४ वैशाख २०८१ मंगलबार
अन्य

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

–आरती चौधरी
कक्षा–९, माछापुच्छ्रे स्कुल, कुसुन्ती, ललितपुर ।

विद्यार्थी केन्द्रित शिक्षण विधिले मात्र विद्यार्थीमा सिर्जनशीलता ल्याउँछ नकि घोकन्ते सिकाइले । नवीनतम सिकाइ विधिले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्छ । स्कुलले आयोजना गर्ने प्रदर्शनी (एक्जिबिसन) महत्वपूर्ण क्रियाकलाप हो । यस्ता प्रदर्शनीका माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र सम्पूर्ण शिक्षकवर्गमा आफूभित्रको क्षमता देखाउने मौका पाउँछन् ।

यही कुरा मध्यनजर गरी माछापुच्छ«े स्कुलले हालै ‘माछापुच्छे« प्रदर्शनी २०७५’ आयोजना गरेको थियो । प्रदर्शनीमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएका थिए । साना बालबालिका कलिला हातले सिर्जना गरिएका आकर्षक कला लिएर उपस्थित भए । एसइई परीक्षा तयारीमा व्यस्त रहेका विद्यार्थी पनि सिर्जनात्मक सामग्री लिएर उपस्थित भएका थिए ।  गत वर्षझैँ यस वर्ष पनि प्रदर्शनीमा विज्ञानका साथै नेपाली, अंग्रेजी, सामाजिक, गणित, कम्प्युटर विषय समावेश गरिएको थियो । यो प्रदर्शनीमा विद्यार्थीको प्रतिभा कमसल र उत्कृष्ट भनी तुलना गरिनु हुँदैन भन्ने मान्यता आत्मसात् गरिएको थिो । कार्यक्रममा बिनाप्रतिस्पर्धा सबै प्रतिभालाई बराबर सम्मान प्रकट गरिएको थियो ।

विद्यार्थीका सिर्जना र प्रयोगात्मक कार्यका सामग्रीले विद्यालयको फराकिलो चौरमा झकिझकाउ भएको थियो । विद्यार्थी, अभिभावक, शिक्षकवर्ग, अतिथिको आगमनपछि रिबन काटी कार्यक्रम उद्घाटन गरियो । अभिभावकहरुले आफ्ना नानीबाबुले गरेका सिर्जनात्मक कार्य अवलोकन गर्नुभयो । उहाँहरूले आफ्नो तर्फबाट विद्यार्थीलाई हौसला प्रदान गर्नुभयो ।

प्रदर्शनीको माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र शिक्षकवर्गमा क्षमता देखाउने मौका पाउँछन् ।

एक टोलीले पश्चिम नेपाली समाजमा रहेको छाउपडी प्रथाको झलक देखाउन छाउगोठ बनाएर व्याख्या गरिरहेका थिए । अर्को टोलीले ललितपुरको कुसुन्ती क्षेत्रलाई नै ‘सुविधायुक्त सहर’ का रूपमा टेबलमा प्रदर्शन गरिरहेका थिए । साना विद्यार्थी ज्वालामुखीलाई प्रयोगात्मक रूपमा देखाइरहेका थिए । केहीले ६ ऋतुलाई व्याख्या गरिरहेका थिए । केहीले अभिभावकलाई गाउँखाने कथा सोधी सही उत्तर दिनेलाई चकलेट बाँडिरहेका देखिन्थे । आफ्नो कलासंस्कृति जोगाउनुपर्छ भन्ने सन्देश दिन एक हुल विद्यार्थी नेपाली लोकबाजा बजाएर प्रतिभा प्रस्तुत गरिरहेका थिए । एउटा टोलीले मोबाइलद्वारा निर्देशित यन्त्रमानवको मोडल समेत बनाएको थियो । एउटै गोलो चक्कामा गणितका सूत्रद्वारा गणितिज्ञले प्रमाणित गरेका कुरा विद्यार्थीले पुष्टि गरेर देखाइरहेका थिए ।

नानीबाबुहरुले गरेका सिर्जनात्मक कामको आगन्तुक अभिभावकले खुलेर प्रशंंसा गर्नुभयो । उहाँहरुले भविष्यमा अझै राम्रो गर्दै जानू भन्ने सुझावसमेत दिनुभएको थियो । विद्यार्थीले आफूले बनाएका विभिन्न सामग्री निर्भीक रूपमा अभिभावक, अतिथि, शिक्षकवर्गमाझ प्रस्तुत गरे । बालबालिकाले आफ्नो भाषिक क्षमतासमेत प्रस्तुुत गरे । प्रमुख कार्यकारी अधिकृत डा. विनोदप्रसाद यादवले स्कुलले बालबालिकालाई अहिलेको समयसुहाउँदो प्रगतिशील र व्यावहारिक ज्ञान दिँदै जाने विश्वास व्यक्त गर्नुभयो । स्कुलका प्रधानाध्यापक सम्पूर्ण देवापातेले प्रदर्शनीमा विद्यार्थी र शिक्षकले देखाएको उत्साह र जाँगरको तारिफ गर्नुभयो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीको हैसियतमा मैले पनि प्रदर्शनीमा सहभागिता जनाएँ । यो कार्यक्रमबाट मलाई हौसला मिलेको छ । मैले गरेको कामलाई स्कुल परिवारले प्रोत्साहन गर्दै आएको छ । अहिलेको समयमा खालि किताबी ज्ञानले मात्र विद्यार्थीको उन्नति हुँदैन, बेलाबेला यस्ता खालका सिर्जनात्मक प्रदर्शनी आयोजना गरिनुपर्छ ।  

 

प्रकाशित: २ चैत्र २०७५ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App