८ वैशाख २०८१ शनिबार
अन्य

‘अवैध बालुवा चोरी–निकासी छिट्टै नियन्त्रण गर्छौं’

सानुकाजी खत्री वडा अध्यक्ष, तारकेश्वर नगरपालिका वडा नं ७

जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस हुने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै भौतिक पूर्वाधार तथा विकास निर्माणको कामलाई जोड दिइरहेका छौं। अहिले सडक तथा ढल निर्माण गरिरहेका छौं। वडासँग सीमित स्रोतसाधन भएकाले धेरै काम गर्न सकेका छैनौं। यद्यपि नगरपरिषद्बाट अघि सारेका योजनालाई धमाधम सम्पन्न गरिरहेका छौं। अहिलेसम्म वडामा करिव एक किलोमिटर सडक कालोपत्रे ग-यौं। नागपोखरी सडक खण्डमा ६२ लाख रूपैयाँ खर्च गरेर सात सय मिटर पर्खाल लगायौं। खुलालटारमा १ सय ५० मिटर सडक कालोपत्रे ग-यौं। नागपोखरीदेखि मनमैजु जाने सडक व्यवस्थित गर्न लागेका छौं।

तपाईंको वडामा सडक लथालिंग छ, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ?
वर्षाैदेखि बालाजु–वाइपास–गुर्जुभञ्जाङ सडकखण्ड लामो समयदेखि कालोपत्रे गर्न सकेका छैनौं। उक्त सडक खाल्डाखुल्डी र भत्किएर जीर्ण अवस्थामा छ। पछिल्लो समय सडक कालोपत्रे गर्नका लागि एक करोड ३२ लाख रूपैयाँ विनियोजित भएर टेण्डर प्रक्रिया अघि बढेको छ। उक्त सडकखण्ड २४ किलोमिटर छ। तर, बजेट अति नै कम भएकाले काम गराउन समस्या भइरहेको छ। उक्त सडक संघीय सरकार मातहत निर्माणको लागि पहलकदमी गरिरहेका छौं। तर, अहिलेसम्म निर्णय हुन सकेको छैन।

तपाईँको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
वडामा खानेपानीको समस्या चर्काे छ। खानेपानीको माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या व्यापक छ। वडामा बढ्दो सहरीकरणले खानेपानीको व्यवस्थापन गर्न समस्या भइरहेको छ। खानेपानीका मुहान तथा स्रोतलाई पनि व्यवस्थित गर्न सकेका छैनौं। जसको कारणले समस्या उब्जाइरहेको छ। वडा कार्यालयले पछिल्लो समय टुसाल र खत्रीटोलमा एक सय ५० घरधुरीको लागि खानेपानी उपलब्ध गराएको छ। अहिले थापाटोल, नयाँ हाउजिङमा २९ लाखको योजना सम्झौता भएको छ। रिजभार्यर ट्यांकी निर्माण नगरेसम्म खानेपानीको समस्या अन्त्य गर्न सकिएला जस्तो छैन। त्यसैले वडामा खानेपानीको लागि रिर्जभावयर ट्यांकी निर्माण गरिरहेका छौं।

भूकम्पपीडित कहिलेसम्म टहरामा नै बस्नुपर्ने होला?
भूकम्प गएको चार वर्ष बितिसक्यो। तर, भूकम्पपीडितको हालत उस्तै छ। अहिले पनि भूकम्पपीडित टहरा र छाप्रोमा नै बस्न बाध्य छन्। भूकम्पले वडामा चार सयभन्दा धेरै प्रभावित भएका थिए। वडामा रहेका अधिकांश भूकम्पपीडितको जग्गामा मोही र तहसिल विवाद कायमै छ। उनीहरूसँग लालपूर्जा नहुँदा राहत वापतको रकम पाउन सकेका छैनन्। भूकम्प गएसँगै भूकम्पीडितको जग्गाको कित्ताकाट हुन सकेको छैन। जसको कारणले उनीहरूको नक्सापास लगायतका काम रोकिएका छन्। वडामा आधाभन्दा धेरै भूकम्पपीडितले घर बनाउन सकेका छैनन्। नगरपालिकाले भूकम्पपीडितको लागि नक्सापास गराउन सहज गराउने व्यवस्था गर्न लागेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि गत वर्ष एक करोड ५० लाख रूपैयाँ विनियोजन भएको थियो। गत आवमा अघि सारेका सम्पूर्ण योजना  सम्पन्न गरिसक्यौं। चालू आवमा एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं। उक्त बजेटबाट करिव १९ योजना अघि सारेका छौं। गत वर्षको तुलनामा अहिले नगरपरिषद्को बजेट २५ लाख रूपैयाँ कम भएको छ। बजेट घटेकाले जनताको विकास निर्माणको लागि समस्या भएको छ।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेका  थिए। जनप्रतिनिधि आएसँगै वडामा सार्वजनिक जग्गा अतिक्रमण रोकिएको छ। वडामा एक हजारदेखि १५ सय रोपनी सार्वजनिक जग्गा रहेको छ। अधिकांश पर्ती तथा ऐलानी जग्गा  मिलेर सर्वसाधारणले घर तथा खेती गर्दै आएका छन्। सरकारले समयमा नै पहल नगर्दा वडा कार्यालयलाई सार्वजनिक जग्गा आफ्नो मातहत ल्याउन समस्या भइराखेको छ। वडा कार्यालयले सार्वजनिक जग्गा फिर्ता गराउन पहलकदमी गरिरहेको छ। अब छिट्टै मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौं।

तपाईको वडामा बालुवा चोरी–निकासी भइरहेको छ, रोकथाम गर्न कस्तो कदम चाल्नुभएको छ?
वडामा रातको समयमा बालुवाको अवैध चोरी निकासी भइरहेको छ। रातको समयमा डोजर तथा थुन्छेमा बोकेर नै बालुवाको चोरी भइरहेको छ। बालुवाको चोरी–निकासी रोक्नका लागि स्थानीय प्रहरीसँग समन्वय गरिरहेका छौं। प्रदेश सरकारबाट साङ्ले खोला र महादेव खोलामा पर्खाल लगाउन तीन–तीन करोड रूपैयाँ विनियोजन भएको छ। त्यसैले अवैध बालुवा चोरी–निकासी छिट्टै बन्द गर्नेछौं।

तपाईंको वडामा वर्षात्मा बाढी र डुबानको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
वर्षात्मा वडाको विभिन्न स्थानमा बाढी र डुबानको समस्या देखिएको छ। पछिल्लो समय नयाँबस्तीमा ढलको समस्या देखिएको थियो। त्यसलाई मध्यनगर गरेर वडा कार्यालय र  जनताको सहभागितामा करिव ५५ लाख रूपैयाँको लागतमा ढल व्यवस्थित गर्न लागेका छौं। अधिकारसम्पन्न बाग्मती सभ्यता विकास समितिले डुबान हुने टोखातर्फको भागमा पर्खाल लगाउने काम सम्पन्न गरिसक्यौं। त्यसको साथसाथै तारकेश्वरतर्फको पर्खाल लगाउने योजना बनाइरहेका छौं।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
व्यवस्थित र नमुना वडा बनाउने योजना बनाएका छौं। विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाएका छौं। स्वच्छ र हराहरा युक्त वडा बनाउने योजना छ। वाइपास सडकबाहेक अन्य सडक निर्माण सम्पन्न गर्ने छौं। वाइपास गुर्जुभञ्जाङ सडक निर्माण सम्पन्न गर्ने योजना बनाएका थियौंं। एक घर एक खानेपानीको व्यवस्थापनमा जुट्नेछु। त्यसैले वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य राखेको छु।

 

 

प्रकाशित: ९ वैशाख २०७६ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App