८ वैशाख २०८१ शनिबार
अन्य

खोसिँदैछ बालबालिकाकोे अधिकार

इटहरी– खोटाङ चिसापानी घर भएका ११ वर्षे विष्ट थरका बालकले तीन वर्षअघि गाईघाटको सरस्वती इंलिस बोर्डिङबाट कक्षा ४ उत्तीर्ण गरे। त्यसपछि कक्षा ५ मा भर्ना हुन नपाइकन उनको पढाइमा पूर्णविराम लाग्यो। उनका बाबुले चासो लिएनन्, आमाले दोस्रो विवाह गरिन्। जसले गर्दा उनको पढाइमा पूर्णविराम लागेको हो।

ती बालकका बाबुले एकपछि अर्को गर्दै पाँच जना विवाह गरेको सुनाए। ‘मलाई होटेलमा राखेर पढाउँदै आए पनि बाबुले पाँच जनासम्म विवाह गरेपछि आमाले पनि दोस्रो विवाह गरेकाले गर्दा पढ्ने अवस्था नै भएन,’ उनले भने, ‘त्यसपछि बोर्डिङ स्कुलबाट निस्किएर म बेल्टार गएँ। बेल्टारमा केही महिना होटलमा काम गरेँ।’ होटलमा काम गर्दा खाना र बस्नबाहेक उनले केही सुविधा नपाएको बताए।

‘बेल्टारबाट फत्तेपुर अनि सुनसरीको तरहरा हुँदै इनरुवामा पनि होटलमा काम गर्न भ्याएँ,’ उनले भने। उनलाई भ्वाइस अफ द चिल्ड्रेन संस्थाले सञ्चालन गरेको बाल हेल्पलाइनले दुई साताअघि होटलबाट उद्धार गरी संरक्षण प्रदान गर्दै आएको छ। ‘मैले घर छाडेर हिँडेको चार वर्ष भइसक्यो, आफन्त कसैसँग सम्पर्कमा छुइनँ,’ उनले पीडा सुनाउँदै भने, ‘सुरु–सुरुमा एक–दुईपटक मावली घर गएको त्यहाँबाट खेदाए।’

उनका अनुसार, खोटाङ चिसापानीमै काकाको घर छ। तर, त्यहाँ जान उनलाई पिटिक्कै मन छैन। ‘सबैभन्दा नजिकको काका भए पनि त्यहाँ पनि जान मन लाग्दैन,’ उनले पीडा सुनाउँदै भने, ‘आमाले त तीन महिनाको हुँदै छाडेर गएको रे, केही थाहा छैन।’

बाबुआमाका कारण उनको स्वतन्त्र बाँच्न पाउने अधिकार खोसिएको छ। अब के गर्ने त? भनेर नागरिक संवाददाताले सोधेको प्रश्नमा उनी भन्छन्, ‘अब इनरुवामा ठूलोममीको घर छ, त्यहाँ पढाइदिने भनेकाले पढाइ दिए त्यही बस्ने सोच बनाएको छु।’

परिवारमा उचित वातावरणको अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा सहाराविहीन हुने बालबालिकाको संख्या बढिरहेको पाइन्छ। बाबुआमाले उचित हेरचाह नगर्दा धेरै बालबालिका बिना पारिश्रमिक काम गरिरहेको अवस्था पनि छ। बिना पारिश्रमिक काम गर्ने बालबालिकाको अवस्था भयावह छ। ‘होटलमा काम गर्दा मसँग एउटा साउण्ड सिस्टम थियो, त्यो पनि मालिकले कब्जा गरे,’ विष्ट थरका ती बालकले पीडा सुनाउँदै भने।

आफ्ना अभिभावकको संरक्षकत्व, सामीप्यता र स्याहारबाट समेत पूर्णतः वञ्चित हुनेमा धनकुटा घर भएका १३ वर्षे परियार थरका बालक पनि पर्छन्। उनका बाबु भूपाल दर्जी बालिकालाई जबरजस्ती करणी गरेकोमा कैद सजाय भोगिरहेका छन्। कैद सजाय भोगेको दस वर्ष बितिसक्यो।

बाबुको कैद सजायको फैसला भएपछि आमाले दमक घर भएका पुरुषसँग दोस्रो विवाह गरिन्। अनि, ती बालक सहाराविहीन भए। उनले नर्सरी कक्षाबाहेक अन्य तहको पढाइलाई अघि बढाउन सकेका छैनन्। बाबुआमा दुवै जना नभएपछि उनी सडकमै यत्रतत्र भौतारिएर जीवन बिताउन थाले। अहिले उनलाई पनि बालबालिकाको हितमा कार्यरत संस्थाले संरक्षण गरेर राखेको छ।

उनले बालहितमा कार्यरत संस्थाको संरक्षणमा आएपछि न्यूनतम् जीवनका आवश्यकताहरू पूरा गर्ने अवसर पाएका छन्। तर, शिक्षा आर्जन गर्नका लागि विद्यालय भने भर्ना भइसकेका छैनन्।

मोरङ कानेपोखरी घर भएका १४ वर्षे दर्जी थरका बालकका पनि बाबु सम्पर्कविहीन छन्। आमाले दोस्रो विवाह गरिसकेकी छन्। बाबुआमाका कारण उनले पनि पढाइ त्यागे अनि यत्रतत्र सडकमा डुल्न थाले। केही समयअघि दमक नगरपालिका क्षेत्रमा उनले चोरी गरे। प्रहरीले पक्राउ ग-यो। पछि उनलाई बाल हेल्पलाइन इटहरीमा बुझाएर संरक्षण गरिएको छ। दमककी उपप्रमुख गीता अधिकारीले ती बालकलाई संरक्षणका लागि जिम्मा लगाएकी हुन्। बालक दर्जीले भने, ‘सडकमा बिताएको पाँच वर्ष जति भइसक्यो।’

सुनसरी इनरुवा वडा नं. २ कै साह थरका १५ वर्ष र १३ वर्षका साह दाजुभाइले तीन वर्षअघि नै पढाइ छाडे। बाबुआमाले पढाउन नसक्ने भनेकैले गर्दा पढाइ छाडे। त्यसपछि घरमै खेलेर बस्न थाले। तर, पछिल्लो समय उनीहरूले रातिराति बजार डुल्दाडुल्दै पसल नै फोडेर चोरी गरे। अहिले ती दुवै जनालाई इटहरीमा संरक्षण गरेर राखिएको छ।

सामान्य खाद्यान्न र आवासको आवश्यकता पूरा गर्न नसकेको अवस्था, बाबुआमाले छोराछोरीप्रति चासो नदेखाउँदा सानै उमेरका बालबालिका यत्रतत्र भौतारिएर हिँड्न बाध्य बनाएको छ।

नेपालको भविष्यतर्फ हेर्ने हो भने बालबालिकाको अवस्थातिर हेर्नुपर्छ। बालबालिकाको दयनीय स्थितिले आगामी दिनको चुनौतीसमेत सामना गर्नुपरेको छ। धनकुटा वडा नं. १ निगालेको ग्रामीण माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत ठकुरी थरका बालकले पनि बाबुआमाले गर्दा पढाइ त्यागिसकेका छन्। उनी पनि अहिले बाल संरक्षण केन्द्र इटहरीमै छन्। ‘बाबुले दोस्रो विवाह गरेर काठमाडौं बस्ने थालेपछि आमाले पनि अर्को विवाह गरेकाले बस्ने आधार नै नभएपछि हिँडेँ,’ उनले सुनाए।

राज्यले सबैभन्दा गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बालबालिकाको भविष्यप्रति नै हो। बालबालिकालाई उपेक्षा गर्ने राज्य वा समाजको भविष्य उन्नत र उज्ज्वल हुँदैन।

प्रकाशित: १९ असार २०७६ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App