । अर्काे दिन हामीले भारतमा निकै चर्चाको विषय बनेको लखनउको डा. भीमराव अम्बेडकर सामाजिक परिवर्तनस्थल (हात्तीको पार्क) अवलोकन गर्‍यौं । जुन मायावतीको सरकारले ६ हजार करोड खर्चेर बनाएको थियो । पार्कको विशेषता भनेको हात्तीका मूर्ति रहेछन् । यसअगाडि हामीले हाम्रो बाग्मतीजस्तै उत्तर प्रदेशको व्यवस्थित गोमती नदी अवलोकन गरेका थियौं । नदी वारिपारि पार्क तथा रुख थिए । अम्बेडकर पार्कको अवलोकनमै झमक्क साँझ पर्‍यो ।

भोलिपल्ट साँझ ५ बजे मुख्यमन्त्री योगी आदित्यनाथले भेटको समय दिए । बिहान घुमेर दिउँसोदेखि हामीले मुख्यमन्त्रीसँग भेटको तयारी थाल्यौं । सबै नेपाली पोशाकमा जाने सल्लाह भयो । तर, सबैसँग नेपाली टोपी थिएन । विदेशी भूमिमा जाँदा नेपालको पहिचान झल्काउने ढाका टोपी बोक्नुपर्ने रहेछ भन्ने महसुस भयो । यसअघि विधानसभा भवनबाट फर्कँदै गर्दा पत्रकार साथी ज्ञानेन्द्र खड्काले लगाएको ढाका टोपी देखेर भारतीय नागरिकले ‘आप नेपालसे हे, क्या हाल है नेपालका ?’ भनेर सोधेको सम्झिएँ  

मुख्यमन्त्री भेट्न हामी तीन बजे लोक भवनतर्फ प्रस्थान गर्‍यौं । झण्डै ४ः३० मा मुख्य मन्त्री कार्यालयको ४ नम्बर गेटमा पुग्यौं । टोली नेता ठाकुरजी मुख्यमन्त्रीलाई दिन फूलको बुकी खोज्दै थिए, तर बाटोभरि कतै भेटिएन । मुख्य मन्त्री गेटमा पुगेपछि ठाकुरजीले म र पवन तिमल्सिनालाई बुकी खोजेर ल्याउन पठाए । २५ मिनेट बाँकी थियो, हामी टेम्पु चढेर निस्कियौं । टेम्पो चालकले पूरै बजार घुमाए, गल्लीगल्ली लगे तर भेटिएन । एकातिर बुकी नभेटिएको तनाव, अर्काेतिर ५ बजिसकेकाले मुख्य मन्त्रीसँगको भेट छुट्ने चिन्ताका बीच हामी रित्तै हात फर्कियौं ।

हाम्रो नाम गेट प्रशासनमा टिपाइएको रहेछ । केही छिनमै मुख्यमन्त्री कार्यालयका मुख्यसचिवले हामीलाई लिन दुई जना कर्मचारी पठाए । ७ ठाउँको चकिङ छिचोल्दै हामी वेटिङ रुममा पुग्यौं जहाँ हाम्रा साथीहरू थिए । एकछिनपछि भित्रबाट बोलावट भयो । इसाई धर्मका पादरीको टिम बाहिर निस्कियो । अनि हामी भित्र पस्यौं ।

सधै तस्बिरमा देख्दै आएका योगीसँग साक्षात्कार गर्न पाउँदा उत्साहित थियौं । हामीले नमस्कार गरेपछि मुख्यमन्त्रीले विनम्रतापूर्वक भने, ‘आपका बहुतबहुत स्वागत हे, कैसा रहा सफर ?’ हामीले ‘अच्छा’ भने पछि योगीले सोधे, ‘नेपालका हालचाल कैसा है ?’ हामीले ठिक छ भनेपछि हामीले आआफ्नो परिचय दियौं । केही अनौपचारिक कुराकानीपछि हामीले राजनीतिक स्थिरतापछि समृद्धिको अभियानमा अघि बढ्दै गरेको नेपालबारे तपाईको धारणा के हो भनेर सोध्यौं । जवाफमा आदित्यनाथले नेपालको सुख र समृद्धिको अभियानमा भारतको सदैव साथ रहने बताए । मुख्य मन्त्री योगीले साझा सांस्कृतिक विरासतले हरेक भारतीय र नेपालीलाई भावनात्मक रूपमा जोडेको उल्लेख गरे ।

नेपालबारे योगीसँग ठोक्किने अर्काे प्रश्न हो, हिन्दू राष्ट्र । यो प्रश्नमा योगीले खुलेर कुरा गरे । उनले हिन्दू राष्ट्र भए नेपालले धार्मिक पर्यटन प्रवद्र्धन गर्नसक्ने र समृद्ध नेपालको अभियानमा मद्दत पुग्ने बताए । हिन्दू राष्ट्र हुँदा नेपालले विश्वका सय करोड हिन्दूको तागत प्रयोग गर्न सक्ने उनको भनाइ थियो । उनले नेपालको धार्मिक पर्यटनसँग जोडिने गरी बस सञ्चालन गर्ने पनि सुनाए । नेपालको पशुपतिनाथ र उत्तर प्रदेशको गोरखपुर पीठबीच अन्यान्योश्रित सम्बन्ध रहेको भन्दै उनले गोरखपुर–काठमाडौं बस सञ्चालन गर्न लागेको जानकारी दिए ।

अर्काे प्रश्न उठ्यो नेपाल भारत सीमा समस्याबारे । नेपालको कञ्चनपुर, कैलाली, बाँके, बर्दियासम्म सीमा जोडिएको उत्तर प्रदेशका मुख्य मन्त्री भएकाले पनि उनले सीमा समस्याको प्रश्नको सामना पनि नेपालीबाट गर्नैपथ्र्यो । योगीले आफू मुख्यमन्त्री हुनेबित्तिकै सीमा क्षेत्रमा नेपाली नागरिकलाई दुःख दिने गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको जानकारी गराउँदै उनले आवतजावत व्यवस्थित बनाउन आफैं सीमा निरीक्षणमा जान लागेको बताए ।

उनले सीमामा दुबै देशको भन्सार व्यवस्थित बनाउन केन्द्र सरकारसँग कुरा गरेको पनि जानकारी गराए । नेपालको हितमा भारत रहेको भन्दै योगीले कुरो टुंग्याए ।

त्यसपश्चात हाम्रो टोलीका सदस्यलाई मुख्यमन्त्री योगीले खादा र उत्तर प्रदेशको मायाको चिनो दिएर बिदाइ गरे । मन प्रफुल्ल बनाउँदै हामी बाहिर निस्कियौं । एकछिन मुख्यसचिवको कार्यकक्षमा छलफल गर्‍यौं । होटल पुगेपछि यात्राको समीक्षा भयो । भ्रमण सफल भएको निष्कर्षसहित हाम्रो टोली स्वदेश फर्कियो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App