३० असार २०७७ मंगलबार
अन्य

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्। तर, लेखन कलाको सुरुवात हुनुभन्दा हजाराैं वर्ष पुरानो मानव सभ्यताको इतिहासलाई वैज्ञानिक अध्ययन गर्नको लागि पुरातात्विक प्रमाणको नै महत्वपूर्ण भूमिका हुन्छ।

प्रागःमानवको संस्कृति, जीवनपद्धति, आस्था, विश्वास, सामाजिक विकासक्रमको प्रक्रिया र यसको ढाँचा, तत्कालीन वातावरण र पर्यावरणमा आएको परिवर्तन र त्यस परिवर्तनले मानवको शारीरिक तथा मानसिक विकासक्रममा पारेको प्रभाव आदि विषयहरूको प्रमाणिक अध्ययन गर्ने आधार पुरातत्व हो। मुलतः प्रागःइतिहासको अध्ययनको महत्वपूर्ण आधार प्रागःमानवले प्रयोग गरेका ढुंगे उपकरण र औजार नै हुन्। पुरातत्व अतित सभ्यताको पुनःनिर्माण गर्ने आधार हो।

प्राप्त सीमित पाषाण हतियारको आधारमा प्राचीन मानव सभ्यताको विश्लेषण गर्नु साधारण अन्दाजमा दुस्साहस र हास्यास्पद हुन सक्छ। तर, योबाहेक अरु कुनै विकल्प पनि छैन भन्ने प्राज्ञिक सीमिततालाई स्वीकार गर्नुपर्छ। त्यसैले भनिन्छ, कि इतिहासशास्त्रले इतिहासको एक प्रतिशत मात्र अध्ययन गर्छ भने पुरातत्व विज्ञानले इतिहासको उनान्सय प्रतिशतको अध्ययन गर्छ। यद्यपि पुरातत्व विषय आफैमा पूर्ण विषय र विधा होइन। यसले मानविकी र विज्ञानका अन्य विविध विषयको सहयोगमा आफूलाई पूर्णता प्रदान गर्ने भएकाले यसलाई विज्ञान केन्द्रित मानविकी वा कला विषयको रूपमा व्याख्या र विश्लेषण गर्ने गरिएको पाइन्छ। जमिनमुनि दबिएर रहेका पुराना दरवार, मन्दिर, घर, पर्खाल वा अरु मानव निर्मित भौतिक संरचनाको वैज्ञानिक विधिले अन्वेषण र उत्खनन् गरी प्राचीन सभ्यताको विश्लेषण गर्नु निश्चय नै अत्यन्त कठिन हो। 

प्रागः मानवले छाडेर गएका अन्य भौतिक वस्तुको अवशेषको आधारमा प्राचीन सभ्यताको विश्लेषण गर्ने पद्दति र विधि छन्। प्राचीनकालको कुनै एउटा सिक्काको आधारमा त्यस समयको सामाजिक, आर्थिक र धार्मिक इतिहासको गहन अध्ययन गर्न सकिन्छ। कुनै एउटा मूर्ति वा प्रतिमाको विश्लेषण गरेर तत्कालीन सभ्यताका विविध विषयको जानकारी हासिल गर्न सकिन्छ। भूगोलको आफ्नै भौगोलिको प्रक्रिया अनुसार जमिनमुनि भौगोलिक स्तर बनेका हुन्छन्।

मानव सभ्यताको विकास चरणमा त्यहाँ विभिन्न समूहका मानिसको आवतजावत भई नै रहन्छ। कुनै एक समूहको मानिस बसाइँ सरेर गएपछि सोही स्थानमा अर्को समूह आएर बसोवास गर्न सक्छन् र ती अनेक चरणका निवासीहरूले त्यहाँ आफूलाई काम नलाग्ने वस्तु छाडेर जान्छन्। अन्ततः ती छाडिएका वस्तु प्राकृतिक वा अन्य मानवीय कारणले जमिनमुनि पुरिन गई एक साँस्कृतिक स्तर बन्न जान्छ, यो प्रक्रिया चलि नै रहँदा जमिनमुनि अनेकौं साँस्कृतिक तह बन्न जाने हुन्छन्, जस्को परिणाम जमिनमुनि नै विभिन्न जाति र प्रजातिको एउटा साँस्कृतिक शृंखला तयार भएको हुन्छ। यसरी तयार भएका विभिन्न साँस्कृतिक स्तरलाई कुशल पुरातत्वविद्ले वैज्ञानिक विधिबाट गरिएको उत्खनन्बाट पत्ता लगाउँछन्। 

मानव सभ्यताको पाइला परेको तहसम्म अध्ययन गर्नु पुरातत्वको परिधि हो। त्यसअघिको जमिनको प्राकृतिक तहसँग पुरातत्वको कुनै सम्बन्ध र सरोकार रहँदैन। वैज्ञानिक पद्दति र विधिबाट उत्खनन् गरिएका यस्ता साँस्कृतिक शृंखलाको वैज्ञानिक विश्लेषण गरी त्यो सभ्यताको निर्माण कहिले र कसले गरे ? तिनीहरू त्यस ठाउँमा कहिले आए ? ती को थिए र तिनको सभ्यता कसरी पतन भयो भन्ने विषयलाई प्रमाण जुटाएर विश्लेषण गरी निष्कर्षमा पुगिन्छ। प्रागितिहासिक सभ्यताको कुनै लिखित दस्तावेज हुँदैन। तर, तिनले छाडेर गएका भौतिक वस्तु नै इतिहासलेखनका व्याकरण बन्छन्।यिनै पुरातात्विक व्याकरणको सहयोग लिएर पुरातत्वविद्ले प्राचीन सभ्यताको विश्लेषण गर्छ। 

पुरातत्व विशुद्ध प्रविधि केन्द्रित प्राज्ञिक विधा हो। उत्खनन् गरिसकेपछि प्राप्त सामग्रीको विस्तृत अभिलेखीकरण, संरक्षण र सम्वद्र्धन गर्ने नैतिक दायित्व समेत उत्खनन्कर्तामा रहन्छ। अझ उत्खनन् गरिसकेपछि प्रतिवेदन प्रकाशन गर्नुपर्ने प्राज्ञिक दायित्व उतखनन्कर्ता वा त्यससँग सम्बन्धित संस्थासँग रहन्छ। उत्खनन् अत्यन्त सम्वेदनशील र जटिल विधा हो। इतिहास संस्कृति र सभ्यतासँग सम्बन्धित यस विधालाई एक अपरेसन थियटरसँग तुलना गर्न सकिन्छ। जसरी अपरेसन थियटरमा डाक्टरले बिरामीको अप्रेसन गर्छन्, त्यसरी नै उत्खनन्को ट्रेन्चभित्र पसेपछि उत्खनन्कर्ताले अत्यन्त सजकतापूर्वक उत्खनन् गर्ने गर्छ। जमिनमुनिको सभ्यता उजागर गर्ने क्रममा सानो एउटा गल्तीले पनि इतिहास र संस्कृतिको शृंखलालाई हजारौँ वर्षको तलमाथि पार्न सक्ने सम्भावना रहन्छ। उत्खनन् एउटा यस्तो अज्ञात दिशाको अन्वेषणात्मक यात्रा हो, जसले प्रमाणहरूको आधारमा प्राचीन सभ्यतालाई दिशा प्रदान गर्छ। तब त पुरातत्वविद्लाई सभ्यताको विश्लेषक भनिएको हो।

उत्खनन्बाट प्राप्त साधारण माटाका भाँडाकुँडाको अध्ययनबाट त्यतिबेलाको साँस्कृतिक शृंखलाको जानकारी हुनुको साथै तत्कालीन समाजभित्र रहेको वर्गीय चेतनाको जानकारी हुन्छ। भाँडाकुँडाको आकार–प्रकार र त्यसमा निहित गुण र सौन्र्दयको आधारमा त्यसका प्रयोगकर्ताको आर्थिक र सामाजिक हैसियतको जानकारी हुने भएकोले समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनको लागि समेत पुरातत्वको गरिमा र महत्व रहन्छ। त्यस्तै, प्राचीन मानवको कुनै अस्थि अवशेषबाट त्यस मानवको जाति र प्रजातिको मानवशास्त्रीय विश्लेषण गर्नको लागि मानवशास्त्रलाई पुरातत्वको अपरिहार्य आवश्यकता पर्न जान्छ।

सिन्धु सभ्यता र मेसोपोटामिया जस्ता विश्वको प्राचीन सभ्यता उत्खनन्बाट नै प्रकाशनमा आएका हुन्। आज वैदिक सभ्यतालाई प्रमाणित गर्ने पुरातात्विक प्रमाण हामीसँग नभएता पनि यसको खोजिका पुरातत्वविद्हरू लागिपरेका छन्। भारतका पुरातत्वविद्ले रामायण र महाभारतकालीन सभ्यताको खोजीमा जुटिरहेका छन्। नेपालमा पुरातत्वको माध्यमबाट लुम्बिनी र कपिलवस्तुबाट वौद्धकालीन सभ्यताको उजागर भइसकेको छ भने उत्तरी हिमाली भूभागमा विशेषगरि हिमाली गुफामा १६ औँ शताब्दी इसापूर्व देखि १६ औँ शताब्दी इश्वी. सम्मका सांस्कृतिक शृंखलाको निरन्तरता रहेको तथ्यलाई पुरातत्वविदले उजागर गरेका छन्। 

अतः मानव सभ्यताको प्राचीन इतिहासलाई प्रकाश पार्ने भौतिक अवशेष अतितको र सभ्यताका दर्पण हुन् भन्दा अतिशयोक्ति नहोला। हिन्दू धर्म र दर्शनले प्रतिपादन गरेका सिद्धान्तलाई अनुसरण गर्ने आर्य जातिका अनेकौं शाखा प्रशाखा, वौद्ध धर्म मान्ने जाति, जनजाति र तिनका अनेकौं सांस्कृतिक अभ्यास, र अन्य अनेकौं  प्रकृतिपूजक जाति र जनजाति फले फुलेको साक्षको वैज्ञानिक विश्लेषण पनि पुरातत्वबाट नै साध्य भएको हो।

प्रकाशित: २ चैत्र २०७५ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App