२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

बुद्धका नौ गुण

बसन्त महर्जन
गौतम बुद्ध (इ.पू. ५६३–४८३) का बारेमा जान्न बुझ्न चाहने प्रशस्तै छन् भन्ने कुराको प्रमाण वर्तमान विश्वमा यसबारेमा खोजीनीति गर्नेहरूको संख्या बढ्दै रहनु हो। स्वयं बुद्धले जसले धर्म बुझ्छ, त्यसले म (बुद्ध)लाई जान्छ र जसले म(बुद्ध)लाई जान्छ, त्यसले धर्मलाई जान्छ भनेबाट बुद्ध र धर्मलाई बुझ्ने अनेक उपाय छन् भन्ने बुझ्न सकिन्छ। यसको अर्थ हो– आ–आफ्नो रुचि र क्षमताअनुसार अभ्यास गरी बुद्ध र धर्मलाई जान्न सकिन्छ। एक भिक्षु थिए, बुद्धको तेजिलो र सुन्दर अनुहारबाट मोहित भएर दृष्यपानको मौका छोप्न प्रव्रजित भई भिक्षु बन्न आएका। बुद्धको सम्मुखमा बस्ने भए पनि धर्म लाभ नभएको प्रसंगबाट बुझ्न सकिने अर्को कुरा हो, कहाँ जन्मेको, कहिले जन्मेको, आमाबाबु को हो, के खान्छन्, के खाँदैनन् जस्ता भौतिक कुराको जानकारीले मात्रै बुद्धलाई जान्न सकिन्न। यही भएर मुख्य कुरा उनको उपदेश हो, उपदेशमा ध्यान देउ भनी बुझ्नेहरूले भन्ने गरेको। 

बौद्धहरु गौतम बुद्धमा असीम श्रद्धा राख्छन्। तर, भक्ति होइन। भक्तिभावको संस्कृतिमा हुर्केकाले श्रद्धालाई पनि भक्ति नै देख्नु बेग्लै कुरा हो। श्रद्धा र भक्ति उही होइन। करुणा राखी जसले महŒवपूर्ण उपदेश दिए र त्यो उपदेशबाट आफूलाई धेरै राम्रो भएको अनुभव भयो भने त्यहाँ श्रद्धा उत्पन्न हुन्छ। बुद्धको मूर्ति छेउमा दुई हात जोडी नमस्कार गर्दा बौद्धहरू मूर्तिलाई साक्षात् बुुद्ध ठान्दैनन् बरु त्यसलाई आलम्बन बनाएर बुद्धका उपदेशहरू सम्झन्छन् र बुद्ध गुणलाई मनन गर्छन्। उपदेश त उपदेश नै भयो, विभिन्न ग्रन्थमा संग्रहित छन् र मान्छेहरू सोहीअनुसार जीवनमा उतार्ने अभ्यास गर्छन्। बुद्ध गुण भनेको के हो त ? भन्ने प्रश्न पनि आउँछ। बौद्धहरू त्रिरत्न (बुद्ध, धर्म र संघ)को वन्दना गर्छन् र यस क्रममा बुद्ध वन्दना गर्दा आ–आफ्नो भाषा र परम्परा तथा तौरतरिकाअनुसार अलि फरक भए पनि मुख्यतः बुद्धलाई नमस्कार गर्ने, गुणानुस्मरण गर्ने गर्छन्। यस क्रममा पालि भाषा प्रयोग गर्ने थेरवादी बौद्धहरू सर्वप्रथमतः ‘नमोतस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स’ भनी नमस्कार गर्छन्। यसरी नै त्यसपछि ‘इतिपिसो भगवा अरहं सम्मासम्बुद्धो, विज्जाचरणसम्पन्नो, सुगतो, लोकविदू, अनुत्तरो पुरिसदम्मसारथी, सत्था देवमनुस्सानं, बुद्धो भगवा’ति  भन्छन्’ यसैभित्र निहित छ, बुद्धका नौ वटा गुण। यहाँ पालि सन्दर्भमा बुद्धका नौ गुणका बारेमा चर्चा गरिन्छ।

भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाई सकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी गृहकार र अविद्यारूपी अन्धकारलाई हटाइसकेकाले उनलाई ‘भगवान’ भनिएको बौद्ध मान्यता छ।

‘इतिपिसो भगवा अरहं’ को शाब्दिक अर्थ ‘उहाँ भगवान अर्हत्’ हो।  ‘अरहं’ शब्दले बौद्ध दार्शनिक क्षेत्रमा ठूलो महŒव राख्छ। अरहं’को शाब्दिक अर्थ गर्ने हो भने, ‘अ’ भनेको न र ‘रहं’ भनेको गुप्त एकान्त स्थानमा पनि कुनै पाप, अकुशल नचिताउने, कुनै, कसै, कोहीसँग पनि तुलना गर्न नहुने अतुलनीय रूप, वर्ण, होस् अथवा शील, समाधि, प्रज्ञा अनन्तो अनन्त हुने सत्व बुझ्नु पर्छ। यस अवस्थामा प्राणी फेरि फेरि जन्म लिनु नपर्ने गरी जन्ममरणको चक्रबाट मुक्त भइसकेको हुन्छ। यस्तो गुणले सम्पन्न हुनु भनेको भगवान हुनु हो। यस्तै, अरि भन्नाले शत्रुको अर्थ पनि लाग्छ। क्लेश, लोभ, मोह, द्वेष, रागरूपी शत्रुहरूलाई ‘हन्त’ अर्थात् अन्त्य गरिसकेको हुनाले ‘अर्हत्’ पनि भनिन्छ, जसले ‘अर्हत्व’ प्राप्त गरेको हुन्छ। बौद्ध दर्शनभित्रको हिनयानी परम्परामा ‘अर्हत्व’ प्राप्ति नै मुख्य आदर्श हो।

‘सम्मासम्बुद्ध’ भनेको सम्यक्सम्बुद्ध हो। अर्हत् हुने क्षमता राखेर पनि अन्य प्राणीप्रति करुणा राखी उनीहरूको कल्याणार्थ ‘बोधिसत्व’ मार्गतिर लाग्ने र प्रत्येक जन्म अरुका लागि समर्पित हुनु बोधिसत्व मार्ग हो। बोधिसत्वको कामलाई ‘बोधिचर्या’ भनिन्छ। यो अत्यन्तै कठिन कार्य हो तर, महाकरुणाको भाव जगाउने हो भने यो सम्भव भएको बौद्ध दृष्टान्त छ। यो मार्गबाट पुण्यलाभ गर्दै अन्नतः सम्यकसम्बुद्ध हुने अनेकौ बुद्धमा एक लुम्बिनी वनमा माता मायादेवीको कोखबाट जन्मेको गौतम बुद्ध पनि हुन्।

‘विज्जाचरणसम्पन्नो’ अर्थात्, विद्या र आचरणले सम्पन्न। यो भनेको तीन विद्या, आठ विद्या र पन्ध्र प्रकारका आचरणले परिपूर्ण हुनु हो। तीन विद्या भन्नाले पूर्वजन्महरूलाई देख्न सक्ने ज्ञान ‘पुब्बेनिवासनुस्सति’,  टाढा नजिक तथा अति शुक्ष्म र छोपिएको कुरालाई पनि देख्न सक्ने ज्ञान ‘दिब्बचक्खु’ र आश्रव क्षयसम्बन्धी ज्ञान ‘आसवखय’ हो। यहाँ आश्रव क्षय ज्ञान भन्नाले काम, भव, दृष्टि तथा अविद्यासम्बन्धी आश्रव भनेर बुझ्नुपर्छ।

यसरी नै आठ विद्या भन्नाले ‘पुब्बेनिवासनुस्सति, दिब्बचक्खु, आसवखय, दिब्बसोत, इद्धिविद, चेतोपरिय, मनोमयिद्धि र विपस्सना हो। यसअनुसार दिव्यस्रोत भन्नाले टाढा नजिक भएका सबै प्राणीको भाषालाई आफ्नै कानले सुन्न सक्ने ज्ञान हो भने ऋद्धिविद् ज्ञान भनेको साधारणतया अचम्म लाग्ने, अलौकिक प्रतीत हुने शक्ति हो, जसलाई ऋद्धि प्रातिहार्य पनि भनिन्छ। चेतोपरिय ज्ञान भनेको अरूको चित्त विचार मनलाई जान्न सक्ने ज्ञान हो। यसरी नै ‘मनोमयिद्धि ज्ञान’ भनेको मनको ऋद्धि, सिद्धि, शक्तिले आफ्नो इच्छाअनुसार चिताएको परिपूर्ति गर्न सक्ने ज्ञानसम्बन्धी विद्या हो। ‘विपस्सना ज्ञान’ भनेको प्रज्ञप्तिलाई हटाएर परमार्थ स्वभाव धर्म (नाम, रूप अर्थात् पंचस्कन्धको सोभाव धर्म) लाई जान्न देख्न सक्ने विद्या। यसअन्तर्गत दुःख, अनित्य, अनात्म देख्ने विद्या पनि पर्छ।

आचरणका सम्बन्धमा पन्ध्र प्रकारका आचरणले सम्पन्न भनिएको छ। यसअनुसार सीलसम्बर (शील सदाचारलाई राम्रोसँग सुरक्षा गर्ने), इन्द्रियसंवर (चक्षु श्रोत, घ्राण, जिह्वा, काय, मन इन्द्रियहरूलाई सम्यके ढंगले सुरक्षा गर्ने), भोजनेमत्तञ्ञुता (आहार भोजनमा संयम गर्ने अर्थात् भोजनको मात्रा थाहा हुने), जागरियानुयोग (अति जागरिलोपन हुने), श्रद्धा (त्रिरत्न, कर्म र कर्मको फलमा दह्रिलो विश्वास राख्ने), सति (स्मृति र सद्धर्ममा सधैं सजगभई होस् पु¥याई रहने स्मृतिवान), बहुसच्च (बहुश्रुत), वीर्य (उत्साह,जोशका साथ कुशल कर्महरू प्रति अल्छी नमानी प्रयत्नशील हुने) प्रज्ञा ज्ञान (देख्नु, सुन्नु, बोल्नु, जान्नु पर्ने सीप विद्यामा पारंगत हुने), अकुशल कर्म गर्नमा लजाउने, ओत्तप्प (नराम्रो कर्म गर्नमा भय मान्ने, डराउने), प्रथम ध्यानअनुसार आचरण गर्ने), द्वितीय ध्यानअनुसार आचरण गर्ने, तृतीय ध्यानअनुसार आचरण गर्ने र चतुर्थ ध्यान अनुसार आचरण गर्ने गरी पन्ध्र प्रकारका आचरणलेल सम्पन्न भनिएको हो। यसरी नै गौतम बुद्धलाई ‘सुगतो’ पनि भनिएको छ। सही, सत्य र हित कल्याणका कुरा मात्र व्याख्या गरी आफू स्वयं निर्वाणतर्फ लागि सकेका हुनाले सुगतो भनिएको हो। 

बुद्धको अर्को गुण ‘लोकविदू’ पनि हो अर्थात् लोकका ज्ञाता। तीन वटै लोकलाई जानिसकेको हुनाले उनलाई लोकका ज्ञाता भनिएको। तीन लोक भन्नाले पहिलोमा ‘ओकाशलोक’ आउँछ, जसमा पृथ्वी, जल, वायु, अग्नि, चार उपादाय वर्ण, गन्ध, रस्स, ओज, (शक्ति, पोस्टिक) गरी चार जोडा जम्मा अट्ठ कलाप (अष्टकलाप) अविनि भौतिक रूपले निजी संसार बन्न आउछ। यी अविनि भौतिक रूप निजी संसारलाई नै ओकाशलोक भनिन्छ। दोस्रो सत्वलोक हो। सत्वप्राणीहरू (अष्टकलाप) भौतिक रूप र कर्म, चित्त, ऋतु, आहार भनी चार जोडा जिवित रूप बन्न आउनेलाई नाम, रूप रूपी शरीर भएको सत्व प्राणीहरूलाई भनिने कुरा जान्नु नै सत्वलोकसम्बन्धी कुरा बुझ्नु हो। यसैगरी तेस्रो संस्कारलोक हो। चित्त चैतसिकको लहर ५२ चैतसिक, ८९ वटा चित्त, २८ रूपले आफ्नो कर्मअनुसार सत्वप्राणीहरू परिवर्तन भई मनुष्यलोक, देवलोक, ब्रह्मलोकमा चार अपाय दुर्गतिमा पुग्छन्। पुण्य कर्मको फलले एक मनुष्यलोक, ६ देवलोक, अकुशल कर्मको फलले चार अपाय दुर्गतिमा पु-याउँछ। र, ध्यान बलले बीस ब्रह्मलोकसम्म पु¥याउँछ। यसप्रकार गौतम बुद्ध लोकका बारेमा सम्पूर्ण कुराका ज्ञाता हुन्।

‘अनुत्तरो पुरिसदम्मसारथी’ भनेको दमनीय पुरुषका निम्ति अनुत्तर सारथि हो। यो कुमार्गमा लाग्ने असभ्य अज्ञानि व्यक्तिलाई मैत्री र करुणाले दमन गरी दमन गर्नसक्ने उत्तम सारथि भनिएको हो। ‘सत्थादेव मनुस्सानं’ भनेको गौतम बुद्ध देवता र मनुष्यलाई सत्मार्ग देखाई लौकिक र लोकोत्तर सुखका साथै निर्वाणको ढोका उघारिदिने भएका कारण देवता र मनुष्य सबैका सास्ता (मार्गनिर्देशक) हुन्। यहाँ स्पष्ट गर्नु पर्ने कुरा के  छ भने केही पुण्यकर्मले प्राणी देवयोनिमा जन्मने हुन् र सधैं देवता भइरहन पाउँदैन। देवता भनेर असंख्य संख्यामा इन्द्रलगायतका देवताहरू र त्यस्तै असंख्य ब्रह्माहरूलाई बुझ्नुपर्छ। मानिसलाई जस्तै उनीहरूलाई धर्म उपदेशको आवश्यकता पर्छ।

‘बुद्ध’ भन्नु ठूलो कुरा हो, अर्थात् गौतम बुद्ध व्यक्तिको नाम नभएर बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन्। यति धेरै गुण भएकालाई ‘भगवान्’ भनिन्छ, अर्थात् बौद्ध धर्मदर्शनमा भगवान शब्दले विशिष्ट अर्थ राख्छ। यसअनुसार ६ प्रकारको भाग्य भएकालाई मात्र भगवान भन्न सकिन्छ। ६ प्रकारका भाग्य भन्नाले, इस्सरीय भाग्य (आफ्नो चित्तलाई बसमा राख्न सक्ने तथा अनन्त ऋद्धिसिद्धिले सम्पन्न भई काम गर्न सक्ने), धम्म भाग्य (नौ लोकोत्तर धम्म), यश भाग्य (मनुष्यलोक, देवलोक, ब्रह्मलोक, जलचर, थलचर, आकाशचर जहाँ पनि कीर्ति फैलिरहने), सिरि भाग्य (श्रीशोभाले अत्यन्त सुवर्णमय रूप, रिष्टपुष्ट र अति कोमल, सुन्दर रमणीय बत्तीस लक्षण र अस्सी व्यञ्जन सुलक्षणले परिपूर्ण हुने भाग्य), काम भाग्य (इच्छानुसार काम गर्न सक्ने, आफ्नो र अरुको उपकार गरिदिन सक्ने भाग्य) र पयत्त भाग्य (बुद्धत्व प्राप्त नहुँदासम्म दृढ भइरहन सक्ने साहसी र प्रयत्नशील भइरहनसक्ने भाग्य।) 

भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाई सकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी गृहकार र अविद्यारूपी अन्धकारलाई हटाइसकेकाले उनलाई ‘भगवान’ भनिएको बौद्ध मान्यता छ।
गौतम बुद्धको प्रशंसा अनेक प्रकारले गरिन्छ। यद्यपि उनी भौतिकवादी होइनन्। तर, भौतिकवादलाई स्पष्ट शब्दमा ‘मिथ्यादृष्टि’ भनेको पाइन्छ। तर, बुद्धलाई भौतिकवादीहरु पनि प्रशंसा गर्छन्। विविध आयामका उपदेश तथा त्यसलाई समयअनुसार प्रस्तुत गर्नसक्ने पछिल्ला होनहार आचार्यका कारण यो सर्वसुलभ भइरहेको छ। व्यक्तिको क्षमता र रुचिअनुसार हरेक वर्ग, क्षेत्र, सम्प्रदाय, लिंग, वर्ण, भाषाभाषी तथा अन्यले ग्रहण गर्ने हुन्। बुद्धमा निहित माथि उल्लेखित गुणहरू कतिपयका लागि अलौकिक वा पत्याउन नै नसकिने हुन्छन्। तर, यहाँ विचार पु¥याउनु पर्ने कुरा के हो भने एक सर्वसाधारण र बुद्धमा अवश्य पनि फरक पर्छ।

‘बुद्ध’को उपमा पनि त्यति सस्तो र हलुको बनाएर प्रयोग गर्नु बुद्ध गुणलाई नदेख्नु हुन्छ। यही भएर उनलाई बौद्धहरू ‘भगवान’ भन्दै दश अन्जली र दुई हात जोडी काय, वचन, चित्तले पूजा तथा वन्दना गर्छन्।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App