९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

आन्दोलन नटुंगिनु शिक्षामन्त्रीकै कमजोरी: महेश बस्नेत

<br>

नेकपा (एमाले) का नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई मन्त्रीकै ‘कमजोरी’ भएको बताएका छन्।

सोमबार शिक्षामन्त्री भट्टराईले राजीनामा दिएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु मन्त्रीकै असफलता भएको बताएका हुन्।

‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ’, उनले लेखेका छन्, ‘आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्रीकै कमजोरीको संकेत हो।’

बस्नेतले भट्टराईको कार्यशैलीप्रति पहिलेदेखि नै जनगुनासो रहेको उल्लेख गर्दै अबको चुनौती शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्न सक्ने नेतृत्व चयन गर्नु रहेको बताए।

शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा दिएकी हुन्। उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागहरूबारे प्रधानमन्त्रीसँग छलफल गरेपछि राजीनामा बुझाएकी थिइन्।

शिक्षकहरूले काठमाडौंमा विभिन्न मागसहित आन्दोलन थालेको २० औं दिनमा भट्टराईले पदबाट हात झिकेकी हुन्। मन्त्रालयले पटकपटक वार्ताका लागि बोलाउँदा शिक्षकहरू नआएको भन्दै भट्टराईले यसअघि सार्वजनिक रूपमा गुनासो गर्दै आएकी थिइन्।

प्रकाशित: ८ वैशाख २०८२ १९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App