९ आश्विन २०७८ शनिबार
अन्य

हात्तीको वनभोज

पुस ११ गते, मध्य मिन पचासको बिहानी। निकै चिसिएको काठमाडौं खाल्डो। सबेरै बाहिर निस्कँदा हड्डीको भित्री भाग समेत कठ्यांग्रेला जस्तो ! घुम्ने आकांक्षा धेरै। डुलुवा बानीले बरालिएको मनले हात्ती महोत्सवमा जान तयार हुँदा जाडोलाई त काँचै पचाइदियो नि।

चितवन, पोखरा जाने पर्यटक बस सोह्रखुट्टेबाट छुट्छन्। सखारै साइकलमा सवार भएँ सोह्रखुट्टे। काठमाडौंबाट बाहिरिने पर्यटकका दैनिकी यहीँबाट शुभारम्भ हुन्छ। निर्धारित समयभन्दा लगभग १० मिनेट अगावै पुगेकामा मनमनै आफैंलाई धन्यवाद दिएँ। साथमा लगेको साइकलले द्विविधा सिर्जना गर्‍यो, सँगै सौराहा लैजाने कि यतै छाड्ने ? उपाय निकालें गोपाल दाइको आर्ट पसलमा साइकललाई आराम गर्न छाडिदिने।   

पन्ध्रौं हात्ती महोत्सवको उपलक्ष्यमा संरक्षणका स्वर गुञ्जायमान बनाउन काव्य यात्राका लागि स्रष्टा आरके अदिप्त गिरी, कवि अभय श्रेष्ठ, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, गणेश राई, पत्रकार कञ्चन अधिकारी, अमरध्वज लामा, सन्दिप पौडेल, प्रजु पन्त, कृष्पा श्रेष्ठ, सरिता खड्का, प्रविण कोइरालाहरू कलंकीमा बसको पर्खाइमा थिए। कार्यक्रमको आयोजना क्षेत्रीय होटल संघ चितवनले गरेको थियो भने सहयोगीको भूमिकामा थियो कन्सेप्ट नेपाल।  

बस आफ्नो रफ्तारमा अगाडि बढ्दै गएसँगै महोत्सवमा सहभागी हुन जाने स्रष्टाका मन पनि तरङ्गित हुँदै गयो। हाम्रो बस नैकाप, सतुंगल हुँदै थानकोटतर्फ लाग्यो। सामुन्नेमा चन्द्रागिरि देखियो, उत्तर पूर्वमा शिवपुरी। दुवै एकापसमा हेराहेर गरेजस्तै। सोचें सदियौंदेखि यी चुचुरा उपत्यकाको पलपल परिवर्तनका साक्षी हुन्। यसैको काखमा उत्पत्ति भएको यो मनुवा पनि यी चुचुरामा आएका परिवर्तनका साक्षी। केही दशक अघिदेखि यी चुचुराले धित मर्ने गरी हिँउका थास्सो चुम्न पाएका छैनन्।

कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। ताजा फलफूल सुँढ घुमाई घुमाई मुखमा हाल्दै मर्काउँदा आनन्द अनुभव गरिरहेको भाव हात्तीका आँखाबाट हेर्न लायक थियो।

कतिले हेक्का राखेका होलान् कुन्नि ! विगतमा हुस्सुले टम्म देखिने उपत्यका वर्तमानमा बाक्लो धुलोधुवाँले रंगिएको छ। हिँउदे झरी नपरेको पनि निकै भैसक्यो। बुढापाकाहरू पहाडका टुप्पामा हिउँ नपर्दा सुरुका वर्षमा अचम्म मान्थे। हिउँ नपर्दा पनि आजकल अचम्म नहुने भयो। हिँउ पग्लिँदा नदीका मुहान रसाउँथे। हिउँ पर्न छाडेसँगै नदीका मुहान सुक्दै गए। केही दशक अघिसम्म कल्कलाउँदो पानी बग्ने उपत्यकाका अधिकांश नदी, नालामा परिणत भए। उपत्यकामा विहान सेताम्मे तुषारो पथ्र्यो। आजकल निकै कम देखिन्छ। अगामी बर्षमा हिउँदका बिहानीमा पनि सेताम्मे तुषारो देखिएन भने अचम्म नमाने हुन्छ। कसैलाई पनि पीर, ताप, चिन्ता, चासो पनि नहोला। एंव रितले असारसाउनमा पानी कम पर्दै गएर भविष्यमा पानी पर्दै नपर्ने हुँदा पनि कसैले अचम्म नमान्लान्। यस्तो अवस्था आए के होला ? काल्पनिक भयावहले निकै चिसियो मेरो मन। गल्छि कटेपछि त्रीशुली नदी देखियो। त्रीशुलीको समानान्तर भएर बस कुदिरहयो। हिउँदका दिन, घमाइलो नभएर हो कि त्रीशूलीको पानी पनि धमिलो देखियो। मनमा कुरा खेलिरह्यो। के मेरो नाती पुस्ताले पनि मैले त्रीशुलीमा सँगालेका जस्तै अनुभव सँगाल्न पाउलान् त ? 

खाना खान बस रोकियो। मनको तरंग भंग भयो। 

मलेखुमा खाना खाए पछि बस यात्रा पुनः सुरु भयो। ठट्टा, हाँसो, चुट्किला, रमाइला कथा सुन्ने सुनाउने, सुन्दर दृष्यपान आदि इत्यादि सामुहिक यात्राका बिशेषता नै भए। यात्राभर बेला बखत सबै प्रयोग गरियो। यदाकदा मनमा भने व्याकुलता छाउँथ्यो संरक्षणका सवालहरुले। ६ घण्टा बितेको अत्तोपत्तो भएन, सौराहा बस पार्कसम्म पुग्दा। बस पार्कबाट कार्यक्रमस्थल तर्फ लाग्यौं। कार्यकमस्थल पुग्दा उद्घाटन सत्र भर्खरै सकिएको थियो। उद्घाटन सत्रमा भएको हात्ती फास्ट वाक र मेगा बैंक र एमई ट्राभल्स एण्ड टुर्स टिम बीचको हात्ती फुटवल प्रतिस्पर्धा छुट्यो।

स्थानीय कलाकारको गीत, संगीत, नृत्य जस्ता विविध सांस्कृतिक कार्यक्रमले महोत्सवस्थल मस्त थियो। काव्य यात्राका सहभागी हामीहरु त्यही भिडमा मिसियौं। सुरेन्द्र राना, आर.के अदिप्त विविध भेष भूषामा सहभागी हुन आएकाहरुको फोटो खिच्न व्यस्त भए। स्टल चहार्दै गर्दा घोंगीका परिकार भेटिए। चिसिंदै गरेको मौसममा पिरो घोंगीको परिकारले ज्यान ततायौं। हिउँदका छोटा दिन समय घर्कन बेरै लागेन। साँझ पोखरा र चितवनका स्रस्टा प्रकट पंगेनी, एलबी क्षेत्री, भूपिन, उदय अधिकारी, सुरेन्द्र अस्तफल, धनराज गिरी सहितका साहित्यकार र काठमाडौंबाट गएका सहभागीको भेटले सांझ रंगीन बन्यो। 

भोलि पल्टको रोमाञ्चक कार्यक्रमका सपना बुन्दै रोयल टाइगर सफारी रिसोर्टमा रात बिताइयो। कार्यक्रममा अमृत भादगाउँलेको अभाव भने सबैलाई खट्किइरह्यो।  

दोस्रो दिन

सौराहाको मुख्य आकर्षण जंगल सफारी। जंगल आ–आफ्नो रोजाइ अनुसार घुम्न सकिन्छ। जीपमा, हात्तीमा वा हिंडेर। बिहानीपख चितवनको चिसो, खुल्ला गाडीमा जंगल घुम्दा त मुटुसम्मै गड्ला जस्तो। हात्ती सफारी सबैको रोजाईमा पर्‍यो। बिहान चहलपहल निकै बाक्लो देखियो बाघमारा सामुदायिक वनमा, हात्ती सफारीमा जाने आन्तरिक तथा बाह्य पर्यटकका। पर्यटकहरु आफु चढेको हात्तीको नाम जान्न निक्कै उत्सुक देखिन्थे। हात्तीको नाम जानेर एक किसिमको रोमाञ्चकता व्यक्त गर्थे। सहभागी सबैलाई हात्ती सवारमा पठाए पछि सुरेन्द्र रानासँगै निकै गफिएँ। 

पिठ्युमाँ पर्यटक बोकेर लस्करै लम्किरहेका हात्तीका तस्वीर कैद गर्न नजिकिंँदा टाढै रहन सुझाए। हात्ती रिसाएर हान्न सक्छ। हात्ती रिसाउनु स्वभाविकै लाग्यो। जो कोहि रिसाउँछ आफुलाई मन नपर्ने कामले थकित बनाउँदा।

हात्ती मलाई निक्कै मन पर्ने जनावर। मायालु लाग्छ। हात्तीको आँखामा हेर्दा, अमूर्त भाव झल्केको पाउँछु। लोभलाग्दो आँखाले निक्कै भावुक बनाउँछ। आफुले माया गर्नेलाई कसैले दुःख दिन चाहँदैन। हात्ती चढ्ने समयमा कवि भूपिनको आग्रहलाई ‘हात्तीलाई दुःख दिन मन लाग्दैन’ भनेर नकारेको स्मरण गराएँ।  

मध्यान्ह पछि महोत्सवस्थलमा कविता वाचन कार्यक्रम शुरु भयो। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेको सभापतित्व तथा रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा संंचालित कार्यक्रममा चितवन र काठमाडौंबाट भेला भएका सर्जक र कार्यक्रमका सभापतिले आ–आफ्ना रचना वाचन गरे। महोत्सवका अवसरमा साहित्य रचना मार्फत संरक्षणका स्वर गुञ्जायमान भयो। महोत्सवस्थलमा श्रोताहरु धैर्यपूर्वक कविता वाचन सुनेर बसिरहे। पन्ध्रौं हात्ती महोत्सवको उपलक्ष्यमा आयोजित काव्य यात्राको उद्देश्य साहित्य मार्फत लोपोन्मुख हात्ती संरक्षणमा ध्यानाकर्षण गराउनु, बन्यजन्तु संरक्षणमा एक्यबद्धता जुटाउन र समाजमा संरक्षण सम्बन्धि जन चेतना अभिवृद्धि गर्नु थियो।

हात्तीको वनभोज 

कविता वाचन पश्चात दर्शकको भिड कार्यक्रमस्थल पश्चिमपट्टि पंतिबद्ध टेबलमा फलफुल, उखु, केरा, मेवा, फर्सी, बन्दा, गाजरका थुप्रोले, सजिएको ठाउँतर्फ मोडियो। ५८ वटा हात्तीका जत्था बनभोजको प्रतिक्षामा थियो। आयोजकले एक आपसमा चिनजान नभएका हात्तीबीच द्वन्द हुने खतरा न्यूनिकरण गर्न अन्य स्थानका हात्तीलाई भने त्यहाँ उपस्थित नगराइएको जानकारी दिए। उनीहरुको वनभोजको खाना भने उतै पठाएको भन्ने बुझियो। 

कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। ताजा फलफूल सुँढ घुमाई घुमाई मुखमा हाल्दै मर्काउँदा आनन्द अनुभव गरिरहेको भाव हात्तीका आँखाबाट हेर्न लायक थियो।

हात्तीको छावाको फुटवल प्रतियोता, हात्ती सुन्दरी प्रतियोगिता आदि कार्यक्रम अर्को दिनको सूचीमा थियो। वनभोज कार्यक्रम सकिँदै गर्दा सूर्य पनि अस्त हुँदै गए। आँखाले स्टल चहार्‍यो। होमस्टेका बहिनीहरुको स्टलमा रोकिए हाम्रा आँखा। पुरानै चिनजानी थियो। चियाले स्वागत गरे। कुराकानीको क्रममा केही पनि बिक्रि नभएको बताए। अनदी चामलको परिकार, तिलापिया माछा, घोंंगी भाँडाभरि। व्यापार नजानेका, लजालु दरै बहिनीहरु जिल्ला राम थिए। स्टल चहारी रहेका हाम्रा टोलीका सदस्यहरु पनि आइपुगे।  माछा चाख्यौ। मीठो माछाको बयान सुनेर एक हुल छिरे। एकै क्षणमा सबै सिध्याए। बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नविक्ने जमाना हो यो। 

अन्त्यमा 

खाला, खाग, खोपडी र मासुका लागि धेरै जनावर सिध्याए मानिसले।सिध्याए उनीहरुले– जंंगल, पानी र शुद्ध हावा त्यसपछि सिध्याउने बानी लाग्यो, धर्म, रंग, विचार र जातको नाममा सिध्याउन थाले मानिसले एक अर्कोलाई।

अहिले जनावर मिलेर पृथ्वीको लोपोन्मुख जनावर मानिसको संरक्षण गरिहेछन्। पन्ध्रौं हात्ती महोत्सवका उपलक्ष्यमा संरक्षण कविता वाचन गर्ने क्रममा कवि भूपिनले कविताका यी अंश वाचन गरिरहँदा चितवनको न्यानो घाममा पनि मेरो मुटु चिसो भयो।

मानव जातिले प्रकृति र जीव जगतमाथि गरेको अतिक्र्रमणले कैयन जीव तथा वनस्पती धर्तीबाट सदाका लागि विदा भइसके। यसैगरी एक दिन मान्छे प्रजाति पनि लोप हुनसक्छ भन्ने तथ्यलाई भूपिनले कविता मार्फत सचेत गराए। दिमागमा घुमिरह्यो स्टेफन हकिन्सले केही शताब्दिमै आफुलाई सर्वश्रेष्ठ मान्ने मान्छे प्रजाति पनि लोप हुने भविष्यवाणी गरेको। 

सामुन्द्रिक जीव लगायत ह्वेलको पेटमा प्लास्टिक, चरा, जीवजन्तु, हँुदाहुदा मन्छेको बिष्टामा पनि प्लास्टिक भेटिन थाल्यो भनेर अनुसन्धानकर्ता तथा संरक्षणविद् चिन्तित छन्। पृथ्वी सबैको साझा घर भन्नेमा दुइमत नहोला। यसको संरक्षण गर्नु साझा दायित्व हो। अन्यथा भूपिनले भने जस्तै अवस्था भयावह छ। 

यात्राको तेस्रो बिहान काठमाडौं फर्कदा कानमा संरक्षणका स्वर गुञ्जिरहयो, मन सौराहाका हात्तीकै साथमा थियो।

प्रकाशित: १९ माघ २०७५ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App