३१ असार २०७७ बुधबार
अन्य

कमलपोखरीको ऐतिहासिक तस्बिर

बाबु—बाजेले कमलपोखरीको हिलोमा सुन्दर कमल फूल्ने गरेको सुनाउँथे भागवतनरसिंह प्रधानलाई। दन्त्यकण्था जस्तै लाग्ने सुन्दर थलो आँखा वरपर आउँथ्यो। आहा त्यो पोखरी ! हिलोमा फुलेको सुन्दर फूल ! सबै सपना जस्तै लाग्थ्यो उनलाई। यथार्थमा त्यहाँ पोखरी देख्दैनथिए, केशर शमशेरका सन्तानले, उनीहरू पर्खाल घेरेको जमिन मात्र देख्थे। यसले मुटुमा चस्स घोच्थ्यो। तर, हेर्दाहेर्दै जग्गा किनबेच भई भव्य महल बन्न थाल्यो। विरोध गर्दै उनी केशरमहल नजिकैको जग्गामा पुगेका थिए। तर, आवाज कमजोर भयो। पोखरीको अस्तित्व मेट्दै कम्प्लेक्स निर्माण गर्नेहरू सत्ता र शक्तिको आडमा हाबी हुन थाले। राज्यका महत्वपूर्ण निकायमा तिनको पहुँच र प्रभाव थियो। सर्वोच्च अदालतको फैसला भवन निर्माणकर्ताको पक्षमा गयो। 

अभियन्ता भागवतनरसिंह प्रधानको पुस्तक कमलपोखरीको ऐतिहासिक तस्बिर हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सिमित  पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दामसमेत जग्गा हडपेर ठमेलमा छाया कम्प्लेक्स निर्माण गरिएको तथ्य पुस्तकबाट छर्लंग हुन्छ। 

भागवतले त्यसै दिन अठोट गरे– कलमको बलमा कमलपोखरीको पक्षमा लडाइँ जित्ने। प्रमाणहरू संकलन गर्न थाले। गुठी संस्थान, प्रधानहरूको गुठी रहेको थँ बहिलस्थित श्री सिंह सार्थ बाहु गरुड भगवान, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, अदालत, विश्वविद्यालय लगायतका स्थानमा पुग्दा जुत्ताको तलुवा खिइयो। हुरीबतास र पानी नभनी प्रधान निरन्तर सक्रिय भइरहे। कमलपोखरीबारे जानकार व्यक्तिहरू, अदालती प्रक्रियामा सहभागी व्यक्तिहरूसँग इतिहासदेखि वर्तमानसम्मको जानकारी लिइरहे। निरन्तर दुई वर्षको मिहेनतपछि ०७१ सालमा पुस्तक प्रकाशन गरे। थँ वहिल विक्रमशील महाविहारको ऐतिहासिक कमल–पोखरी नाम दिइएको पुस्तकबारे चार वर्षसम्म कुनै चर्चा भएन। भागवत भन्छन्, ‘कमलपोखरीमा कम्प्लेक्स बन्न लागेकामा सम्बन्धित पक्षलाई घचघच्याउँदा सुनुवाई भएन।’ तर, हरेश खाएनन्। 

प्राचीन इतिहासका संकलित दस्तावेजसहित सप्रमाण लेखिएको पुस्तकले प्रकाशनको चार वर्षपछि चर्चा पाएको छ। कमलपोखरीमा १५ तले छाया कम्प्लेक्स ठडिएपछि प्राचीन पोखरी मासेको विषय उठान गर्दै अहोरात्र खटिएका भागवतको पुस्तकले चासो पायो। सर्वोच्च अदालतले उनकै पुस्तकलाई आधार मानेर कमलपोखरीको विवादास्पद जग्गाबारे मुद्दा चलाउन निस्सा प्रदान गर्‍यो। गुठी संस्थान पनि ब्युँतियो। कमलपोखरी स्थापित गर्ने मुद्दामा संलग्न भयो। भागवतले सरकारी निकायहरूलाई घच्घच्याएका छन्। सम्पदा संरक्षणको दायित्व निर्वाह गर्न दबाब सृजना गरेका छन्। 

यसरी लेखियो पुस्तक
भागवतनरसिंह प्रधान सानैदेखि इतिहासमा चाख राख्थे। थँ वहिल विक्रमशील महाविहारसँग सम्बन्धित सम्पदाहरूबाट अध्ययन गर्न थाले। विहारप्रतिको अध्ययन र रुचि देखेर गुठीले स्मारक संरक्षण तथा अध्ययन उपसमिति गठन गरी भागवतलाई संयोजक बनायो। २०६९ असोज ३ गते गुठी कार्यसमितिका तत्कालीन अध्यक्ष अञ्जिरमान प्रधानले संयोजक बनाएको चिठी थमाए। वंशावली तयार गर्ने क्रममा केही गुठियारहरूले विहारको अभिलेखहरूको लगत राख्ने र अध्ययन गर्ने कार्यमा विवाद खडा गर्दा काम बीचमा रोकिएको घटना सुनाउँछन् प्रधान। तर, केही समयकै लागि भए पनि अभिलेख अध्ययन गर्न पाएका भागवत रोकिएनन्। झन् गहिरो तरिकाले अध्ययन गर्न अघि सरे। उनको अन्तरआत्मामा कमलपोखरी हड्पिएको घटनाले घोचिरहेको थियो। कुनै हालतमा इतिहासका पाना पल्टाएर यथार्थ सतहमा ल्याउने दृढ इच्छाशक्ति लिए। 

ठमेलका रैथाने भागवतलाई खान लाउन दुःख थिएन। बसीबसी खान पुग्ने जायजेथा थियो। रैथानेहरू धेरैजसो मोजमस्तीमै समय बिताउँदै आएका छन्। भागवतले त्यो धारलाई समातेनन्। इतिहासको अध्ययनमा लागरहे। माटोमुनि दबाइएको कमलपोखरी इतिहासका पन्नाहरूमा खोज्न लागिरहे। अवरोधहरू नआएका होइनन्। गुठियारमध्येकै केहीले असहयोग गर्नेदेखि निरुत्साहित गर्नेसम्मका गतिविधि देखाए। तर, नशानशामा इच्छाशक्ति जागिसकेको थियो। पाइला सारिरहे सारिरहे। काम गर्दै जाँदा इमान्दार गुठियारहरुको हौसला पाए। ठमेलका स्थानीयमध्ये धेरैले प्रोत्साहित गरेको स्मरण गर्छन् भागवत। 

के छ पुस्तकमा ?
पुस्तकमा श्री विक्रमशिर महाविहार सिंहसार्थ बाहु गरुड भगवान गुठीको ऐतिहासिक अभिलेखहरूलाई प्राथमिकताकासाथ समावेश गरी प्रकाश पारिएको छ। गुठीको कार्य सञ्चालनका लागि प्रशस्त जग्गा जमिन राखिएको र तिनको आयस्ताले विहारको सम्पूर्ण सांस्कृतिक, धार्मिक तथा प्रशासनिक कार्यहरू सम्पन्न गरिने प्रचलन उल्लेख छ। गुठीमा अभिलेखहरू संरक्षण गरिएका छन्। आय– व्ययको हिसाब राख्ने विवरण छन् जसलाई स्याहा, ढपौट र आवर्जे भनिन्थ्यो। १९४६ सालदेखिको आय–व्ययको लगत राख्ने अभिलेख भागवतले प्रकाशित गरेका छन्। अभिलेखले कमलपोखरीको क्षेत्रफलदेखि विवरणसम्म उल्लेख गरेको छ। गुठियार प्रधानहरूको संकलनमा रहेको ऐतिहासिक पत्र समेत पुस्तकमा समावेश छन्। 

नेपालको सांस्कृतिक नीति अनुसार सय वर्ष पुगेको सांस्कृतिक थलोलाई राष्ट्रिय सम्पदामा सूचीकृत गरिन्छ। पुस्तकले थँ वहिलसँग सम्बन्धित कमलपोखरीलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गराउने आधार खडा गरेको छ। कमलपोखरी किन र कसरी मासियो भन्ने विषयलाई सप्रमाण प्रस्तुत गरिएको छ। कमलपोखरी थँ वहिल जसलाई हाल भगवान बहाल भनिन्छ, यसैअन्र्तगत हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सीमित पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दाम समेत हडपेर छाया कम्प्लेक्स निर्माणको यथार्थ घटना विवेचना गरिएको छ। 
गुठीको परिचय, ठमेल र भगवान गुठीमा हाल प्रचलित हुने शब्दको इतिहास र अपभ्रंशबारे उल्लेख छ। इतिहासदेखि पोखरीसँग जोडिएको संस्कृति आजपर्यन्त चल्दै आएको छ। पुस्तकका अनुसार कमल पोखरी, थँ वहिल विक्रमशील महाविहारको ठिकअगाडि पूर्वतर्फ तान्त्रिक विधिले निर्माण गरिएको पोखरी हो। पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाइएको पाँचवटा इनार थियो। पोखरीमा कमलको फूल फूलाइनाले कमल पोखरी भनिएको उल्लेख गरिएको छ। पोखरीमा फूलेको कमलको फूल टिपी विहारका भगवानलाई चढाई दिनहुँ पूजा, अर्चना गरिने परम्परा थियो। पोखरीको पानीबाट भगवानलाई दिनहुँ नित्य स्नान गराइने परम्परा तथा कमलपोखरीको पानीबाट विहारका भगवानलाई पञ्चामृतसहितको स्नान गराउने परम्परा परापूर्वकालमा रहिआएकोमा हाल नष्ट भएको र अन्य स्थानबाट पानी ल्याई हरेक साल पञ्चामृत स्नान गराइने परम्परा छ। 

कमलपोखरी सन् १९७७ बाट हडप्न सुरु गरिएको तथ्य उल्लेख छ। राणा शासनकालमा शक्तिशाली जर्नेल केशरशमशेरले प्रधानहरूलाई त्रास देखाएर पोखरी आफ्नो कम्पाउण्डभित्र पारे। पोखरी हडपेपछि केशरशमशेरले पोखरीको डिलको गुठीलाई जग्गा सट्टाभर्ना जग्गा दिने र पोखरी प्रयोग गरेबापत सालको मोरु. १२५ दिने भनी १९७८ मा तत्कालीन गुठीका बहिदार डिल्लीसिंह प्रधानलाई हस्ताक्षर गरिदिएका छन्।  

२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू गरिएपछि भगवान गुठीको जग्गामा हदबन्दी लाग्यो। प्रधानहरूले पत्र लेखी राजालाई बिन्ती गरेपछि राज गुठीमा लिएमा हदबन्दी नलाग्ने व्यवस्था गरियो। २०२४ मा गुठी संस्थानअन्र्तगत भगवान गुठी राजगुठीमा समावेश भयो। २०२५ मा २६ रोपनी जग्गाको सट्टाभर्ना समेत नपाएको र आयस्तावापतको १२५ पनि नपाएको भनी गुठियारहरूले गुठी संस्थानलाई लेखेको पत्र छ। २०२७ सालबाट जग्गा कसको भनी विवाद अदालतमा पुगेको उल्लेख छ। २०३३ मा पोखरीबारे मिलापत्र भयो। तर, विवाद साम्य भएन। अदालतमा यो विषयले प्रवेश पायो। 

भागवतले अदालती फैसलाहरूदेखि गुठी संस्थान, गुठियारलगायत सम्बन्धित पक्षको भूमिकाबारे उल्लेख गरेका छन्। ०४७ सालमा गुठी रैतानी गर्दा गुठी संस्थान अन्र्तगतको कार्यालय विवादमा मुछियो। उक्त निर्णय खारेज गरे पनि अदालतमा मुद्दा पुगी पुरानै निर्णय सदर गराइयो। विभिन्न व्यक्तिका नाममा लालपूर्जा निकाल्ने क्रम चलिरह्यो। मुद्दा मामला चल्दा मिलापत्र गराइयो। मिलापत्रमा राजा वीरेन्द्रसमेत परोक्ष रूपमा संलग्न भए। त्यतिबेलाकी जग्गाधनी अम्बिका राणाका छोरा गोरख शमशेर राणा राजा वीरेन्द्रका ज्वाईं हुनुले पनि दरबार मुछियो। सत्ता र शक्तिको बलमा जग्गा हडपेर व्यापारीहरूको हातमा पुर्‍याइयो। भागवतले प्रमाणिक अभिलेखहरू प्रकाशित गरेर जग्गा हडप्न शक्ति दुरुपयोग गरिएको तथ्यलाई पुष्टि गर्ने आधार प्रशस्त गरेका छन्। 

अभिलेखहरूमा पोखरीको सरसफाइदेखि डिलको बगैंचाको हेरचाह लगायतका विवरण छन्। पोखरी छेउछाऊ निर्माण कार्य भइरहन्थे। पोखरीको निकै स्याहारसुसार हुन्थ्यो। त्यससम्बन्धी दस्तावेजहरूले पनि पोखरीको गरिमा र महत्व देखाएको छ। काठमाडौंको मुटुको पोखरीले सहरको सुन्दरता बढाएको थियो। कमलपोखरीमा पानी आउने र जाने निकास थियो। अभिलेखहरूमा कमलपोखरी निकासको निर्माण र सरसफाइको खर्च उल्लेख छन्। कमलपोखरीमा घाँस उम्रेको फोहोर भएको फालेर सफा गराउन मोही रैतिहरूलाई खाजा खुवाउने गरिन्थ्यो। त्यसको खर्च उल्लेख छ। 
पोखरीको डिलमा सुन्दर बगैंचा थियो। बगैंचामा फलफूलका रुखहरू रहेको र त्यसको बिक्री गर्न ठेक्का लगाइन्थ्यो। सुन्तला, बिमिरा, भोगटे जस्ता फलफूल प्रशस्त फल्थे। कमलको फूल फुलिरहन्थ्यो। कमलको फूल फूलाउन बीउ छरिन्थ्यो। १९५३ को अभिलेख अनुसार कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ। पोखरीमा फूलको पातहरूको समेत प्रयोग हुन्थ्यो। ठूला पातहरू खाजा खानका लागि प्रयोगमा ल्याइन्थ्यो। कमलपोखरीको डिलको बगैंचामा फलेको फूल सधैं भगवानको पूजा पर्वमा प्रयोग गरिने १९७० सालको अभिलेखले देखाउँछ। 

ऐतिहासिक अभिलेखहरूको संकलन गर्न भागवतले बुद्धि, विवेक र लगनशीलतामा कुनै कसर राखेका छैनन्। उनको पुस्तक आफैमा कमलपोखरीको ऐतिहासिक तस्बिर हो, जसलाई भव्य कम्प्लेक्सले छोपिराखेको छ। भागवतले अभिलेखहरूका माध्यमले पोखरीको अस्तित्वको अभौतिक उत्खनन गरेका छन्। प्राचीन सम्पदाको भौतिक रूपमा उत्खनन गरी पुनस्र्थापना गर्ने जिम्मेवारी राज्यको हो। 

प्रकाशित: ११ फाल्गुन २०७५ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App