१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

हिउँले सेताम्मे दलचोकी

सबेरै मोबाइलको घण्टी बज्यो। उठाएँ। ‘रामदेवी म्याम ! आज म हाइकिङ आउन नसक्ने भएँ’,  भन्नु भयो। फेरि फोन बज्यो र त्यही कुरा आयो।

माघको चिसो मौसम, त्यसमाथि तीन दिनदेखि निरन्तर परेको पानीले चिसो बढाएको थियो। चिसोको कारण पदयात्रीहरु फोनबाटै नाम काट्दै थिए। र पनि हामी माघ २६ गते विहान ४ वटा गाडीमा निरोगधाम (सातदोबाटो)बाट पदयात्रा गन्तव्यतिर निस्कियौं।

कालो बादल मडारिँदै थियो। सिमसिम पानी पर्दै थियो। हाम्रो पदयात्राको गन्तव्य थियो नल्लु लामिडाँडाहुँदै फूल्चोकी हाफ र त्यहाँबाट लेले मनकामना हुँदै सरस्वती कुण्डसम्म।

बीच बाटोमा फेरि मोबाइलको घण्टी बज्यो। डा. उमेश श्रेष्ठको थियो   ‘दलचोकीमा हिउँ परेको खबर आयो, त्यसैले आज हामी उतै जाने भयौं है।’  
मैले पनि सहमति जनाएँ।

महाभारत श्रृखलामा पर्ने दक्षिण ललितपुरका अधिकांश भागमा हिउँ पर्छ। त्यस्तै एउटा सुन्दर बस्ती होे–दलचोकी (२,२०० मिटर)। हिउँ खेल्न टाढै जानु पर्छ भन्ने छैन, काठमाडौंबाट मात्र २१ किमी दक्षिणको दलचोकी गए पुग्छ।

हाम्रो गाडी टीकाभैरवबाट सिधै कान्ति राजपथको मल्ल होटल हुँदै विर्खेधारामा गएर रोकियो। केहीबेर पदयात्राका नियम र पदयात्रा गन्तव्यको जानकारी गराएपछि हाम्रो पदयात्रा सुरु भयो। 

अलिकबेर हिँड्नेवित्तिकै पुष्पवृष्टि भएझैं सेता हिउँ झर्नं थालिहाले। चारैतिर सेताम्य हिउँ, दायाबायाँ अग्ला डाँडा हिउँको श्रीपेच लगाएर मुस्कुराईरहेका। सबै पदयात्री हिउँमा खेल्न थाले। बाटौभरी हिउँ खेल्न आउने युवाको भिड थियो। बाइक र गाडीमा आउनेहरुको लश्कर। निरन्तरको पानीले काठमाडौं वरपरका अग्ला डाँडामा हिउँ परेकाले घाम लाग्नेवित्तिकै हिउँ खेल्नेहरुको घुइँचो लागेको थियो। तर हिउँ खेल्दा साबधानी अपनाउनु पर्छ। हिउँ चिप्लो हुन्छ त्यसैले बाइक चलाउँदा हेल्मेट अनिवार्य लगाउनु पर्छ। न्याना ज्याकेट र निधार छोपिने गरी टोपी लगाउनु पर्छ।

दक्षिण ललितपुरमा पर्ने दलचोकीमा पनि भिड थियो। हिउँ खेल्न र हेर्न मन नपराउने को होला र ! हिउँ खेल्न टाढै जानु पर्छ भन्ने छैन, काठमाडौंबाट मात्र २१ किमी दक्षिणको दलचोकी गए पुग्छ।

महाभारत श्रृखलामा पर्ने दक्षिण ललितपुरका अधिकांश भागमा हिउँ पर्छ। दक्षिण ललितपुरकै एउटा सुन्दर बस्ती होे–दलचोकी (२,२०० मिटर)। त्यहाँबाट नजिकै हिमालको फेरो देखिन्छ–अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जेलाक्पा, लाङटाङ, गौरीशंकर लगायत। तलतल पुरै उपत्यका । 

गाउँमा बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ। गाउँले कृषिमा निर्भर छन्। गाई, बाख्रा र कुखुरा पालन गर्छन्। यहाँको तरकारी र दूध काठमाडौं पुर्‍याइन्छ।  
पर्यटकीय गन्तब्य बन्दै छ दलचोकी। दलचोकी मन्दिर, मनकामना मन्दिर, भ्यूटावर होमस्टे र हरियाली त्यहाँका मुख्य आकर्षण हुन्।

दलचोकी माई
दलचोकीको गोठभन्ज्याङमा रहेकी देवीको नामले गाउँको नाम ‘दलचोकी’ रहन गएको छ। किंवदन्ती अनुसार नेपाल एकिकरणका बेला सेनाका फौज यहाँ आउँदा जंगली जनावरको आक्रमण भएकाले ती तितरवितर भए। तिनलाई एकत्रित गर्न, भगवतीको पूजा गर्न यहाँ फौजको चौकी स्थापना गरियो। फौच अर्थात दलले चौकी स्थापना गरेर भगवतीको पूजा गरेकाले भगवतीको नाम दलचोैकीदेवी राखियो र पछि दलचोकी भनियो।
हाल दलचोकीबाट ४ किमी तल सैनिक ब्यारेक छ।

मनकामना मन्दिर
उहिल्यै नेपाल एकिकरणताका पृथ्वीनारायण शाहले चारै नाकाबाट उपत्यका कव्जा गर्न दक्षिण नाकाको रुपमा दलचोकीलाई लिएर मनकामना मन्दिर बनाई उपत्यका जितेको इतिहास छ।
मनकामनामा एक तले मन्दिर छ। नजिकै पिकनिक स्पट पनि। मन्दिर क्षेत्र (२,१०० मिटर)बाट उपत्यकाको दृश्य राम्रो देखिन्छ। पिकनिक स्पट व्यवस्थित गर्ने हो भने हप्तैपिच्छे धार्मिक तथा आन्तरिक पर्यटकको भिड लाग्न सक्छ।

भ्यू टावर
मनकामना मन्दिरबाट एक किमि माथि तेइस सय मिटर उचाईमा स्थानीय गाउँपालिकाले भ्यू टावर बनाउँदै छ। त्यहाँ हिँड्ने सिंढी, पिकनिक स्पट बनाउने र जंगल संरक्षण गर्ने योजना रहेको दलचोकी भ्यू टावर निर्माण उपभोक्ता समितिका सदस्य रामप्रसाद तिमल्सिनाले बताए। डाँडाबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ भने उत्तरतिर हिमालका लस्कर र दक्षिणमा हरियाली डाँडाहरू।   

होमस्टे
दलचोकीमा रहेको एक मात्र तिमल्सिना सामुदायिक होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ। तर १२ वैशाख ०७२ को भुकम्पले दलचोकी र यहाँ भएको होमस्टेलाई पनि क्षति पुर्‍यायो। हाल होटलका रुपमा चलाइँदैछ। त्यहाँ एकै पटकमा १० देखि १५ जनासम्म बास बस्न सक्छन्।
तिमल्सिनाका अनुसार होमस्टेलाई नयाँ बर्षदेखि पुनः सञ्चालनमा ल्याउने तयारी हुँदैछ।

हाइकिङका लागि मात्र होइन विकेन्ड मनाउन समेत राम्रो गन्तव्य हो दलचोकी। होटल सुविधा भएकाले रात बिताउन समस्या छैन। बाटोमा चराको चिरबिर, सेता हिमाल अनि हरियालीले आनन्दित बनाउँछ।
हाइकिङ, बाइकिङ र जीप राइडका लागि समेत उपयोगी छ। चैत–वैशाखमा वनै भरि लालीगुराँस फूल्छन्। जंगलको बाटो भएकाले यात्रामा चितुवा, मृग, वनबिरालो, खरायो, कालिज लगायत जीवजन्तुसँग जम्काभेट हुन सक्छ।

सधै शितल हुने दलचोकी काठमाडौं बासीका लागि गर्मी छल्ने उपयुक्त गन्तव्य हो। होमस्टे, होटल, भ्यू टावर अनि पिकनिक स्पटको राम्रो व्यवस्था हुन सके दलचोकी चाँडै नगरकोट जस्तै प्रख्यात पर्यटनधाम बन्न सक्छ।

प्राकृतिक हिसावले सुन्दर छ दक्षिण ललितपुर। दलचोकी मात्र होइन, यहाँ अरु सुन्दर वस्ती पनि छन्–शंखु, नल्लु, भट्टेडाँडा, भारदेऊ, गोटीखेल, माझखण्ड, गिम्दी आदि। त्यस्तै कालेश्वर, पाथीभरा, मनकामना, वैतरणिधाम, मसानखोला जस्ता पर्यटनस्थल पनि छन्।

अहिले हिमाल खुल्ने र लालिगुराँस फूल्ने मौसम। हिमालको छहारीमा, गुराँसको यौवन हेर्दै दलचोकी यात्रा गर्ने कि ?
कसरी पुग्ने : ललितपुरको सातदोबाटोबाट २१ किमिमा दलचोकी। लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरव हुँदै कान्तिपथको बिर्खेधारासम्म गाडीमा। विर्खेधाराबाट बायाँ लाग्ने खाम भन्ज्याङ, सैनिक क्याम्प हुँदै दलचोकी निरोग आनन्दधाम र त्यहाँबाट मनकामना मन्दिर हुँदै आनन्दधाम भएर गोठभन्जयाङ मावि, खुर्सानीबारी, तीनपानेभन्ज्याङ हुँदै बिर्खेधारासम्म पदयात्रा। बिर्खेधारा– दलचोकी ५ किमि, दलचोकी–तीनपाने ४.५ किमि,  तीनपाने–विर्खेधारा ३ किमि। जम्मा हाइकिङ दुरी १२.५ किमि। मोटर बाटो दलचोकीसम्मै छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App