२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

मौलिक संस्कृति, एकता र उत्सवको प्रतीक माघी

माघीलाई थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ। हरेक वर्ष माघ १ गते मनाइने यो पर्व थारू समुदायका लागि नयाँ वर्षको सुरुवातसमेत हो। माघी पर्व नजिकिँदै जाँदा तराईका थारू बस्तीहरूमा विशेष उत्साह, चहलपहल र सांस्कृतिक रौनक देख्न सकिन्छ।

थारू समुदायमा माघी पर्वको तयारी माघे संक्रान्तिको अघिल्लो दिनदेखि नै सुरु हुन्छ। पुसको अन्तिम दिन घरघरमा सुँगुर काट्ने परम्परा छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ। यस दिन सुँगुरको मासु, माछा, ढिकरी (पिठोबाट बनाइने परिकार) लगायतका परिकार तयार पारिन्छन्।

जाँड–रक्सीको साथमा परिवार, आफन्त र छरछिमेक भेला भएर खानपिन गर्ने, रातभर नाचगान र रमाइलो गर्ने चलन छ। यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ जस्ता माघीका गीत गाउँदै उत्सव मनाइन्छ। माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ भने यस अवसरमा प्रस्तुत गरिने मघौटा नाच पनि उत्तिकै लोकप्रिय छ।

माघे संक्रान्तिको दिन बिहान सबेरै नजिकको खोलानाला वा नदीमा नुहाउन जाने चलन छ, जसलाई ‘माघ लहान’ भनिन्छ। स्नानपछि घर फर्किएर दाल, चामल र नून छोई आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने परम्परा रहेको छ।

माघको दोस्रो दिन खिचडी (माघी) पकाएर खाने चलन छ, जसलाई ‘खिचरहवा’ भनिन्छ। मासको दाल र चामल मिसाएर बनाइने यो परिकार माघी पर्वको मुख्य पहिचान मानिन्छ।

माघी केवल थारू समुदायमा सीमित पर्व होइन। माघे संक्रान्ति, मकर संक्रान्ति र माघी नामले चिनिने यो पर्व नेपालभर विभिन्न जातजाति र समुदायले आ–आफ्नै परम्पराअनुसार मनाउने गर्दछन्।

ज्योतिषीय दृष्टिकोणले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर संक्रान्ति भनिएको हो। यस दिनदेखि सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने विश्वास छ, जसका कारण दिन लामो र रात छोटो हुँदै जाने मान्यता रहेको छ।

नेपालका विभिन्न धार्मिक स्थलहरू - देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र त्रिवेणीमा माघे संक्रान्तिका दिन स्नान, दान र पूजा गर्नेको ठूलो भीड लाग्ने गर्दछ। यस अवसरमा घिउ, चाकु, तिलको लड्डु, तरुल जस्ता परिकार खाने चलन छ। धार्मिक ग्रन्थहरूमा यस दिन स्नान र दान गरेमा पुण्य प्राप्त हुने, शरीर निरोगी हुने विश्वास उल्लेख गरिएको छ।

भौगोलिक र सांस्कृतिक विविधता रहेको नेपालमा माघे संक्रान्ति फरक–फरक नाम र शैलीमा मनाइन्छ। थारूले माघी, मगर समुदायले माघ्या वा सेल्र्हेस, अन्य समुदायले माघे संक्रान्तिका रूपमा मनाउने यो पर्वले सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्दछ। हिमाल, पहाड र तराईका विभिन्न जातजातिले आफ्ना संस्कार र परम्परालाई जोगाउँदै यो पर्व मनाउनु नेपाली समाजको बहुसांस्कृतिक पहिचानको सुन्दर उदाहरण हो।

कोहलपुर नगरपालिका  -१३, भरैयाका बरघर कुरकुटुवा थारू ठग्गु थारूका अनुसार, ‘माघी हाम्रो पहिचान मात्रै होइन, सामाजिक एकता र मेलमिलापको पर्व पनि हो। यसले परिवार र समुदायलाई एक ठाउँमा ल्याउँछ। नयाँ वर्षको सुरुवातसँगै पुराना दुःखकष्ट बिर्सेर आपसी समझदारी र सहकार्यका साथ अघि बढ्ने सन्देश दिन्छ।’

धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिकोणले पनि माघी तथा माघे संक्रान्तिको महत्त्व उत्तिकै रहेको देखिन्छ। चिसो मौसममा घिउ, तिल, चाकु, मास र खिचडी जस्ता पोषिलो खानेकुरा सेवन गर्दा शरीरलाई ऊर्जा मिल्ने, रोगप्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिन्छ। सरसफाइ, स्नान र मौसमअनुकूल खानपानले मानिसलाई स्वस्थ राख्न मद्दत पुग्ने भएकाले यो पर्व सकारात्मक संस्कारको रूपमा पनि लिइन्छ।

यसरी, माघी तथा माघे संक्रान्ति नेपाली समाजको सांस्कृतिक धरोहर हो। विविधताबीचको एकता, परम्पराको संरक्षण र सामाजिक सद्भावको सन्देश बोकेको यो पर्वले नेपाली समाजलाई आपसमा जोडिराख्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।  

प्रकाशित: १ माघ २०८२ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App