२९ असार २०७७ सोमबार
अन्य

शताब्दीपुरुषको घुमफिर

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

माथिको अंश वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित ‘न्युजिल्याण्डमा पहिलो नेपाली’(प्रथम संस्करण २०४९) कृतिभित्रको हो। नियात्रा समाज नेपालले हालै उनको त्यो पुरानो कृतिमाथि अन्तक्र्रिया गरेको थियो। सन् १९५३ को न्युजिल्याण्ड यात्रालाई चालिस वर्षपछि छापेर साहित्यिक फाँटमा ल्याइएको कृतिभित्र मन्तव्य, भूमिका, प्रकाशकीय, थप दुई शब्द, शब्दसन्दर्भ, प्राक्कथन (नेपालबाट न्यूजिल्याण्ड) गरी छ शीर्षकमा बीस पृष्ठ, केही फोटा र फेरि पृष्ठ एकदेखि एक सय पन्ध्र पृष्ठभित्र बीस शीर्षकमा विविध विषयवस्तु समेटिएका छन्।

नेपाल र नेपालीको वास्तविकता बुझेर सय वर्षे यात्रामा लागेका जोशीको यो कृति सत्यतथ्यमा आधारित छ।

जोशीका कविता, नाटक, संस्कृति क्षेत्रका दर्जनौँ कृति छन्। यो उहाँको एकमात्र यात्रा संस्मरणात्मक कृति हो। वेद, पुराणमा हुँदै साहित्यिक कृति अध्ययन गर्दा पनि यात्रा  वर्णन पाइन्छ। त्यसैले यात्रासाहित्यको परम्परा निकै लामो छ। ‘नेपाली बृहत् शब्दकोश’मा नियात्रालाई यात्रानिबन्धको औपन्यासिक रूप र यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भनिएको छ। जोशीको कृतिमा नियात्रा तत्वहरू गतिशीलता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, आत्मीयता, कल्पनाशीलता, चित्रात्मकताजस्ता गुण यथास्थानमा छन्। कृतिका शीर्षकहरू अध्ययन गर्दा ऐतिहासिक तथ्यहरू, सांस्कृतिक पक्षहरू, प्राकृतिक सौन्दर्यको वर्णन पाइन्छ। नेपाल र न्युजिल्याण्डको शैक्षिक, प्रशासनिक, सामाजिक, भौगोलिक सन्दर्भ र तुलनात्मक प्रस्तुति छ।

कृतिमा लेखकका निजी अनुभव र अनुभूति सल्बलाएका छन्। सत्य, तथ्य र प्रामाणिक विषयको प्रस्तुतिका क्रममा यथास्थानमा प्रशंसापत्र, समाचार र विभिन्न तथ्यहरू र कविताहरू, अंग्रेजी भाषामा र त्यसको भावार्थसमेत प्रस्तुत गरिएको छ। स्थान विशेषको लोकगीत मातृभाषामै राखी त्यसको नेपाली भावार्थ पनि दिइएको छ। जोशी पूर्वीय दर्शन मूलतः वेदान्त दर्शनको सगुण साकार ईश्वरीय सत्तामा विश्वास राख्ने व्यक्तिका रूपमा यस कृतिमा देखापरेका छन्। पूर्वीय दर्शनमा कर्मसम्बन्धी चिन्तन गरिएको पाइन्छ। कर्मलाई प्रारब्ध, भाग्य, नियति, तकदिर, कर्मरेखा, कर्मलेखा, विधि, हुनेहुनामी, भावीको लेखा, लेखान्तजस्ता शब्दबाट पनि परिभाषा गर्न सकिन्छ। वेदान्त दर्शनमा प्रारब्धअनुसार कर्मफल भोग्नुपर्ने मान्यता छ।

यसरी हेर्दा नेपाल र नेपालीको वास्तविकता राम्ररी बुझेर सय वर्षे यात्रामा लागेका जोशीको कृति सत्यतथ्यमा आधारित छ। सरलता यसको उल्लेखनीय विशेषता हो। यसमा नेपालीप्रतिको भावना र गौरवबोध व्यक्त भएको छ। उनले लेखेका छन्,  ‘मैले खल्तीबाट भादगाउँले टोपी झिकेर लाएँ। मैले टोपी लाएको उनले अगिल्तिर जडिराखेको ऐनामा देखेछन्। अनि त मोटर घ्यार्क रोक्दै मसँग हात मिलाए र भने– तपाईं त नेपालका मान्छे पो हुनुहुँदो रहेछ।

मैले सोधेँ, ‘यो कुरा तपाईंले कसरी थाहा पाउनुभयो ?’ ‘माउन्ट एभरेस्टको टाकुरामा पुग्ने हाम्रा हिलारीलाई नेपालीहरूले यस्तै टोपी लगाइदिएका थिए,’ उनले भने। कृतिमा देशप्रेमको भावना छ। कृति पठनीय छ। घुमन्तेका लागि मार्गदर्शक छ।   

प्रकाशित: ९ चैत्र २०७५ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App