उद्घाटन कार्यक्रममा कांग्रेस शिर्ष नेताहरूले दलहरूबीचको असहमतिका कारण संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती बढ्दै गएको बताएका छन्। उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस शिर्ष नेताहरूले कसैले खोस्न नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताए। 'लोकतन्त्र र शान्तिका लागि कांग्रेसले कहिल्यै कसैसँग सम्झौता गरेको छैन,' कार्यवाहक सभापति सुशील कोइरालाले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नमा देखिएको चुनौतीलाई सामना गर्न अब कांग्रेसले नेतृत्व गर्नेछ।'
राजधानीको खुलामञ्चमा कार्यवाहक सभापति सुशील कोइरालाले दिपप्रज्वलन गरी महाधिवेशनको उद्घाटन गरेका थिए। कार्यवाहक सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले संयुक्तरूपमा पार्टीको झन्डोत्तोलन गरेका थिए।
शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रिया अवरुद्ध र राजनीतिक अस्थिरताका कारण लामो समयसम्म मुलुक सरकारविहीन भएको अवस्थामा कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्नुपर्ने नेताहरूको धारणा थियो।
नेता देउवाले मुलुकको कठिन अवस्थामा सधैं कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै शान्तिप्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पुर्याबउन फेरि कांग्रेसले नेतृत्व लिने बताए। ुशान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याेएर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो महाधिवेशनले कांग्रेसलाई नेतृत्व लिन ऊर्जा दिनेछ,' देउवाले भने, 'कसैले खोस्न नसक्नेगरी लोकतन्त्रको संरक्षण गर्न संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो महाधिवेशनले दिशानिर्देश गर्ने विश्वास लिएको छु।'
कार्यवाहक सभापति कोइरालाले नेपालको राजनीतिक इतिहासको अत्यन्त कठिन मोडमा समेत कांग्रेस कसैसँग नझुकेको बताउँदै कसैको डरधम्कीका भरमा घुँडा नटेक्ने बताए। 'बिपी कोइरालाको मार्गदर्शन अनुसार कांग्रेसले लोकतन्त्रका लागि आजसम्म कसैसँग कुनै सम्झौता गरेको छैन,' उनले भने, 'लोकतन्त्र र दिगो शान्तिका लागि कांग्रेस जस्तोसुकै कठिन यात्रा पनि पुरा गर्न तयार छ।'
कोइरालाले प्रजातान्त्रिक मूल्यमान्यता, आदर्श, विवेक, अनुशासन र संस्थागत परिपाटी स्थापित गर्ने अवसरका रूपमा १२ औँ अधिवेशनलाई लिनुपर्ने बताए। महाधिवेशन उद्घाटनको समापन मन्तव्य दिँदै उनले व्यक्तिगत नभई संस्थागत ढंगबाट पार्टीलाई हाँकेर देशको सशक्त पार्टीका रूपमा स्थापित गर्न महाधिवेशन केन्द्रित हुने बताए। ुजनताको अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, शान्ति र संविधानका पक्षमा कांग्रेस अडिग रहनेछ र मानवअधिकार प्राणभन्दा प्यारो भएकाले यस विषयमा कसैसँग सम्झौता गर्नेछैन,' कोइरालाले भने।
कोइरालाले शान्तिप्रक्रियाको भावनालाई अक्षरशः पालना गर्न र हतियारको राजनीति त्यागेर बहुदलीय प्रतिस्पर्धामा आउन माओवादीलाई आग्रह पनि गरे। गिरिजाप्रसाद कोइरालाले माओवादीलाई विश्वास गरेर शान्तिप्रक्रियामा ल्याएको उदाहरणीय कदमको व्यवहारतः पालना भए कांग्रेसका लागि प्रधानमन्त्रीको पद ठूलो कुरा नभएको उनको धारणा थियो। उनले बाह्रौं महाधिवेशन एकताको महाधिवेशन भएकाले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए।
नेता देउवाले कांग्रेसलाई सबै नेपालीको पार्टी बनाउने गरी सिमान्तकृत समुदायको प्रतिनिधित्वको थालनी पनि सुरु गरेको बताए। उनले 'सिमान्तकृत सबै समदाय, युवा र विभिन्न पेसाकर्मीलाई समेटेर अब हामी कांग्रेसलाई नेपालको सबैभन्दा ठूलो पार्टी बनाएर देखाउछौं' भने।
कांग्रेसलाई समावेशी बनाउँदै पार्टीभित्र काखापाखा नलगाउने तथा कसैलाई दोस्रो दर्जाको व्यवहार नगरिने बताउँदै देउवाले महाधिवेशनले मुलुकमा देखिएका समस्या समाधान गर्नेतर्फ कांग्रेसलाई थप ऊर्जा दिने बताए।
उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले हतियार र हिंसाको राजनीतिबाट मुलुकलाई मुक्त गरे आफू प्रधानमन्त्रीको उम्मेदवारी छाड्न तयार रहेको बताए। शान्तिप्रक्रिया र संविधान लेखनका कामलाई टुंग्याउने र मुलुकले भोगेका समस्या समाधान गर्न कांग्रेस जहिले पनि सहमतिको पक्षमा रहेको भन्दै संविधानसभा अहिले अकर्मण्यताको सिकार भएको र राजनीतिक गतिरोध पनि लम्बिएको उनले बताए।
उद्घाटन समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसमा वैचारिक विचलन आएको बताउँदै महाधिवेशनले त्यसमा स्पष्ट हुन सुझाव दिए। उनले माओवादीलाई निषेध गरेर देशको समृद्धि र लोकतन्त्रको कुरा गरियो भने त्यो मुलुककै लागि घातक हुने बताए।
उनले कांग्रेस र माओवादी मिलेर नै मुलुकमा गणतन्त्र कार्यान्वयन भएको बताउँदै यसलाई संस्थागत गर्न मिलेर मात्रै सम्भव हुने बताए। 'हामीले नयाँ राजनीतिक धार निर्माण गर्न जनयुद्ध त्यागेर सहमति गरेका हौं,' दाहालले भने, ुसंघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने कुरा मिलेर मात्रै सम्भव हुन्छ, माओवादीलाई निषेध गरेर होइन।'
उनले कांग्रेससँग पछिल्लो समयमा बिग्रेको सम्बन्धमा छलफल गरी सुधार गर्न तयार भएको पनि बताए।
प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसको १२ औं महाधिवेशनले मुलुकलाई सकारात्मक दिशामा लैजान महŒवपूर्ण भूमिका खेल्ने बताए। उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त दिँदै प्रधानमन्त्री नेपालले मुलुकको लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरणका लागि भावी दिनमा पनि महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले मुलुकमा गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्रलाई चिर्न सबै दल एक भएर अघि बढ्नुपर्ने बताए। 'अहिले देखिएको प्रतिगामी दाउपेज र अतिबाजीप्रति सबै राजनीतिक दल सतर्क हुनुपर्ने भएको छ,' प्रधानमन्त्री नेपालले भने, 'अहिले मुलुकमा संक्रमणकालीन अवस्था रहेको र राजनीतिक अस्थिरता व्याप्त भएको हुनाले हामीबीच रहेको राजनीतिक मतभिन्नता पर राखेर हिँड्नु जरुरी छ।'
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, सभामुख सुवास नेम्वाङ, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी, नेकपा मालेका महासचिव सिपी मैनालीलगायत संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।
उद्घाटन समारोहमा कांग्रेस महासमिति सदस्य तथा महाविधेशन प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति छ।
आज उम्मेदवारी दर्ता र बन्दसत्र
महाधिवेशनको दोस्रो दिन शनिबार बिहान ८ देखि १२ बजेसम्म केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु हुनेछ। दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।
त्यसैगरी उम्मेदवार दाबी विरोधका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ। अन्य पार्टीको बन्दसत्र र नीति तथा कार्यक्रम पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने भएपनि कांग्रेसले सुरुमै उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको छ। दिउँसो २ बजे नीति तथा कार्यक्रमबारे छलफल सुरु हुनेछ।
महाधिवेशनको पाँचौं दिन मंगलबार बिहान ८ देखि दिउसो ४ बजेसम्मका लागि केन्द्रीय कार्यसमितिका सभापति, महामन्त्री, कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ।
शनिबारदेखि सुरु हुने बन्दसत्रमा समसामयिक राजनीतिक प्रतिवेदन, संगठन सुदृढीकरण प्रतिवेदन, आर्थिक प्रतिवेदन, महामन्त्रीको प्रतिवेदनलगायत आधा दर्जन प्रतिवेदन पेस हुने भएका छन्।
प्रकाशित: २ आश्विन २०६७ ००:३७ शनिबार





