४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

सहिद पार्क अलपत्र

काठमाडौंको गोकर्ण नगरपालिकास्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क। तस्बिर : श्याम राई

ठेकेदारको चरम लापरवाहीले राष्ट्रिय शहिद तथा शान्ति पार्क अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा पार्क अलपत्र परेको वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। ‘ठेकेदारले काम नगर्दा यो पार्क निर्माण भएको छैन,’ उनले भने, ‘ठेकेदारलाई बोलाएर छानविन गछौँ। त्यसपछि हामी निर्माणमा अगाडि बढ्छौँ।’

ठेकेदारलाई ताकेता गरेर सम्पर्कमा ल्याउन खोजिएको उनले बताए।  उनका अनुसार निर्माण व्यावसायीसँग अहिले सम्पर्क नै छैन। उक्त पार्क बनाउन २०६८ सालमा सिलान्यास भएको थियो। तर, निर्माण थालिएको सात वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन। संग्रहालयको नाममा बनेको भवनमा फूलहरूले हरियाली हुनुपर्ने बेलामा झारपातले भरिभराउ छ। कम्पाउन्ड बाहिरको क्षेत्रलाई सहरवासीले शौचालयको रुपमा प्रयोग गरेका छन्। भ्यूटावरको नाममा ठडिएका फलाम खिया लागेर ढल्न लागेका छन्। त्यस्तै गरी सानाठूला भवनहरूको अवस्था जीर्ण छ।

पार्क निर्माणका लागि ४६ करोड ७१ लाखमा सुनौला खिम्ती जेभी, बोखिम कन्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य÷आ.बि ÷ जनपथ÷जे.भि, चक्रेश्वरी ÷सूर्यजीवन जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। यसमा ४ प्याकेज अनुसार काम छुट्याएको छ।  अहिले २०७७ सम्ममा पार्क सम्पन्न गर्नुपर्ने गरी सम्झौता नवीकरण गरिएको छ।

राष्ट्रिय शहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले ठेकेदार कम्पनीले समयमा काम गर्न नसकेकोले विभिन्न प्रक्रिया पुर्‍याई उनीहरूको नाम कालो सूचीमा राखेर कार्वाही गर्ने र अरु नयाँ ठेकेदार ल्याएर काम गराउने बताए। ‘अहिलेको ठेकेदारले काम गर्देनन्,’ उनले भने ‘बाँकी काम अरु ठेकेदार ल्याएर काम गराउँछौँ।’ शान्ति तथा पुनर्निर्माण मन्त्रालयको कार्यविभाजन खारेज भएपछि उक्त परियोजना अहिले सहरीविकास मन्त्रालयमा आएकोले अब पार्क निर्माणले गति लिने उनको भनाई छ। ‘दुई वर्षमा पार्क निर्माण सक्ने लक्ष्य छ,’ उनले थपे।

सिग्देलका अनुसार पहिले निर्माणको लागि शान्ति तथा पुर्ननिर्माणको  मन्त्रालयले जिम्मा लिएको थियो। तर, अहिले सहरी विकास मन्त्रालयले यी सबै काम हेर्ने छ। सरकार फेरबदल भएर मन्त्रालय खारेज भएकोले ठेकेदारलाई काम गराउन सकेन। गृह मन्त्रालयबाट  सहिदहरुको अभिलेख अझै पनि आएको छैन। त्यसैले पनि निर्माण रोकिएको उनले बताए। पार्क निर्माण अगाडि बढाउन सहरी विकास मन्त्री, गृहमन्त्री, प्रदेश ३ का मुख्यमन्त्री ल्याएर अनुगमन गराई दबाब दिँदै आएको समेत उनी बताउँछन्।  

सिग्देलका अनुसार अहिलेसम्म पार्क निर्माणमा २७ करोड खर्च भइसकेको छ। यसमा तीन किलोमिटर पार्कको कम्पाउन्ड हालिसकेको छ। त्यस्तैगरी वरिपरिबाट बाटो खोल्ने काम ७० प्रतिशत, भित्री बाटोको कालो पत्रे ९० प्रतिशत काम सम्पन्न भएको छ। ७० प्रतिशत भौतिक संरचनाको प्रगति विवरण रहेको छ भने वित्तियको ५८ प्रतिशत छ। टेन्डर प्रक्रियाबाट गुरुयोजनाले निर्दिष्ट ९ प्याकेजहरूमध्ये अहिले राष्ट्रिय सहिद, निजामती स्मारक जस्ता चार प्याकेजको काम भइरहेको छ। यो प्याकेजको भने ७० प्रतिशत काम सम्पन्न भएको छ।

उनका अनुसार केन्द्रीय पार्कबाहेक १० सहायक पार्कको अझै टेण्डर गर्न बाकीँ छ। यसको लागि १ महिनामा सबै प्रक्रिया पुर्‍याएर टेन्डर प्रक्रियामा जाने उनले बताए। अहिले पार्कको प्रवेश शुल्क १० रूपैयाँ तोकिएको छ। पार्क बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुला हुन्छ। पिकनिक जाने, सवारीसाधन पार्किङ गर्नेले छुट्टै शुल्क तिर्नुपर्छ। दोस्रो जनआन्दोलनको अभिलेख राख्न, सहिदलाई श्रद्धा व्यक्त गर्न, सहिद भएका निजामती कर्मचारी, दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश फैलाउनलाई पार्क बनाउने सुरु गरिएको बताइएको छ।

प्रकाशित: १३ पुस २०७५ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App