प्रकृतिप्रेमी समूहले असार २८ गते मणिचुड हाइकिङको योजना बनाएको थियो। तर मनसुनको सुरुवातसँगै लगातार परेको पानीका कारण र ठाउँठाउँमा बाटो बिग्रेकाले हामी रुट परिवर्तन गरेर त्यो दिन नागदह पुग्यौं। त्यहाँबाट झरुवाराशीको झरना, सन्तानेश्वर महादेव र बज्रबाराहीसम्म पदयात्रा ग¥यौं। मनसुन यात्रामा धेरै किसिमको अनुभव ग-यौं।
नागदह
शान्त तलाउ। किनारमा रेस्टुराँ। तलाउमा डुंगा। दहको छेउछाउमा हरिया पातहरूको बीचबाट आफ्नो सौन्दर्य देखाउँदै फुलेका सेता कमलहरू। कमलको फूल हिलोको दलदलमा फुलेर पनि सुवास छर्छ। कति सुन्दर दृश्य !
धापाखेल, ललितपुरको प्रख्यात धार्मिक पर्यटकीयस्थलमा पर्छ नागदह। करिब ५२ रोपनीमा फैलिएको दह। चारकुने दह (१,३५० मिटर)को गहिराइ करिब १५ फिट छ। दहको बीचमा गहिरो र दलदल छ। पानी बीचमा सोली आकारमा गोलोगोलो घुमेर गहिराइसम्म जान्छ।
दहको दक्षिणी कुनामा पानी भक्भक गरेको देखिन्छ जसलाई पानीको मुहान मानिन्छ भने दहको पानी पूर्व–दक्षिण कुनाबाट पाँच सय मिटर टाढा मालीगाउँ पुग्छ। जहाँ दुइटा पोखरी छन् जसलाई दहको आँखा मानिन्छ। त्यसैले ती साना दहहरूलाई आँखी दह भनिन्छ। त्यहीँ पानी निकास हुने विश्वास छ।
नागदहका विषयमा किंवदन्ती छन्। किंवदन्तीअनुसार परापूर्वकालमा काठमाडौं उपत्यकामा तलाउ थियो। मञ्जुश्रीले चोभारको गल्छी काटेर पानी निकास गर्दा तलाउका नाग यही दहमा आए। नागको बास भएकाले नागदह भनियो। मञ्जुश्रीले टौदह बनाएर कर्कट नागलाई बसाए भने नागदहमा नागका राजा वासुकीको बास छ भनिन्छ। त्यसैगरी उहिल्यै परापूर्व कालमा दह वरपरका बासिन्दालाई भोजका बेला नागदहले आवश्यक भाँडावर्तन दिन्थ्यो रे ! काम सकेपछि सामान सफा गरी फर्काइदिनुपथ्र्यो। तर, एक दिन लोभी मान्छेले सबै सामान फर्काइदिएन। त्यही बेलादेखि दहले भाँडा दिन छाडेको कथा गाउँका अग्रज सुनाउँछन्।
दह वरपर खेतीयोग्य फाँट छ। दहको पानी सिँचाइका लागि प्रयोग गरिन्छ। यहाँ दैवीशक्ति भएको विश्वास गरिन्छ। दहको उत्तर मोहोडामा वासुकी नाग र सप्तऋषिको मन्दिर छ। तीजमा सप्तऋषि मन्दिरमा मेला लाग्छ भने नागपञ्चमीमा वासुकि थानमा। अचेल डुंगा चलाउने सुविधा भएकाले बिदाका दिन मेलाजस्तै लाग्छ दहमा। लाइफ ज्याकेटसहित प्याडल डुंगा चढ्न पाइन्छ। डुंगा चढेर दह परिक्रमा गर्दा फेवातालकै झल्को मिल्छ। हरियाली र शान्त वातावरण भएको दहमा सजिलै दिन बिताउन सकिन्छ। किनारका रेस्टुरेन्टमा बसेर घन्टौं दहको सौन्दर्यमा डुबुल्की मार्न मिल्छ। दह किनारैकिनार हिँडेर फन्को मार्न आधादेखि एक घन्टा लाग्छ भने डुंगामा घुम्न पनि रमाइलो हुन्छ।
साउन–भदौमा दहमा कमल फुल्छन्। जाडोमा साइबेरियादेखिका चरा आउँछन्। बर्ड वाचिङ र फिसिङ पनि गर्न मिल्छ। यहाँ धेरैथरीका माछा छन्। झिँगे, माहुर, हिले लगायतका माछा।
मनसुनमा पनि सजिलै पदयात्रा गर्न सकिने गन्तव्यहरू हुन् नागदह, झरुवाराशी, बज्रबाराही, सन्तानेश्वर। १४ किमि यात्रामा प्रकृति र संस्कृतिको अनुपम संगम भेटिन्छ।
हाल दहको दक्षिणतिर फन पार्क बन्दै। त्यसैगरी होमस्टे संचालनका लागि पनि पुराना शैलीका घरहरू बनाउन लागेको नागदह संरक्षण समितिका अध्यक्ष सलाम तामाङ बताउँछन्। होमस्टे र फन पार्क संचालन भएपछि नागदहमा चहलपहल बढ्ने छ। धापाखेलको दहलाई अझै सुधार गर्दै व्यबस्थित तरिकाले डुंगा सुविधा राखेर चलाउन सके काठमाडौको नागदह फेवाताल बन्न सक्छ। यसका लागि धापाखेलबासीले सम्बधित निकायसँग सहकार्य गर्दै अगाडि बढ्नु पर्छ।
दहबाट हाइकिङ, बाइकिङ र साइक्लिङ गर्न सकिन्छ। दहबाट दुई किमी दुरीको सन्तानेश्वर र त्यहाँबाट २ किमी दुरीको बज्रबाराहीमा हाइकिङ गर्न सकिन्छ।
झरुवारासी झरना
पानीको कलकल आवाज, खोंचबाट बगेका ३ वटा भरना। तीनैवटै झरना एकै ठाउँमा मिसिएर खोलाको रुप लिन्छ–कर्मणसा खोलाका रूपमा। मनसुनमा झरना झनै सुन्दर देखिन्छन्। पृथ्वीको पञ्च महाभूत मध्येको एक हो पानी। यसको सुन्दरतामा नरम्ने कमै होलान् ! प्रकृतिको यो सुन्दर सृष्टिले ल्याउने विनास रोक्न भने गाह्रो हुन्छ।
लगातार बर्षात्का कारण देशका विभिन्न भागमा यसले निम्त्याएको विनाशका समाचार सामाजिक संजालमा पोष्ट हुँदै थिए। पहाड, तराई र काठमाडौंमा पनि बाढी पहिरोले धेरै क्षति भएको थियो। हरेक वर्ष मनसुनमा यस्तै धनजन र मानवीय क्षति हुन्छ। प्राकृतिक प्रकोपलाई त हामी रोक्न सक्दैनौ तर यसले निम्त्याउने समस्यालाई भने न्यूनीकरण गर्न सकिन्छ। यसमा नागरिक र सरकार मिलेर लाग्नु पर्छ। बर्सेनि मनसुन आउँछ। आउनु अगाडि नै सावधानी अपनाउनु पर्छ। खोलाहरूलाई व्यवस्थित गर्ने, खोलालाई नमिची बस्ती बनाउने गर्नुपर्ने देखिन्छ। नभए हरेक वर्ष यस्तै क्षति हुन्छ।
यस्तै सोच्दै झरुवारासीको झरनाको गडगडाहट आवाज र कर्मणसा खोलाको शक्ति हेर्दै थिएँ। यहाँको पानीलाई पनि खाने पानी र सिंचाइमा प्रयोग गर्न सकिन्छ। तर अहिले पानी अव्यवस्थित छ। झरुवारासीको झरनामा म पहिलो पटक पुगेकी थिएँ। पानी बर्षैभरि बग्छ। मनसुनमा भने अलिक ठूलो बग्छ। कस्तो अचम्म ! ललितपुरको धापाखेलमै जन्मेकी म आज पहिलो पटक आफ्नै ठाउँमा रहेको झरनामा पुगें। सुन्दर झरना। तर यसको बारेमा धेरै कमलाई मात्र थाहा छ। मनसुनमा झरनाको सौन्दर्य हेर्न युवा आउँछन्। फोटा खिच्न तलसम्म पुग्छन् जुन खतरापूर्ण छ। झरना क्षेत्रको सरक्षण गरि वरपर तारबार गर्नुपर्ने देखिन्छ। साथै आगन्तुकहरू बसेर हेर्न मिल्ने मेच व्यवस्था गरेमा झरना ललितपुरको शान बन्न सक्छ। यसमा जनप्रतिनिधिले पहल गर्नु पर्छ। झरनाको मूल बडिखेलको ग्वालिन दहबाट आउँदो रहेछ। भरनाबाट करिब १ किमी दुरीमा छन् सन्तानेश्वर महादेव।
रामदेवी महर्जन
हरियाली जंगल बीचमा छ सन्तानेश्वर महादेव। स्वस्थानी व्रतकथाअनुसार यहाँ सतिदेवीको उपल्लो ओठ पतन भएको मानिन्छ। शिवका १०८ पिठमध्ये पशुपतिनाथपछि उपत्यकाको दोस्रो शिवभूमिका रूपमा सन्तानेश्वर पर्छ। सन्तान नभएकाहरूले शुद्ध मनले सन्तानेश्वरको प्रार्थना गरे सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास छ।
झरुवाराशी (१,५५० मिटर)को साँधमा पर्ने सन्तानेश्वर ललितपुरको प्रख्यात धार्मिक पर्यटकीय गन्तव्यमा पर्छ। १५० रोपनीमा फैलिएको डाँडा सामुदायिक वनमा पर्छ। सन्तानेश्वर महादेव रहेको डाँडा शिवलिंग आकारको छ। मन्दिरमा प्राकृतिक पत्थरको मूर्तिलाई नै महादेवका रूपमा पूजा गरिन्छ। सधैं जलधारामार्फत् महादेवलाई स्नान गराइन्छ।
तीन तले प्यागोडा शैलीको मन्दिरको पूर्वपट्टि बासुकी नाग, नवदूर्गा, ६४ शिवलिंग र गुप्तेश्वरका मूर्ति छन्। मन्दिर पर्खालका भित्तामा गणेश, सरस्वती, भगवती र विष्णुका चार धाम पनि छन्। उपत्यकाको दोस्रो पशुपतिनाथका रुपमा यसको विकास गरिँदैछ।
माघमा मेला लाग्ने हुनाले पश्चिमपट्टि स्वस्थानीदेवि र अष्टमातृकाको मूर्ति बनाइएको छ। त्यसैगरी उत्तरतिर ठूलो घण्ट (४५० किलो तौल) बनाइएको छ। सन्तानेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खड्काका अनुसार ससाना घण्ट चढाउँदा यत्रतत्र रहने र हराउने भएकाले घण्ट दान गर्न चाहनेसँग सहयोग लिएर सबैको सहयोगमा मूल घण्ट बनाइएको हो। घण्ट नजिकै २१ फिट अग्लो त्रिशूल पनि छ।
धार्मिक गन्तव्यसँगै प्रकृतिको सुन्दर भुगोल पनि हो सन्तानेश्वर क्षेत्र। त्यहाँबाट महादेव दर्शनसँगै हिमाल, काठमाडौं, भक्तपुर र ललितपुरको दृश्यावलोकन गर्न सकिन्छ भने हिउँदमा सेता हिमालको लर्कन देखिन्छ। सन्तानेश्वरको पूर्वमा विशंखुनारायण, पश्चिममा नागदह, उत्तरमा ठैब स्वेत बाराही र दक्षिणमा फूल्चोकी माई पर्छन। मन्दिरमा शिवरात्री, साउन र माघभर मेला लाग्छ भने हरेक सोमबार भक्तजनको भीड हुन्छ।
मन्दिर हातामा रुद्राक्ष, वरपिपल जस्ता रुख रोपिएका छन्। यहाँको समितिले मन्दिर संरक्षण गर्दै समयसमयमा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ। मन्दिर वरपर पाहुना घर बनाइएको छ। सफा छ धर्मशाला पनि। टाढाबाट आएका धार्मिक पर्यटकलाई बास दिइन्छ। एकै रात करिब ४० जना बस्न सक्छन्। बास बसेपछि स्वेच्छाले चन्दा दान गर्न सकिन्छ। खानाका लागि भने मन्दिर मुनिका पसलाई खबर गर्नुपर्छ। मन्दिर क्षेत्रलाई सुधार गर्न र यहाँका भौतिक विकास गर्न मन्दिरबाट संकलन भएको भेटी प्रयोग भएको छ। सरकारी निकायबाट भने न्यून सहयोग मात्र मिलेको खड्का बताउँछन्।
मन्दिर प्रबेश गर्ने ३ ढोका छन्। पश्चिम मोहडा, उत्तर र पूर्व मोहडा। सबैतिर सिँढी बनाइएको छ। पश्चिमबाट चढ्ने बाटोको १२ मोहोडा छन्। ती मोहोडामा १२ महिनाका फल र मौसमअनुसारका फूल रोप्ने योजना छ। यसो गर्दा तिर्थालुहरूले यहीँको फुल र फल टिपेर महादेवलाई चढाउन पाउँछन्।
बज्रबाराही
ललितपुरको चापागाउँमा पर्ने बज्रबाराही प्रख्यात धार्मिकस्थल। उपत्यकाका चार बाराही मध्ये सबैभन्दा प्रख्यात बाराही। हरियाली जंगलमा छ मन्दिरमा। अचम्म दुई तले मन्दिरमा गजुर छैन। राजा श्रीनिवास मल्लले नेपाल संवत् ७८६ मा गजुररहित प्यागोडा शैलीको मन्दिर बनाएका। गजुर नराखेको बिषयमा एउटा भनाइ छ। एकै रातमा मन्दिर बनाइएको हो। किंवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो। एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो। त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो। मन्दिर बनाउँदाबनाउँदै गजुर हाल्न नभ्याउँदै बिहान भाले बास्यो।
बज्रबाराहीलाई राजभण्डारी, रिमाल र मुडुला कार्की लगायतले कुल देवताका रूपमा पुज्छन्। बज्रबाराही परिसरमा नवदुर्गाका मूर्ति पनि छन्। त्यहाँको जंगलमा पिकनिक स्पट बनाइएको छ। तिर्थालु र पर्यटक वनभोज खान्छन्।
बज्रबाराहीलाई व्यवस्थित बनाउनु पर्ने देखिन्छ। शिशा र प्लाष्टिक लगायत फोहोर व्यवस्थानमा ध्यान दिनु जरुरी छ। ‘मन्दिर क्षेत्रमा बाँदरहरूले आतंक मच्चाउँछन्’, स्थानीय कलाकार शुरेम देशार भन्छन्, ‘बाँदरको व्यवस्थापन चुनौति बनेको छ। ’
लगनखेलबाट ८ किमि दुरीमा रहेको चापागाउँको आफ्नै कथा छ। पहिला यहाँ चाँपका रुख थिए। चाँप गाउँ भन्दाभन्दै चापागाउँ भएको भनाइ छ। यसलाई चम्मापुर र वाद्ेय पनि भनिन्छ। चापागाउँ धान खेतीका लागि पनि प्रख्यात छ। गाउँमा चम्मापुर देवीको मन्दिर पनि छ।
चापागाउँको पूर्वमा बडिखेल, पश्चिममा छम्पी, उत्तरमा ठेचो र झरुवारासी पर्छन् भने दक्षिणमा लेले। चापागाउँ बुलुका नेवार जातिले चैत्र पूर्णिमाका दिन बज्रबाराहीको मूर्ति खटमा राखी जात्रा मनाउँछन भने प्याङ गाउँका नेवारले भाद्र पूर्णिमाका दिन कालेश्वर महादेवको जात्रा।
इतिहास बोकेको गाउँ–प्याङ गाउँ। प्याङ गाउँ बाँसबाट बनाइने मानापाथिका लागि प्रख्यात छ। नेवार समुदायले बाँसबाट मानापाथि बनाउँथे। अहिले केही घरले मात्र त्यस्ता मानापाथी बनाउँछन्। त्यसैले यसलाई सिल्पग्राम पनि भनिन्छ। गाउँमा खान, बस्न सुविधायुक्त होटल तथा रेस्टुरेन्ट खोल्न सके राम्रो हुन्छ।
प्याङगाउँमा महादेव र चन्द्रभैरव मन्दिर पनि छन्। चापागाउँ क्षेत्रमा नेवार, बाहुन, क्षेत्री, तामाङ र दलित समुदायको बसोबास छ।
हामीले बज्रबाराहीमा बसेर हामीले तीन बराबर खाजा खायौं र केही समय अन्तरक्रिया गरेर नागदह, नागदहमा बनिदै गरेको फनपार्क हुँदै तीनकुनेसम्म एउटा सेल पकायौं। अहिले हाइकिङ प्रख्यात भएको छ। हिँड्दा स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने सबैलाई थाहा छ। बालकदेखि वृद्धहरू हरेक हप्ता हाइकिङमा निस्केको देखिन्छ। तर, स्वास्थ्यका लागि गरिने यात्रामा जथाभावी हिँड्ने र मनपरी खाने गरेको पाइन्छ। यसरी हिँड्दा स्वास्थ्यलाई जति लाभ हुनुपर्ने हुँदैन।
प्रकृतिप्रेमी समूहले हरेक महिनाको चौंथो शनिबार स्वास्थ्यका लागि पदयात्रा गराउँदै आएको छ। हाम्रो समूहसँग पदयात्रा गर्दा घुमघामका साथै स्वस्थ हुने ज्ञान पनि सिक्न पाइन्छ।
ललितपुरका यी सुन्दर गन्तव्यहरूमा हामी त पुग्यौं। तपाईहरू पनि झरुवारासीको सुन्दरता हेर्दै नागदह, सन्तानेश्वर र बज्रबाराहीको शीतल वातावरणमा घुम्ने कि ! कसरी पुग्ने ः ललितपुरको लगनखेलबाट सातदोबाटो हुँदै धापाखेल तीनकुने पोखरीसम्म गाडीमा करिब ६ किमी। त्यहाँबाट पूर्व बाटो हुँदै नागदह पुग्ने। नागदहबाट भरुवारासी झरना, सन्तानेश्वर, बज्रबाराही हुँदै नागदह तीनकुनेसम्म पदयात्रा। तीनकुने– नागदह १ किमी, नागदह– झरना ३ किमी, झरना– सन्तानेश्वर १ किमी, सन्तानेश्वर–बज्रबाराही २ किमी, बज्रबाराही –नागदह ४ किमी। तीनकुनेबाट पदयात्रा सुरु र अन्त्य गर्ने। जम्मा पदयात्रा दुरी ११ किमि। समय ः ५ घन्टा। गाडी सबैतिर पुग्छ।
जन बोली
सलाम तामाङ नागदह संरक्षण समितीका अध्यक्ष हुनुहुन्छ। उहाँको जन्म घर काभ्रे, धापाखेलमा बसोबास गरेको २० बर्ष भयो। ‘हामीले नागदहलाई पर्यटकीयस्थलका रूपमा चिनाउन केही योजना बनाएका छौ। नागदह जाने बाटो तीनकुनेदेखि नागदहसम्म विजुलीका खम्बा गाडेर बत्ती राख्ने काम गर्दै छौं’, सलाम भन्नुहुन्छ, ‘बालबालिकाका लागि फनपार्क बनाउँदै छौं। ५ बर्षमा स्विमिङ पुल पनि बनाउने छौं। ’
...
विनोद खड्का सन्तानेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष हुनुहुन्छ। अहिले खानेपानी कमी छ। ‘हामी वर्षात्को पानी संकलन गरेर त्यसलाई बगैंचामा सिंचाइ र खानेपानीमा उपयोग गर्ने योजनामा छौं’, विनोद भन्नुहुन्छ, ‘त्यसैगरी तिर्थालुलाई सजिलो बनाउन सन्तानेश्वर बसपार्कबाट डाँडाको फन्को लगाएर मन्दिरमा ओराल्ने मनोरेल चलाउने योजनामा छौ। ’
...
सुरेम देशार वादे कला स्टुडियोका अध्यक्ष हुनुहुन्छ। उहाँ चित्रकलामार्फत् बज्रबाराही क्षेत्रको प्रवद्र्धनमा जुटिरहनु भएको छ। ‘बज्रबाराही मन्दिर ललितपुरको शान हो। यसको सफाइ, पिकनिक स्पटहरूमा सुधार र खानेपानी व्यवस्थापन गरेर अझै व्यवस्थित बनाउने योजना छ’, शुरेम भन्नुहुन्छ, ‘हामी बडादशैंका बेला हरेक वर्ष बज्रबाराही हातामा चित्रकला प्रदर्शनी गर्दै आएका छौं। ’
प्रकाशित: २५ श्रावण २०७६ ०४:१३ शनिबार