१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्य

हाम्रो अठोट

नेपाल रिपब्लिक मिडिया स्थापनाको १०औं वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ। यो पुनीत घडीमा म हाम्रा श्रद्वेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईंहरूले दिएको न्यानो मायाले हाम्रो एक दशकको यात्रा सहज भएको हो भन्न पाउँदा मलाई खुसी लागेको छ।

हाम्रा प्रकाशनहरूले केही वर्षयता अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्दै आएका छन्। यसै शृंखलामा बितेको वर्ष धेरै अर्थमा हाम्रा निम्ति अर्थपूर्ण रह्यो। हामीले सुरु गरेका नेपाल आयल निगमको जग्गा खरिद, सिक्टा सिँचाइ, साझा प्रकाशन, फेवातालको जग्गालगायतका भ्रष्टाचारसम्बन्धी दर्जनौं खोजी समाचारले निष्कर्षमा पुग्ने मौका पाएका छन्। अनियमिततामा संलग्न व्यक्तिहरूमाथि कारवाही हुन थाल्नुले हाम्रा समाचारको विश्वसनीयता पुष्टि गरेको छ।

मुलुक संघीय गणतन्त्रको वास्तविक कार्यान्वयनमा प्रवेश गरिसकेको छ। तीनै तहका सरकारको निर्वाचनका लागि हामीले पत्रकारिताका माध्यमले प्रेरित गरेका हौं। अब बेला आएको छ यी निकायले काम गरी देखाउने। तिनले आफूलाई जति क्रियाशील बनाउँछन् त्यति नै संघीयता सफलतातिर अग्रसर हुन्छ। विकासका निम्ति हाम्रा माध्यम सदैव सक्रिय हुनेछन्। संघीय लोकतन्त्र त्यति बेला मात्र सफल हुन्छ जति बेला हामीले यसलाई थप पारदर्शी तुल्याउँछौं। पारदर्शिताले मात्र अहिलेको लोकतन्त्रलाई बलियो बनाउँछ। त्यसनिम्ति हामी सरोकारवालाहरूलाई निरन्तर घचघच्याउँछौं।


हामी ‘भ्रष्टाचारविरुद्धको नागरिक’ र ‘प्रजातन्त्रको पहरेदार नागरिक’ का रुपमा अभियानकै रुपमा अगाडि बढाउँदैछौं। कहींकतै अनियमितता भएका छन् भने हामी तिनलाई सशक्त ढंगले खोज गरी पाठकसमक्ष प्रस्तुत गर्न तत्पर छौं।

हामीले अबको वर्षलाई ‘भ्रष्टाचारविरुद्धको नागरिक’ र ‘प्रजातन्त्रको पहरेदार नागरिक’ का रुपमा अभियानकै रुपमा अगाडि बढाउँदैछौं। अहिले स्थानीय र संघसम्मका सरकार बलियामात्र छैनन्, तिनले ठूलो बजेट पनि पाएका छन्। यी निकायलाई जाने बजेट भनेको ‘करदाताले बुझाएको रकम’ हो। पत्रकारिताले जहिल्यै सार्वजनिक खर्चको औचित्यमाथि ध्यान पु¥याउनुपर्छ। ती खर्च ठीक ढंगले भएनन् भने हाम्रो विकासको गति अलमलिन्छ। त्यसैले कहींकतै अनियमितता भएका छन् भने हामी तिनलाई सशक्त ढंगले खोज गरी पाठकसमक्ष प्रस्तुत गर्न तत्पर छौं।

लोकतन्त्रमा प्रेसको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले दोहो-याइरहनुपर्दैन। लोकतन्त्रलाई बलियो बनाउन नागरिकलाई जानकार बनाउनै पर्छ। जानकार नागरिक लोकतन्त्रका असली पहरेदार हुन्। हामी नागरिकलाई सूचनाबाट सुसज्जित तुल्याउँदै लोकतन्त्रलाई भरथेग गर्नसक्ने बनाउन प्रतिबद्ध छौं।

पत्रकारितामा प्रविधि चुनौती र अवसर दुवैका रुपमा आएको छ। हामी लोकप्रिय ‘नागरिक’ र ‘रिपब्लिका’ दैनिकमार्फत विश्वसनीय खबर पस्किँदै मात्र छैनौं, प्रविधिले ल्याएको अवसरलाई आत्मसात गरी डिजिटल पत्रकारितामा पनि उत्तिकै सक्रिय हुँदैछौं। बितेको वर्ष हामीले डिजिटल प्लेटफर्मका रुपमा ‘नागरिक नेटकवर्क’ को थालनी गरेका छौं। छोटो समयमै हामीलाई यसका पाठक, दर्शक र शुभेच्छुकले उत्साहित तुल्याउनुभएको छ।

आगामी वर्षको उद्देश्य हाम्रा प्रकाशनलाई थप विश्वसनीय बनाउने हो। आम पाठकलाई रुचिकर र जान्नैपर्ने सूचनाका निम्ति आफूलाई क्रियाशील तुल्याउनेछौं। भ्रष्टाचार हाम्रो मुलुक र लोकतन्त्रको शत्रु हो। त्यसका विरुद्ध क्रियाशील हुन हामीले बढीभन्दा बढी खोजमूलक सामग्री प्रस्तुत गर्ने अठोट यस घडीमा गर्छौं।

विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक,

नेपाल रिपब्लिक मिडिया

प्रकाशित: ११ वैशाख २०७६ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App