सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्।
नीरजले टंकबहादुर कार्की र बलभद्र राईविरुद्ध १८ होलको समाप्तिमा ३ स्ट्रोकको अग्रता बनाएका छन्। तीन अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्।
एक अन्डर ६९ को स्कोरमा पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटी तथा एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्त रूपमा चौथो स्थान बाँडे। इभन–पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तिमा संयुक्त रूपमा आठौं स्थानमा छन्।
धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन नीरजले सानदार सुरुआत गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे। यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन तीन अन्डर ३३ खेले।
यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक–एक सट बचाए। १५औं होलमा बोगी खेप्दै ब्याक नाइन तीन अन्डर ३१ मा सकाए। टंकले भने फ्रन्ट नाइन एक अन्डर ३५ मा पूरा गर्ने क्रममा दोस्रो होलमा एक सेट खेर फाले।
आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे। यसपछि १४औं र १८औं होलमा एक–एक सट बचाएका उनले ब्याक नाइन बोगीरहित दुई अन्डर ३२ खेले। धरानका भेट्रान प्रो बलभद्रले बोगीरहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले दुई अन्डर ३४ को नतिजा निकाले। १०औं होलमा बोगी प्रहार गर्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन एक अन्डर ३३ मा सकाए।
एमेच्योरतर्फ राहुल र प्रकृत एक अन्डर ६९ सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन्। राम तामाङ एक ओभर ७१ सहित तेस्रो स्थानमा रहे। सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष १८ स्थानसम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन्। ३६ होलको खेलपछि कट लागू हुनेछ। जस अनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोही कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको समापन माघ ३ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ।
प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्। जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १ माघ २०८२ ०८:३० बिहीबार





