१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

लोकन्ती

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई। अंगालोमा ढेप्पिरहेकी छोरीको ढाड जोगमायाले बिस्तारै थप्थपाइन् र अगाडि तान्दै भनिन्, ‘आजबाट तैँले यो लुगा लगाउनू।’ उनले गलामा एउटा सल पनि राखिदिइन्– यसलाई पनि गलामा राखिरहनू। कुर्ताको गला र छाती छोप्ने गरी बेलाबेलामा मिलाइरहनू। नझार्नु। अब तँ ठूली भइस् सबी।

आमाको कुरा सबै त बुझिन उसले। नबुझेजस्तो पनि गरिन। सोधी, ‘यो सलचाहिँ नलाए नि हुन्न? यताउता सरिरहन्छ। मिलाउनै अप्ठ्यारो।’ जोगमाया एकछिन् केही बोलिनन्। सावित्रीलाई हेरिन् मात्र। लाग्यो, धेरैपछि उनले छोरीलाई यति नजिकबाट हेरिरहेकी छिन्। नबोली छोरीको दुवै गाला समाइन्। निधारमा म्वाइँ खाइन् र सम्झाइन्– लगाउनु पर्छ नानी। उमेर अनुसारको लुगा हो। लुगा र उमेर मिलाउन र सम्हाल्न जानिएन भने पछिसम्म दुःख पाइन्छ। सम्हाल्न जान्नेले आफूलाई बिग्रन दिँदैनन्। आमाको कुरा फेरि पनि सबै बुझिन उसले। बुझिन भनेर सोध्न पनि सोधिन। त्यति भनेर आमा ढोकाको संघारमा पुगिसकेकी थिइन्। सावित्रीले कोठाबाट निस्कँदै गरेकी आमालाई हेरी र आफू लोकन्ती गएको खैरिनी गाउँ सम्झन थाली।

कोठाको ऐना अगाडि उभिएर आफैँलाई हेरी । हातले पुग्ने ठाउँसम्म आफूलाई छामी र कल्पना गरी । थाहै नपाइ उसको मुखबाट जिब्रो निस्कियो । र, ऐना अगाडि एकछिन निहुँरिएर उभिइरही । बल्ल बुझे जस्तो लाग्यो उसलाई– किन आमाले गलामा सल लगाउनु र बेलाबेलामा मिलाइरहनु भनेकी रहिछिन् ।

खैरिनी गाउँ, पर्सा जिल्ला। अर्थात् गायत्रीको नयाँ ठाउँ। गायत्री सावित्रीकी बालसखा जो कसरा, चितवनबाट भर्खरै विवाह भएर खैरिनी गाउँ पुगेकी हो। लोकन्ती हेर्न गाउँका आफन्त जम्मा भएका थिए। सावित्रीले सबैलाई हेरी। फरक–फरक उमेर, उमेर अनुसारको मेकअपमा देखी हेर्न आएकालाई। कुर्ता सुरुवाल लगाएर हेर्न आउने जतिले गलामा सल पनि लगाएका थिए। कपाल एकातिर मात्र बाटेका। हातमा चुरा र निधारमा टीका लगाएका। साडी–चोलो लगाउनेले बर्को ओढेका। कपाल सम्याएर चुल्ठो पारेका। कोही÷कोहीले त औँलामा असरूपी र कानमा मारबाडी पनि लगाएका। चौबन्दी चोलो लगाएकाहरू अलिक पाका देखिन्थे। उनीहरूले लगाएको चौबन्दी देखेरै सावित्रीलाई अप्ठ्यारो लागिसकेको थियो। मुखै फोरेर भनी पनि, ‘त्यसरी आफ्नै जिउलाई कसेर त कसरी हिँड्न, बस्न सकिन्छ होला ? आफ्ना लुगा आफ्नै बन्धन जस्तो।’ तुरुन्तै आमाले भनेको पनि उसको स्मरणमा आयो, उमेर अनुसारको लुगा...।

सावित्री जामा–सुरुवाल लगाउनेमा पर्थी। जामा–सुरुवाल लगाएर लोकन्ती हेर्न आउनेले पनि उसको जस्तै जामा–सुरुवाल मात्र लगाएका थिए। न उनीहरूको निधारमा टीका थियो, न त हातमा चुरै। बरु उनीहरूले पनि उसको जस्तै दुवैतिर कपाल कोरेका थिए। कपाललाई रातो रिबनको फूल बनाएर बाँधेका थिए। सावित्रीलाई पनि रातो रङ खुबै मन पर्छ। उसले पनि रातै रिबनले आफ्नो कपाल बाँधेकी थिई। सोध्यो भने भन्थी– रातो रङ सबैसँग मिल्छ, स्वार्थी हँुदैन, त्यसैले...।

लोकन्तीलाई सगुन लिएर आएका महिलाहरूले त झन् आफ्नो सललाई दाहिने गलाबाट देब्रे कम्मरसम्म छड्के पारेर टिमिक्क कसेका थिए। उसले त्यतिबेला त खासै वास्ता गरिन। अहिले पो अलिक बुझी– त्यसरी नकसेको भए त निहुरिएर लोकन्तीलाई सगुन दिँदा सल सर्न सक्थ्यो। अनि निहुरिँदा सल सरेको भए...!

आफैँ झस्की। आफ्नो कोठाको ऐना अगाडि उभिएर आफैँलाई हेरी। हातले पुग्ने ठाउँसम्म आफूलाई छामी र कल्पना गरी। थाहै नपाइ उसको मुखबाट जिब्रो निस्कियो। लजाउँदै आफ्नै हातको औँला टोकी। र, ऐना आगाडि एकछिन निहँुरिएर उभिइरही। बल्ल बुझे जस्तो लाग्यो उसलाई किन आमाले गलामा सल लगाउनु र बेलाबेलामा मिलाइरहनु भनेकी रहिछिन्। लोकन्ती हेर्न आउने त पुरुषहरू पनि थिए। तर, उसले खासै सम्झन सकिन कसले के लगाएको थियो र को कस्तो थियो भनेर। उसले त्यति नियालेर हेरिन पनि। तर, उसलाई चाहिँ कसैले हेरेकोथ्यो जुन हेराई उसले त्यतिबेला देखिन। सबै विपरीत हेराइ उतिबेलै देखिँदैन पनि। तर सावित्रीलाई अचम्मचाहिँ लागेको थियो– काम गर्ने धेरै महिला थिए। गफ गर्ने र खानेकुरामा ठोस लाउनेचाहिँ पुरुष। उनीहरूका कुरा सुन्दा उसको मुखैमा आइसकेको थियो, ‘अरुको कामको चियोचर्चो गरेर कमजोरी खोज्नेले आफ्नो गल्ती चाहिँ कहिले सुधार्लान्।’ तर, मुख खोलिन। आफँैलाई रोकी। आफू त्यहाँ लोकन्ती मात्र भएको ख्याल गरेर सम्हाली आफूलाई।

आँगनमा बजेको दाउराको आवाजले ऊ झसंग भई। दाउरा खोज्न सीमसारपारि जंगल गएका बाबु छलाइ आइपुगेको संकेत थियो त्यो। आमाले दिएको कुर्ता–सुरुवाल खाटमै छाडी र अँगेनोमा आगो फुक्दै गरेकी आमातिर गई। ‘लगाइनस् त अहिले ?’ आमाले सोधिन्। र, सावित्री बोल्न नपाउँदै थपिन्– भोलि त्यही नयाँ लुगा लगाउनू। कतै नगइ घरमै बस्नू। तँलाई हेर्न मान्छे आउँदैछन्। आमाको कुराले सावित्री झस्किई। कताकता के के भए जस्तो भो। अँगेनो छेउमा पुगेकी मात्र थिइ, त्यहीँ उभिई। बाहिर जाउँ कि त्यहीँ उभिइरहुँ, के गरौँ, के गरौँ भो उसलाई। खुट्टाको बूढी आँैलाले अँगेनोको डिल कोतरी। आफँैलाई सोधी– यस्तो बेलामा मान्छेलाई आगोले बढी पोल्छ होला किन सोचेको यस्तो कुराले ?’

‘त्यही तँ लोकन्ती गएको गाउँछेउका रे। डाँडागाउँका। यहाँ बच्छयौली, सौराहाबाट टाढा पनि त छैन। पर्दाओर्दा आउन पनि सजिलो। बाउ साहै्र पीर गर्छन् तँ टाढा भइस् भने। छोरा नभए पनि तँ नै छोरा हो भन्छन्। मलाई त ठीकै लाग्या छ कुरा सुन्दा। तँलाई साहै्र मन पराकाछन् रे !’ जोगमाया एकोहोरो बोलिरहिन्। उनको कुरा सुन्दा त उनको मनले निर्णय नै गरिसकेजस्तो लाग्यो सावित्रीलाई। फेरि बुबाले त आमाले भनेको आजसम्म नाइँ भनेको सावित्रीले सुनेकी पनि छैन। गाउँकालाई सम्झाउँदै छलाइले भनेको सावित्रीले धेरैपटक सुनेकी छ, ‘मान्छे जतिसुकै गरिब भए पनि जहानले भनेको मान्यो भने ऊ धनी हुन्छ।’
उसले बुबाले आमालाई गरेको माया पनि नजिकबाट नियालेकी छे। कहिलेकाहीँ त उसलाई लाग्छ पनि, ‘जे कुरा पनि हो र हुन्छ भन्दामात्र माया हुन्छ कि मायामा पनि मतान्तर हुन्छ ?’ तर, कसलाई सोध्नु र यो कुरा सावित्रीले ? बुबालाई कि आमालाई ? कि अरु कसैलाई ? सोध्ने मान्छे नैआएन उसको मनमा।

‘मनपराकाछन् भने त उम्किन दिनुहुन्न।’ आमाले फेरि थपिन्, ‘भोलि तिमीहरू दुई जनामात्र कुरा गर्दा तैँले पनि सोध्नू र बुझ्नू। हाम्रो त एक्लाएक्लै कुरा गर्ने जमाना नै थिएन। अहिले त त्यसो गर्ने चलन पनि आयो। सोध्नू।’ सावित्रीले सुनिमात्र रही। सुनिरहँदा मनमा कुरा पनि खेल्यो– मन पराउने सबैले माया गर्न जानेको हुन्छ त ? आमालाई सोधुँ कि जस्तो लाग्यो उसलाई। तर फेरि सोची–के सोध्नु ! सोधिहाले पनि के उत्तर देलिन् र ? आमालाई नै थाहा छैन बाउले उनलाई मनपराएर बिहे गरेकी माया गरेर !

सावित्रीलाई हेर्न आउँदैछन् भन्ने हल्ला उसका साथीले पनि सुनेका थिए। सावित्रीलाई भेट्न गए। भेटेपछि सुनेभन्दा बढी थाहा पाए– आजै साँझतिर आउँदैछन्। सावित्रीसँग एक्लै कुरा पनि गर्दैछन्। सल्लाह दिए, ‘यही हो मौका गाँठोपार्ने, सबै सोध्नु। बिहेमा यो यो चाहिन्छ भन्नु। आफूले गर्न सक्ने र नसक्ने सबै कुरा अहिल्यै भन्नु। पछिलाई सजिलो हुन्छ।’

भने, ‘बिहेमा गाडा हैन, गाडी लिएर आउन भन्नु। अब त जस्तै नसक्नेले पनि कार ल्याउन थालेकाछन् बिहेमा।’ अरु धेरै कुरा गरे। सावित्रीले भने साथीका कुरा सुनिरही। आँगनमा दाउराको चाङ लगाइरहेका छलाइले छोरीको साथीका सबै कुरा सुनिरहेका थिए। साथीको कुरामा लागेर छोरी बहकिने पो हो कि भन्ने चस्स प¥यो मनमा। गर्दागर्दैको काम छाडे र हात टक्टक्याउँदै कुरा गरिरहेको कोठातिर लागे। एउटा

खुट्टा संघारभित्र र अर्को बाहिरै टेकेर बोले,
‘सक्दा त सबै नै गरुँझैँ लाग्छ नि नानी हो ! तर हामीले त्यत्रो मात्र सपना देख्नुपर्छ जत्रोलाई हामी हुर्काउन सक्छौँ। स्याहार गर्न सकिएन भने त आफ्नै सपनाले पो खाइदिन्छ है आफैँलाई, माकुराको बच्चाले आमा खाएजस्तै।’ छलाइका कुराले सावित्रीका साथीहरूलाई मुखामुख गरायो। सावित्रीतिर हेरे। सावित्रीले आफ्नो बुबातिर हेरी। बुबाले भनेको कुरा उसले बुझी। साथीहरूले ढोका बाहिर हेरे। घाम निकुञ्जका रुखभन्दा पनि तलै पुगिसकेको देखे। ज¥याकजुरुक उठे र सावित्रीसँग बिदा मागेर फर्किए।

साँझको समय। जोगमाया व्यस्त। खटियामा बुद्धिराम र उनका बुबा छलाई कुरा गरिरहेका छन्। आएका पाहुना आजै फर्कने भन्ने सुनेपछि जोगमायालाई झन् हतारो बढेको छ। हुन त डाँडागाउँ खासै टाढा पनि त हैन बच्छयौलीबाट। सावित्रीका आमा÷बुबासँगकोे कुराकानीपछि बुद्धिराम र सावित्रीले कुरा गरे। कुरा पनि के भन्ने र ? बढी त बुद्धिराम नै बोले। बुद्धिरामले नै सोधे सावित्रीलाई। नाम सोधे। दाजुभाइ सोधे। दिदीबहिनी सोधे। पढाइ सोधे। सोधेजति सबै जवाफ दिइन् सावित्रीले। तर, उनले केही सोधिनन् बुद्धिरामलाई। केही मागिनन् पनि ऊसँग। उनले त बुद्धिरामको अनुहार समेत राम्ररी हेरिनन्। कुरा सकियो। बुद्धिराम बसेको ठाउँबाट उठे र बाहिर निस्किए।

उनी उठ्दा बत्तीको प्रकाशमा उनीभन्दा अग्लो उनको छायाँ देखियो। सावित्रीले त्यसलाई चाहिँ हेरिन र आमाले ‘दुःख र छाया उस्तै हो’ भनेको कुरा सम्झिइन्। त्यो सम्झनाले उनको मन अलिकति चस्क्यो– दुःख यो छायाँजस्तै मान्छेभन्दा पनि अग्लो भएर आयो भने के गर्ने होला ?

सावित्रीलाई थप सोधिएन। कुरा छिनियो। सावित्री र बुद्धिरामको विवाह माघमा हुने भयो। सावित्रीलाई भने आफ्नो भन्दा पनि बुबाको पीर लाग्न थाल्यो। काममा बुबालाई सघाउने उही थिई। बाली लगाउनेदेखि उठाउने बेलासम्म सघाउँथी। बजार जानुप-यो, जान्थी। दाउरा÷घाँस उसकै भर थियो। निकुञ्ज नजिकको बसाइँ। हात्तीले दिनसम्म दुःख दिन्थ्यो। राति–राति घरसम्मै हात्ती आएर दुःखदिँदा छलाइ टिन ठटाउँथे। सावित्री राँको बाल्थी। गाउँले सबैलाई बोलाएर हात्ती धपाउँथी। जोगमाया पनि गर्न त गर्थिन्। तर, छलाइको भर सावित्रीमा नै थियो। एकदिन त सावित्रीले भनी पनि, ‘आमा, म गएपछि तपाईँ र बुबालाई दुःख हुन्छ होला। केही परिगयो भने बोलाउनु। म आइहाल्छु।’ सावित्रीले यसो भन्नु पहिले नै छलाइलाई दुःख पो पाइन्छ कि भन्ने लागिसकेको रहेछ। तर बुबा–आमाले आफ्नो दुःख छोराछोरीलाई कहाँ देखाइहाल्छन् र !

‘हिउँदका दिन, साह्रै छोटा। फिरिक्कै जाने। आजभन्दै भोलि भन्दै माघ पनि आइसक्यो,’ यसै भन्थिन् जोगमाया छलाइसँग। छोटै समय भए पनि उनीहरूले सामान जोगाड गरे। थारू समाजमा दाइजोको सर्त हँुदैन। सर्तबिनाका इच्छा स्वेच्छिक हुन्छन्। त्यसैले पनि जोगमाया र छलाइलाई सर्तको थप भारी खेप्नुपरेन। सकेको राम्रो तयारीमा सावित्रीको विवाह गरिदिए थारू परम्परामा। जोगमाया र छलाइको अन्तिम सन्तानको विवाह। बुद्धिरामले पनि आफूले सकेको गरे। पहिले त गाडामा नै हालेर लान्थे दुलहीलाई। तर, उनी ट्रयाक्टर चढेर आए। सिंगारिएको ट्याक्टर। ट्याक्टरको शृंगारपटार देखेर भन्नेले त भने पनि, ‘आउन थालेपछि त दिन ट्याक्टरको पनि आउँदोरहेछ।’

जग्गेमा गरिनुपर्ने कर्म सम्पन्न भएपछि सावित्रीलाई जोगमायाले बोकिन। बुद्धिरामलाई छलाइले। जग्गे घुमे। ट्रयाक्टरको फन्को लगाए। जोगमायाले छोरीलाई जन्तीको सहयोगमा ट्याक्टर चढाइन्। बुद्धिराम छलाइको ढाडबाट भुइँमै ओर्ले र आफैँ चढे ट्याक्टरमा। ट्याक्टरले ठडिएको पाइपबाट धूँवा फाल्यो एकपटक मज्जाले र अघि बढ्यो। जोगमायाले छलाइलाई हेरिन्। हिक्हिकाउँदै गरेको गला सम्हालिन् र बोलिन्, ‘छोरी त रोइ।’

छलाइ एकछिन बोलेनन्। जोगमायालाई हेरे र भने, ‘रुनु नराम्रो हैन। आँसुले पुरानो चिज पखाल्छ र नयाँ सुरुवातको संकेत गर्छ। सबीले पनि त अब नयाँ सुरु गर्छे नि।’ सोधे, ‘तँचाहिँ किन रोएकी नि ?’ जोगमायाले पछ्यौरीले मुख पुछिन्। भुइँतिर हेरिन् र भनिन्, ‘सबीलाई केही भन्न खोज्दै थेँ, सकिनँ। मुटु नै उक्किएर मुखमा आउला जस्तो भो। मुखबाट शब्द निस्कन नसकेपछि त आँखाबाट आँसु आउँदोरहेछ।’ जोगमायाले निस्कँदै गरेको आँसु लुकाउन खोजिन्, सक्दै सकिनन्। छलाइले जग्गेतिर हेरे। जोगमाया आँखा पुछ्दै आफँैसँग बोलिन्, ‘आज त एक्लै हुन्न ऊ, लोकन्ती साथै छन्।’ 

प्रकाशित: ९ चैत्र २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App