७ वैशाख २०८१ शुक्रबार
अन्य

'जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं'

रविन्द्र केसी, वडाध्यक्ष तारकेश्वर नगरपालिका– २

जनप्रतिनिधि भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं। वडा कार्यालयले सडक, खानेपानी, ढल लगायतका पूर्वाधार निर्माणमा मुख्य प्राथमिकता दिएको छ। अहिलेसम्म वडामा ६ सय मिटर सडक ढलान गरिसक्यौं। वडामा भत्किएर जीर्ण भएका सडक मर्मतसम्भार गरेर व्यवस्थित बनाएका छौं। लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा जनताको धेरै अपेक्षा र चाहना छन्। जनताकै अपेक्षा र समस्यालाई धेरै हदसम्म सम्बोधन गर्न लागिरहेका छौँ। निर्वाचित भएर आएसँगै वडामा रहेका कच्ची सडकलाई ग्राभेलिङ गर्नुका साथै ड्रेन खोलेका छौँ। वडामा करिव तीन सय मिटर सडकमा ब्लक ओछ्याएका छौं। अष्टनारायण हलदेखि फिरफिरे डाडाँसम्मको ५ किलोमिटर सडक संघीय सरकार मातहत निर्माण भइरहेको छ। सडक निर्माणका लागि संघीय सरकारबाट ५३ करोड रूपैयाँ विनियोजन भएको छ। त्यस्तै गरी टोखाको मालुङदेखि काभ्रेस्थली गोलढुंगासम्मको सडक पनि निर्माण अघि बढेको छ।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
वडामा खानेपानीको समस्या कायमै छ। वडामा पर्याप्त खानेपानीको स्रोत भए पनि खानेपानीको अभाव भने उस्तै छ। २०७२ को भूकम्पले अधिकांश खानेपानीका मुहान सुकेका छन्। जसकारण वडामा पर्याप्त खानेपानीको आपूर्ति हुन सकिरहेको छैन। खानेपानीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयले विभिन्न योजना अघि सारेको छ। ढल तथा खानेपानी विभागसँग समन्वय गरेर रक्षादेवी खानेपानी योजनाअन्तर्गत एक लाख ३० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेका छौँ। वडाबाट काठमाडौंको लागि खानेपानी गइरहेको छ। मेलम्चीको पानी उपत्यका झर्नेबित्तिकै खानेपानी डाइभर्ट गरेर वडामा वितरण गर्न पाउँथ्यौं की !

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि?
वडामा करिव २५ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ। शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि अत्यधिक मात्रामा सार्वजनिक जग्गा छ। करिव २० वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले भूमाफियाले सार्वजनिक जग्गा कब्जा गरेका छन्। त्यसैले वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षण गर्ने प्रयास गरिरहेको छ। केही समयमै मिचिएका सार्वजनिक जग्गालाई छिट्टै फिर्ता ल्याउनेछौं।\

तपाईंको वडामा भइरहेको प्राकृतिक स्रोतको उत्खनन तथा दोहन कसरी रोक्दै हुनुहुन्छ?
वडामा अवैध ढंगले प्राकृतिक स्रोतको उत्खनन तथा दोहन तीव्र गतिमा भइरहेको छ। थली, थुम्का एरियामा डाँडा ताछेर अवैध ढंगले उत्खनन् भइरहेको छ। वडा कार्यालयले अवैध रूपमा सञ्चालनमा आएका वासिङ तथा फिरफिरे हटाउन बारम्बार निर्देशन दिएको छ। वडामा तीन वटा वासिङ सेन्टर दर्ता भएका छन्। त्यस्तै गरी दर्ताबिनै सञ्चालनमा आएका पाँच वटा फिरफिरे रहेका छन्। हामीले दुवैलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं। तर, कानुन अभावकै कारणले सकेका छैनौं। आगामी वर्षमा वडामा रहेका अवैध फिरफिरे र वासिङ नियन्त्रण गरेर नै छाड्नेछौं।

तर, उनीहरूले आलटाल गरिरहेका छन्। वडा कार्यालयले अवैध रूपमा सञ्चालनमा आएका वासिङ तथा फिरफिरे हटाउन नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई पत्राचार गरिसकेको छ। तर, अझैसम्म रोक्न सकिरहेका छैनौँ।

तपाईंको वडामा बाढी पहिरोको जोखिम देखिएको छ, रोकथाम गर्न कस्तो कदम चाल्नुभएको छ?
भूकम्पले वडाका अधिकांश भूभाग चिराचिरा पारेको छ। जसको कारणले बाढीपहिरो तथा भूक्षयको जोखिम बढेको छ। वडा कार्यालयले पहिरो र भूक्षय नियन्त्रणको खानी तथा भूगर्भविभाग लगायतसँग समन्वय गरेर नियन्त्रणको प्रयास गरेका छौं। सम्बन्धित कार्यालयबाट अनुगमन गरेर गइसकेका छन्। अबको केही समयभित्रै पहिरो नियन्त्रणको लागि आवश्यक कदम चाल्नेछौं।

किसानका लागि कस्तो योजना अघि सार्नुभएको छ?
वडालाई वडा अग्र्यानिक कृषि क्षेत्रका रूपमा घोषणा भएको थियो। कृषकले विभिन्न मौसमी तथा बेमौसमी खेती गरिरहेका छन्। वडा कार्यालयले कृषकको क्षमता अभिवृद्धि गर्न मौसमी, बेमौसमी, कृषि तालिम दिँदै आएको छ, जसबाट कृषकको क्षमता अभिवृद्धि मात्रै होइन, कृषिजन्य उपज उत्पादन पनि बढेको छ। वडा कार्यालयले कृषि समूह गठन गरेर कृषकलाई उन्नत जातका बीउविजन समेत उपलब्ध गराइरहेको छ। पछिल्लो समय आएको हावाहुरीले कृषकले लगाएका बालीमा नोक्सान पु-याएको छ। त्यसैले वडा कार्यालयले प्रभावित किसानका लागि राहत स्वरूप पाँच हजार रूपैयाँका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
गत आवमा नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट ६७ वटा योजना अघि सारेका थियौं। अघि सारेकामध्ये सम्पूर्ण योजना सम्पन्न गरेका छौं। वडा कार्यालयले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, महिला सशक्तीकरण लगायत योजनालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ। चालू आवमा नगरपरिषद्बाट एक करोड ५३ लाख बजेट विनियोजन गरेका छौं। उक्त बजेटबाट २७ वटा योजना अघि सारेका छौं। वडाले सडक, खानेपानी, महिला, ज्येष्ठ नागरिक र कृषकलगायतलाई समावेश गरेर बजेट विनियोजन गरेका छौं। चालू आवमा करिव ८५ प्रतिशत काम निर्माण सम्पन्न गरिसक्यौं। अन्य काम निर्माण सम्पन्न हुने क्रममा छन्।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
नमुना वडा बनाउने योेजनासहित काम अघि बढाइरहेका छौं। वडामा धार्मिक र पर्यटकीय सम्भावना बोकेका क्षेत्र पर्याप्त छन्। ती क्षेत्रमा भएका सम्भावनालाई भरपुर उपयोग गर्दै पर्यटन क्षेत्रको विकास गराउने योजना बनाएका छौं। वडामा चारधामको बद्रीनारायण मन्दिर, कालीदेवी, तारकेश्वर मन्दिर, देवीस्थान लगायत रमणीय धार्मिकस्थल छन्। हाम्रो वडाबाट  ताकेश्वर मन्दिर ४५ मिनेटको पैदलयात्रामा नै पुग्न सकिन्छ। अर्काेतर्फ वडामा होमस्टे स्थापना गरेर आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौं। वडामा रहेका कच्ची सडकलाई ग्राभेल सडक र ‘एक घर एक खानेपानीसहितको धारा’ व्यवस्थापन गर्नेछौँ।

प्रकाशित: ६ वैशाख २०७६ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App