१ श्रावण २०७७ बिहीबार
अन्य

मनको छटपटाहट

मान्छेको मन अचम्मको हुन्छ। मन नभइदिँदो हो त कस्तो हुँदो हो जिन्दगी। मन छ र पो आशा, निराशा, पिर, व्यथा, मायाप्रेम सबैको अर्थ खोज्न थाल्छ मान्छे। सबै चिजको महत्व बुझ्न थाल्छ। यही मन हो कतै पग्लिन्छ। कतै डराउँछ। कतै हराउँछ। कतै विद्रोह गर्छ। कतै आज्ञाकारी बन्छ। हरेक अवस्थामा देखिन्छ मन।

त्यही मनको कारण कवि श्याम संकल्प यतिखेर देखा परेका छन् मुक्तककारका रूपमा। लामो समयदेखि साहित्यिक यात्रामा निरन्तर लागेका उनी २/४ वर्ष एकाएक हराए साहित्यिक माहोलबाट। त्यसरी हराउनुको कारण थियो– भूकम्पले बोकाएको पीडाको भारी। मनभरि पीडा बोकेर, सम्झनाको पछ्यौरी ओढेर टोलाइरहे एकान्तमा। स्रष्टा मन कहाँ सक्थ्यो र लामो समयसम्म चुपचाप बसिरहन। परिणामस्वरूप तयार भयो उनको मुक्तकसंग्रह– फाटेको मन। उसो त उनी बूढानिलकण्ठ क्षेत्रमा साहित्यिक अभियन्ताका रूपमा समेत चिनिन्छन्। उनको मुक्तकसंग्रह पठनीय छ, जसमा ६०५ मुक्तक छन्।

वागद्वार साहित्य समाजका अध्यक्ष उनी कुशल शिक्षक पनि हुन्। चार पंक्तिमा सजिएका मुक्तकहरूको आफ्नै विशेषता छ। छुट्टै महत्व छ। भावको गहिराइमा पौडिन खोजेका छन् उनी। आफूले भोगिरहेको समयको आवाज बोकेका छन् मुक्तकमा। सुसेलेका छन् पीडाका सुस्केराहरू, विडम्बनाका स्वरहरू र कतैकतै बजाएका छन् विद्रोहको नरसिंहा :
अचेल बस्ने कुनै ठाउँ छैन
शान्तमय कुनै गाउँ छैन
सबै स्वार्थी र लाचारी यहाँ
सम्झनुलायक कुनै नाउँ छैन

यो मान्छेमा मानवता हराउँदै गइरहेको समयको उद्घोष हो। समाज देश र परिस्थितिप्रतिको व्यंग्य पनि। नैतिकताको खडेरी परिरहेकामा एक प्रकारको चिन्ता पनि हो। यति हुँदाहुँदै पनि उनका मुक्तकभित्र समर्पण छ। आग्रह छ। आशा छ। भरोशा छ  र त भन्छन् :
श्रद्धाले शीर झुकाइ रहेछु
मनका व्यथा फुकाइरहेछु
तिम्रै भरोसामा बाँचेर
पीडा मनभित्र लुकाइरहेछु

मुक्तकसंग्रहमा कतै शिवपुरीकै डाँडातिर उक्लिरहेका जन्तीका सुन्दर पदचाप जस्ता आशा, भरोशा र चेतनाका लस्कर छन्। कतै भूकम्पको चपेटामा परेर जर्जर बनेको बस्तीझैं वियोगका चिरा छन् भने कतै विसंगति, व्यंग्य र रहस्यका पाटाहरू  :
कोही रमिते बने रे
कसैले खाडल खने रे
व्यभिचारी मानिसहरूले
भन्नुनभन्नु भने रे

उनी लेख्छन्, ‘मान्छे समृद्धि चाहन्छ। सुन्दरता खोज्छ। हाँस्न–हँसाउन खोज्छ। तर, यी सब हुन सक्दैन। तर पनि प्रयासरत हुन्छ। जब चित्त दुख्छ, छटपटिन्छ साहित्यिक मन।’

श्याम संकल्पको मनको छटपटाहट हो यो कृति। उसो त हरेक स्रष्टाको छटपटाहटले कहीँ न कहीँ बाटो खोज्छ। त्यो सृजनाको बाटो हो। सृजनशील मन चुप लागेर बस्न सक्दैन। पोखिन्छ कतै कविता बनेर कतै गीत बनेर त कतै मुक्तक बनेर। कतै कथा, निबन्ध, नियात्रा र उपन्यास बनेर। खेती गरिरहन्छ तिनै अक्षरहरूको। मितेरी लगाउँछ तिनै अक्षरहरूसँग। भावनाहरु उकुसमुकुस हुन थाल्दा कोरिन्छ ऊ शब्दशब्दमा। संकल्पले पनि शब्दका सहाराले समाज कोरेका छन्। विकृति र विसंगति कोरेका छन्। र, कोरेका छन् मनको सुन्दर पाटो यसै कृतिमार्फत्।

मुक्तकसंग्रह रोचक कृति बनेको छ। पाठकलाई छुने कृति बनेको छ। यति हुँदाहुँदै पनि कतैकतै भड्किएका छन् मुक्तककार। कुनै ठाउँमा जबरजस्त अनुप्रास मिलाउन खोजे जस्तो देखिन्छ। उनको मुक्तक शील्प अरूको भन्दा पृथक र सुन्दर देखिन्छ। तर, कहीँ कतै केही सुधार गर्नु पर्ने ठाउँ पनि देखिन्छन् कृतिमा।

प्रकाशित: २८ असार २०७६ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App